२०८३ भाद्र १३
२०८३ भाद्र १३

बज्जिकाञ्चल संवाददाता, २२ गते फागुन ।
रौतहटको गरुडा नगरपालिकामा अनाधिकृत तवरले सञ्चालित १० वटा निजी अस्पताललाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बन्द गर्न निर्देशन दिएका छन् । बुधबार मुख्यमन्त्री सिँहले त्यहाँस्थित निजी अस्पताल अनुगमनक्रममा सबै १० वटा अस्पताल वैध ढङ्गले सञ्चालन नभएका पाएपछि अस्पताल बन्द गर्ने निर्देशन सञ्चालकहरूलाई दिएका छन् ।
मुख्यमन्त्री सिँहले बन्द गर्न निनर्देशन दिएका नौवटा अस्पताल गरुडा नगरपालिका वडा नम्बर ४ मा र एक अस्पताल वडा नम्बर ५ का छन् । प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरका अनुसार गरुडा नगरपालिका वडा नम्बर ४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, श्री नेत्रज्योति आँखा हस्पिटल प्रालि, श्री गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि र श्री सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालिलाई मुख्यमन्त्री सिँहले बन्द गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले सेवा सञ्चालन अनुमति नलिएका, त्यस्तो अनुमति लिए पनि चार–पाँच वर्षयता नवीकरण नगराएका र कानुनी प्रावधानविपरीत निर्धारित सँख्याभन्दा बढी शय्याको अस्पताल सेवा सञ्चालन अनुमति स्थानीय तहबाट प्राप्त गरेका प्रकृतिका ती अस्पताललाई प्रदेश सरकार प्रमुख सिँहले बन्द गर्न निर्देशन दिएको जानकारी दिए । जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा आएका ती अस्पताललाई बन्द गर्न अनुगमन टोलीले अनुगमनक्रममै पत्र दिएको छ ।
अनुगमनक्रममा बन्द गर्न निर्देशन दिइएको आनन्द हस्पिटल प्रालिले स्थानीय तहबाट चालू आर्थिक वर्षमै २५ शय्याको अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको छ । कानुनअनुसार स्थानीय तहले १५ शय्यासम्मको अस्पताल सेवा सञ्चालन स्वीकृति दिन सक्छ । २५ शय्यादेखि दुई सयसम्म प्रदेश सरकारले र दुई सय शय्याभन्दा माथि सङ्घ सरकारले अस्पताल सेवा सञ्चालन स्वीकृति दिने व्यवस्था छ । स्थानीय तहलाई विशिष्टीकृत अस्पतालको सेवा सञ्चालन अनुमति दिने अधिकार छैन । “तर, कानुनविपरीत कतिपय स्थानीय तहले अधिकार क्षेत्रभन्दा बाहिर गएर तोकिएको १५ शय्याभन्दा बढी क्षमता र विषयगत अस्पताल सञ्चालन अनुमति दिएको अनुगमनक्रममा मुख्यमन्त्रीज्यूले पाउनुभएको छ । यस्तो अनुमति अवैध हो । त्यसैले मुख्यमन्त्रीज्यूले त्यस्ता अस्पताललाई बन्द गरी कानुनअनुसार विधिसम्मत ढङ्गले अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न निर्देशन दिनुभएको हो,” मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार कर्णले भने ।

काठमाडौं,२१ गते फागुन । 

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष पभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ’ उनले भने । २१ औं शताब्दीमा पनि सांसद किनबेच हुन्छ भनिनु आफैँमा गम्भीर विषय रहेको उनले बताए ।
‘अहिलेको २१ औं शताब्दीमा, आधुनिक युगमा सांसद किनबेच भन्ने कुरालाजमर्दो छ । सिंगै संसद अपमानित हुने यो विषयमा सम्माननीय सभामुखज्यु गम्भीर हुन जरुरी छ । सम्मानित संसद अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जवाफ दिन जरुरी छ’ उनले भने ।
जिम्मेवार सांसदले सांसद किनबेचमा रहेको भन्न मिल्ने कि नमिल्ने पनि उनको प्रश्न छ । ‘होइन भने एउटा जिम्मेवार सांसदले यस्तो भन्न मिल्छ कि मिल्दैन ? मिल्दैन भने यसमा कानुन लाग्छ कि लाग्दैन ?’ साहको प्रश्न छ ।

 

प्रेमचन्द्र झा,राैतहट,२१ गते फागुन । 

रौतहट । गाैरका पुर्व नगरप्रमुख अजय कुमार गुप्ताले प्रधानमन्त्रीलाई भेटी राईस मिलको जग्गा भुमाफियाले बिक्री गर्न लागेमा जग्गा रोग्गा राखि दोषी उपर कार्वाहीको माग सहितको ज्ञापनपत्र बुझाएका छन । राैतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य प्रत्यासी समेत रहेका गुप्ताले बुधबार दिउसो बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भुमाफियाले
गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक उपभोगमा रहेको राईस मिलको जग्गा बेचविखन गर्न लागेकोमा जग्गा राेक्का राखि दोषीलाई कार्वाही गर्न माग गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीसंग पुर्व नगर प्रमुख गुप्ताले नक्कली कागजपत्र तयार गरी ठूलो आथिर्क चलखेल मचाई जग्गा हडपन खोज्ने उपर छानबिन गरी कार्यवाही गर्न अनुराेध गरेका छन । बुझाएका छन
प्रधानमन्त्री नेपाल सरकार मन्त्रीपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं सम्बाेधन गरि बुझाएको ज्ञापन पत्र अनुसार गौर नगरपालिका स्थित राइस मिलको जग्गा बर्षों देखि सार्वजनिक रुपमा प्रयोग भइ बिभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन, तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदान को रुपमा प्रयोग भै आइरहेकोमा बेला बखतमा भुमाफियाहरु नक्कली कागज खडा गरि बिक्री वितरणको लागि प्रयासरत रहेका छन । हाल भुमाफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठूलो आथिर्क चलखेल गरि सो जग्गा भागबन्डा गरि खेलमैदानको अस्तित्व नै समाप्त हुने गरि रौतहट वासिका सपनालाई धमिलो पार्ने उदेश्यका साथ अगाडी बढेकोमा अबिलम्ब सो जग्गा बिक्रि बितरणमा रोक लगाई दोषीहरु माथि छानबिन गरि कारर्वाही तथा सो जग्गा संरक्षण गरि सार्बजनिक गर्नुहुन पुर्व नगर प्रमुख गुप्ताले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनमा उल्लेख छ । सो ज्ञापन पत्र मार्फत साविक गाैर गाविस वडा नम्बर सातको किता नम्बर १३९ को ०-४-१५ ,१४०को ०.१६-०,१६३को ४-१०-० र ८०३को ०.९.० जग्गा राेक्का राख्न माग गरेका छन।

राजेश निर्माणी,राैतहट,२१ गते फागुन । 
राैतहट । नेकपा (एकीकृत समाजवादी) रौतहटको वृन्दावन नगर कमिटीको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

बुधबार सम्पन्न अधिवेशनले सुरेन्द्र पटेलको नेतृत्वमा ४३ सदस्सीय नगरकमिटी चयन गरेको छ। कमिटीको उपाध्यक्षमा शेख करिम र सचिवमा प्रेम पटेललाई चयन गरिएको छ। त्यस्तै सो नगरकमिटीको उपसचिवमा राजेश पासवान(निर्माणी) र रामपुकार यादवलाई चयन गरिएको छ।

पार्टीका उपमहासचिव तथम संविधान सभा सदस्य रामकुमार भट्टराई,पोलिट ब्युरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज सरला यादव लगायत सो कार्यक्रममा उपस्थित अथितिहरुले नव निर्वाचित नगरकमिटीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ। साथै उपमहासचिव भट्टराईले पार्टीको नीति, विधान र कार्यक्रमलाई बोकेर जनताको बीचमा जान स्थानीय नेता कार्यकर्ताहरू आग्रह गर्नुभएको छ।

कार्यक्रमको सभा अध्यक्षता जिल्ला कमिटी सदस्य तथा वृन्दावन नगर कमिटी अध्यक्ष सुरेन्द्र पटेलले गरेका थिए भने,प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय उप महा सचिव तथा संबिधान सभा सदस्य रामकुमार भट्टराई रहनुभएका थिए।

त्यसैगरी विशिस्ट अतिथिमा स्थायी कमिटी सदस्य कल्याणी खडका अतिथिहरुमा पोलिट ब्युरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज सरला यादव,जिल्ला सह.इन्चार्ज तथा क्षेत्रीय इन्चार्ज महेन्द्र चौलागाईं,केन्द्रीय सदस्य बिनिता बख्रेल,केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा वृन्दावनका नगर प्रमुख बिनोद प्रसाद कुर्मी,नेकपा एस पार्टी जिल्ला अध्यक्ष कमल यादव,जिल्ला कमिटी सचिव मदन सापकोटा,नेपाल भुतपुर्व शैक्षिक प्रहरी संगठनका केन्द्रीय उप महासचिव तथा जिल्ला कमिटी सदस्य कृष्ण बहादुर खडका, जिल्ला कमिटी सदस्य तथा मुस्लिम इतेहाद संगठन नेपाल मधेस प्रदेशका अध्यक्ष सलामोदिन दर्जी,जिल्ला कमिटी सदस्य तथा गढीमाई-१ का वडा अध्यक्ष रामपुकार यादव र चन्द्रपुर नगर कमिटी अध्यक्ष बिरु रखाल लगायत विभिन्न स्थानीय जनप्रतिनिधि,नेता कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रेम पटेलले राखेका थिए भने कार्यक्रम सञ्चालन वृन्दावनका नगर कार्यपालिका सदस्य राजेश पासवान (निर्माणी)ले गरेका थिए।

उमेश कुमार साह,२० गते फागुन । 
सप्तरी – सप्तरीको बोदे बर्साईन नगरपालिकामा निरन्तर रूपमा भइरहेको वडा नम्बर १ देखि १० सम्म सरसफाइ अभियानमा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह आफै जुटेका छन्। ‘हाम्रो बोदे बर्साईन हामी बनाउँछौँ’ अभियान अन्तर्गत मंगलबार नगर प्रमुख सिंह वडा नम्बर ४ को सरसफाइमा जुटेका हुन्।

बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजना भएको सरसफाइ कार्यक्रममा वडा अध्यक्ष किरण कुमार साह , स्वास्थ्य शाखा संयोजक बैधनाथ साह , नेपाल प्रहरी , सशस्त्र प्रहरी , स्वास्थ्यक्रमी , स्थानीयबासी लगायतका ब्याक्तीले बोदे बर्साईनका विभिन्न ठाउँमा त्यहाँका स्थानीयले स्वस्फूर्त रुपमा उक्त अभियानलाई सघाउने अभिप्रायले सरसफाइ गर्दै आएका छन्। नगरले आगामी आर्थिक वर्ष २०८१/०८२ लाई सरसफाइ वर्षका रुपमा मनाउने नीति लिएको छ।
पछिल्लो समयमा सरसफाइको अभियानलाई प्रभावकारी बनाउन स्थानीयको सक्रियता समेत बढेको छ।

सरसफाई अभियानको अगुवाई गर्दै नगर प्रमुख आतेश कुमार सिंह आफै झाडु बोकेर सडक बढार्दै हिँडेका थिए।

बोदे बर्साईन नगरपालिकाले केही साता सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरेर जथाभाबी फोहोर नगर्न आग्रह गर्ने र त्यसपछि पनि अटेर गरेर जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने तयारी गरेको छ । जथाभाबी फोहोर गर्नेलाई पाँच सय देखि ५ हजारसम्म जरिबाना गर्न सक्ने कानूनी व्यवस्था ल्याउने प्रयासमा छ । फाल्गुन र चैत महिनाभर सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरिने र अटेर गरेर जथाभाबी फोहोर गर्नेलाई बैशाखबाट कानूनी कारबाही गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बैधनाथ साहले बताए । ‘जथाभाबी फोहोर गर्नेलाई पाँच सय देखि ५ हजारसम्म जरिवाना गराउँन सक्ने कानुनी व्यवस्था भएपनि अहिलेसम्म त्यसमा कडाइ गरिएको थिएन, तर अब बैशाखबाट कडाइ गरिन्छ,’ साहले भने ।बोदे बर्साईन नगरले हालसम्म नगर क्षेत्रका हजारौं सय घरधुरीलाई फोहोर फाल्ने डस्टबिन वितरण गरेको छ । नगरका सार्वजनिक स्थानहरुमा पनि सयांै वटा डस्टबिन राखेर फोहोर संकलन गरी फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर फोहोर व्यवस्थापन गर्ने गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२० गते फागुन । 

सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीय किशोरी रिंकुकुमारी सदाको सम्झनामा राैतहटकाे गरूडामा दिप प्रज्जवलन गरिएको छ ।

मंगलबार साँझ गरूडा स्थित मेथुर चाैकमा शंकर फाउन्डेसनकाे आयाेजनामा श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्जवलन कार्यक्रम आयाेजन गरिएको थियो ।

रिंकु सदालाई न्याय देउ ! दाेषीलाई कार्यवाही गर ! भन्ने नाराका साथ साे कार्यक्रम गरिएको थियोे । कार्यक्रम संयोजक सामाजिक अभियन्ता शैलेन्द्र यादवको अध्यक्षतामा साे कार्यक्रम गरिएको थियो ।

स्मरणीयहाेस् अपहरण र सामूहिक बलात्कारमा परेको घटना मिलाउनका निम्ति गाउँमै भएको पञ्चायती पछि रिंकु आफ्नै घरमा गत माघ ३० गते साँझ, संकास्पद झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । रिंकुको न्याय र दोषीमाथि कारबाहीको माग गर्दै दलित संघर्ष समिति रौतहटले पनि प्रदर्शन गर्दै आएको छ ।

साे कार्यक्रममा गरूडाका मेयर प्रत्यासी ब्रिजकिशाेर यादव,नेता रामभराेस यादव,सञ्चारकर्मी राहुल साह सहित राजनीतिकर्मी, विद्यार्थी, युवाहरूकाे उपस्थिति रहेको थियो ।

राजन कुमार श्रीवास्तव,गाैर, २० गते फाल्गुन । 

बिगत लामो समय देखि अधिग्रहणको विषयमा बिबादित रहेको रौतहट जिल्लाको सदरमुकाम गौरको मध्य भागमा रहेको गौर राइस मिलको झंझट समाप्त भएको छ । २०६६ साल देखिनै  पटक पटक अधिग्रहणको प्रक्रिया अपनाउने गरेको राईस मिलको जग्गा मध्ये खेलकूद मैदानको लागि जग्गा प्राप्त हुने निश्चित भएपछि बिबादमा रहेको गौर राइस मिलको जग्गाको विक्री गर्ने बाटो खुले पछि झंझट समाप्त हुने भएको हो ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले मंगलवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मलेन गरी जग्गा धनि गौर राइस मिल एंड फ्लोर लिमिटेडका संचालक समितिले गौर नगरपालिकाको नाउमा २ बिगहा १५ कट्ठा जग्गा निशुल्कमा दिने सहमति जनाएको बताएका छन ।

तत्कालीन प्रधानमंत्री माधव कुमार नेपालको नेतृत्वमा मन्त्रिपरिषदले राइस मिलको नाउमा रहेको ५ विगहा १९ कट्ठा १५ धुर जग्गा सरकारीकरण गर्ने गरेको निर्णयलाइ सर्वोच्च अदालतले विना मुआवजाको अधिग्रहण गर्न नसकिने भनी मंत्री परिषद्को निर्णय बदर गरिदिएको जानकारी दिदै मेयर साहले बिना कुनै मुआवजाको गौर नगरपालिकालाइ संचालक समितिले २ विगहा १५ कट्ठा जग्गा दिने भएपछि बाकी जग्गा बिक्रीको लागि फुकुवा गर्ने निष्कर्षमा नगरपालिका पुगेको सार्वजानिक गरे ।

उहाले भने प्रदेश सरकारले पटक पटक १५ करोड़ रुपैया विनियोजन गरे पनि क़ानूनी जटिलताको कारन अधिग्रहण हुन नसकेको राइस मिलको जग्गा निशुल्क रुपमा पाउने भएपछि नगरबासीको हक़मा नगरपालिकाले निर्णय गरेको दावी गरे !

उनले भने १५ करोड़ ५६ लाख रुपैया लगाएर १ बिगहा १६ कट्ठा जग्गा लिनु आर्थिक भार हुने भएकोले यस्तो निर्णय लिएको छू बिना कुनै लागतको नगरपालिकाले २ विगहा १५ कट्ठा जग्गा पाइरहेकोले विरोध गर्नु कुनै औचित्य नै नभएको जिकिर गरे ।

गौर राइस मिलको नाउमा सर्वे नापी अनुसार ५ विगहा १९ कट्ठा १५ धुर रहेकोमाँ स्थलगत रुपमा भोगमा ४ बिगहा १९ कट्ठा जग्गा मात्र रहेको छ ! २४ कट्ठा जग्गा मोहि रहेको छ ! गौर नगरपालिकालाइ २ विगहा १५ कट्ठा खेलकूदको लागि तथा २ कट्ठा जग्गामाँ निर्माण भएको धर्मशाला नगरपालिकालाइ नै दिने सहमति संचालक समितिले जनाएको हुदा नगरपालिकालाइ प्रत्यक्ष रुपमा १५ करोड़ ५६ लाख रुपैया जोगिएको उनले दावी गरे ।

गौर नगरबासीले दिएको जिम्मेवारीको पूर्ण रुपमा इमान्दारिताको साथ निर्वाह गर्दै आएको भन्दै नगर प्रमुख साहले बिना कुनै आधार प्रमाणले अरुको जग्गा बलपूर्वक कानून विपरीत रोक्का गरी राख्न नमिल्ने समेत तर्क गरे !

गौर राईस मिलको नाउमाँ जग्गा रहेकोले त्यसको अधिकारी संचालक समिति नै रहेकोले रोक्का गरेर राख्न नमिल्ने उहाको भनाइ रहेको छ । राइस मिलको जग्गाको कर नगरपालिकाले लिनु पर्ने बाध्यता रहेको छ उनले भने कर लिए बिरोधी हरुले जग्गा बिक्री गर्न लागे भने आधारहीन आरोप लगाउन शुरू गर्ने भएकोले नगरपालिकाले पाउनु पर्ने जग्गा निशुल्क रुपमा पाई रहेकोले विरोध गर्नुको कुनै औचित्य नभएको बताए   ।

विकास बिरोधीले बिरोध गरे पनि कुनै फरक नपर्ने भन्दै नगरपालिकाको कार्यपालिका समितिको निर्णय अनुसार कार्य अगाडी बढाएको उल्लेख गरे । २००३ सालमा स्थापना भएको गौर राइस मिल बिगत करीव ४० वर्ष भन्दा बढ़ी समय देखि बन्द रही अलपत्र अवस्था रहेको गौर राइस मिलको जग्गा चारै तीर बाट अतिक्रमित भएको छ ।

गौर राइस मिलको नाउमाँ रहेको सम्पूर्ण जग्गा अधिग्रहण गर्नु पर्ने जनदवाव कायमै रहेको अवस्थामाँ गौर नगरपालिकाले गरेको यस्तो निर्णयको विरुद्ध आन्दोलन चर्किने अवस्था रहेको छ ।

मुकेश कुमार साह,रौतहट २०,फाल्गुण
रौतहट – ब्रेन ट्युमर रोगबाट पीडित रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतलाई चन्द्रपुर अस्पताल प्रालिले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका सञ्चालक डा. सुवास चौधरीले पत्रकार महतलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । सो अवसरमा उनले महतको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले आफ्नो एक दिनको पारिश्रमिक महतको उपचारका लागि प्रदान गरेको जानकारी गराए । अस्पतालले उनलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
डा. चौधरीका अनुसार पत्रकार महतलाई अस्पतालबाट हुने सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ। साथै, उपचारका क्रममा आवश्यक परे जुनसुकै समयमा रक्तदानको व्यवस्था मिलाइनेछ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले पत्रकार महतको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए । उनले पत्रकारितामा लामो समयदेखि सक्रिय महतलाई समाजले अब साथ दिनुपर्ने बताए ।
पत्रकार फणिदेव महत विगत दुई दशकभन्दा बढी समयदेखि रौतहट जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै विभिन्न सञ्चारमाध्यममा संलग्न रहँदै आएका छन्।
आर्थिक रूपमा कमजोर रहेका महत विगत लामो समयदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका छन्, जसका कारण उनी आर्थिक समस्यामा परेका छन्।
कार्यक्रममा रौतहट जिल्लाका विभिन्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

बज्जिकाञ्चल संवाददाता,राैतहट, २० गते फाल्गुण । 

ब्रेन ट्युमर रोगबाट पीडित वरिष्ठ पत्रकार फणिदेव महतको उपचारका लागि चन्द्रोदय साकोसका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । संस्थामा कार्यरत ११ जना कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको रु ९ हजार ५ सय  संकलन गरी सहयोग प्रदान गरेका हुन्।
मंगलबार संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्यले महतलाई उक्त रकम हस्तान्तरण गरे। यस अवसरमा उनले सहयोगले महतको उपचारका क्रममा आर्थिक भारलाई केही हदसम्म कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनीहरूले महतको बिगतको सक्रिय पत्रकारिताको चर्चा गर्दै हाल उनी गम्भीर रोगबाट ग्रसित भएकाले थप सहयोग आवश्यक रहेको औंल्याए । कार्यक्रममा उपस्थित सबैले पत्रकार महतको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै थप सहयोग जुटाउन पहल गर्ने समेत बताए ।
दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका महत विभिन्न सञ्चारमाध्यममा सक्रिय रहँदै आएका छन् । नेपाल तथा भारतका अस्पतालहरूमा उपचार गराइरहेका उनलाई आर्थिक अभावका कारण थप समस्या भइरहेको छ ।
संस्थाका कर्मचारीहरूले सानो सहयोगले पनि ठूलो प्रभाव पार्न सक्छ भन्ने सोचका साथ रकम संकलन गरेको बताउँदै सबैलाई सहयोगका लागि आग्रह समेत गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बासुदेव अधिकारी, उपाध्यक्ष रामशरण गौतम, प्रमुख व्यवस्थापक कृष्णलाल थापा र व्यवस्थापक शुभ नारायण चौधरीको पनि उपस्थिति रहेको थियो।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२० गते फागुन । 

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारवाहीको माग गर्दै पीडित परिवार आज धर्नामा बसेको छ ।

रौतहटको बौद्धिमाई नगरपालिका ८ का स्थानीय गंगाराम बैठालाई झुठो मुद्धामा फसाउन चलखेल गर्ने डिएसपी रायलाई कारवाही गर्नुपर्ने र बैठालाई रिहा गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

बौद्धिमाई नगरपालिका बंकुल बजारको दुर्गा मन्दिर छेउवामा उनीहरु धर्ना बसेका छन् । बैठाका श्रीमती चमेली देवी, छोरा दिपेन्द्र बैठा, छोरी दुर्गा रजत, भाई सुरेश बैठा, भाई धिरज बैठा सहित स्थानीय एवं छिमेकीहरु धर्नामा बसेका छन् ।

पीडित परिवार धर्नामा बसेपछि रौतहटका प्रहरी उपरिक्षक (एसपी) दिलिप घिमिरेले बैठा तोडफोड घटनामा संलग्न रहेको र पुरानो कर्तव्य ज्यान मुद्धामा थुनछेक बहस हुँदा निजलाई पुर्पपक्षका लागि थुनामा राख्ने अदालतको आदेश अनुसार गौर कारागारमा रहेको बताए ।

रौतहटका डिएसपी रायले एक बिज्ञप्ती जारी गर्दै तथ्यहिन, भ्रामक तथा झुठा स्टाटस सामाजिक सञ्जालमा लेखेर बदनाम गराउन खोजेकाले त्यसमा विश्वास नगर्न भन्दै त्यस्तो कार्यप्रति जिप्रकाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

गत पुस ८ गते बौद्धिमाई नगरपालिकाको वडा नं. ८ सरमुजवामा नाला निर्माणका लागि अतिक्रमित जग्गा खाली गराउँने क्रममा ढुंगामुढा भएको र जेसिवीमा तोडफोड गर्ने कार्यमा बैठा संलग्न रहेको डिएसपी रायले जनाएका छन् । साथै यो आपराधिक उपद्रव मुद्धामा चल्दैगर्दा २०५९ साल भदौ २९ गतेमा दर्ता भएको कर्तव्य ज्यान मुद्धामा समेत बैठा प्रतिवादी रहेको र सो मुद्धा मुल्तवीमा रहेकाले अदालतको गत माघ ६ गते भएको थुनछेक बहसमा बैठालाई पुर्पक्षका लागि गौर कारागार राखिएको डिसपी रायले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यता डिएसपी रायको बिज्ञप्ती सार्वजनिक भएपछि तोडफोडको घटनामा बैठा संलग्न रहेको भन्ने कुरा प्रमाणित गर्न आम जनता पार्टी (आजपा)का महासचिव त्रिभुवन साह अमरले चुनौति दिएका छन् ।

‘उक्त घटनामा वृद्ध गंगाराम बैठाको संलग्नता पुष्टि गर्न म डिएसपी साहेबलाई चुनौती दिन चाहन्छु । घटना स्थलमा हुदै नभएका व्यक्तिलाई दोषी करार गर्नु अपराध हो कि होईंन ? हो भन्ने तपाई स्वम् दोषी हो । यसमा नेपाल प्रहरीका सम्बन्धित निकायले छानबिन गरोस भन्ने माग गर्दछु’ महासचिव साहले फेसबुकमा स्टाटस लेखेका छन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।