२०८३ भाद्र १४
२०८३ भाद्र १४

 

कैलाली, ३० चैत ।

टीकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिल प्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

 

साथै, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाही समेत पाँचजनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ९५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

काठमाडाैँ, ३० चैत ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । झापाकाे मेचिनगर नगरपालिका-१३ धाईजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीया अनुजा राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले  उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

ईलामकाे चुलाचुली गाउँपालिका-३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४ मिलिग्राम र नगद १५ हजार ५ सय ४० रूपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरां सोही ठाउँ बस्ने २७ वर्षीय अमर राई र ३१ वर्षीय अर्जुन राई रहेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ भवानी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश साउद र सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ३० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-३ बिचपुरी बस्ने २६ वर्षीय करन डगौरा र २४ वर्षीय अजय चौधरी रहेका छन् । उक्त स्थानमा सु.प.प्र.०२००३ प ४२४७ नम्बरको मोटरसाइकल रोकी उभिइरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

 

इन्दीप कोइराला,बारा, ३० चैत ।

बारा क्षेत्र नम्बर .२ मा आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि बढाएका छन् ।

टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखेतमा पुगरे मत माग्ने क्रम बढेको छ ।  दलहरुले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको बारा क्षेत्र नं.२ अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ  ।

उनका अनुसार जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले क्षेत्र नं.२ मा चुनावी प्रचारलाई तीव्र पार्दै लगेका छन । यस पटकको चुनावमा दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ ।

 

जनता समाजवादी पार्टीले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । यसअघि गत मंसिरमा सम्पन्न निर्वाचनमा सोही पार्टीका रामसहायप्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए । उनी उपराष्ट्रपती बनेपछि यहाँ उपचुनाव हुन लागेको हो ।

यसअघि जसपाल नै जितेकाले यसपटक जसपाकै उम्मेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिएको छ । यादव सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

यस क्षेत्रमा अर्को बलियो शक्ति मानिएको कांग्रेसले पनि उनलाई समर्थन गरेको छ । यस दृष्टिकोणबाट हेर्दा यादवको जित सुनिश्चित रहेको दाबी गरिएका छन् ।

 

एमालेले पूर्व युवा तथा खेलकुद मन्त्री पूरुषोत्त्म पौडेललाई मैदानमा उतारेको छ । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चाज पौडेलको यस क्षेत्रमा आफ्नै खालको क्रेज छ ।


२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई ऊर्जा दिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा आएका थिए । ओलीको आगमनपछि यहाँको माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित पटेल दाबी गर्छन् ।

 

त्यसैगरी बारा क्षेत्र नम्बर ३ की सांसद ज्वालकुमारी साह, क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली र एमाले नेता रघुविर महासेठ लगायतका संघीय सांसदहरु पौडेल जिताउ अभियानमा यतिबेला सक्रिय बनेका छन् ।

यसैगरी नेकपा माओवादीका पूर्वनेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उम्मेदवार छन् । उनी पनि यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेत्रमा २५४ मते रामसहायप्रसाद यादवसँग कुशवाहा पराजित भएका थिए । उनी यसपटक मंसिरको हारको बदला लिन चाहन्छन् । उनलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउतसमेत क्षेत्रमै खट्दै आएका छन् ।

 

गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजित अरुण ज्ञवाली यसपटक  प्रभु साहको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन् । उनको अभियानलाई स्वयंं प्रभु साहले अगुवाई गरिरहेका छन् ।


यस्तै राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै आएका छन् । रास्वपाले पूर्वडिआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

 

काठमाडौं, ३० चैत ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासननिक केन्द्र सिंहदरवार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिएका छन् ।


आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरले सिंहदरवारसहितका स्थानको फोहोर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर मेयर शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो ।


यसपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरवार अरु पालिकामा सार्न भनेका हुन् ।
काठमाडौंवासीलाई राजनीतिक नचाहिएको भन्दै उनले काठमाडौंवासीलाई आफ्नो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने बताए ।

काठमाडौंको हिमा काम गर्न र नगर्ने भए सिंहदरबार नै सार्न भन्दै शाहले फेसबुकमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस्  । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’

 

काठमाडौं, ३० चैत

काठमाडौंको शंखमुलस्थित चैतन्य एकेडेमीले शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने एक जनालाई प्रदान गर्नेगरि एक लाखको पुरस्कार घोषणा गरेको छ। प्रत्येक वर्ष शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने एक जना उत्कृष्ट व्यक्तिलाई प्रदान गर्नेगरि ‘चैतन्य शासकीय प्रवर्द्धन सुधार सम्मान’को घोषणा गरिएको हो।

नयाँ २०८० अवसरमा बुधबार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा एकेडेमीका सिइओ गणेश जोशीले प्रत्येक वर्ष एक जना शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गर्नेगरि एक लाख पुरस्कारको घोषणा गरे। ‘स्थायी सरकारको रूपमा रहेर कर्मचारीले मुलुकको विकास र प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउनु भएको छ। राष्ट्र सेवामा समर्पित व्यक्तिहरूको मनोबल बढाउनु हामी निजी क्षेत्रको पनि उत्तिकै दायित्व हो। यो पुरस्कार त्यस्ता कर्मचारीका साथै शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गरिने छ’, जोशीले भने।

वर्षभर शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने एक जनालाई पुरस्कार छनोट समितिले सिफारिस गर्ने उनले जानकारी दिए। छनोट समितिमा जोशी सदस्य सचिव रहेका छन्। यस्तै सदस्यहरूमा नेपाल सरकारका पूर्वसचिव सरदचन्द्र पौडेल, गोपीनाथ मैनाली र टियूका प्राध्यापक तथा समालोचक महेश पौडेल रहेका छन्।

कार्यक्रममा आफ्नो धारणा राख्दै शिक्षाविद् डाक्टर हेमराज पन्तले चैतन्य प्राइभेट संस्था भए पनि विभिन्न सामाजिक उत्तर दायित्वका काम गर्दै आएको बताए। उनले सबैका सत्कर्म र सकारात्मक प्रयासबाटमात्रै मुलुकको समृद्धि हासिल हुने भएकाले चैतन्यको कामबाट सबै निजी क्षेत्रले सामाजिक उत्तरदायित्व सिक्नुपर्ने बताए।

यस्तै नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले चैतन्यले लोकसेवाका तयारी कक्षा सञ्चालन गर्नेमात्र नभए सरकारी सेवामा आबद्ध कर्मचारीहरूलाई प्रेरित गर्ने खालका विभिन्न काम गर्दै आएको र ती कार्यक्रमहरूमा आफू पनि सहभागी हुन पाउँदा खुसी लागेको बताए।

‘चैतन्यले कहिले समृद्धिका क्षेत्रमा बहस गर्छ। कहिले सुशासनको मुद्दालाई बहसको विषय बनाउँछ। यसका साथै सार्वजनिक सेवाका कर्मचारीहरूलाई पारदर्शी रूपमा काम गर्न प्रेरित हुने खालका काम पनि गर्दै आएको छ। यस पटक त शासकीय प्रवर्द्धन र सुधारमा योगदान पुर्‍याउने व्यक्तिका लागि एक लाखको पुरस्कार नै घोषणा गर्‍यो। यो निकै प्रशंसनीय कार्य हो,’ उनले भने।

नेपाल सरकारकै पूर्व सचिव सरदचन्द्र पौडेलले उपस्थित कर्मचारीहरूलाई जनमैत्री सेवा प्रवाहमा सधैँ प्रतिबद्ध रहन आग्रह गरेका थिए। उनले सरकारी सेवाका कर्मचारीहरूले सार्वजनिक सेवाप्रति जनताको विश्वास गुम्न नदिनेगरि काममा सक्रिय रहन आग्रह गरे।

संविधान विद् काशीराज दाहालले पञ्चायत कालमा आफूहरूले काम गरेको अनुभव सुनाउँदै अहिलेको अवस्था पहिले भन्दा सहज रहेको र जनताको सेवामा प्रतिबद्ध भएर काम गर्न सबै कर्मचारीलाई आग्रह गरेका थिए। ‘मेरो मुटुको अप्रेसन भएको छ। कार्यक्रममा आमन्त्रण गर्दा स्वास्थ्यका कारणले आउन सक्दिन झैँ लागेको थियो। तर, नयाँ पुस्ताका कर्मचारी साथीहरूसँग केही भावना साट्न मन थियो। पुराना साथीहरूसँग पनि एकै ठाउँमा भेट हुने आसा थियो। त्यसैले सार्वजनिक सेवामा आबद्ध साथीहरू भ्रष्ट रहित भएर काम गर्नुहोला,’ उनले भने।

यस्तै नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइरालाले  उपस्थित कर्मचारीहरूलाई प्रेरित हुने खालका अनुभव साटेका थिए। ‘कर्मचारी मुलुक परिवर्तनको मेरुदण्ड हो। हामीले सधैँ मेरुदण्डकै भूमिका निर्वाह गर्नुपर्छ। त्यसबाट हामी रत्तिभर पनि चुक्नु हुँदैन,’ उनले भने।

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल सरकारका सचिव डा. दामोदर रेग्मी, पूर्वसचिव श्यामराज मैनाली,  सहसचिवहरू पारमेश्वर ढुंगाना, डा. टोकराज पाण्डे, प्रकाश दाहाल, देवराज जोशी, पूर्व सहसचिव पुष्पलाल शाक्यलगायत ८५ जना नेपाल सरकार सचिव, सहसचिव, उपसचिव, शाखा अधिकृतका साथै विभिन्न क्षेत्रका कर्मचारी र समाजसेवीहरूको उपस्थिति रहेको थियो। चैतन्यले यस वर्षदेखि एक दशक लामो यात्रा पुरा समेत गरेको छ। दशक लामो यात्रामा उसले यस्ताखाले थुप्रै कार्यक्रमको आयोजना गर्दै  आएको छ।


काठमाडौं, ३० चैत ।

मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य घोषित माओवादी लडाकुलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त निर्णय खारेज गर्न समाजले बिहीबार सभामुख देवराज घिमिरेसँग आग्रह गरेको हो । शान्ति प्रक्रियाका क्रममा   अनमिनले ४ हजार ८ जना माओवादी लडाकुलाई अयोग्य घोषित गरेको थियो । उनीहरुलाई दुई लाख रुपैयाँका दरले दिने सरकारको निर्णय खारेज गर्न समाजले माग गरेको हो ।

 

समाजको प्रतिनिधिले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने र ‘जनयुद्ध दिवस’ भनि राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारको दुवै निर्णय खारेज गर्न माग गरेका हुन् ।

 

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार गोविन्द खनाल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनीले सभामुख घिमिरेलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेका हुन् ।

 

आरके श्रीवास्तव,गरूडा,चैत २९ गते
रौतहट मध्य भाग गरुडामा आन्दोलनकारी र प्रहरी बिच झडप भएको छ । दोहोरो झडपमा परी ४ जना प्रहरी र एक जना प्रदर्शनकारी गरि ५ जना घाईते भएका छन् । दिपक यादव ४ जना प्रदर्शनकारी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न माग राख्दै दीपक यादवको समुहले आन्दोलनको नाममा अराजकता मच्चाउँदै गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोज्दा झडप भएको हो । मेयर सँग कुरा गर्छु भनेर नगरपालिकाको कार्यालय र ईलाका प्रहरी कार्यालयमाथि हजारौं ढुंगामुढा झडपमा नगरपालिकाको कार्यालय माथि ढुङ्गामुढा प्रहार गर्न थालेपछि सम्झाउँन जाँदा प्रहरीमाथि समेत उनीहरू ढुङ्गा बर्साउन थालेपछि प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो ।


झडपको क्रममा प्रहरी निरीक्षक बिरेन्द्र पासवान सहित ४ जना प्रहरी घाइते भएका छन् । आन्दोलनको क्रममा गरुडा ५ का गजेन्द्र यादव घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी छेदीलाल कामतिले जानकारी दिएका छन् ।


आन्दोलनकारीले गरेको ढुङ्गामुढा बाट नगरपालिका कार्यालयको सिसा फुटेको छ भने नपा मिनि ट्रक गाडी माथि समेत उनीहरूले ढुङ्गामुढा गरेको प्रहरीले जनाएको छ। ढुङ्गामुढा बाट नपाको एक वटा सरकारी गाडीमा समेत क्षति पुर्याइएको छ। गरुडाको स्थिति अहिले सामान्य रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

 

काठमाडौं, ३० चैत

आज अमेरिकी एक डलरको खरिद दर १३१.०३ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१.६३ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.२२ रुपैयाँ रहेको छ। बिक्री दर भने १४३.८७ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहँदा बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ।

आज मलेसियन रिंगिट एकको खरिद दर २९.७० रुपैयाँ रहँदा बिक्री दर २९.८३ रुपैयाँ रहेको छ।

 

काठमाडौं, २९ चैत ।

आँप स्वादमा मात्रै होइन स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । आँप मात्रै होइन यसको पात पनि धेरै फाइदाजनक छ ।आँपको पात धेरै गुणले भरिपूर्ण छ । आँपको पातमा भिटामिन ए, बी र सी पाइन्छ। यसबाहेक, यी पातहरूमा एन्टी–अक्सिडेन्ट र फ्लेभोनोइड्स र फिनोलहरू पनि प्रशस्त मात्रामा पाइन्छ। आँपको पातमा एन्टी–माइक्रोबियल गुणका कारण पनि प्रयोग गरिन्छ र यी पातहरू धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि प्रभावकारी साबित हुन्छन्।

आँपको पातको सेवनले मधुमेह जस्तो रोगबाट बचाउनमा मद्दत गर्छ । यसमा ट्यानिन हुन्छ जसले सुरुवातमा मधुमेह निको पार्न धेरै प्रभावकारी भूमिका खेल्दछ । साथै यस्तो अवस्थामा आँपको पातलाई काँचो चपाएर पनि यसको फाइदा लिन सकिन्छ । अथवा पातलाई सुकाएर धुलो बनाएर खान सकिन्छ भने यी पातहरूलाई पानीमा उमालेर छानेर पिउदा पनि स्वास्थ्यमा निकै राम्रो असर गर्दछ । आँपको पातले रक्तचाप कम गर्नमा पनि मद्दत गर्छ। यी पातहरूको हाइपोटेन्सिभ गुणको कारण यो पात रक्तचाप कम गर्न प्रभावकारी मानिन्छ ।

आँपको पात सेवन गर्दा चिन्ता कम गर्न प्रभावकारी हुने गर्दछ। आँपको पात रुघाखोकिलाई निको पार्दछ । आँपको पातले रुघाखोकि वा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्यामा निकै फाइदाजनक साबित हुन्छ । यी पातलाई पानीमा उमालेर पिउँदा चिसोको समस्याबाट राहत पाउन सकिन्छ । आँपको पातको पानी तताएर त्यसमा एक चम्चा मह मिसाएर चिया जस्तै पिउन पनि सकिन्छ ।

साथै आँपको पातको सेवनले पेटसम्बन्धी समस्यालाई पनि हटाउन सकिन्छ । आँपको पातलाई मनतातो पानीमा रातभर भिजाउने र भोलिपल्ट खाली पेटमा पिउनुहोस्। यसो गर्नाले पेटबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ र शरीर भित्री रुपमा पनि सफा हुन्छ । यसो गर्दा पेटको स्वास्थ्य राम्रो रहनुका साथै छाला पनि भित्री रूपमा चम्किलो हुन्छ। तौल घटाउनमा पनि यस पातको फाइदा निकै रहेको छ।

 

 

काठमाडौं, ३१ चैत

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भ्उर ७९४ अर्ब ३२ करोड पुगेको छ ।

यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।