बज्जिकाञ्चल,गरुडा,बैशाख २२
रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले बाँदरले किसानलाई हैरान पारेको ठाउँलाई निरिक्षण गर्नु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर ३,४,८ र ९ नम्बर गरि ४ वटा वार्डहरुको नगर प्रमुख जयसवाल सहित जिल्ला बन कार्यालयका प्रमुखको टोली समेतले निरिक्षण गरेको छ ।

उक्त नगरपालिकाको चार वटा गाउँमा जङ्गलबाट आएका जङ्गली बाँदरको हुँलले किसानले लगाएको बालीनालीलाई खाएर नष्ट गरेको हुँदा उक्त कार्यलाई रोक्न मलाहीटोल ,गरुडा ,जिगडिया र गम्हरीया गाउँमा लगाएको बालिनालीहरुलाई खाएको कुराहरु रेखदेख समेत गर्नु भएको थियो ।

उक्त गाउँमा बर्षौ देखी किसानले लगाएको बाली बाँदरको हुल आएर खाइदिने, दुःख दिएर हैरान बनाएको गुनासो सुनिएपछी केहि समय अगाडि हामीले डिभिजन बन कार्यालय रौतहटमा पुगी यसको लागी आवश्यक समन्वय गर्न आग्रह गरेका थियौं नगर प्रमुख जैसवालले भन्नु भयो । सोहि अनुरुप डिभिजन बन कार्यलय रौतहटका प्रमुख सुनिल कुमार कर्ण र जिल्ला समन्वय समितिको सभापति रामअयोध्या राय यादवले अनुगमन÷निरिक्षण गर्नु भएको छ ।
सोहि अनुगमनको क्रममा नगर प्रमुख जैसवालले भने कि नेपाल कृषि प्रधान देश हो तर यहाँ मलबिउ लगायत सिचाई समयमा नपाउदा किसान यसरी नै हैरान हुनु पर्ने अवस्था छ तर पनि जेनतेन गरि खाद र बिउको उपाय गरि उब्जाउने गर्छ तर जङ्गलबाट आएका बाँदरका हुलले किसानको सम्पुर्ण बालिनाली खाएर नष्ट गरिदिनेको कारण झन हैरान र दुख दिने गरेको बताउनु भयो ।

त्यस कारण यस ठाउँहरुमा रहेका बाँदरहरुलाई नियन्त्रणमा लिई समस्यालाई समाधान गर्न आग्रह गर्नु भएको थियो । निरिक्षणका क्रममा रहनु भएका डिभिजन कार्यालयका प्रमुख सुनिल कर्णले हामि चाडैँ नै बाँदरलाई नियन्त्रणमा लिई समस्याबाट छुट्टकारा दिलाउने प्रतिबद्धता जनाउनु भयो । कर्णले भने अहिले समयमा सिकारीहरु लगायत सुख्खा मौसममा बन लागेको डढेलोको कारण जङ्गली जनावरहरु जङ्गललाई छोडेर राजमार्गको छेछाउँमा तथा गाउँहरुमा पस्ने गरेको कारण यस्तो अवस्था आएको समेत बताउनु भयो ।
बज्जिकाञ्चल,बैशाख २२ गते
रौतहटमा नेपाल रेडक्रस जुनियर युवाको मधेस प्रदेश स्तरीय दुई दिने शिविर गौरमा सुरु भएको छ । शिविरको उदघाटन सभामा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले दुःखमा रेडक्रस भने नारा अनुसारको काम कसरी गर्न सकिन्छ युवालाई प्रेरित गरेका छन् ।

रक्तदान गर्न अभियान वनाएर जनसमुदायलाई जागरुक बनाउन आग्रह गरेका छन् । बागमती प्रदेशका सभापति भोला रुपाखेतीले अग्रजले ठाउँ नदिए सम्म युवा नेतृत्व आउँन नसक्ने । युवालाई नेतृत्वमा ल्यान वर्षौ देखि नेतृत्वमा रहनु भएका लाई छोडनु पर्ने बताए ।

नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेसका सभापति फुल महमदको अध्यक्षतामा भएको शिविरमा जिल्ला अघ्यक्ष राजकिशोर यादव, सभापति फुलबाबु मिया,सप्तरीका जगदीश प्रसाद अर्याल ,नेपाल रेडक्रस सोसाईटी रौतहटका अध्यक्ष राजकिशोर यादव ,पुर्व अध्यक्ष डा.नन्दकिशोर झा, शिक्षक धिरजय कुमार मिश्र सहितले मन्तव्य दिएका थिए ।

आरके श्रीवास्तव,रौतहट,वैशाख २२ गते
रौतहट,नेपाल बार एसोसिएसनले वैशाख १७ गतेदेखि एक हप्ताका लागि दबाबमूलक अभियान सुरु गरेको छ । सो अभियान अन्तर्गत आज जिल्ला सदरमुकाम गौरमा दबाबमूलक अभियान सञ्चालन भएको छ । नेपाल बार एसोसिएसन गौर रौतहटको आयोजनामा प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा नेपाल वार एसोसिएसन केन्द्र को आह्वानमा भईरहेको आन्दोलनमा रौतहटका कानुन व्यवसायीहरूले समर्थन जनाउँदै आन्दोलन गरेका छन् । एसोसिएसनले एक हप्ते अभियानका आठवटा नारा समेत तय गरेको छ ।
जसमा स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं, न्यायपालिका भित्रको भ्रष्टाचार ,विकृति र विसंगति अन्तय गर,पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर,प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर,सर्वाेच्च अदालत लगायत सबै तहका अदालतमा रिक्त रहेको न्यायाधीश यथाशीघ्र नियुक्ति गर,संवैधानिक दायित्व पूरा गर,संबैधानिक परिषदको बैठक अविलम्ब बोलाउ,संसदीय सुनवाइ समिति गठन गर लगायतका माग राखी एक हप्ते अभियान जारी राखेको छ ।
एसोसिएसनको प्रांगणमा ती मांगहरू लेखिएको प्लेकार्ड र ब्यानरसहित शुक्रबार आन्दोलन गरेका छन् । सो अवसरमा बारका जिल्ला अध्यक्ष नन्दकिशोर साह,पूर्व अध्यक्ष राजाराम यादव,बरिस्ठ अधिवक्ता शाबिर हुसेन,अधिवक्ता मो.मजरूल हक,अधिवक्ता मो.आफताब आलम लगायतका जिल्लाभरि कानुन व्यवसायीहरूको सहभागीता रहेको थियो ।
मँजय राम,कटहरिया,वैशाख २२ गते
रौतहटको कटहरिया नगरपालिकाको इन्धन दुरुपयोगको खबर भ्रामक,झुठा र तथ्यहीन रहेको नगर प्रमुख अजय प्रकाश जयसवालले बताउनु भएको छ । विभिन्न मिडियामा आएको खबरमा कुनै सत्यता नरहेको उनले खुलासा गरेका छन् ।
व्यक्तीगत रिसिबी साध्नको लागी नगरपालिकालाइ बदनाम गराउने उदेश्यले यस्ता भ्रामक कुराहरु बाहिर ल्याएको उनले आरोप लगाएका छन् । कटहरियाका नगर प्रमुख अजयप्रकाश जयसवालले तेल खर्चमा पूर्व नगरप्रमुख सियाराम कुशवाहाको पालाको २० लाख बक्यौता रहेको तिरेको बताएका छन् ।
साथै जिल्लाको चर्चित बजार कटहरियामा निर्माणाधिन सडकमा धूलो नै धूलो हुन थालेपछि व्यापारीहरुकै आग्रहमा दिनहुँ सडकमा पानी छर्ने काम भइरहेकोले तेल खर्च हुनु स्वाभिक नै हो । जनतालाइ राहत दिनकै लागि पानी छर्ने काम भइरहेकोले यसलाइ अन्यथा लिन नहुने उनले बताएका छन् । पहिलाको स्थानिय सरकार हुँदाखेरि पेट्रोलियम पदार्थको मूल्य कम थियो । तर अहिले झण्डै दोब्बरले बढेको छ ।
त्यही भएर इन्धन खर्चको मूल्यमा केही वृद्धि भएको छ । यो हाम्रो कारणले भएको होइन् । नगरपालिकामा कार्यरत कार्यालय सहयोगी रामाकान्त पटेलले आफू र नगरपालिका लाई बदनाम गर्न षड्यन्त्र गरेको बताएका छन् । इन्धनमा भ्रष्टचार गरेको विषयमा उनले बोलेको भिडियोमा हुनै सत्यता नरहेको बताएका छन् । कटहरिया नगरपालिकाको इन्धन अन्य कुनै ठाउँमा दुरुपयोग भएको छैन् । यसमा नगरवासीलाइ ढुक्क रह्न उनले अनुरोध गरेका छन् । त्यसैले गलत र भ्रामक कुराहरुको पछाडी नलाग्न नगरवासीहरुलाइ मेयर जयसवालले आग्रह गरेका छन् ।
काठमाडौं, २२ वैशाख
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।
काठमाडौं, २२ वैशाख
नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ५७ जना संक्रमण मुक्त भएका छन् । आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ६२ रहेको छ । अहिले १२ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार छ सय नौ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
काठमाडौं, २२ वैशाख
मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय समिति सदस्यमा मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले रिजाललाई कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएको जानकारी दिएका छन् । शुक्रबार उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. मिनेन्द्र रिजाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ ।’
कांग्रेस विधानको दफा २१ (१०) अनुसार कम्तीमा दस वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
काठमाडौं, २२ बैशाख ।
एलोभेरा एक यस्तो तत्व हो, जसले तपाईंलाई यी सबै चीजहरूमा मद्दत गर्दछ। यसमा पाइने भिटामिन, एमिनो एसिड र मिनरल्सले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ।
एलोभेराले सुख्खा र सुस्त कपाललाई मोइस्चराइज गर्छ। एलोभेरालाई हेयर मास्कको रूपमा प्रयोग गर्न सकिन्छ। एलोभेरा मास्क कपाल लामो, बाक्लो, चम्किलो र रेशमी बनाउन प्रयोग गर्न सकिन्छ। एलोभेरा लगाउँदा हुन सक्ने फाइदाहकाा बारेमा जान्नुहोस ।
कसरी बनाउने ?
एलोभेराबाट हेयर मास्क बनाउन एलोभेराका पातहरू राम्ररी सफा गर्नुहोस्। तिनीहरूलाई केही समयको लागि छोड्नुहोस् ताकि हानिकारक तत्वले पहेंलो पदार्थको रूपमा पातहरू छोड्छ। अब चक्कुको सहायताले पातका किनाराहरू हटाउनुहोस्। छालासहितका पातहरूलाई सानो टुक्रामा काट्नुहोस् र केरासँग मिक्सरमा पिस्नुहोस । अब एलोभेराको मास्क तयार भयो ।
कसरी लगाउने ?
यो मास्क कपालमा लगाउनुहोस्। आधा घण्टा पछि आफ्नो कपाल पानीले राम्रोसँग धुनुहोस्। कपाललाई ओसिलो बनाउन मास्कमा क्यास्टर आयल थप्न सकिन्छ।
यसको फाईदा
एलोभेरामा पाइने एलोनिन कपालको लागि उत्तम तत्व हो। यसले कपाल झर्ने समस्याबाट बच्न मद्दत गर्छ । यसले हानिकारक पराबैंगनी किरणहरूलाई कपाललाई हानी हुनबाट रोक्छ।
संखुवासभा, २२ वैशाख ।
संखुवासभामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनमा क्याप्टेनसहित दुईजना घाइते भएका छन् ।
अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र एकजना स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएको जनाइएको छ ।
भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको हो । सो दुर्घटनमा दुईजना घाइते भए पनि हेलिकप्टरमा सवार छिरिङ भोटेको भने सकुशल उद्धार गरिएको छ ।
इन्दीप कोइराला,बारा, २२ वैशाख ।
बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।
सयौंको संख्यामा रहेका स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्लामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । प्रधानमन्त्रीको पुत्ला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए ।

यसअघि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्रभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । प्रधानमन्त्रीसहित गठबन्धन दलका शिर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सुनुवाइ नभएपछि प्रवेश निषेध गरेको नगर प्रमुख यादवले बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको कामसमेत प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।

नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत चार महिना नहुँदा झण्डै एक अर्बको बजेट फ्रिज हुन लागेको बताउँदै आएका छन् । प्रमुख यादव प्रमुख प्रशासकीय अधिकृत माग गर्न यतिबेला काठमाडाैँमै छन् ।