मुम्बई, १५ जेठ । ‘बाहुबली’ स्टार प्रभासको स्टारडम अहिले पनि निकै ठूलो छ ।
‘बाहुबली’ रिलिज पछि दुई असफल फिल्मका बाबजुद उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन । यहीकारण उनको आगामी र पहिलो फूल फ्लेज बलिउड फिल्म ‘आदिपुरुष’प्रति दर्शकको चासो बढ्दो छ ।
ओम राउत निर्देशित यो फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खानलगायतको अभिनय छ । यो फिल्म अब रिलिज अघि नै नाफामा जाने भएको छ । फिल्म हिन्दी, तमिल, तुलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ ।
फिल्मको तेलुगु राज्यको थिएट्रिकल राइटस १७० करोडमा बिक्री भएको छ । यो फिलमको हिन्दी र बाँकी भाषाको थिएट्रिकल राइटस पनि बिक्रीको तयारीमा छ ।
काठमाडौ, १५ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०,मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी २५० ,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कागती १६० रुपैयाँ, चमसूरको साग रू ९०, डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३०० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा(रहु) ३३०,ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
काठमाडाैं, १५ जेठ । आज जेलमुक्त भएका पुर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन् ।
डिल्लीबजार कारागारवाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग कुराकानी गर्र्दै चौधरीले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाएका हुन । उनी आज बिहान रिहा भएका हुन्।
‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा हुदैँ गर्दै उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन, उनले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’
रेशम चौधरीलाई लिन उनकी पत्नि तथा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी डिल्लीबजार पुगेकी थिइन्। जेलबाट रिहा हुदाँ पार्टीका समर्थक, शुभेच्छुकहरू बाजा, फूलमालाले उनको भब्य स्वागत गरेका थिए ।
काठमाडौ, १५ जेष्ठ । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३१ रुपैयाँ रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा पुग्दा साउदी रियाल एकको खरिद दर ३५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३१रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ छ भने बिक्री दर १० रुपैयाँ १ पैसा रहेको जनाएको राष्ट्र बैंकले क्यानेडियन डलर १ को खरिददर ९६.९६ र बिकी दर ९७.२७ ताेकेकाे छ ।
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन ।

सो अवसरमा उहाँले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए । उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयम्सेवकहरुको सहभागीता रहेको थियो ।

काठमाडौं, १५ जेठ । रेशम चौधरी भए ६ बर्ष पछि जेलमुक्त भएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायँमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलीपल्ट नै चौधरी जेलमुक्त भएका हुन् ।

टिकापुर नरसंहारको दोषी ठहर गरे पछि जेल जीवन बिताईरहेका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको फैसाला सदर गरे पछि उनी २०९४ सालसम्म जेल बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने निर्णय लिए पछि उनी १४ बर्ष अगाबै जेलमुक्त भएका हुन ।

डिल्लीबजार कारागारवाट जेल मुक्त हुदाँ उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल अबिरमाला गरेका छन् । उनकी पत्निसमेत रहेकी मन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगेकी छिन् । उनी २०७४ फागुनमा पक्राउ परेका थिए ।

काठमाडौ, १५ जेष्ठ । सेयर बजार सोमबार बन्द हुने भएको छ ।
आज जेठ १५ गते अर्थात गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से बन्द हुन लागेकाे हाे ।
अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १७.३५ अंकले घटेर १९४१.७७ विन्दुमा अडिएको थियाे ।
काठमाडौं, १५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणाली गलत भयो भन्ने भाष्य प्रति चिन्ता ब्यक्त गरेका छन् ।
१६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले गणतन्त्रका बारेमा भईरहेका मिथ्या प्रचार चिर्नुपर्नेसमेत जनाएका छन् ।
‘नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको वंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न,’ ओलीले आफनो सन्देशमार्फत भनेका छन, ‘यसले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउँछ ।’
उनले बिगतमा भएको क्रुर दमनलाई यति चाँडै बिर्सन नहुने पनि जनाएका छन । उनले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘गणतन्त्रात्मक प्रणाली सञ्चालन गर्ने क्रममा भएका त्रुटिको अर्थ हिजोको निरंकुश कालमा जनतामाथि भएका क्रुर दमन, जनताका अधिकारहरू माथिका बन्देज र हुकुम नै कानून हुने परिपाटी सही थियो भन्ने होइन, त्यो बर्बरता बिर्सिइएको हुन सक्ला, सही सावित भएको किमार्थ होइन ।’
गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताउँदै ओलीले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताएका छन् ।
‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस,’ उनले आफनो सन्देशमा भनेका छन् ।
बाआमा, दाजुभाइ, दिदीबहिनीले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको गणतन्त्र प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष ओलीले गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको उल्लेख गर्दै जनता वास्तविक अर्थमा सार्वभौम बनेको यस दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिनको रुपमा स्मरण गर्नुपर्नेमा पनि जोड गरेका छन् ।
‘हामीले गणतान्त्रिक प्रणालीका लागि जीवन जोखिममा राखेर गरेको सङ्घर्ष राज्य सञ्चालनमा रहेको वंशीय एकाधिकार तोडेर जनता स्वयं आफ्नो मालिक बन्ने प्रणाली स्थापनाका लागि हो, सबैलाई अवसरमा समानता, न्यायमा पहुँच र जीवनमा सुखको प्रत्याभूति गर्नका लागि हो’ भन्दै ओलीले नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको वंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित नहुन आग्रह गरेका छन् ।
काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रवाट नै नेपाल र नेपाली सुखी, सभ्य र सम्पन्न बनाउन सकिने बताएका छन् ।
१५ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको समेत जनाएका छन् ।
‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिन्छ,’ उनले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक छ ।’ उनका अनुसार मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले प्रेरणा दिनेछ ।

यस्तो छ, कांग्रेस सभापतिको शुभकामना सन्देशः
लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका छन् । आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति गणतन्त्र दिवसको अवसरमा उहाँहरुको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु, उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलता पश्चात नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरी गणतन्त्र कार्यान्वयनको लागि वि।सं। २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकमा पेश गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ ।
नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिन्छ । नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक छ । मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, गणतन्त्र दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना प्रकट गर्दछु ।
जय नेपाल
शेरबहादुर देउवा
सभापति
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र प्रति बितृष्णा जगाउने काम भईरहेको बताएको छन् ।
१६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रलाई सर्वस्विकार्य भईरहेको बेला बितृष्णा जगाउने कार्य भईरहेको बताएका हुन ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र पनि भइरहेका छन्, संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल हुने छैनन्,’ प्रधानमन्त्रीले आफनो शुभकामनमा सन्देशमा भनेका छन, ‘ लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव छ भन्ने कुरा पछिल्ला दिनका कतिपय घटनाक्रमले पुष्टि गरिसकेका छन् ।’
यस्तो छ, प्रधानमन्त्रीको शुभकामना सन्देशः

गणतन्त्र दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछु । महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता तथा घाइते अपाङ्ग योद्धाहरुसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
जनताको बीरतापूर्ण सङ्घर्षबाट हामीले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको पन्ध्र वर्ष पूरा भएको छ । यसबीचमा हामीले संविधानसभाबाट संविधान जारी गरी गणतन्त्रलाई संस्थागत गर्ने सवालमा दुईपटक सबै तहको निर्वाचन सफल पारेका छौं र जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन गर्ने सर्वोत्तम लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै लगेका छौं । संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत् जनताले पाउने आधारभूत सेवाहरु सहज बन्दै जानु, सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र सँस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरुको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधारहरु हुन् ।
हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रुपमा स्थापित गर्न पहल गरिरहेका छौं । नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न समावेशी तथा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त र नेपाल राज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित गरेका छौं । विश्वब्यापीरुपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ । यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकता छ ।
यस बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल हुने छैनन् । लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव छ भन्ने कुरा पछिल्ला दिनका कतिपय घटनाक्रमले पुष्टि गरिसकेका छन् ।
त्यसैले हामी संविधानले निर्दिष्ट गरे अनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासन सहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी छ । सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरी राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन म सबैमा अपील गर्दछु ।
अन्त्यमा, गणतन्त्र स्थापना र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने महान शहीदहरू, अग्रज राजनेता र राजनीतिक कार्यकर्ताहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवाहरू, लोकतन्त्र र गणतन्त्रप्रति आस्थावान सबैमा सम्मान व्यक्त गर्दै आजको दिवसले शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको सपनालाई साकार पार्न हामी सबैलाई प्रेरणा प्रदान गरोस भन्ने कामनाका साथ पुनः गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
१५ जेठ २०८०
पुष्पकमल दाहाल “प्रचण्ड”