२०८३ श्रावण ९
२०८३ श्रावण ९

लुम्बिनी, । 

बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहिबार भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो ।

वल्र्ड हेरिटेज कमिटिका २१ देश मध्ये भारत सहित १९ देशका प्रतिनिधिले बुद्धजन्मस्थल लुम्बिनी विश्वकै अनुपम महत्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन् । बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदा उपर भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरु उभिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षण विपरीतका गतिविधि र पूर्वारधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिदैं आएको थियो । विश्व सम्पदा समितिको सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेपछि संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोषका अधिकारीहरुले कुटनितिक पहल गरेका थिए ।  लुम्बिनीलाई खतराको सूचीमा नराख्न कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको नेतृत्वमा मन्त्रालयका सचिव डा. गणेश पाण्डेय, भारतका लागि नेपाली राजदुत डा. शंकर शर्मा यूनेस्को तथा फ्रान्सका लागि नेपाली राजदुत सुधिर भट्टराई लगायतले कुटनितिक पहल गरेका थिए ।

संस्कृति मन्त्रालय, पुरातत्व विभाग, भारतका लागि नेपाली राजदुत, पेरिसस्थित राजदूत र लुम्बिनी विकास कोषले लुम्बिनीका बारेमा सकारात्मक निर्णय भएको  लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए ।

यूनेस्कोले सम्पदास्थलमा मापदण्ड ५ हजार क्षमताको ध्यानकेन्द्र निर्माण, मायादेवी मन्दिर जीर्ण हुँदा पानी चुहिने तथा परिसरमा अनुमती विना संरचना निर्माण गरेको लगायतका बिषयमा प्रश्न उठाएको थियो । विगतदेखि नै सम्पदा संरक्षण विपरितको कार्य हुँदै आएको भन्दै यूनेस्कोले सचेत गराउँदै आएको थियो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सन् १९९७ मा यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो ।

भारत सरकारको संस्कृती मन्त्रालयको आयोजनामा २१ जुलाईदेखि ३१ सम्म चल्ने विश्व सम्पदा कमिटिको बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव डा. गणेश पाण्डेय, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गा,  मन्त्रालयका सहसचिव सुरेश सुरस श्रेष्ठ, कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहभागी छन् । बैठकमा यूनेस्कोले उठाउँदै आएको सम्पदा संरक्षण मापदण्ड कार्यान्वयन, सम्पदा प्रभाव मूल्यांकन लगायतका सुझाव नेपालले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाईएको छ ।

न्युज कनरखाना

काठमाडौँ ।

आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४५ हजार रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ / न्युज कनरखाना

काठमाडौं ।

ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदै छ ।

स्थानीय समयअनुसार साँझ साढे सात बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्घाटन समारोहमा हुदै छ ।

पेरिस ओलम्पिकमा फुटबल, रग्बीलगायतका खेल सुरु भइसकेका छन् । औपचारिक उद्घाटन भने आज हुन लागेको हो । ओलम्पिकको इतिहासमै पहिलो पटक उद्घाटन समारोह रंगशालाबाहिर खुला स्थानमा गरिंदै छ ।

यस ओलम्पिकमा रिफ्युजी ओलम्पिक टिमसहित २०६ देशले भाग लिइरहेका छन् ।  ३२ खेलका ३२९ इभेन्टमा २०६ देशका १० हजार ७१४ खेलाडीले यस ओलम्पिकमा भाग लिइरहेका छन् ।

यस ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ ।  गोल्ड मेडलमा ९८.५ प्रतिशत चाँदी र १.१३ प्रतिशत सुन मिलाएर बनाइएको छ ।

त्यस्तै यस ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ । पेरिस ओलम्पिक ११ अगस्तमा सकिने छ ।

यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

न्युज कनरखाना

काठमाडौं ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ ।

कार्यदलमा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक रहेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ।

मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा ७० प्रतिशत सहमति जुटेको र आज कार्यदलले टुङ्गो लगाउने तयारी गरेको छ ।

त्यस्तै कार्यदलले आज अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने भएको छ ।

न्युज कनरखाना

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको हो ।

मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।  उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने भएको छ ।

नकर्मी नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा विजयी भएका थिए । न्युज कनरखाना

काठमाडौं, साउन ११ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलरको भाउ ०४ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसअघि बिहिबार यसको खरिदमूल्य १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको थियो ।

शुक्रबार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसाले बढेको हो । यसअघि बिहिबार युरोको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०१ पैसा पाइन्छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७७ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७२ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ६६ पैसा र बिक्रीदर २८ रूपैयाँ ७८ पैसा कायम गरेको छ ।

यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ १५ र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ।
न्युज कनरखाना

काठमाडौँ । कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएपछि अब उनले के डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् भन्ने बहस शुरु भएको छ ।

उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने बाटो स्पष्ट देखिन्छ । तर उनको लागि सबैभन्दा ठूलो चुनौती नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउनु हुनेछ ।

कमला ह्यारिस पार्टीको राष्ट्रपति पदको उम्मेद्वार बन्नुले एकातिर, डेमोक्र्याटहरूमा नयाँ उत्साह थपेको त देखिन्छ, तर बाइडेन दौडमा हुँदा चिन्ताको विषय नभएका केही कमजोरीहरूलाई पनि उजागर गरेको छ । हालैको चुनावी सर्वेक्षणमा कमला ह्यारिस पूर्व राष्ट्रपति ट्रम्पभन्दा अलि पछाडि देखिएकी थिइन् । अनुमानित सर्वेक्षण तथ्याङ्क र ग्राउण्ड डाटामा सधैं उतारचढाव हुने सम्भावना रहन्छ ।

तर राष्ट्रपति बाइडेनको स्वास्थ्य र सार्बजनिक रुपमा बहस गर्ने क्षमतालाई लिएर डिफेन्सिभ मोडमा पुगेका डेमोक्रेटिक नेताहरु ह्यारिस उम्मेदवार बन्ने भएपछि उत्साहित देखिएका छन् ।

कमला ह्यारिसको शक्ति

पूर्व सभामुख न्यान्सी पेलोसी लगायत अन्य सबै प्रमुख प्रतिद्वन्द्वीहरूले कमला ह्यारिसलाई पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा उम्मेदवारको समर्थन गरिसकेका छन् । पेलोसी अहिलेपनि डेमोक्रेटिक पार्टीको राजनीतिमा सबैभन्दा प्रभावशाली नेता मानिन्छिन् ।

अहिले समग्रमा अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कडा प्रतिस्पर्धाको अवस्था सिर्जना भएको छ ।

उपराष्ट्रपति ह्यारिसले पूर्व राष्ट्रपति ट्रम्पलाई मन नपराउने र प्रमुख स्विङ राज्यहरूमा केन्द्रवादी मतदातालाई आकर्षित गर्नुका साथै केही समयदेखि ओरालो लागेको उनको डेमोक्र्याटिक मत आधारलाई बलियो बनाउनु अवसर जत्तिकै चुनौतीपूर्ण हुनेछ

। डेमोक्र्याटहरूका लागि ट्रम्प समर्थकहरूको उत्साहको बराबर आफ्ना समर्थकहरूलाई सक्रिय पार्नु धेरै महत्त्वपूर्ण हुनेछ । अर्को पक्ष यस पटक, डेमोक्र्याटहरूले चुनावी अभियानमा सबैभन्दा बढी चन्दा पाएका छन्।

बाइडेनको पछि हट्ने घोषणा पछि, २४ घण्टामा चन्दा मार्फत ८० मिलियन डलरभन्दा बढी उठाइएको छ, जुन यस चुनावमा कुनै पनि उम्मेद्वारको लागि एकै दिनमा सबैभन्दा धेरै चन्दा हो । ह्यारिसको चुनावी अभियानले बाइडेन-ह्यारिसको चुनावी अभियानको लागि जम्मा गरेको करिब १० करोड डलर चन्दा रकमबाट बलियो आर्थिक आधार पाउनेछ ।

यदि ह्यारिस उम्मेदवार बन्ने भएसँगै उमेरलाई मुद्दा बनाएर राष्ट्रपति बाइडेनलाई घेरेका ट्रम्पलाई अब सोहि मुद्धामा घेर्ने प्रयास गर्ने छिन् । ७८ बर्षिय ट्रम्प र ५९ बर्षिय ह्यारिसको प्रतिष्पर्धामा अब उमेर एउटा प्रमुख एजेण्डा बन्ने निश्चित जस्तै देखिन्छ ।  विगत केही महिनादेखि चुनावी अभियानका क्रममा ट्रम्पले बाइडेनलाई उमेरका कारण कमजोर र सजिलै भ्रमित भएको भन्दै निशाना बनाउँदै आएका थिए भने अब ह्यारिसले सोहि विषय ट्रम्प तिर फर्काउने देखिएको छ ।

अर्को तर्फ ह्यारिसले आफ्नो पक्षमा अश्वेत मतदाताको समर्थन प्राप्त गर्न सक्ने देखिएको छ । भर्खरको सर्वेक्षण अनुसार, अश्वेत मतदाताहरूले बाइडेनको साथ छोडिरहेको देखिएको थियो ।

बराक ओबामाको सन् २००८ र २०१२ को विजयी गठबन्धनजस्तै कमला ह्यारिसले यस चुनावमा पनि अश्वेत मतदाता, अल्पसंख्यक र युवा मतदातालाई एकताबद्ध गरेमा ट्रम्पलाई कडा चुनौती दिन सक्ने देखिएको विश्लेषकहरुले बताएका छन् ।

विशेष गरी केही स्विङ राज्यहरूमा जसले यस पटकको चुनावको टोन तय गर्नेछ । अभियोजकको रूपमा कमला ह्यारिसको पृष्ठभूमिले पनि उनको छवि उज्यालो बनाउन सक्छ । सन् २०२० को चुनावी अभियानमा वामपन्थीले दिएको नारा ‘कमल इज ए कप’ ले यस पटकको चुनावमा ट्रम्पविरुद्धको अभियानमा कमला ह्यारिसलाई सघाउन सक्छ ।

उपराष्ट्रपति कमला ह्यारिस पनि गर्भपतनको मुद्दामा बाइडेन सरकारका लागि पोइन्ट पर्सन बनेकी छिन्। गर्भपतनको मुद्दा हालैका चुनावहरूमा डेमोक्रेटको भोट आधारलाई उत्प्रेरित गर्ने सबैभन्दा प्रभावकारी मुद्दाहरू मध्ये एक साबित भयो ।

ह्यारिसका कमजोरी

ह्यारिसको सबै शक्तिका बाबजुद केही डेमोक्र्याटहरू सुरुमा बाइडेनलाई राष्ट्रपतिको दौडबाट हटाउने पक्षमा थिएनन् । गर्भपतनको मुद्दामा डेमोक्रेट समर्थकहरूमा उत्साह उत्पन्न भए पनि, ह्यारिसको उपराष्ट्रपतिको रूपमा रेकर्ड मिश्रित र औसत रहेको छ ।

प्रशासनको प्रारम्भिक चरणमा, ह्यारिसलाई अमेरिका-मेक्सिको सीमामा आप्रवासन संकटको मूल कारणहरू सम्बोधन गर्ने जिम्मेवारी दिइएको थियो । एनबीसी न्यूजको एन्कर लेस्टर होल्टसँगको जुन २०२१ को अन्तर्वार्ता सहित धेरै गलत कदम र कथनहरूले ह्यारिसको छविलाई क्षति पुर्याएको मानिन्छ । रिपब्लिकनहरूले कमला ह्यारिसलाई राष्ट्रपतिको ‘सीमा जार’ भनेर निन्दा गरिरहेका छन् । साथै, उनीहरुले ह्यारिसलाई बाइडेन प्रशासनको अलोकप्रिय अध्यागमन नीतिहरूको अनुहार बनाएर लक्षित गर्न खोजिरहेका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको एउटा कमजोरी उनको उम्मेदवारको रूपमा रहेको ट्र्याक रेकर्ड हो । सन् २०२० मा डेमोक्रेट राष्ट्रपतिको उम्मेदवारीको दौडमा उनले ठूलो असफलताको सामना गर्नुपरेको थियो । ह्यारिसले सुरुमा नेतृत्व लिएका भए पनि उनको असफल अन्तर्वार्ता, स्पष्ट परिभाषित दृष्टिकोणको अभाव र कमजोर चुनावी अभियानले उनलाई प्रारम्भिक निर्वाचन प्रक्रियाबाट नै बाहिर हुनुपर्ने बाध्यात्मक अवस्था निम्त्यायो ।

ह्यारिससँग छाप छोड्ने अवसर

ह्यारिसका लागि सबैभन्दा ठूलो चुनौती हो कि उनी बाइडेन जस्तो राष्ट्रपति होइनन् । यस कारणले, ह्यारिसले आफूलाई बाइडेनका केही अलोकप्रिय निर्णयहरूबाट टाढा राख्न सक्छिन् । रिपब्लिकनहरूले ट्रम्पलाई ‘अत्यधिक अप्रमाणित’ र ‘अत्यधिक जोखिमपूर्ण’ भनी प्रमाणित गरेर राष्ट्रपति पदका लागि ह्यारिसको विरुद्धमा एकमात्र प्रामाणिक उम्मेदवारका रूपमा प्रस्तुत गर्ने प्रयास गर्ने विश्वास गरिन्छ ।

तर, आगामी दिनमा उपराष्ट्रपति ह्यारिससँग पहिलो पटक अमेरिकी जनतामा नयाँ छाप छोड्ने मौका छ । यदि उनी यसमा असफल भएमा पार्टीमा द्वन्द्व सुरु हुन सक्छ, जुन अगस्टमा पार्टीको राष्ट्रिय महाधिवेशनमा नयाँ नेता चयनपछि टुंगिनेछ ।
पछिल्ला चार हप्तामा ह्वाइट हाउसको दौडमा तीव्र गतिमा परिवर्तन भएको ह्यारिसले अब आफू ट्रम्पसँग प्रतिस्पर्धा गर्न सक्छिन् भन्ने प्रमाणित गर्नुपर्नेछ ।न्युज कनरखाना

काठमाडौँ । अष्ट्रेलियाले ५५ वर्षपछि २१ जनाको ज्यान लिने एमभी नुनगाह जहाज फेला पारेको छ । बीबीसीका अनुसार यो जहाज २३ अगस्ट १९६९ मा न्यू साउथ वेल्सबाट टाउन्सभिलतर्फ प्रस्थान गरेको थियो ।

स्टिलले भरिएको कन्टेनर बोकेको जहाजमा ५२ जना सवार थिए । अगस्ट २५ सम्म, यो खतरनाक आँधीको सामना गर्दा ३१५ किलोमिटर अगाडि बढेको थियो । यसको गति ११० किलोमिटर प्रतिघण्टा भन्दा बढी थियो, जसलाई जहाजले सम्हाल्न नसकेर डुबेको थियो ।

जहाज डुबेपछि अस्ट्रेलियाली सेनाले इतिहासकै सबैभन्दा ठूलो समुद्री खोजी गरेको थियो । सेनाले विमान, हेलिकप्टर र पानीजहाज लिएर एमभी नुनगाहको खोजी गर्न निस्क्यो । केही घण्टामै जहाज फेला पर्यो र चालक दलका ५ सदस्यसहित २६ जनाको उद्धार गरियो ।

जहाज डुबेको १२ घण्टापछि पनि अस्ट्रेलियाली सेनाले मानिसलाई काठमा तैरिरहेको फेला पारेको थियो । त्यस बेलादेखि जहाज भने भेटिएको थिएन ।

गत महिना, कमनवेल्थ वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठनका वैज्ञानिकहरूले जहाज पत्ता लगाउन खोजी सुरु गरेका थिए । यसका लागि उक्त स्थानमा उच्च प्रविधियुक्त जहाज पठाइएको थियो ।

वैज्ञानिकहरुका अनुसार उनीहरुले जहाजको भग्नावशेष जमिनको सतहबाट १७० मिटर तल फेला पारेका छन् । यस जहाजको डिजाइन र आकार एमभी नुनगाह जहाजसँग मेल खाएको उनीहरुले बताएका छन्  । अब सिड्नी प्रोजेक्ट अन्तर्गत जहाजको जाँच हुने रिपोर्टमा बताइएको छ ।न्युज कनरखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले हाँडीगाउँमा पुनःनिर्माण भइरहेका सम्पदाहरुको भौतिक अवस्थाको अनुगमन गरेको छ ।

यस क्रममा धन गणेश परिसरमा रहेको सत्तल र मालीगाउँमा रहेको मैती अजिमा द्योः छेँः को निर्माण शैली, शिल्प, निर्माण सामग्री, कला र अमूर्त पक्षहरु हेरिएको थियो । अनुगमन समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, वडाध्यक्ष वीरेन्द्र प्रजापती, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख, वडा सदस्यसहितको टोलीले अनुगमन गरेको हो । त्यस क्रममा पुननिर्माण भइरहेको सम्पदासँग सम्बन्धित गुठियार तथा पुजारीहरुलाई बोलाइएको थियो ।

पुनःनिर्माणको प्रगति हेरिसकेपछि प्रतिक्रिया दिँदै समितिका संयोजक डंगोलले, पुनःनिर्माणका लागि उपभोक्ता समिति सक्रिय हुनु सबल पक्ष रहेको बताइन् । ‘नेवा शैलीमा निर्माण भएका सम्पदा काठमाडौँको पहिचानसँग जोडिएका स्मारक हुन् । परम्परागत विधिको पुनःनिर्माण शैली अनुकरण योग्य छ ।’

‘पुनःनिर्माण योजनामा निर्धारण गरिएको शैलीलाई पछ््याइएको पाइयो । कलात्मक थाम, ढोकामा मौलिक चुकुल र आग्लो बनाइएको छ ।’ आयोगका उपाध्यक्ष राजभण्डारीले भने, ‘यसरी पुनःनिर्माण गरिने संरचनाले नेवाः संस्कृतिलाई पुस्तान्तरण गराउँछ ।’

समितिबाट सम्पदा संरचनाको अनुगमन हुन थालेपछि गुणस्तर सुनिश्चित हुन्छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीले भने, ‘निर्माण पक्षले गलत गर्न पाउँदैन । स्तरमा तलमाथि गर्न पाउँदैन । कुनै कारणले त्रुटि भएको देखिए सच्याउने अवसर हुन्छ ।’

द्योः छेँः २०७२ सालको भूकम्पले जीर्ण भएको थियो । यसको पुनःनिर्माणका लागि २०७७ मंसिर १३ गतेको साइत बनाएर भत्काउन थालिएको थियो । त्यही महिना (मंसिर) को २६ गते शिलान्यास गरियो । पुस १५ गतेबाट सुरु भएको काम २०७८ मंसिर २८ गते सकिएको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् ।

द्यो छेँ क्रमागत योजनाअन्तर्गत पुननिर्माण भएको हो । पहिलो चरणमा ६४ लाख १४ हजार रुपैयाँ लागतको काम भएको थियो । लागतको ७ प्रतिशत उपभोक्ता समितिले व्यहारेको थियो । यो कामका लागि ७४ लाख ४७ हजार रुपैयाँ लागत अनुमान गरिएको विभागका प्रमुख कुमारी राईको भनाइ छ ।

दोस्रो चरणको काममा भवनको बाहिरी भागलाई नेवाः शैलीको बनाउने थियो । २०७८ चैत २ गते थालिएको काम सक्नु पर्ने अवधि २०७९ फागुन ३० गतेसम्म थियो । तर काम तोकिएको अवधिभन्दा अगाडि नै अर्थात् २०८० फागुन ६ गते सकियो । ७६ लाख ३१ हजार रुपैयाँ लागत अनुमान गरिएको कामका लागि उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता रह्यो । यो काम ६६ लाख ९३ हजार रुपैयाँमा काम सम्पन्न भयो ।

तेस्रो चरणको कामका लागि उपभोक्ताबाट महानगरपालिकामा योजना माग भएको छ । यो चरणमा भित्री भागको निर्माण तथा सजावटको काम गर्ने योजना छ ।

यस देव घरमा मैतीदेवी मन्दिरको खट र देउता राख्ने गरिन्छ । मैतीदेवी मन्दिर महानगरको वडा ३० मा पर्छ । हरेक बर्षको तिहारमा पर्ने मैतीदेवी जात्रामा यहाँबाट खट र देवता निकाल्ने गरिएको छ । मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना देवीकी दिदीका रूपमा पुजिन्छ ।

वडा नं. ५ कै धनगणेश सत्तलको निर्माण कार्य सकिएको छ । २०८० असार २० गतेदेखि थालिएको काम आउँदो असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेमा जेठ २९ गते नै सकिएको, इञ्जिनियर रुपा डंगोलले जानकारी दिइन्  ।
धनगणेश हाँडीगाउँको भूतेश्वरको उत्तर र पञ्चेधाराको दक्षिणतर्फ छ ।

सत्तल निर्माणको लागत ७३ लाख ९१ हजार रुपैयाँ हो । यो काम ७२ लाख ११ हजार रुपैयाँमा सम्पन्न भएको हो । न्युज कनरखाना

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार उनले नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन् ।

नव नियुक्त मन्त्रीहरूको आजै मन्त्रालयसमेत तोकिएको छ । जसमध्ये मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि मन्त्रीमा नियुक्त भएर बुधबार सपथ लिइसकेका कांग्रेसकै ३ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइए पनि एक जनाको मन्त्रालय अझै टुंगो लागेको छैन । कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सुम्पिँदा मदुकुमार श्रेष्ठको मन्त्रालय तोकिएको छैन ।

१४ सदस्यीय मन्त्रिपरिषद्‌मा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, किरणले थापा स्वास्थ्य मन्त्रालय र  सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।न्युज कनरखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।