२०८३ भाद्र १३
२०८३ भाद्र १३

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले दलाल दलतन्त्र र नेताहरुको लुटतन्त्रको बिरुद्धमा तेस्रो जनआन्दोलनको आवश्यक रहेको बताएका छन् । जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलन निर्णाय बनाउन जनता सडकमा आउनुपर्ने आवश्यक रहेको समेत उनले बताए ।

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काठमाडौंको अनामनगरमा आयोजित आजपा निकटको आम महिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै अहिले दलाल दलतन्त्रका कारण गणतन्त्रको बिरोध भईरहेको बताउदै जनताको लोकतन्त्रकका लागि निर्णायक आन्दोलनमा सहभागि हुन उनले आह्वान समेत गरे ।

‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरुले लुट मचाएका छन् । राज्यको ढुकुटी सिध्याइसकेको सरकारले हरेक नेपालीको टाउँकोमा विदेशी ऋणको भार बोकाउने काम गरेको छ । यस्तो लुटेरा सरकारको बिरोधमा नागरिक सडकमा आउनुको बिकल्प छैन्’, आजपा अध्यक्ष साहले भने, ‘जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन म सबैमा आह्वान गर्छु । अब जनताले नै हो लोकतन्त्रक जोगाउँने, अरु कसैले सक्दैन् ।’

२४ चैतमा आजपाले काठमाडौंमा दलाल दलतन्त्र, भ्रष्टाचार, कुशासन, अनियमितता, सरकारको मनोमानी कर बिरुद्ध बृहत प्रदर्शन र जनसभा गर्दैछ । तेस्रो जनआन्दोलनको पूर्वसन्ध्यामा हुन लागेको सो कार्यक्रममा व्यापक जनसहभागिता हुने आजपाले जनाएको छ ।

कार्यक्रममा आजपा अध्यक्ष साहले महिला नेतृहरु शैलेजा आचार्य, साहना प्रधान, योगमाया लगायतको नामै लिएर उनीहरुले आफ्नो समयमा राम्रो र उदहरणीय काम गरेकोमा उच्चसम्मान एवं प्रशंसा समेत गरे । ‘यो धर्तीमा महिलाले नेतृत्व पाए अरुभन्दा राम्रो काम गरेर देखाउन सक्छन् । माता सीता, गढीमाई, भृकुटीको यो धर्तीमा महिलाहरुसंग विभेद हुनुमा सरकार जिम्मेवार रहेको छ’ उनले भने ।

अहिलेको नेताहरु केवल लुट, भ्रष्टाचार सहित बिभिन्न काण्डमा लागेर देश र जनताको चाहना पुरा गर्न नसकेको आरोप साहले लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान अनुसार प्रधानमन्त्री भए पनि संविधानको उल्लंघन गरेको गम्भिर आरोप उनले लगाए । संविधान अनुसार ३३ प्रतिशत हरेक क्षेत्रमा महिलाले अधिकार र सहभागिता पाउनुपर्ने भए पनि संविधान अनुसार कार्यान्वयन नगरी सरकारले उल्लंघन गरेको आरोप उनले लगाए ।

‘अहिलेको मन्त्रिपरिषददेखी राजनीतिक नियुक्ति, राजदुत नियुक्ति, सहित सरकारद्धारा हुने बिभिन्न नियुक्तिमा सरकारले संविधानको उल्लंघन गरेको छ । हालै सचिवमा बढुवा हुनुपर्ने एक नम्बरमा रहेकी महिलालाई स्वास्थ्य मन्त्रालयमा सचिव बनाईएन । ३३ प्रतिशत हरेक क्षेत्रमा महिलाको सहभागिता हुनपर्ने भए पनि त्यो कार्यान्वयन सरकारले गरेको छैन्’, आजपा अध्यक्ष साहले भने, ‘५१ प्रतिशत भन्दा बढी जनसंख्या रहेको महिलाको सहभागिता संविधानमा ३३ प्रतिशत भनेर राखे । यो आफैमा अन्याय हो, म संविधान सभाको सदस्य थिए, अन्याय भयो भनेर म विरोध पनि गरे । तर ५१ प्रतिशत दिनुपर्नेमा अहिले सरकारले ३३ प्रतिशत समेत अधिकार दिएको छैन् ।’

सरकारकै कारण अहिले मुलुकमा आर्थिक संकट आएको उनले बताए । दलतन्त्रका कारण मुलक दलदलमा फस्दै गईरहेको बताउदै उनले नेताहरु भ्रष्टाचारमा लागेकाले मुलुक समृद्ध हुन नसकेको बताए । युवाहरु देशबाट पलायन भईरहेको बताउदै उनले नेपाललाई समृद्ध बनाउँन सकिने सबैथोक रहेको बताए । तर त्यसका लागि नेता ईमानदार हुनुपर्ने साहको भनाई रहेको छ । मौलापुर नगरपालिकामा हरेक किसिमको कर फ्रि रहेको बताउदै उनले नेपाललाई समेत समृद्ध बनाउन सकिने बताए ।

प्रधानमन्त्री ओली र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा असफल र असक्षम भएको टिप्पणी गर्दै उनले ओली र देउवाभन्दा पुर्वराष्ट्रपती बिद्या भण्डारी र अहिलेका परराष्ट्र मन्त्री आरजु देउवा राणा सफल भएको बताए । ओली र देउवाको आलोचना गर्दै उनले भण्डारी र आरजुको तारिफ गरे ।

‘देश र जनताको नेतृत्व गर्नसक्ने एक सफल महिला हो बिद्या भण्डारी । पुर्वराष्ट्रपती बिद्या भण्डारी केपी शर्मा ओलीभन्दा राम्रो देशको शासन सत्ता, पार्टीको नेतृत्व गर्नसक्ने सफल महिला हो’, आजपा अध्यक्ष साहले भने, ‘अहिले तपाईं हेर्दै हुनुहुन्छ, परराष्ट्र मन्त्री आरजु देउवा राणा देशबिदेशसंग राम्रो सम्बन्ध बनाउन लाग्नु भएको छ । उहाँले शेरबहादुर देउवाभन्दा राम्रोसंग देश र पार्टीको नेतृत्व गर्न सक्ने सफल महिला नेता हुनुहुन्छ ।’

ओली जहाँ जादा पनि बिरोध र आलोचना भैइरहेको बताउदै उनले देश र पार्टी संचालन गर्नमा असफल भएको बताए । यस्तै देउवाबाट समेत पार्टी वा सरकार संचालन राम्रोसँग हुननसक्ने बताउदै उनले महिलाले अवसर पाए राम्रोसँग देश वा पार्टी सन्चालन गर्न सक्ने बताए ।

आम महिला मोर्चा बागमती प्रदेशका इन्चार्ज देवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह अमर, उपमहासचिव धनकुमारी मगर, सचिव देवी पण्डित, सचिव नारायण पाण्डे, स्थायी कमिटीका सदस्यहरु श्रीभगवान पटेल, आर्या पाण्डे, देवेन्द्र ठाकुर, उपेन्द्र साह, प्रदेश अध्यक्ष रुपेश थपलिया, आजपाका नेताहरु डा. हेमप्रसाद साह, सिमा जैसवाल, मिना देवी साह, फुलबदन देवी, अनिता थापा, रेखा साह, अर्चना ठाकुर, मनिष राई लगायतको विशेष सहभागिता रहेको कार्यक्रमका सञ्चालन एवं आम महिला मोर्चा बागमती प्रदेशका अध्यक्ष ममता साहले जनाएकी छन् ।

सम्पन्न सो भेलाबाट अनिता थापाको अध्यक्षतामा ५१ सदस्यीय महिला मोर्चाको बागमती प्रदेश कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा रिंकु साह, शोभा तामाङ, मिना तामाङ, सचिवमा अस्मिता लामा, कोषाध्यक्षमा कुन्ती थापा रहेको महिला मोर्चाले जनाएको छ । यसैगरी कुन्ती थापामगरको अध्यक्षतामा आम ट्रेड युनियन फेडरेशन नेपालको महिला विभाग समेत सोही भेलाबाट घोषणा गरिएको ट्रेड युनियनका इन्चार्ज धनकुमारी मगरले जनाएकी छन् ।

आरके श्रीवास्तव,रौतहट,२४ गते फागुन । 

रौतहटको कटहरियामा अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा अभिमूखिकरण कार्यक्रम गरिएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको दलित धर्मशालामा महिला अधिकार सम्बन्धी सो एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

बाल विवाह विरुद्ध प्रदेश स्तरीय संजाल,आत्म निर्भर सेवा केन्द्र काठमान्डौं,समावेशी विकास तथा अनुसंनधान केन्द्रको संयुक्त आयोजना र इलाका प्रहरी कार्यालय कटहरियाको सहकार्यमा कार्यक्रम गरिएको हो ।

महिला सुरक्षा तथा भूमीमा महिला अधिकार सम्बन्धी अभिमूखिकरण कार्यक्रमको समेमाई गाँउ भूमि अधिकार मञ्चका अध्यक्ष धमेन्द्र रामकाे अध्यक्षतामा समावेशी विकास तथा अनुसंनधान केन्द्रका सदस्य धर्मेन्द्र रामले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा इप्रका कटहरियाका सहायक प्रहरी निरिक्षक दिपेन्द्र यादव रहनु भएको थियो । विशिष्ट अतिथीको रुपमा कटहरिया ५ का दलित महिला वडा सदस्य पुकारी देवी दास रहेकी थिइन् ।

कार्यक्रममा सहजकर्ताको भूमिका ओमप्रकाश रामले गरेका थिए । उनले भूमिमा महिला अधिकार,बाल विवाह न्यूनीकरण, महिला हिंसा लगायतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले भूमिमा महिला अधिकार लागयतका विषमा आआफनो धारणा राखेका थिए । सो अवसरमा वडा करिब ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट, २४ गते फागुन । 

राैतहट । गरुडामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत गरुडा बजारको मेथुर चौधरी धर्मशालामा एक कार्यक्रमको आयोजन गरि गरुडा नगरपालिकाको सहयोगमा शनिवार १ सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।

जागरण तथा समाज सेवा केन्द्र नेपाल गरुडा न.पा.-२ रौतहटको आयोजना तथा राम नारायण सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसको लक्ष्य रहेको कार्यक्रमका प्रमुख अतिथि गरुडा नगरपालिकाकी नगर उप प्रमुख पूनम कुमारी चौधरीले बताइन।

नेपाल सरकारले महिला र पुरूषहरूको आ आफ्नै अधिकार दिएको हुदा पनि विशेष गरेर हाम्रा मधेशके महिलाहरुले आफ्नो हक तथा अधिकारको लागि पछाडि परेको देखिन्छ। पुरूष मात्र घर बाहिरको काम गर्ने हुदा एउटा सक्षम महिलाले बाहिरको काम सकाएर घर भित्रको पनि सम्पूर्ण कार्य सम्भालन सक्ने भएकाले पुरूष भन्दा महिलाले बढ़ी मिहिनेत तथा लगनशील भएर आफ्ना सम्पूर्ण कार्यहरु गर्ने भएकाले पुरूष भन्दा महिलाको बढ़ी ग्रस्ता दिनु पर्नेमा उहाँले जोड़ दिएकी हुन। नारी दिवसको अवसरमा उपस्थित सम्पूर्ण महिलाहरुलाई शुभकामना दिदै नारी चाहे आफ्नै घरबाट सुरु गरेर देश बिकासमा समेत अहम भूमिका खेल्ने प्रष्ट पारेकी छिन। उहाँले पुरुष शिक्षित भए एक व्यक्ति र महिला शिक्षित भए एउटा सिंगो परिवार शिक्षित हुने धारणा राख्दै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्ने लगायतका उद्देश्यहरु सहित आ आफ्नो ठाउँबाट जागरूक हुन उपस्थित सम्पूर्णमा अपील गरेकी छिन।

कार्यक्रममा महिला नेत्री अनिता देवी कर्ण, गरुडा नगरपालिका अन्तर्गतका विभिन्न वडाबाट महिलाहरुको उपस्थिती रहेको थियो।

 

राजेश निर्माणी,राैतहट,२४ गते फागुन । 

रौतहट । दुसाध समाज रौतहटको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । दुसाध(पासवान) समाज रौतहटका अध्यक्ष बिगु पासवानको अध्यक्षता एवम् दलित एवम् मानव अधिकार कर्मी धर्मेन्द्र पासवानको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा,सम्पूर्ण सहभागी बिचमा रंग अबिर साटा साटा तथा एकअर्कासँग भेटघाट सहित होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार गरुडा नगरपालिका वडा नं. ८ बिर्ता चौक स्थित हिमाल एकेडेमी बोर्डिङ्ग स्कूलको प्रांगणमा सो होली मिलन कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा मन्तव्य राख्दै अतिथि सबैले होली पर्बको शुभकामना साटासाट गर्नुका साथै दुसाधजाति लगायत दलित समुदाय भित्र पर्ने हरेक जात जातिलाई होली पर्वमा कसैको इच्छाविपरित होली नखेल्न र रङ नलगाउन,पानी न छ्याप्न र मादक पदार्थ सेवन न गर्न आग्रह गरेको गरेका छन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै दलित विकास समिति मधेस प्रदेशका सदस्य राजकुमार दास तत्माले होली पर्वको शुभकामना आदान प्रदान गर्दै राज्य र राज्यको गैरजिम्मेवार रबैयाका कारण मधेशमा दलितहरु माथि अन्याय,अत्याचार,जातीय भेदभाव तथा बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गइरहेको र उक्त घटना हरुलाई गाउँमै मिलाउन पञ्चायती गर्ने प्रवृत्ति अझै अन्त्य हुन नसकेको बताए। उनलेे ‘देशमा ऐन र कानुन हुदा पनि राज्य र राज्यका संयन्त्र त्यसको कार्यान्वयन मा कहिल्यै पनि गम्भीर न भएको कारण यस्ता जघन्य अपराधहरु बढिरहेको बताए।’

दासले आयोजक संस्थालाई धन्यवाद दिदै आगामी वर्षको होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम दलित भित्र रहेका हरेक जात/जाती को वर्गीय/जातीय संघ संस्थाको संयुक्त सहकार्य तथा सहभागीतामा आयोजना गर्न सबैलाई आग्रहमा गरेका छन्। उनले दलित समुदायको हक अधिकार सुनिश्चित गर्न सबै जना एकजुट भई,आफ्नो समुदायका व्यक्तिहरुलाई सहयोग गर्न आग्रह समेत गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै दुसाध(पासवान) समाज रौतहटका महासचिवमा जयमंगल पासवानले दुसाध(पासवान) समाज रौतहट अब जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दर्ता भई आधिकारिक रुपले पुर्णता पाइसकेको र यो संगठन दुसाध जाति लगायत समस्त दलित समुदायमाथि भइरहेको अन्याय,अच्याचारलाई अन्त्य गर्न अब आधिकारिक आवाज उठाउन सक्ने भइसकेको जानकारी गराउदै उनले सबै सहभागीहरुलाई स्वागत गरेका थिए।

त्यसैगरी प्रमुख अतिथिको रुपमा बोल्दै मानवअधिकार कर्मी धर्मेन्द्र पासवानले होलीको दिन मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला न गर्न र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने गतिविधि न गर्न न गराउन तथा मदिरा सेवन गरि बिवादमा न पर्न अनुरोध गर्देै उनलेे होसियारी अपनाएर होली मनाउन सबैमा आग्रह गर्नुभयो। कार्यक्रमको विशिष्ट अथितिहरुमा दलित विकास समिति मधेस प्रदेश सदस्य राजकुमार दासतत्मा, दलित अधिकारकर्मी राम विनय पासवान,जितबहादुर विश्वकर्मा,नाथुराम परियार,दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल राम र अरुण राम रहेका थिए।

 

त्यसैगरी अथितिहरुमा दलित सामाजिक अभियन्ता श्री मा. वि. नयाँ गम्हरिया श्रीपुर रौतहटका प्रधानाध्यापक रामाधार पासवान, राष्ट्रिय दलित पत्रकार संघ नेपाल, रौतहटका अध्यक्ष तथा वृन्दावन नगर पालिकाका कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी),हरूवा चरुवा अधिकार मञ्च रौतहटका अध्यक्ष दशरथ राम,दुसाध समाज रौतहट क्षेत्र नं.४ का क्षेत्रीय अध्यक्ष रामबिश्वास पासवान,राष्ट्रिय तत्मा समाजका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक प्रदिप दास,दलित अधिकार कर्मी राजिन्द्र पासवान,सहदेव पासवान, सुनिल पासवान,अकलेश पासवान,अकलु पासवान,नन्दलाल पासवान र जगलाल पासवान लगायत रौतहट जिल्ला भरिकै दलित समुदाय भित्र पर्ने सम्पूर्ण वर्गीय,जातिय संस्थाका प्रतिनिधिहरु तथा दुसाध (पासवान) समाजका सम्पूर्ण पदाधिकारीहरु,दलित पत्रकारहरु लगायत दलित युवा,महिला,पुरुष एवम् वृद्ध उपस्थिति रहेको थियोे ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते फागुन ।

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनुभएको हो। नप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुनुहुन्छ। गत स्थानीय तह निर्वाचनमा उहाँ यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो हुनुभएको थियो।

नवप्रवेशी तेलीले काङ्ग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको बताउनु भयो।

चन्दन यादव,रौतहट,२४ गते फागुन ।

रौतहट । नेपाली काँग्रेस र एमालेको अहिलेको वर्तमान सरकारले उल्टोउल्टो गर्दै हिडेको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।
जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको मध्य भाग गरुडामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले विनासकाले विपरित बुद्धि झैं सरकारले लोडसेटिंग अन्तय गरेका नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घिसिंङलाइ हटाउने निर्णय गलत रहेको बताए ।

देशमा फेरि राजा फर्किन्छ कि भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए ।

‘नेपाली जनताले त्यति बेला उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको हो’ प्रचण्डले भने, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो सहँदैनन् ।’

माओवादि अध्यक्ष्। प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती समेत दिए ।

तराई–मधेश जागरण कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्ड शुक्रबार राति रौतहट आएका हुन् । आज उनको रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित वृहत् जन सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उमेश कुमार साह,सप्तरी,२३ गते फागुन ।

सप्तरी प्रहरी नागरिकता सम्बन्धी कसुर र ठगीमा दुईजनालाई पक्राउ गरेका छन् । अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खोल्ने राजविराज ५ बस्ने २८ बर्षका अभिषेक यादव र २० बर्षका अरुण कुमार यादव पक्रउ गरि सार्वजनिक गरेका छन् ।

असार २०८० मा एक जनाको हराएको नागरिकतामा अभिषेकले अरूणको फोटो टाँसी विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलेका थिए । बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौंको रकम ठगी गरिरहेको पाइएको अवस्थामा दुबैलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२२ गते फागुन । रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ । मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ ।

बिहीबार मौलापुरमा मधानी महायज्ञको खर्च सार्वजनिक गर्दै नगरपालिकाले महायज्ञ शान्तिपुर्णरुपमा सम्पन्न भएको जनाएको छ । पाँच दिनसम्म चलेको मधानी महोत्सवले मौलापुरकी गौरव बढ़ाएको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले जनाएकी छन् ।

‘मधानी महायज्ञ पाँच दिनसम्म चलेको छ । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु पतौराधाममा आएर शिवको दर्शन गर्नुभएको छ । यसले मधानी महायज्ञ र पतौराधाम अन्तर्राष्ट्रिय स्तरमै स्थापित भएको छ’, मेयर साहले भनिन्, ‘मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ । स्थानीय व्यापारी, व्यवसायीहरु लाभाविन्त भएका छन् ।’

मधानी महायज्ञ भव्यरुपमा सम्पन्न गर्नमा सहयोग गर्ने र मधानी महायज्ञमा सहभागि भई साथसहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरेकी छन् । भगवान शिवको बरात यात्रा सहित बिभिन्न कार्यक्रम गर्दै सम्पन्न मधानी महोत्सवले पतौराधाम र मधानी महायज्ञ अन्तर्राष्ट्रिय स्तरमै स्थापित भएको उनले बताईन् । लाखौंको भिडलाई व्यवस्थापन गर्दै शान्तिपूर्ण रुपमा सम्पन्न भएको मधानी महायज्ञ षडयन्त्रकारीहरुले रोक्ने प्रयास गरे पनि उनीहरु शिवको आर्शिवादले असफल भएको उनले बताईन् ।

मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार मधानी महायज्ञमा आरती, पुजा, पुजारी तथा पुजन सामाग्रीमा ६८ हजार, रंगरोगन, मन्दिर तथा मंच सजावट, झण्डा आदीमा एक लाख ७२ हजार पाँच सय, टेण्ड, कुर्सी, लाईट, साउण्डमा नौ लाख ७१ हजार, आठ सय, प्रचारप्रसारमा दुई लाख ६० हजार, होडिंग बोर्ड, व्यानर, पोष्टरमा दुई लाख ५५ हजार, पुरातात्विक महादेव मन्दिरको एसिपी बोर्ड प्यानल सहित गोल्डेन स्टील लेटरको बोर्ड निर्माणमा एक लाख ३५ हजार खर्च भएको नगरपालिकाले जनाएको छ ।

यसैगरी भगवान शिवको बरात यात्रामा एक लाख ३० हजार पाँच सय, शिव मण्डलीलाई पुरस्कारमा एक लाख ६५ हजार, सम्मानपत्र, मायाको चिनो, आमन्त्रण सुपारी, कार्ड, प्रवेश पासमा एक लाख २९ हजार पाँच सय, कुस्ति खेलाडीहरुमा एक लाख ७६ हजार, कलाकारको पारिश्रमिक ३० लाख, अतिथिहरुको होटल बासमा एक लाख, मेस सञ्चालन (सुरक्षाकर्मी, कलाकार, खेलाडी, अतिथि एवं अन्य)मा दुई लाख ६३ हजार, कार्यक्रम स्थल तयारी तथा घेराबारमा एक लाख ३३ हजार, स्थानीय टेण्ड तथा प्रसादमा एक लाख ५० हजार, मधानी गीत तथा भिडियो निर्माणमा दुई लाख ५० हजार, नगर सरसफाईमा २४ हजार, साक्षरताको लागि सरसफाई सहित महायज्ञ उदघाटन समारोह खर्च (पुरस्कार, खाजा आदी)मा एक लाख २५ हजार र विविध खर्चमा एक लाख १५ हजार सहित ६६ लाख २३ हजार तीन सय खर्च भएको आयोजकले जनाएको छ ।

मौलापुर नगरपालिका पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।

११ फागुनमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । १२ गते भगवान शिवको बरात यात्रा निष्केको थियो भने १३ गते शिवमन्दिरमा विशेष पुजा भएको थियो र शिवमण्डलीका बीचमा नै प्रतिस्पर्धा भएको थियो । यस्तै १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम भएको थियो । जसमा नेपाल र भारतका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । १५ गते मधानी विशेष दंगल कार्यक्रमसंगै महाधानी महोत्सव सम्पन्न भएको हो ।

अन्तिम दिन प्राचिन खेल दंगल (कुस्ती) कार्यक्रममा नेपाल र भारतका पुरुष र महिला चर्चित पहलवानहरुको विशेष सहभागिता रहेको थियो । नेपालको बिभिन्न ठाउँका पहलवानहरु त्रिलोकी यादव, बाब हरिओम, नमर्ता, मोकतार अली अनुठा साह पतौराधामको दंगल कार्यक्रममा सहभागि थिए । यस्तै भारतको केरलाबाट कटपा पहलवान, हलचल पहलवान, उतराखण्डबाट मेन्टल पहलवान, अजगर पहलवान, भुकम्प पहलवान, जम्मु कश्मीरबाट जावेद अली, यामिन पहलवान सहभागि भएका थिए ।

यसैगरी झारखण्डबाट एप्पल पहलवान, गोरखपुरबाट खुशी पहलवान, गोपलगंज बिहारबाट पायल पहलवान, हरियाणाबाट काजल पहलवान, बंगालबाट हुकुम सिंह, धमाका पहलवान, बनारसबाट प्रिन्स पहलवान सहित स्थानीय पहलवानको समेत सहभागिता रहेको थियो ।

मधानी महायज्ञले मौलापुरको व्यापारका साथै नेपाल–भारतको सम्बन्ध समेत अझै बलियो बनाएको छ । ‘यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास छ । मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ’, मौलापुर नगरपालिकाका मेयर साहले भनिन् ।

प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण समेत हुने गरेको मेयर साहले जनाएकी छन् । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने भएकाले त्यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास उनले व्यक्त गरिन् ।

मधानी महायज्ञमा निष्केको भगवान शिवको बरात यात्रालाई आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले स्वागत गरेका थिए । कार्यक्रममा भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको मधानी विशेष सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुती रहेको रहेको थियो ।

यसैगरी मधानी महोत्सवमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित भोजपुरी कलाकारहरु मिंटुवा, गायक सुनील पंडित, नेपाली गायक गौरभनारायण राई, भोजपुरीका कलाकार, प्रिया सुहानी सहित स्थानीय कलाकारको समेत विशेष प्रस्तुती रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता,बारा,२२ गते फागुन । कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुले लोकतन्त्रलाई जनता ठग्ने मन्त्र बनाएको टिप्पणी गरेका छन् । लोकतन्त्रको नाममा नेताहरुले राज्यको ढुकुटी सिध्याएर नेपालीमाथि ऋणको भार बोकाएको र बिभिन्न भ्रष्टाचारका काण्डले मुलुक धरासायी भएको उनले बताए ।

‘अनावश्यक कर आतंकको भण्डाफोर गरौं, भ्रष्टाचार बिरुद्धको संघर्षमा सहभागि बनौं’ भन्ने मुल नाराका साथ बाराको पिपरा बजारमा आज पार्टीको सम्पन्न बारागढी गाउँपालिकाको प्रथम भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले भ्रष्टाचारले मुलुक धरासायी बन्दै गईरहेकाले मुलुक बचाउन अब जनता सडकमा आउनुको बिकल्प नभएको बताए ।

‘अहिले लोकतन्त्रको नाममा नेताहरुले लुट्ने काम गरिरहेका छन्, उनीहरुले लोकतन्त्रलाई ठग्ने मन्त्र बनाएका छन् । लोकतन्त्रको नाममा राज्यको ढुकुटी सिध्याइसकेका छन्, विदेशी ऋण नेपालीको ठाउकोमा बोकाएका छन् । यि लुटेरा नेताहरुले यती भ्रष्टाचार गरे र मुलुक नै धरासायी भईसकेको छ’, आजपा अध्यक्ष साहले भने, ‘यि भ्रष्टहरुलाई ठेगान लगाउन नेपाली जनताहरु अब सडकमा आउनुको बिकल्प छैन् । मुलुक बचाउन, भ्रष्टहरुबाट जोगाउनका लागि जनता सडकमा आउन खोजेका छन् ।’

अहिले भागबण्डा गरेर भ्रष्टाचार भईरहेको बताउदै उनले दलाल दलतन्त्रका कारण मुलुक दलदलमा फस्दै गईरहेको बताए । सरकारमा भएका दलहरुले मिलेरै भ्रष्टाचार गरिरहेको बताउदै त्यही भएर सरकारले ठुला भ्रष्टाचार काण्डको फाईल पल्टाउन नचाहेको गम्भिर आरोप उनले लगाए ।

नेपाली कांग्रेस– नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार पूर्णरुपमा असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिनुपर्ने सुझाव उनले दिए । सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै कुन नैतिकताले सरकारको नेतृत्वमा बस्न मिल्छ भन्दै साहले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरुको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन् । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक आएको छ । ‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याविनेटमा आधाभन्दा बढि मन्त्रीहरु नै फेल भएका छन् । यो फेलियरहरुको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?’ साहले प्रश्न गरे ।

उनले सरकारले कर आतंक मच्चाएको तर जनतालाई कर तिरेबापत कुनै सेवा तथा सुविधा नदिएकोमा आक्रोश पोखे । उनले नेपाल सरकारले सञ्चालनमा ल्याएका उद्योगहरु घाटामा हुँदा सरकारले कुन मोरलले निजी क्षेत्रसँग कर लिन मिल्छ ? भन्दै प्रश्न गरे । उनले दलको आतंक रोक्नको लागि जनता अब सडकमा आउनुपर्ने आवश्यकत्ता औंल्याए ।

आजपाका जिल्ला अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएको बारागढी गाउँपालिका भेलामा आजपाकावरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, उमेश कुशवाहा सहितका नेताहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।