२०८३ भाद्र ७
२०८३ भाद्र ७

 

बाँके, २१ असार ।

बाँकेको नेपालगञ्जस्थित कारगारभित्र कैदी मृत फेला परेका छनन् ।

कारागारभित्रको शौचालयमा कैदीबन्दी जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

 

तीन वर्षदेखि कैद भुक्तान गर्दै आइरहेका गुप्ता बिहीबार बिहान मृत फेला परेका हुन् ।

 

घटनाबारे मृतकको परिवारलाई खबर गरिएको र गुप्ताको मृत्युबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।

 

विशाल बस्नेत ,महोत्तरी, २० असार । 

सडक चौँडा हुँदा दुर्घटना कम हुने र ट्राफिक जाम समेत न्युनीकरण गर्ने उद्देश्यले सरकारले देशैभरिका मुख्य सडक सञ्जाललाई फराकिलो बनाउने नीति लिएकाे छ ।  तर,  सरकारी कार्यालयको समन्वय अभावले सवारी दुर्घटना निम्त्याउने देखाएकाे छ ।  सिन्धुली- काठमाडाैं सडकखण्डअन्तर्गत बर्दिबास-३ स्थित गौरिडाँडामा बन्दै गरेको सडक निर्माण गर्दा देखिएकाे सरकारी कार्यालयको समन्वय अभावले दुर्घटनालाई निम्त्याएकाे  छ ।

सडकको बीचमा देखिएका अस्तव्यस्त रुखहरु, विद्युतका तार र ठडिएका खम्बाहरुले सवारी दुर्घटना निम्त्याएकाे  छ । अहिले सडकको दायाँबायाँ १५/१५ फिट चौडा गरिएको छ । तर, चौँडा गरेको अधिकाशं भागहरुमा न बिधुत हटाइएको छ न त रुखहरु नै   । सडकमा परेका रुख वन कार्यालयले काट्न दिएकाे छैन भने विद्युतका पाेखहरु हटाउन विद्युत प्राधिकरणले चासाे दिएकाे छैन । जस कारण सडकका बीचमाा रहेका रुख र विद्युतका पाेलले सवारी दुर्घटनालाई निम्त्याउने देखिएकाे छ ।

सडकका बीचमा रहेका विद्युतका पाेल सार्न पटक पटक ताकेता गर्दा पनि प्राधिकरणले चासाे नदेखाएकाे सडक विभागका इन्जिनियर  रमेश आचार्यले जानकारी दिए । उनका अनुसार अहिले सडकको किनारामा दायाँबायाँ २ फिट  फुटपाटको लागि बढाइने भएको हुनाले स्थानिय सरकारको मात्र सहयोग लिएर काम गरिएकाे छ ।

एक वर्षभित्र काम सक्ने गरी जेभी र सैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनले करिब ९ करोडमा ठेक्का पाएका हुन् । सैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनका इन्जिनियर सुशील बस्नेतले सडककाे बीच भागका पोल र रुखहरु हटाउन नसक्दा कामले गति लिन नसकेकाे बताए ।

 

 

जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाका अनुसार सडकको दायाँबायाँ रहेका रुखहरु सडक विभागकाे नै सम्पत्ति भएको तर भु-संरक्षण मन्त्रालयवाट प्रावधानअनुसार स्वीकृति नल्याएको हुनाले हस्तक्षेप गर्नु परेकाे हाे ।

 

`भु-संरक्षण मन्त्रालयवाट स्वीकृत ल्याए उक्त रुखहरुको बिषयमा हाम्रो ध्यानाकर्षण रहँदैन,´ प्रमुख झाले भने, `रुखहरु भएको ठाउँमा प्रक्रिया विना काटन खोजिए हाम्रो ध्यानाकर्षण रहन्छ ।´

 

यता विद्युत कार्यालयका प्रमुख प्रविन मिश्रले सडकको पोल हटाउन केही कागजात नपुगेको हुनाले काम अगाडि बढाउन नसकिएको बताए ।

 

काठमाडौं, २१ असार ।

सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसका उद्धव थापालाई बनाउने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बिहीबार बेलुका ५ बजेसम्म कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्र कोशी प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई बोलाएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन दिइएको पाण्डेले बताए ।

‘कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरियो,’ उनले भने, ‘आज बेलुका ५ बजेसम्म विराटनगर गएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई निर्देशन दिइएको छ ।’

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुखद् रहेको प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

यही १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेपछि सचिवालयको सो प्रष्टीकरण आएको हो ।

 

प्रितम सिंहसँग पारिवारिक घनिष्ट सम्बन्ध रहेको र सोही सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुखद् रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

 

संसदबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही रहेको र संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उनको भनाईको आसयविपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको सचिवालयले भनेको छ ।

 

‘संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही हुनुहुन्छ । संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाईको आसय विपरित एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ,’ जारी प्रेस नोटमा उल्लेख गरिएको छ, ‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’

 

प्रेस नोटकाे पूर्णपाठ

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।

 

जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको थियो । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७/०६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो । सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो ।

 

नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आउनु भएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रष्ट नै छ । यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ ।

 

सम्मानित संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही हुनुहुन्छ । संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाईको आसय विपरित एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।

पुस्तक बिमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रुपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कार्वाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निस्क्रिय भएको छ, जसबाट मिटरब्याज पीडित लाखौँ नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको छ, यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै पीडित किसानहरूको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

स्मरणयोग्य कुरा के छ भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गत पुस १० गते प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समेतको प्रस्तावमा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको र सम्मानित सदनबाट झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएको थियो । संकुचित राजनीतिक मानसिकताका साथ उहाँको राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हामीले हेक्का राख्नुपर्दछ । तसर्थ, यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न हामी सम्पूर्णमा हार्दिक अपील गर्दछौँ ।

मितिः २०८०।०३।२१

काठमाडौं, २१ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

बिहीबार बैठक सुरु भएलगत्तै एमालेका भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै बैठक अघि बढ्न नसक्ने जानकारी गराए ।

गत १८ असारमा भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो । एमालेका सांसदहरु उठेर विरोध जनाइरहेका छन् ।

यसअघि बुधबार पनि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गरेको थियो ।

 

पोखरा, २१ असार ।

कास्कीको पोखरा महानगरपालिका १४ चाउथेमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पछाडि सवार युवक भने घाइते भएका छन् ।

 

मृत्यु हुनेमा पोखरा महानगरपालिका २७ तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङ रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गुरुङको बिहीबार बिहान सवा ५ बजे मृत्यु भएको हो । घाइते भएका स्कुटरमा सवार पोखरा २७ अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जिपले विपरित दिशाबाट आउँदै ग ८ प ५८३८ नम्बरको स्कुटरलाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो । जिपसहित चालक वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएको छ ।

 

हेमन्त केसी ,सुर्खेत, २१ असार । 

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुरबाट रोल्पा जादै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छुइँदा करेन्ट लागेर दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

मृतक दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी सुचना तथा प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसमा  २० जना सवार रहेकोमा दुईजनाको मृत्यु र एक जना घाइते भएका छन भने अन्य यात्रु सकुशल रहेको छन् ।

 

घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

नयाँदिल्ली, २१ असार । नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् ।

 

सत्तारू भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन ।

भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।

 

भाजपा विदेश विभाग द्वारा आयोजित ‘Know BJP initiatives’  कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै  माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन ।

 

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउने गरेको छ। नड्डाले भनेका छन, विभिन्न देशका राजनीतिक पार्टीहरूसंग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहां भारतमा बोलाउने गरेका छौं र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गरेका छन्।

 

नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नड्डाको निमंत्रणमा गत वर्ष भारतको भ्रमण गरेका थिए।

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैर जिम्मेवार अभिब्यक्तिलाई लिएर अहिले सर्बत्र आलोचना भइरहेको छ ।

 

‘प्रधानमन्त्री नपाए दिल्ली जानु’ भन्ने आशयको अभिब्यक्ति दिएर सर्वत्र आलोचनाको शिकार भईरहेका प्रधानमन्त्री दाहालको अभिब्यक्ति माथी आक्रोश पोख्ने क्रम जारी छ ।

 

सोही क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । ‘नयां लेन्डुपहरु बनाउने भारतिय सस्थापनको हण्डी खाएर भारतिय भुमिमा बसेर   नेपाली जनता को रगत बगाउने शसस्त्र युद्दको डिजाइनरको पर्दाफास हुदैछ्,’ बडालले भनेका छन, ‘जनताले चिन्न ढिला नगरौ, एस्ता लेन्डुपहरुलाइ सामाजिक बहिस्कार गरौ।’

काठमाडौ, २१ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बिहीबार ठुलो नेपाली गोलभेडा, लौका, घिरौला, पालूगो साग र मालदह आँप प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ४२ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

 

साथै, रातो आलु, रुख कटहर र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ५३ रुपैयाँ ४० पैसा  तोकिएको छ ।

 

यसैगरी, लोकल गाजर ९२ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली (ज्यापु) र भेडे खुर्सानी ७५ रुपैयाँ, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसा, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसामा काराेबार हुदाँ लाम्चो भन्टा र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, हाइब्रीड सेतो मूला २५ रुपैयाँ, लोकल घिउ सिमी र तने बोडी १२५ रुपैयाँमा किनबेच भएकाे छ ।

 

मकै बोडी १०५ रुपैयाँ, लोकल घिउ सिमी १२५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ११० रुपैयाँ, परवर, गान्टे मूला, चुकुन्दर र स्कुस ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

 

त्यस्तै, पाकेको फर्सी ४३ रुपैयाँ ३३ पैसा, भिण्डी १०५ रुपैयाँ, रायोको साग, न्यूरो, हरियो प्याज, हरियो तरबुजा, लोकल नासपाती र हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँमा खरिद बिक्री हुदाँ कुरीलो २३३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली र रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ तोकिएको छ ।

 

यसैगरी, फूजी स्याँउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४२५ रुपैयाँ, कालो अंगुर ५७५ रुपैयाँ, भुई कटहर १९० रुपैयाँ, लोकल काक्रो ९२ रुपैयाँ, लोकल लिच्ची १४५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३०० रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ पर्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।