काठमाडौं, २८ असार ।
बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ ।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपाल र बाङ्लादेशले १–१ गोलको बराबरी खेलेका हुन्।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।
खेलको ६५औं मिनेटमा कप्तान सविना खातुनको गोलसँगै बंगलादेशले अग्रता लिएको थियो । खेल सकिनै लाग्दा भण्डारीले नेपालका लागि गोल गरेकी हुन्। इन्जुरी समयमा गरेको भण्डारीको गोलले पहिलो खेल बराबरीमा रोकेको हो।
मैत्रीपूर्ण प्रतिस्पर्धा अन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।
उदयपुर, २८ असार ।
सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्टसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुर कटारी नगरपालिका-४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईलाई सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको हो । साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं, २८ असार ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गर्न सरकारले कानुन बनाउने बताएकी छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन बनाउने जानकारी दिएकी हुन् ।
डिजिटल साक्षरता प्रवर्द्धन र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याएर मर्यादित बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षमा कानुन ल्याउने बताइन् ।
कानुन बनाएर नै सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने जानकारी दिएकी मन्त्री शर्माले राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा बताइन् ।
मुकेशकुमार यादव,सिरहा, २७ असार।
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका- ८ फूलहट्टा घरभई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो।
रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरी जवान राय भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरेको छ। उनीसँग दोहोरो सम्वादमा रहेको व्यक्तिले कहाँ रक्सी खाईस भन्ने प्रश्न मा उनेले, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस्। मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु’ भन्ने सम्वाद सुनिन्छ।
भिडियो सम्वादमा रहेको भनिएको इन्स्पेक्टर राईले पनि रक्सी खाए नखाएको जाँचपछि निस्की हाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिंदै गरेको सुनिन्छ। प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस् बरु मारिदिनुस्’ भनेका छन् । सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ। ‘मुस्कानसहितको सेवा’ दिने प्रहरी आफैँले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारले प्रहरीमाथि थप प्रश्न उठेको छ ।

निरन्तर अधिक ड्युटी गराएको गुनासो गर्न आफ्ना कमाण्डर इन्सपेक्टर राईकामा पुगेका बखत प्रहरी जवान रायलाई इन्स्पेक्टर राईले गाली गलौज गरेको बताइएको छ। इन्स्पेक्टर राईले गालीगलौज गरेपछि आक्रोसित प्रहरी जवान रायले पनि जवाफ फर्काएकाएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भनिएकाे छ। रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।
सिरहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै यातना दिने व्यक्तिको बचाउ गरे। उनले प्रहरी जवान राय बदमास रहेको भन्दै घटना भएको स्वीकार गरेपनि बाहिर भएको हल्ला जस्तो नभएको बताए।
डिएसपी पाण्डलेले रायले मादक पदार्थ सेवन गरेको भनिए पनि मेडिकल रिपोर्टमा नदेखिएको बताए। यता मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले आफूले पनि घटनाबारे जानकारी पाएको बताए।

आज जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको आवश्यक छानबिनका लागि समिति गठन गरेको बताए। उनले भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिरहा आएकाले आजै छानविन समिति गठन गरेको छु। समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुन्छ।’

रुकुम पश्चिम, २७ असार ।
सानीभेरी गाउँपालिकाका ईन्जिनियर रमेश लम्सालमाथि आक्रमण भएको छ । उनीमाथि माओवादी केन्द्र निकट युवा संगठन वाईसिएलका जिल्ला संयोजक गोविन्द ओलीले हातपात गरेका हुन् ।
स्थानीय रंगशाला निर्माणको जिम्मा लिएका सानीभेरी–३ निवासी ओलीले योजनाको कम मूल्यांकन गरेको भन्दै बुधबार बिहान लम्सालमाथि हातपात गरेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश पूर्वाधार विकासअन्तर्गत रंगशाला निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएकोमध्ये ३६ लाख रुपैयाँ भुक्तानी भएको विषयलाई लिएर लम्सालमाथि आक्रमण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए ।
कर्मचारीमाथि हातपात तथा आक्रमण हुनु दुःखद् भन्दै गाउँपालिका अध्यक्ष वृखबहादुर विष्टले दोषीमाथि आवश्यक कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले आक्रमण गर्ने ओलीलाई प्रहरीले नियन्त्रणमा लिएर सिम्ली प्रहरी चौकीमा राखेर अनुसन्धान थालिएको बताए ।
काठमाडौं, २७ असार ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ।
राउतका वकील टीकाराम भट्टराईका अनुसार रिट दर्ता भएकोमा प्रारम्भिक सुनुवाइका लागि भोलिलाई पेशी राखिएको छ।
राउत असार २४ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर उड्नै लाग्दा पक्राउ परेका थिए। सरकारी कागजात कीर्तेसहित संगठित अपराधको कसूरमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ।
बिशाल बस्नेत/महोत्तरी, २७ असार
ग्रामिण उधम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरको कार्यालय बर्दिबासले वर्षभरिको प्रगति विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा गरेको कामको जानकारी दिँदै कार्यालय प्रमुख रविन्द्र महथाले खर्च भएको लगभग ६ करोडको फेहरिस्ता सुनाए ।
कार्यालयले बजार समबन्धको विकासमा सहजीकरण, उधमशिलाताको विकास, संरचनात्मक विकास र लाभाग्राहीको योगदानमा आधारितसहितका सीमाभित्र रहेर मधेश प्रदेशका ८४ वटा पालिकाहरुमा काम गर्दै आएको छ ।
महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा केन्द्रित रहेर उक्त करिडोरभित्र सप्तरीमा १५, सिरहामा १२, धनुषामा ८, महोत्तरीमा १०, सर्लाहीमा ११, रौतहटमा ९, बारामा ११ र पर्सामा ८ वटा पालिकामा काम भईरहेको कार्यालय प्रमुख महथाले जानकारी दिए ।
कृषकलाई ५० प्रतिशत अनुदानको प्रक्रिया समेत अगाडी बढाइएको छ । ८४ वटा पालिकाहरुबाट १०३२ कृषक समुहले अनुदानको लागी निवेदन दिएको आर्थिक करिडोरको कार्यालयले जनाएको छ ।
जसमध्य दुध उत्पादनमा ५३१ जना, मासु उत्पादन(बाख्रा -२१८, कुखुरा तथा हाँसमा-२२, बन्गुरमा-७ जना, रागा-१) -२४८ जना, माछा उत्पादनमा ५७ जना, तरकारी उत्पादनमा ९२ जना, बिज बृदिमा ४९ जना, गंहू, धानमा १५ जना, फलफूल उत्पादनमा १० जना, प्रशोधन उधोगमा ५ जना, मौरिपालनमा १, वन पैदावरमा १ जना, शीर्षक नखुलाई १४ जना गरी १०१३ जना समूहबाट अनुदान माग भएको छ ।
कार्यालयले बनाएको कार्यविधिअनुसार छनोट प्रक्रियामा अगाडी बढीरहेको प्रमुख महाथाले जानकारी दिए । न्युज कारखाना
पाँचथर, २७ असार ।
फिदिम-इलाम सडक खण्डमा लोबेट ट्रेलरको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।
फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख. ४८०७ नं.को खाली ट्रेलरले फिदिम नगरपालिका-३ लालीखर्कमा ठक्कर दिँदा पैदल 0यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।
शव पाँचथर अस्पतालको शव गृहमा राखिएको छ । ट्रेलरका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं, २८ असार ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै मृतात्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आमा गुमाएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयात्री गुमाएको भन्दै सीताप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
उनले लेखेका छन्, ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्छु । सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
काठमाडौं, २७ असार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत दाहालको निधनप्रति दुःख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् ।
दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा पशुपति आर्यघाट पुगेका थिए ।