आरके श्रीवास्तव,गरुडा,वैशाख २९ गते
रौतहट जिल्लको माधवनारायण नगरपालिकामा आगलागी पिडितको घर निर्माणको लागि शिलान्यास गरिएको छ । सो नगरपालिका वडा नम्बर ४ मानपुरमा आगलागीबाट पीडित परिवारहरुको घर निर्माण हुने भएको छ । त्यसको लागि नेपाली काँग्रेसका मधेश प्रदेश सभापती एवम् प्रदेश सांसद कृष्णा प्रसाद यादवले शिलान्यास गर्नु भएको हो । मानपुर टोल आगलागीबाट पीडित १७ घरपरिवारले नयाँ घर पाउने भएका छन् ।
घर निर्माणको लागि आज पहिलो चरणमा ११ हजारको दरले आर्थिक सहयोग गरिएको हो । प्रदेश सांसद यादवको विशेष पहलमा मधेस एसोसिएसन इन अमेरिकाको आर्थिक सहयोग तथा माण्डवी संस्थाको आयोजनामा आगलागी पिडित परिवारको घर निर्माण गर्न तत्काल ११ हजार नगद सहयोग गरिएको छ ।
पछी घर निर्माण गर्दै जादा रु. ५० हजार को दरले किस्ता स्वरुप सहयोग गर्ने माण्डवी नेपालकी कार्यकारी अध्यक्ष अन्जु झाले जानकारी गराएकी हुन् । सो अवसरमा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,गरुडा,वैशाख २९ गते ।
रौतहटमा आज दिउँसो ३ः३० बजेको समयमा आगलगीको घटना घटेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलिया स्थित रहेको नारायण चौकमा दुइ वटा खाजा पसलमा आगजनी भएको छ । विद्युत सर्ट भइ जिल्लाको मौलापुर–देवाहीगोनाही सडक खण्डको टिकुलिया जाने बाटोमा रहेको दुई वटा पसलमा आगलागी भएको छ । आगलागीबाट दुवै पसलमा पूर्ण रूपमा क्षति पुगेको छ ।

स्थानिय नारायण साहको फुसको पसलमा आगलागि हुँदा त्यसमा रहेको पेय पदार्थ लगायत विभिन्न सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागि बाट करिब १ लाख ५० बराबरको क्षती भएको पिडित बताएको हो । त्यस्तै स्थानिय पसले संजय साहको एलबेस्टरले छाएको घरमा आगलागि हुँदा बियर,डिउ लगायतका पेय पदार्थगरी पसलमा रहेको विभिन्न सामानगरी करिब २ लाख २३ हजार भन्दा बढी मूल्य बराबरको क्षती भएको पिडितले बताएको हो ।

आगलागी भएको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर आगो निभाएको थियो । अहिले चर्को गर्मीको मौसम भएकोले विद्युत सर्ट भई जतिखेर नै आगलागी हुन सक्ने भएकोले सबैले सचेत रहन जानकारहरुले सुझाव दिएका छन् ।


बज्जिकाञ्चल,वैशाख २९ गते
राैतहट जिल्लाकाे गुजारा नगरपालिकाकाे कटानीमा दुई जना विपन्न परिवारलाई पसल सञ्चालन गर्न सहयोग गरिएको छ । इस्लामिक रिलिफ को आर्थिक सहयोग र आरडिसि नेपालको सहजीकरणमा कटानीमा रहेका बिपन्न परिबार मध्ये बाट आज छनोटमा परेका दुई परिबार लाई थाेरै भए पनि जीवन यापन सजिलो होस भनी सहयोग गरिएको हाे ।
एक परिबार लाई चटपटे पसलको लागि रु ४५०००/- बराबरको सामान र एक परिबार लाई किराना पसलको लागि सोही रकम बराबरको सहयोग वडा अध्यक्ष अशाेक चाैधरीको रोहबरमा बितरण गरिएकाे स्थानीय सुरेन्द्र तिमल्सिनाले जानकारी गराउनु भयाे । साे अवसरमा आरिडसि नेपालका कर्मचारी रमिला सहित स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियाे ।
इन्दीप कोइराला,बारा, २९ वैशाख ।
अनुचित लनदेन (मिटरब्याज) जाँचबुझ आयोगले शुक्रबार बारामा सुझाव संकलन गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित आयोग सदस्यहरु उत्तमराज सुवेदी, गणेशबाबु अर्यालको उपस्थिीतिमा कलैयामा सर्वपक्ष भेलाको आयोजना गरी जिल्लामा मिटरब्याजपीडितका अवस्थाको बारेमा सुझाव लिइएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, पालिका प्रमुखहरु, पार्टी प्रतिनिधीहरु, पत्रकार, नागरिक अगुवा एवं पीडितका प्रतिनिधिहरु सहभागी थिए । कलैया उपमहानगरपालिकाको सभाकक्षमा आयोजित भेलामा जिल्लामा मिटरब्याजपीडितको अवस्था र उनीहरुको सुरक्षासम्बन्धमा सुझाव मागिएको थियो ।
जिल्लाको अवस्थाबारे भेलालाई जानकारी गराउँदै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा मिटरब्याजपीडितको अवस्था भयावह रहेको बताएका छन् । उनले जिल्लामा ५३० जना पीडितले उजुरी दिएकोमा २८ वटा उजुरी मात्रैको समस्या समाधान भएको बताए ।
आयोगले ३० वैशाखसम्मका पीडितलाई निवेदन दिन भनेकोमा सोको अवधि एक साता बढाएर ७ जेठसम्मका लागि म्याद थपेको छ । पीडितलाई जिल्ला प्रशासन कार्यालय बारामा गई निःशुल्क निवेदन दिन सकिने सहज ब्यवस्था मिलाईएको उनले बताए ।
प्रजिअ सापकोटाका अनुसार परेका निवेदनहरूकाे अध्यायन गर्दा २४ हजार कर्जा लिएकोमा २ लाख ४० हजार रुपैयाँको कागज गराइएको पाइयो । लघुवित्तका कर्मचारीहरुले सदस्यसँग पैसा असुलेर ऋण नकाटिदिएको भन्ने उजुरी पनि परेका छन् ।
सोझासिधा मानिसहरुलाई बाध्यतामा पारी पैसा लिएर उल्टै मुद्दा मामिला गराएर दुःख दिने गरेका घटनासमेत भएको पाइएको छ । मिटरब्याजीको चंगुलमा पढेलेखेका मानिसहरुसमेत पर्ने गरेको पाइएको उनले बताए ।
छलफलमा भाग लिँदै बारागढी गाउँपालिका प्रमुख अशोक कुमार जैसवालले नैतिकताको अभावमा मानिसले मिटरब्याज जस्तो अपराध गरिरहेको बताए । उनले समाज सञ्चालनका लागि लेनदेन आवश्यक भएको भन्दै अनुचित गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाई थियो ।
जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पछिल्लो समय मिटरब्याजीको हतियारका रुपमा बैंक चेक प्रयोग हुने गरेको बताए । थोरै पैसा दिएर धेरै पैसाको चेक लिने र पछि लिएको कर्जा तिरिसक्दा पनि कानुनी झमेलामा पर्नुपर्ने बाध्यता देखिएको उनले बताए । आर्थिक लेनदेनलाई पारदर्शी बनाउने कुरामा वडा कार्यालयहरुलाई दिएको अधिकारलाई प्रभावकारी र यथार्थ परक बनाउने कुरामा जोड दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारले मिटरब्याजपीडितको पक्षमा काम गर्नेगरी कानुन ल्याएको भन्दै अनुचित लेनदेन अपराध भएको बताए ।
घरजग्गानै पास गरी लिने र बढी ब्याज लिएर उठिबास लगाउने कार्य गलत भएकाले यस्ता खाले समस्या समाधानमा आयोगले काम गर्ने बताए । पीडक र पीडित दुवैपक्षलाई एकठाउँमा राखी न्यायोचित लेनदेनमा सहजीकरण गरिनेछ भने पीडक समस्या समाधानमा लचक नभए उसको सम्पत्तिको श्रोतको अनुसन्धान गरि श्रोत नपुग्ने सम्पत्ति जफत गर्नेसम्मको कार्यमा आयोगले काम गर्ने अध्यक्ष कार्कीले बताए ।
मुम्बई, २९ वैशाख ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनयको माध्यमबाट बलिउडदेखि हलिउडसम्म स्थान बनाएकी छन् । आज पनि उनी विश्वकै उत्कृष्ट अभिनेत्रीमा पर्छिन् । आफ्नो जिन्दगीमा यो सफलता बाबजुद पनि प्रियंका छोरी मालतीका लागि करियरसँगै देश पनि छोड्न तयार छिन् ।
उनले एक अन्तरवार्तामा आफ्ना लागि आमाबुवाले त्याग गरेको सम्झँदै आफू पनि छोरीका लागि सबै कुरा त्याग गर्न तयार रहेको खुलासा गरेकी छन् । ‘मेरा लागि मेरो करियर अत्यावश्यक छ । मैले यहाँसम्म पुग्नका लागि धेरै मेहनत गरेकी छु । मैले कहिल्यै पनि सोचिनँ कि कुनै समय मैले करियर नै छोड्नुपर्छ । अब म ४० वर्षकी भएँ । म यो अवस्थामा मेरो छोरीका लागि करियर र देश छोड्न तयार छु’, प्रियंकाले भनेकी छन् ।
उनले आफ्ना लागि आमाबाबुले सबै कुराको त्याग गर्नु आफूहरुका लागि भाग्यको कुरा भएको दाबी गरेकी छन् । ‘तर समाजमा यस्ता पनि आमाबाबु छन्, जो आफ्नो सन्तानका लागि केही गर्न सक्दैनन् । आज पनि समाज दबाबमा छ । यसकारण मलाई लाग्छ कि हामीले सन्तानसँग कुराकानी गर्न आवश्यक छ’, उनी भन्छिन् ।
काठमाडौं, २९ वैशाख
नेपाल ल क्याम्पसमा आगामी आइतबार शोक बिदा दिएको छ।
क्याम्पसले कार्यालयमा सहायक पदमा नियुक्ति भइ परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरुको मृत्यु भएपछि शोक विदा दिएको जनाएको हो।
उनको उपचारको क्रममा वैशाख २८ गते मृत्यु भएको थियो। ३१ गते आइतबार यस क्याम्पसमा सञ्चालित बिए एलएलबी, एलएलबी तथा एलएलएम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने ब्यहोरा सबैलाई सूचित गरिएको शोक बिदामा उल्लेख छ ।
इन्दीप कोइराला,बारा, २९ वैशाख ।
जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा कालिकामाई गाउँपालिका २ का नागेन्द्र महतो रहेका छन् ।
वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको ना६ख ९३६१ नम्बरको बसलाई विपरीत दिशाबाट आएको प्रदेश २-३ -००१ च २४५२ नम्बरकाे पिकअपले ठक्करबाट दिँदा ५२ वर्षीय महतोको मृत्यु भएको हो । पिकअपले बसलाई ठक्कर दिँदा झ्यालबाट टाउको निकालेका महतोलाई गम्भीर चोट लागेको थियो । घटनालगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पथलैया-वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा घटना भएको हो । बस र पिकअपका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
काठमाडौं, २९ वैशाख
‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही सम्मेलनमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच भेट भएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै भारतीय विदेश मन्त्री जयशंकरले दुई पक्षीय सम्बन्ध, विद्युत, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन् ।
साथै, परराष्ट्र मन्त्री साउदलाई जयशंकरले बधाई पनि दिएको उल्लेख गरेका छन् ।
शुक्रबार र शनिबार २ दिन चल्ने उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका थिए ।
रौतहट, वैशाख २८ ।
रेड टेलिभिजनकी संस्थापक स्वर्गीय श्रीमती रामा देवी यादवको पूण्यतीथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट प्राईम टेलिभिजनका संचारकर्मी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।
श्रीमती रामा यादव स्मृति प्रतिष्ठानद्धारा विहिवार रेड टेलिभिजनको सभा हल गौरमा आयोजित एक कार्यक्रमबीच आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संयुक्त रुपमा कार्कीलाई उक्त पुरस्कारको राशी र प्रमाण पत्र प्रदान गरेको हो ।
यसैगरी रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पोखराको पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई आजै उक्त कार्यक्रममा नगद प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रेड टेलिभिजनका संयोजक जयप्रकाश यादवले जानकारी दिए ।
२६ हजार पाँच रोपइयासहित उक्त पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा रहेका विकृति एवं विसंगति हटाउनमा कलम चलाउने महिला पत्रकारलाई पुरस्कृत गर्दै आएको बताइएको छ ।
रामा यादव स्मृति पत्रकारिता परस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका कतिपय संचारकर्मीहरुले ज्यान गुमाउनु परेको दुःखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई दुर गर्न अथक प्रयास गरेका संचारकर्मीहरुका लागि रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट संचारकर्मीहरुलाई राम्रो अवसर प्रदान गरेको चर्चा गरे ।
उनले पत्रकारिता पेशा समाज प्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरितीहरुलाई हटाउदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न सम्पूर्ण संचारकर्मीहरु संग आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संचारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा सत्य, तथ्य, बस्तुपरकलाई ख्याल गर्दै रिर्पोटिंग गरेमा मात्रै समाचारको उद्देश्य पुरा हुने बताए ।
पत्रकार समाजको ऐना हुन्छ, ठिक त्यसै रुपमा संचारकर्मीहरु आफूहरुलाई त्यसैमा रुपमान्तरित गरेर पत्रकारिता गरेमा समाज, जिल्ला र राष्ट्रमा खोजे जतिको परिवर्तन हुने र देश विकासको गतिमा अघि बढ्ने धारणा उनले राखे ।
साथै एक पत्रकारले गर्नुपर्ने काम कत्र्तव्यलाई बुझेर मात्रै पत्रकारिता गर्नुपर्ने अन्यथा फेसबुके पत्रकारिताको कुनै औचित्य नरहेको स्पष्ट पारे ।
उक्त कार्यक्रममा नेपाल प्रहरीका एसपी विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रविण शर्मा, सचिव मदन ठाकुर, दिनेश यादव, राकेश यादव, किशोरी यादव, चञ्चल झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।