काठमाडौं, १२ जेठ
सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद् बसेको बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले दुवै संसद्ले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शितल निवास पठाउने निर्णय गरेको हो ।
काठमाडौं, १२ जेठ
एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक आज फेरि सुरु हुन नसकेरै भोलि अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो ।
तर, १० पुसमा नीति था कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो ।
आज दिनभर दलहरूबीच बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति हुन नसकेपछि भोलि ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
आरके श्रीवास्तव,रौतहट,जेठ १२ गते रौतहट ।
मलेसियामा मृत्यु भएका रौतहटका एक यूवकको परिवारलाइ आज जिएस समाजसेवा युवा कल्व मलेसियाले आर्थिक सहयोग गरेको छ । छातीको समस्याका कारण गत मार्च २९ तारीखमा मृत्यु भएका रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठाका नरेश रामको परिवारलाई संगै काम गर्ने सहकर्मी नेपालीहरुले मृतक परिवार लाई आर्थिक सहायता गरेका छन् ।

मृतकको परिवारलाई जीवन यापनका लागि सहयोग होस् भन्ने उदेश्यले मलेसियामा बस्ने नेपालीहरुले चन्दा संकलन गरी नेपाली रुपैयाँ ११ लाख ४५ हजार ८ सय ८० रुपैयाँ जिएस समाजसेवा युवा कल्व मलेसिया मार्फत सहयोग रकम पठाएका थिए । सो रकम मृतकका बुवा माधो राम र आमा मिना देवी रामलाई नेपाल पत्रकार महासंघ रौतहट सभापती प्रेमचन्द्र झाको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी महासंघ रौतहट सभापती झाले संगठनमा नै शक्ति हुन्छ जुन आज देखनको लागि मिल्यो । थोरै थोरै भएपनि रकम संकलन गरेर मृत्क नरेश रामको परिवारको लागि सहाराको रुपमा जिएस समाजसेवा युवा कल्व खडा भएको भन्दै सराहना गरेका थिए ।

ज–जसले रकम संकलन गरेर रकम पठाइ पिडित परिवारको पिडामा मलहम लगाउने काम गर्नु भयो ती सबै महान आत्माहरु लाइ धन्यवाद ज्ञापन गर्दै अभार प्रकट गर्नु भयो ।
यसको जति प्रशंसा गरेपनि कमै हुने झाले बताउनु भयो । कार्यक्रमलाइ समापन गर्दै कल्बका बरिष्ट उपाध्यक्ष मिथुन विराजी यादवले अहिले सम्म जिएस समाजसेवा युवा कल्व मलेसियाले यस्तै परिवारहरुलाइ १ करोडको हाराहारीमा आर्थिक सहयोग गरि सकेको जानकारी गराए ।

रकम हस्तान्तरण कार्यक्रमा सो वडाका वडा अध्यक्ष अश्विनी कुमार यादव,सहयोग पठाउने आयोजक संस्थाका उपाध्यक्ष विजय जयसवाल, मिथुन विराजी यादव ,

दिनेस जयसवाल भुवन कार्की, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा सहितका पत्रकार स्थानीय भद्रभलामीहरुको उपस्थिति रहेको थियो । मुकेश यादवले सञ्चालन गरेको कार्यक्रममा कल्बका उपाध्यक्ष बिजय यादवले स्वागत मन्तव्य राखेका थिए ।

काठमाडौ, १२ जेठ ।
कुमारी बैंकले आफ्नो संस्थापक सेयर शुक्रबारबाट बिक्रीमा राखिएको छ। बैंकले १४ लाखभन्दा बढी कित्ताको सेयर बिक्रीमा राखिएको हो ।
बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
यो लिलामी सेयरमा यही जेठ १९ गते अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ।
काठमाडौ, १२ जेठ ।
समिट लघुवित्त वित्तीय संस्थाको चौधौँ वार्षिक साधारणसभा स्थगित भएको छ । समिटले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ ।
कम्पनीले साधारणसभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो । सभा स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।यसअघि लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो ।
सभामा गत वर्षको नाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभा प्रयोजनका लागि जेठ १८ गते बुक क्लोजको मिति तय गरेको थियो ।
काठमाडौ, १२ जेठ ।
प्रभु लाइफ इन्स्याेरेन्सले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारणसभा जेठ २६ गते गर्ने भएको छ । सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्याेरेन्स एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ । गाभिए पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ ।
साधारण सभा प्रयोजनका लागि प्रभु लाइफले शुक्रबार बुक क्लोज गर्दै छ । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
तनहुँ, १२ जेठ ।
जंगली च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना बिरामी परेका छन् ।
बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० बर्षिया मीनमाया तामाङ गुरुङ र ३२ बर्षिया छोरा थमन गुरुङ बिरामी भएका हुन् ।
उनका अनुसार बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचार गरिएको थियो । तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ भने बाँकी दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौ, १२ जेष्ठ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०, मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी ३००,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, कागती १८० रुपैयाँ,चमसूरको साग रू ११०, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार २५० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा (रहु) ३३०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
सर्लाही, १२ जेठ ।
हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ ।
बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारकोको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका–२ का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो ।
बिहीबार साँझ आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि उनको सोही घरमा चेप्पिन पुगेकी थिइन ।
नयाँ दिल्ली, १२ जेठ ।
दिल्ली प्रहरीले १७ वर्षअघि भएको अपहरण प्रकरणको समाधान निकालेको छ ।
दिल्ली प्रहरीका अनुसार १७ वर्षअघि सन् २००६ मा अपहरणमा परेकी ३२ वर्षीया महिला दिल्लीको गोकलपुरीमा फेला परेकी छिन् ।
डीसीपी शाहदरा रोहित मीनाका अनुसार, ‘एउटा गोप्य सूचनाको आधारमा सीमापुरी प्रहरी थानाको टोलीले मे २२ मा १७ वर्षअघि अपहरणमा परेकी बालिका , जो हाल ३२ वर्षीय भएकी छिन, उनलाई फेला पारेको थियो।’ प्रहरीका अनुसार , केटीका आमाबाबुको उजुरीमा सन २००६ मा दिल्लीको गोकुलपुरी पुलिस स्टेशनमा आईपीसीको धारा ३६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। तर, लामो समयसम्म छानबिन गर्दा पनि उनी फेला परेकी थिइनन् ।
उनले अगाडी भने, ‘२००६ मा बालिकाको अपहरण भएको थियो तर त्यो बेला कस्ले अपहरण गरेको थियो, अझै पनि खुल्न सकेको छैन, हामी थप अनुसन्धानमा नै छौं ।’ उनी अपहरणमा पर्दा बालिका भए पनि आज उनी जवान भईसकेकी छिन् । उनलाई पुरानो कुरा स्मृतिमा ल्याउन भनिएको छ तर उनले अझै पनि त्यो पाटोमा खुलाउन सकेकी छैनन ।
तर, उनी दिपक नामका एक युवासँग अलग बस्न थाले पछि ती बालिकाको बारेमा प्रहरीमा खबर आएको थियो । ‘अनुसन्धानका क्रममा यो खुल्न गयो ती युवतीले घर छाडेर दिपक नामका व्यक्तिसँग चेरदिह, जिल्ला बलिया, युपी गाउँमा बस्दै आएको खबर आयो, यो पनि थप खबर आयो कि केही विवादपछि दीपकलाई लक डाउनमा उनले छाडेकी थिइन्, । र गोकलपुरी क्षेत्रमा छुट्टै भाडाको घरमा बस्न थालेको थिइन, पछि उनलाई प्रहरीले सोधपुछ गर्दा १७ बर्ष अघि अपहरणमा परेको खुल्न पुग्यो ।’
उनले आफु कसरी परिवारवाट अलग भएँ, त्यो अझै पनि उनले स्मरण गर्न सकेकी छैनन । यद्धपी, प्रहरीले उनको १७ बर्ष अघिको अपहरणको घटनालाई सम्झन भनिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
डीसीपी शाहदरा रोहित मीनाका अनुसार शाहदरा जिल्लाबाट २०२३ मा हालसम्म ११६ अपहरण र अपहरण गरिएका बालबालिका र व्यक्तिसहित ३०१ जना बेपत्ता भएका पत्ता लगाएको थियो ।