काठमाडौं, २१ वैशाख ।
निजामती कर्मचारीहरूले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि धर्ना दिएका छन्।
संघीय निजामती सेवा ऐनको माग गर्दै उनीहरुले बिहीबार सिंहदरवारअगाडि धर्ना दिएका हुन् । कर्मचारी संगठनले सरकारले तत्काल संघीय निजामति सेवा ऐन ल्याउनुपर्ने माग गर्दै धर्ना दिएको हो ।
तर, निजामती कर्मचारीका अन्य संगठनले भने सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेकोले आन्दोलन कार्यक्रम फिर्ता लिएका छन् ।
काठमाडाैं, २१ वैशाख ।
देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीय विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, लुपिजेशिक ५ एम्पुल र फेनारागन ४ एम्पुलसहित झापा गौरादह नगरपालिका-७ बस्ने ३५ वर्षीय अशोक विकलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-२१ पार्वतीपुर बस्ने ३३ वर्षीय सबिन घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाकाे दमक नगरपालिका-९ बरगाछी नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ कृष्ण मन्दिर बस्ने ३० वर्षीय रोशन विश्वकर्मा र ३० वर्षीय कैलाश कुर्मी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं, २१ वैशाख ।
काठमाडौं महानगरपालिका-९ देबकोटा मार्गस्थित स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ७ सय रूपैयाँ र १५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
भैरहवा, २१ वैशाख ।
लुम्बिनी विकास कोषले बिहीबार परेको २५६७औं बुद्धजयन्ती तथा एवं लुम्बिनी दिवस–२०८० को अवसरमा साताभरि विविध कार्यक्रमसहित मनाउन जनाएको छ । बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत्वका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मुल समारोह कार्यक्रम गर्न लागेको हो ।

दिवसको पूर्व सन्ध्यामा वैैशाख १९ गते देवदहमा देवह सूत/नारी शक्ति प्रवचन गरिएको र वैशाख २१ गते मायादेवी परिसरमा दीप प्रज्वलन तथा महापरित्राण, बुद्धपूर्णिमाका दिन पूर्णिमा पूजा पाठ, शोभा यात्रा, मुल समारोह सहित भोजनदानको कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
‘विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुख्यमन्त्री, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरु, स्थानीय सरकार प्रमुखसहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरुकोसमेत सहभागीता रहने,’ भट्टराईले भने ।
प्रधानमन्त्री प्रचण्डको सम्बोधन पश्चात सांस्कृतिक संस्थानका कलाकारहरुले पटाचारा नामक नाटक प्रदर्शन र स्थानीय कलाकारहरुबाट भेषभूषामा सास्कृतिक कार्यक्रम, वैशाख २२ गते पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा र वैशाख २३ गते लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रासँगै तिलौराकोटमा विशेष समारोह गर्ने उनले बताए ।
त्यस्तै रामग्राम र देवदह नगरपालिका र लुम्बिनी विकास कोषका संयुक्त आयोजनामा २२ वैशाखमा देवदहको भवानीपुर, बडिमाई, कन्यामाई जस्ता पवित्रस्थलहरुमा शान्तिदीप प्रज्वलन कार्यक्रम नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षहरुको अगुवाइमा कार्यक्रम हुनेछ ।

यस वर्षदेखि भगवान बुद्धको महत्व दर्शाउनका लागि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित वृहत्तर लुम्बिनी क्षेत्रका बासिन्दाहरुलाई बुद्धजउन्तीको अवसरमा दीप प्रज्ज्वलन गर्न अपील गर्दछौैं, ’उनले भने ।
लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन १ करोड रुपैयाँ बजेट छुट्टाएको छ । दिवसको अवसरमा ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भन्ने नारासहित लुम्बिनी सरसफाई अभियान सुरुवात गरिएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।
लुम्बिनी विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्रसमेत भएकाले यसलाई सफा र स्वच्छ राख्ने दायित्व पर्यटकदेखि यहाँको स्थानीय र होटल व्यवसायीसमेतको हो भन्ने भावना जागृत गराउन अभियानको सुरुवात गरिएको उनले बताए । वैशाख ९ गतेबाट यो अभियान सुरु भएको र जारी रहने उनले बताए ।
बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी परिसरभित्र चल्ने कुनै पनि सवारीसाधनहरुले हर्न निषेध गर्ने निर्णय भएको छ । यसाले शान्ति क्षेत्र लुम्बिनी शान्तिपूर्ण वातावरण कायम गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । समग्रमा तयारी अन्तिम चरणमा छ । विशेष समारोह भव्यताका साथ सफल बनाउनका लागि मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरिएको शाक्यले बताए ।
काठमाडौं, २१ वैशाख ।
सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँ बढेर बिहीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँको पुगेको थियो ।
बुधबार छापालवाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।
काठमाडौं, २१ वैशाख ।
सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकाले गोली चलाउँदा नौजनाको मृत्यु भएको छ । प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते भएका छन् ।
मृत्यु हुनेमा आठजना विद्यार्थी र एकजना सुरक्षागार्ड रहेका छन् । घाइते हुनेमा ६ जना विद्यार्थी र एकजना शिक्षक छन् । योजनाबद्ध रुपमा ती बालकले गोली चलाएको र उनलाई पक्राउ गरिएको सर्बिया प्रहरीले जनाएको छ ।
सो घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीनदिने शोकको घोषणा गरेका छन् ।
विराटनगर, २१ वैशाख ।
मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा भ्यानका चालक मोरङ पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ–६ का ५५ वर्षीय रुद्र लम्सालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ ।
१–०२–००१ ज ३९५३ नम्बरको पिकअप भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
काठमाडौं, २१ बैशाख ।
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ ।
नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भुमिका खेलेको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दिपलाई आज बिहान काठमाडौं ल्याईएको हो ।
काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याईएका उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर अनुसन्धानका लागि म्याद लिइनेछ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।
आठ सय ७५ युवासँग रकम उठाएको आरोपमा मुछिए पछि सन्दिपका पीता टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
मकवानपुर, २१ बैशाख ।
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको अबस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो । सो दुर्घटनामा परी पर्सौनि नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।
मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
काठमाडौं, २१ बैशाख ।
परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदै छन् ।
बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद आज बेलायत जान लागेका हुन ।
उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो ।
स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भए पछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो । पराराष्ट्र मन्त्री बिहान ११ बजे बेलायत प्रस्थान गर्नेछन् ।