काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
न्युज कारखाना
काठमाडौं- झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
भन्सार दाखिला गरिएको उक्त राजश्व गत आर्थिक वर्ष २०७९/८० को भन्दा ४३.२० प्रतिशतले बढी हो।
आर्थिक वर्ष २०७९/८० मा ३ करोड ९८ लाख ३६ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो।
भन्सार छली तथा तस्करी नियन्त्रणमा प्रहरी केन्द्रित बन्दा राजश्व संकलनको दर बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए।
भारतसँग सीमा जोडिएका काँकडभिट्टा, नकलबन्दा, भद्रपुरलगायत क्षेत्रमा झापा प्रहरीले तस्करी नियन्त्रण अभियान चलाइरहेको छ।
‘सीमा क्षेत्रको मुख्य समस्या भनेको भन्सार चोरी र तस्करी हो, यसलाई नियन्त्रण गर्ने मामलामा हामी सबै रणनीति अपनाएका छौं,’ केसीले भने।
यस्तै, झापा प्रहरी फरार अभियुक्त पक्राउमा सफल देखिएको छ। प्रहरीले फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ।
जस अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा ४२७ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
उनीहरूबाट १८४ वर्ष १ महिना १३ दिन कैद र ५ करोड ४ लाख ९८ हजार १४३ रुपैयाँ जरिवाना असुल भएको छ।
आर्थिक वर्ष २०७९/८० मा २३० फरार प्रतिवादी पक्राउ परेका थिए। उनीहरूबाट २४७ वर्ष, एक महिना ७ दिन कैद र १ करोड २ लाख ६ हजार ३९५ रुपैयाँ जरिवाना असुल भएको थियो।
मानिस पक्राउमा उक्त आर्थिक वर्षको तुलनामा ८५.६५ प्रतिशत र जरिवाना असुलमा ३९४.७७ प्रतिशतले वृद्धि भएको केसीले बताए।
यसैगरी, झापा प्रहरी मुद्दा दर्तामा पनि सफल देखिएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा मुद्दा दर्ता बढेका छन्।
२०८०/८१ मा २०८२ वटा मुद्दा दर्ता भएका छन्। जसमा १४९५ जना प्रतिवादी पक्राउ परेका छन्।
२०७९/८० मा १९०९ वटा मुद्दा दर्ता र १३८० जना प्रतिवादी पक्राउ परेका थिए।
झापा लागुऔषध कारोबार र बेचबिखनका कारण चुनौतीपूर्ण जिल्ला मानिन्छ। कारोबारीले छिमेकी मुलुक भारतबाट लागुऔषध नेपाल भित्र्याउने गरेका छन्। विशेषगरी, झापामा लागुऔषध ब्राउनसुगरको कारोबार बढी हुने गरेको छ।
लागुऔषध नियन्त्रण तथा कारबाहीमा झापा प्रहरीको सक्रियता बढेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा लागुऔषधतर्फ २९७ वटा मुद्दा दर्ता भएका छन्। त्यसमा ४६२ जना पक्राउ परेका थिए। तीमध्ये ४२९ पुरुष र ३३ जना महिला थिए।
उक्त आर्थिक वर्षमा २ किलो १७४ ग्राम १९५ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो। यस अवधिमा अन्य विभिन्न किसिमका लागुऔषध बरामद भएको प्रहरी उपरीक्षक केसीले बताए।
बेवारिसे सवारी साधन लिलामतर्फ ४३ लाख ३७ हजार ७०० रुपैयाँ संकलन भएको छ। जसमा ५४१ थान सवारीसाधन बरामद भएका थिए।
बेवारिसे सवारीतर्फ निजी मोटरसाइकल ५३० थान, सरकारी मोटरसाइकल १, चार पांग्रे सवारी ६, सिटी २ थान, जिप भ्यान २ थान लिलाम भएका थिए।
आर्थिक वर्ष २०७९/८० मा २०६ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। त्यसमा ३३६ जना पक्राउ परेका थिए। तीमध्ये ३०१ पुरुष र महिला ३५ थिए। उक्त वर्षमा १ किलो ५५८ ग्राम ४५९ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो।
नदीजन्य दोहनतर्फ प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ७४ हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएको छ। २०७९/८० मा नदीजन्य दोहनतर्फ १२ लाख ६० हजार ९०० रुपैयाँ बराबरको बरामद भएको थियो।
काठ तस्करीतर्फ आर्थिक वर्ष २०७९/८० मा ९७ लाख ९४ हजार ८१० बराबरको र आर्थिक वर्ष २०८०/८१ मा ४० लाख ४५ हजार ५०० रुपैयाँ बराबरको नियन्त्रणमा लिएको छ।
एसपी केसी कार्यसम्पादनमा उत्कृष्ट
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी केसी उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत भएका छन्। उनी कार्य सम्पादनमा कोशी प्रदेशमा प्रथम भएका हुन्।
उनलाई कोशी प्रदेश प्रहरी कार्यालयले नगदसहित पुरस्कार प्रदान गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखानाको अभिलेखमा रहने गरी पत्र लेखेको छ।
केसीले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ मौजदा कानुनको अक्षरस पालना गरी अपराध अनुसन्धान एवम् नियन्त्रणको क्षेत्रमा विशेष योगदान पुर्याएको जनाउँदै प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले पुरस्कार प्रदान गरेका थिए।
यस्तै, पाँचथरका डिएसपी हेमन्त भण्डारी क्षेत्री र संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठ पनि पुरस्कृत भएका छन्। उनीहरूलाई जनही नगद १ हजार ४ सयसहित पुरस्कृत गरिएको छ।
न्युज कारखाना
आजको राशिफल बि.सं.२०८१ साउन २० गते आइतबार ई.सं.२०२४ अगस्त ०४ नेपाल सम्बत ११४४ दिल्लागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण औंसी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सिद्धि योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५: २८ बजे, सूर्यास्त साँझ ०६; ५० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०८ बजेर ४९ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ । मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक सुखको पूर्ण अनुभूति हुने दिन हो । तपाईंको इच्छाको कदर हुने समय छ । हरेक क्रियाकलापमा जीवनसाथी, सन्तान र मित्रवर्गको साथ÷सहयोग प्राप्त हुनेछ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कमलायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । आजका लागि शुभअङ्क १, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । बुद्धिको उपयोग गर्नाले लक्ष्यप्राप्ति हुने समय हो । विवेक र सुझबुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउन सक्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ÷सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक वातावरण राम्रै छ, रोकिएको धनमाल वा पारिश्रमिक प्राप्त हुनेछ, आज अरुलाई सम्मान गर्ने तथा आफूले पनि प्रतिष्ठा पाउने दिन हो । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷घिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । याद गर्नुहोला, आजको दिन राम्रो बनाउन स्वयं आफ्ना लागि समय निकाल्न सक्नुपर्छ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला । आजका लागि शुभअङ्क ९, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाती हुन्छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ साम्बसदाशिवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । पठनपाठनमा ध्यानकेन्द्रित नहुन सक्छ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न सकिंदैन । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
न्युज कारखाना
काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् ।
त्यस्तै मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् ।
त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको उपाधि कृति श्रेष्ठले जितेकी छन् ।न्युज कारखाना
काठमाडौँ । भुटानको थिम्पुमा शनिबार सम्पन्न काभा बिच भलिबलको महिला तर्फ नेपालकी कमला र मनीषाको जोडी उपाधि जित्न सफल भएका छन् ।
उज्बेकिस्तान खेलाडीलाई लाई २-० को सोझो सेटमा हराउँदै कमला पुन र मनीषा चौधरीको जोडी उपाधि जित्न सफल भएका हुन । उनीहरुले २१-१७ र २१-१४ को जितसहित स्वर्ण पदक जित्न सफल भएका छन् ।
पुरुष तर्फ भने नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी उपबिजेतामा बनेका छन् । उनीहरु मालदिभ्स ए टिमका खेलाडीसँग २-० को सोझो सेटमा पराजित हुँदै उपाधि जित्न असफल भएका हुन । यस प्रतियोगितामा पुरुष तर्फ १० टोली र महिला तर्फ ७ टोलीको सहभागिता रहेको थियो । न्युज कारखाना
भैरहवा । भैरहवा भन्सार कार्यालयले राजश्य लक्ष्य प्राप्त गर्न नसकेपनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ ।
भन्सारको कामसँगै तस्करी नियन्त्रणमा उत्रेको भन्सारले सूचनाको आधारमा उललेख मात्रामा अवैध सामान बरामद गर्दै आएको छ । विशेष सूचनालाई आधार बनाई कार्यालय प्रमुख नारद गौतम सहितको टोली सक्रिय रुपमा निगरानी बढाउदै अवैध बस्तु धमाधम नियन्त्रणमा लिइरहेको छ ।
शुक्रबार विहान ११ बजेको समयमा भन्सारकै नेतृत्वमा रुपन्देहीको सिद्धार्थनगर ८ लुम्बिनी रोड यादव चोकको भित्र बाट १६२ बोरा चिनी बरामद गरेको छ । नेपाली चिनीको बोरामा प्याक गरि गोदामबाट ट्रकमा लोड गरेको अवस्थामा ५० किलो परिमाणको १६५ बोरा अर्थात ८ हजार एक सय किलो चिनी बरामद गरिएको हो । ट्रकमा लोड गरिएको चिनीको साथमा इलेक्ट्रीक तराजु, र महोत्तरीमा रहेको सुगर मिलको २०० वटा खाली बोरा समेत बरामद गरिएको छ । जस्को मुल्य करिब ११ लाख रहेको छ ।
असारको २७ गते पनि भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र केराउ मटर भन्सार कार्यालयले बरामद गरेको थियो । अवैध रुपमा भित्रिएको गल्लामण्डीको सुगर मिल क्षेत्रबाट ट्रकमा लोड गरिरहेको अवस्थामा ५ लाख ७४ हजार रुपैयाँ बराबरको एक सय तीस बोरा (६५०० किलो) चिनी र ६८ बोरा (१७०० किलो) केराउ मटर बरामद गरिएको थियो ।
भैरहवा भन्सार कार्यालयले पछिल्लो एक वर्षमा नेपाल भित्रिएको करोडौ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । यस अघि गत जेठ २९ मा भैरहवा भन्सार कार्यालयले लु १ च ४७९२ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिई अवैधरुपमा भित्र्याइएको १७ लाख बढीको बेल्ट, ब्रा र मोजा बरामद गरेको थिया, गाडी जफत गरि चालक अब्दुल अन्सारी अहिले थुनामा छन् ।
यस्तै भन्सारले जेठ १ गते २४ टन अवैध प्याजसहित ना ५ ख ५२७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । ९ लाख ६० हजार बराबरको उक्त प्याज र १२ लाख ट्रकको मूल्य कायम गरेर जफत गरिएकोमा थियो ।
असार ३१ गते भैरहवाको बुद्धचोकबाट कार्यालयको गस्ती टोलीले आठ लाख ६० हजार बराबरको धुलो सुर्ति २८० केजी, कलासिक चुरोट १०१ प्याकेट, कुल लिप समेतको तयारी सुर्ति १०८५ प्याकेट भण्डारण गरिरहेको अवस्थामा बरामद गरेको थियो ।
पछिल्लो समय सेवाप्रबाहसँगै भन्सारको टिम तस्करी निणन्त्रणमा सक्रिए देखिएको छ । रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । ‘हामीले जसरी हुन्छ अवैध निकासी–पैठारी रोक्ने भनेर काम गरिरहेका छौं, यसका लागि हाम्रो संयन्त्र परिचालन गरेका छौं, विभिन्न ठाउँबाट आउने सूचनाहरुलाई ‘क्विक रेस्पोन्स’ गर्ने गरिरहेका छौं’, भन्सार प्रमुख गौतमले भने ।
कार्यालयले अभियान नै चलाएर तीव्र रूपमा भन्सार छलेर भित्राइएका सामग्रीहरू नियन्त्रण लिइरहेको छ । भन्सार छलेर निर्यात गर्न लागिएको र आयात गरिएको अवस्थामा प्रयोग भएको गाडी तथा मानिससहित सामग्रीहरू नियन्त्रणमा लिने क्रम बढेको छ । गौतमले भन्सार प्रमुख भएर आएको छ नौ महिनामा भन्सार छली गरी अवैध बाटोबाट भित्र्याइएको र भारततर्फ लैजान लागिएको करिब ४ करोडको सामान बरामद भएको छ । ‘अवैध सामान ओसारपसारमा प्रयोग भएका ट्रक, मिनी ट्रक, पिकअप र कार गरी करिब २ दर्जन ढुवानीका साधन नियन्त्रणमा लिइएको छ । मोटरसाइकल र स्कुटर पनि जफत भएका छन’, उनले भने, ‘यीमध्ये जफत गरिएका ढुवानीका साधनबाट २ करोड रुपैयाँ राज्यकोषमा जम्मा भएको छ ।’
भन्सारले सीमा क्षेत्रमा निगरानी बढाउँदा यो सफलता हात लागेको हो । सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको छ । अवैध पैठारीमा संलग्न ७ जना थुनामा छन् भने पाँचजना फरार छन् । केही धरौटीमा छुटेका छन् । आर्थिक वर्ष २०८०–०८१ मा भन्सारले आफ्नै सक्रियतामा ६० बढी मुद्दा दर्ता गरेको छ ।
भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौंका सामान बरामद गरेका छन् । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले साइकलमा भन्सार छलेर थोरै–थोरै परिमाणमा चिनी, मटर लगायत सामग्री भित्राएर डम्प गर्ने गर्दछन् । परिमाण धेरै भएपछि नक्कली बीजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्ने गरेका छन् ।
तस्करहरुले त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली लगायतका नाकाबाट मर्चवार हुदै बनगाई सम्म अवैध सामान ल्याउने गरेका छन । यस्तै सेमरपानी, मैनिहवा, भगवानपुर, बुची वरवा, पिपरहवा धकधई हुदै हुलाकी राजमार्ग सम्म तस्करीका सामान आउने गरेका छन । भन्सारकै पछाडि मेउडिहवा, नौडिहवा, फरेनिया ,भ्ुजौली, पिपरहिया, केवटिलया, शंकरपुर लगायतका नाकाबाट पनि साइकल मोटरसाइकल र गाडीमै पनि तस्करी भइरहेका छन ।
मुख्य नाकामा चेकजाँच कडाई गरेपनि रुपन्देहीका यि भित्री नाकातर्फ तस्करहरु सक्रिय भएका छन । सिमा सुरक्षा र अवैध गतिविधी नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ । सुरक्षा घेरा हुदा हुदै पनि तस्करका सामान निर्वाध भित्रि रहनु सुरक्षा निकाय माथी नै प्रश्न चिन्ह छ । विभिन्न चौकी र चेकपोस्ट पार गरि बजारमा आएर अवैध सामान बरामद हुनु भनेको संलग्नता छ कि? भन्ने पनि छ । तस्करी रोक्नकै लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार गस्ती टोलीको ठूलो जनशक्ति परिचालन भएपनि तस्करहरु विभिन्न नाकाबाट अझै पनि तस्करी गरिरहेका छन, सिमति स्रोत साधन र जनशक्ति भएको भन्सारले निरन्तर यस्ता अवैध बस्तु नियन्त्रण गरिरहेकै छ ।
पछिल्लो समय दैनिक उपभोग्य बस्तु, कपडा मात्रै होइन हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेका छन । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रुपमा नै टयाक्टर पिकअपबाट शहरहरुमा पठाउने गरेका छन । चौकीको अगाडिबाट नै तस्करीका सामानहरु निर्धक्क साथ जाने गरेको छ । खुला सिमाबाट जे जस्तो अवस्थामा ल्याएपनि ति सामानहरु प्रहरी पोस्टकै अगाडीबाट जादा समेत प्रहरीले वास्ता नगर्नु प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको छ ।न्युज कारखाना
काठमाडौँ । भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वायनाड दुर्घटनामा मृत्यु हुनेको संख्या २१६ पुगेको बताएका छन् । यस घटनामा दुई सयभन्दा बढी मानिस अझै बेपत्ता रहेको उनले जानकारी दिएका छन् ।
वायनाडमा पीडितहरूका लागि ९३ राहत शिविरहरू पनि निर्माण गरिएका छन्, जसमा हाल १० हजारभन्दा बढी मानिसहरूले आश्रय लिएका छन्।
त्यस्तै अहिलेसम्म ६७ शवको पहिचान हुन सकेको छैन । सेनाले अहिले पनि ठूलो मात्रामा उद्धार र राहत कार्य गरिरहेको छ ।
गत बुधबार भएको बर्षा र भूस्खलनमा परेकाको उद्धार कार्य अहिले पनि जारी रहेको बताइएको छ ।
न्युज कारखाना
काठमाडौँ ।
बलिवुड अभिनेता सिद्धान्त चतुर्वेदी र नव्या नवेली नन्दा लामो समयदेखि रिलेशनशिपमा रहेको हल्ला चलिरहेको थियो । लामो समयदेखि हल्लामै सिमित रहेका सिद्धान्त र नव्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ ।
भारतीय मिडियाहरुले दुवैको ब्रेकअप भएको उल्लेख गरेका छन् ।
यी दुई अहिले अलग भइसकेको र सहज रुपमा ब्रेकअप गरेको रिपोर्टमा उल्लेख गरिएको छ । दुवैले अहिलेसम्म आफुहरुको सम्बन्धको बारेमा सार्बजनिक रुपमा टिप्पणी गरेका थिएनन् । सिद्धान्त चतुर्वेदीले एक पुरानो अन्तर्वार्तामा आफू सिंगल नभएको र कसैसँग डेट गरिरहेको बताएका थिए । उनले अन्तर्वार्तामा युवती चलचित्र क्षेत्रसँग आवद्ध भएपनि अभिनेत्री भने नभएको बताएपछि उनी नव्या भएको अड्कल काटिएको थियो ।
सिद्धान्त चतुर्वेदी हाल बलिवुडका उदयीमान अभिनेता हुने भने नव्या महानायक अमिताभ बच्चनकी नातिनी हुन् । फिल्म क्षेत्र भन्दा बाहिर नव्याले आफ्नो पिताको बिजिनेस बाहेक सामाजिक सेवा तथा आफ्नो पोडकाष्ट गर्ने गर्दछिन ।
त्यस्तै सिद्धान्त भने अब बहुप्रतिक्षित फिल्म ‘धडक २’ मा देखिने भएका छन् । उनी बाहेक फिल्ममा अभिनेत्री तृप्ति डिमरी पनि देखिनेछिन् । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् ।न्युज कारखाना
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन् ।
डेमोक्रेट पार्टीको प्रतिनिधिहरुले मतदान मार्फत ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका लागि छानेका हुन् । अब यसको औपचारिक घोषणा भने यहि अगस्त १९ देखि हुने डेमोक्रेट पार्टीको कन्भेन्सनमा हुने छ ।
ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट गरिएको छ।
यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।
राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राखेर कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि, ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन।
कमला ह्यारिस शुक्रबार दिउँसो डेमोक्रेटका ४ हजार मध्ये २३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।
न्युज कारखाना
काठमाडौँ ।
उत्तर कोरियाबाट भागेका एक वरिष्ठ अधिकारीले किम जोङ उन डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न चाहेको बताएका छन् ।
रि इल क्यू सन् २०१६ यता उत्तर कोरियाबाट भाग्ने उच्च पदस्थ अधिकारी हुन् । रि इल क्यु सात पटक किम जोङ उनसँग आमनेसामने भइसकेका अधिकारी हुन् ।
दक्षिण कोरिया भाग्नुअघि रि इल क्युबामा उत्तर कोरियाका लागि काम गर्दै थिए । री इल क्युले बीबीसीसँगको कुराकानीमा किम सामान्य व्यक्ति जस्तै देखिन्छन् तर आफ्नो बाँच्नको लागि उनले जे पनि गर्न सक्छ भन्नेमा कुनै शंका नरहेको बताएका छन् ।
रि इल क्युले ट्रम्प र किम जोङ उनबीच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रममा डोनाल्ड ट्रम्पसँग वार्ता गर्न सक्छ भन्ने महसुस गरेको बताएका छन् ।
डोनाल्ड ट्रम्पले यसअघि नै किम जोङ उनसँगको सम्बन्धलाई आफ्नो राष्ट्रपतिको महत्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गरिसकेका छन् । गत महिना एक र्यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताएका थिए । ट्रम्पले भनेका थिए, ‘मलाई लाग्छ किम जोङ उनले मलाई याद गर्छन्।’
रि इल क्युले उत्तर कोरियाले ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहेको बताएका छन् । तर, गत महिना उत्तर कोरियाले अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने कुराले फरक नपर्ने बताएको थियो ।
रीले उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई कहिल्यै नष्ट नगर्ने बताएका छन् । बरु, उसले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम रोक्ने सम्झौतामा पुग्ने प्रयास गर्नेछ।
न्युज कारखाना