सिंगापुर, २० असार ।
दुई लागुऔषध तस्करलाई यसै साता सिंगापुरमा फाँसी दिइने भएको छ ।
मृत्युदण्डको सजाय सुनाइएका दुई जनामा एक महिला पनि छन्, जसलाई फाँसी दिइनेछ । विशेष कुरा के छ भने २० वर्षपछि सिंगापुरमा एउटी महिलालाई फाँसी दिइन लागिएको हो । यो जानकारी सिंगापुरको एक मानवअधिकार संगठनले दिएको हो ।
५० ग्राम हेरोइनको तस्करीमा दोषी पाइएका ५६ वर्षीय पुरुषलाई बुधबार (जुलाई २६) फाँसी दिइने स्थानीय अधिकार संगठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टीजेसी) ले जनाएको छ। उनलाई दक्षिणपूर्वी एसियाली सहर राज्यको चांगी जेलमा फाँसी दिइनेछ ।
यससँगै लागुऔषध ओसारपसारमा दोषी ठहर भएकी ४५ वर्षीया महिलालाई शुक्रबार फाँसी दिइने छ । समाचार अनुसार दोषी महिलाको पहिचान सारीदेवी जमानीको रूपमा गरिएको छ। करिब ३० ग्राम हेरोइन तस्करी गरेको आरोपमा उनलाई २०१८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
स्थानीय अधिकारकर्मी कोकिला अन्नामलाईले यस्तो भएमा सन् २००४ पछि सिंगापुरमा फाँसी दिइने उनी पहिलो महिला हुने बताइन् । यसअघि ३६ वर्षीया महिलालाई लागुऔषध ओसारपसार गरेको आरोपमा फाँसी दिइएको थियो । टीजेसीका अनुसार दुबै कैदीहरू सिंगापुरका हुन् र उनीहरूका परिवारलाई मृत्युदण्डको सूचना प्राप्त भइसकेको छ ।
उल्लेखनीय छ, यसअघि २६ अप्रिलमा लागूऔषध तस्करीको आरोपमा सिंगापुरमा भारतीय मूलका एक व्यक्तिलाई फाँसी दिइएको थियो। उनको परिवारले फाँसी नदिन अदालतमा निवेदन दिएको थियो, जुन खारेज भएको थियो ।
सिङ्गापुरमा विश्वको सबैभन्दा कडा लागुऔषध विरोधी कानून छ। लागुऔषध ओसारपसार गर्दा पक्राउ परे मृत्युदण्डको व्यवस्था छ । वास्तवमा सिंगापुर ५०० ग्राम भन्दा बढी गाँजा वा १५ ग्राम भन्दा बढी हेरोइनको तस्करी फेला परेमा मृत्युदण्ड हुन सक्छ।
काठमाडौ, १० साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, टनेल गोलभेडा सानो ५८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,गाजर ११०,बन्दा लोकल १२ , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ९०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी रू ३५, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४०, अनार ३५० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ५५०, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १२०, हरियो धनिया १५०,लसुन हरियो ७०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २६०,रुख कटहर ४०, भेडे खु्र्सानी ११० मा कारोबार भइरहेको छ । यसअघि मालदह अाँप १५० रूपैयाँसम्म पुगेकाे थियाे ।
किभ, १० साउन ।
संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा एजेन्सीले रुसले युक्रेनको जापोरिझिया आणविक प्लान्टमा खानी बिछ्याएको पुष्टि गरेको छ ।
आईएईएका महानिर्देशक राफेल ग्रोसीले भने, ‘रुसको यो कदमले सुरक्षा प्रक्रियाको उल्लङ्घन गरेको छ ।’ ती खानीहरू प्लान्टको बफर जोनमा आन्तरिक र बाह्य अवरोधहरू बीच अवस्थित छन्।
आईएईएका अनुसार उनीहरूको अधिकारीले पछिल्लो निरीक्षणका क्रममा खानीहरू पनि देखेका थिए। एक विज्ञप्ति जारी गर्दै राफेलले भने – आणविक प्लान्टमा खानी बिछ्याउनु संयुक्त राष्ट्रसंघको मापदण्ड र सुरक्षा निर्देशन विपरीत हो । यसले त्यहाँ उपस्थित कर्मचारीहरूमा मनोवैज्ञानिक दबाब पनि सिर्जना गर्दछ।
तर, आइएईएले भविष्यमा विष्फोट भए पनि प्लान्टको सुरक्षा प्रणालीमा नोक्सान नहुने पनि बताएको छ । आईएईएले ती खानी कर्मचारीलाई आवतजावत गर्न नपाइने ठाउँमा राखिएको बताएको छ । यी स्थानहरू रूसी सेनाको नियन्त्रणमा छन्।
करिब २० दिन अघि युक्रेनले रुसले जापोरिजिया आणविक प्लान्टलाई नष्ट गर्न खोजेको आरोप लगाएको थियो । युक्रेनले आणविक प्लान्टको छतमा रुसले बारुदी र विस्फोटक पदार्थ राखेको बताएको थियो । यसपछि आइएईएले युक्रेनको दाबीको छानबिन गर्न भनेको थियो । यसका लागि रुसले आणविक प्लान्टमा थप पहुँचको माग गरेको थियो ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले गत महिना काखोभका बाँध ध्वस्त गरेको बताए । अहिले उसले आणविक संयन्त्रलाई ध्वस्त पार्ने तयारी गरिरहेको छ । आक्रमणको डरको बीचमा युक्रेनले प्लान्ट वरपरका क्षेत्रहरूमा पनि ड्रिल गरेको थियो।
काठमाडौं, १० साउन ।
आज प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुनेछ भने शिक्षा, बिज्ञान तथा प्रबिद्यी मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वविद्यालय बिद्येयक २०८० लाई छलफलका लागि सबन्धित समितिमा पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।
काठमाडौं, १० साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेकोसमेत बताएका हुन ।
आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भए लगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेकोसमेत बताए । जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको समेत बताएका छन ।
‘सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको उनको भनाई भनाई छ । ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो’, उनले भने ।
प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएकोसमेत बताए । ‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ,’, उनले भने ।
मुम्बइ, १० साउन ।
टिभीमा हरेक महिना नयाँ नयाँ सिरियल र शोहरु आउँदैछन्, जसमध्ये थोरैले मात्र फ्यानको मनमा स्थान बनाउन सक्छन् ।
एकै समयमा धेरैले केहि महिना भित्र अफ एयरमा जान्छन्। तर त्यहाँ केही शोहरू छन्, जसले हामीलाई ५ वा १० वर्ष होइन १५ वर्षदेखि मनोरञ्जन दिइरहेका छन्।
जहाँ यो लिस्टमा धेरै फ्यानहरुले तारक मेहताका ‘उल्टा चश्मा’को नाम लिने गरेका छन् । तारक मेहताको यो टिभी शो सुरु भएको १५ वर्ष भइसक्यो तर अधिकांश एपिसोडको हिसाबले टिभीको लोकप्रिय सिरियलले यसलाई पछाडि छोडेको छ ।
टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’, ‘एक सोप ओपेरा’ हो, जुन १२ जनवरी २००९ मा स्टार प्लसमा सुरु भएको थियो। अक्षरा र नैतिकका पात्रहरूबाट सुरु भएको थियो, जुन अहिले उनकी नातिनी अक्षरा र उनका पूर्व पति अभिमन्युको वरिपरि घुमिरहेको छ । योसँगै यो शोको हालसम्म ४ हजार १३७ एपिसोड आएका छन् र यो टिभीमा चलिरहेको छ ।
दोस्रो नम्बरमा तारक मेहताको ‘उल्टा चश्मा’ छ, जुन सोनी सबको सिटकम हो। यसको कथा जेठालाल र उनको छिमेकी अर्थात् गोकुलधामका बासिन्दाहरूको कथामा आधारित छ। २८ जुलाई २००८ मा सुरु भएको यो सिरियलको अहिलेसम्म ३ हजार ८३१ एपिसोडहरू निमार्ण भईसकेका छन् र अझै पनि दर्शकहरूको नम्बर एक शोको रूपमा चलिरहेको छ।
तेस्रो सिरियल हो, ‘कुमकुम भाग्य’ । जसले २ हजार ४९१ एपिसोड पूरा गरिसकेको छ । यो १५ अप्रिल २०१४ मा लन्च भएको थियो, जसमा प्रज्ञा र अभिको कथा देख्न पाइन्छ । यद्यपि यो कथा अहिले अगाडि बढेको छ र मुख्य पात्रले शोलाई अलविदा गरिसकेका छन्।
चौथो सिरियल हो– ‘बालिका वधु’ । जसको २२४८ एपिसोड थिए । जुन कलर्स टिभीको यो सिरियल २१ जुलाई २००८ मा सुरु भई ३१ जुलाई २०१६ मा समाप्त भएको थियो ।

पाँचौं सिरियल एन्ड टिभीको ‘भाभीजी घर पर है’ । यो सिरियलले २ हजार ११९ एपिसोड पूरा गरेको थियो, जुन २ मार्च २०१५ मा सुरु भएको थियो।
काबुल, १० साउन ।
तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधा भएको बताएको छ ।
तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा यी कुरा भनेका हुन् ।
उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए । ‘यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले हामीलाई चिन्न सकेका छैनन् । हामी अमेरिकाको दबाबमा नआएका देशहरूबाट मान्यताको लागि अपील गर्छौं। हामी चाहन्छौं कि विश्वका शक्तिशाली इस्लामिक देशहरूले हामीलाई सरकारको रूपमा मान्यता दिनुहोस्,’ उनले भने ।
आतंकवादी संगठन अलकायदासँग लड्न अमेरिकालाई सहयोग गर्ने प्रश्नमा मुजाहिदले भने कि यो अफगानिस्तानमा छैन। उनले भने कि अल कायदा अफगानिस्तानमा अवस्थित छैन, अन्यथा तिनीहरू कोसँग लड्ने छन्।
उनले अमेरिका बारम्बार आफ्नो आकाशमा घुसपैठ गरिरहेकोसमेत आरोप लगाएका छन । ‘अब उनीहरूले यो काम रोक्नु पर्छ’ उनले भने ।
‘अफगानिस्तानको स्वतन्त्रताको सम्मान गर्नुपर्छ र अफगानिस्तानविरुद्ध कुनै पनि देशको भूमि प्रयोग गर्न नहुने बारम्बार भनिँदै आएको छ’, मुजाहिदले भने, ‘तर अमेरिकाले मानेको छैन।’
मुजाहिदले अगाडी भने, ‘अफगानिस्तान अन्तर्राष्ट्रिय समुदायसँग वार्ता गर्न र उनीहरुको चासो सुन्न तयार छ ।’ साउदी अरेबियाले उनीहरुलाई मान्यता दिएमा थप ५८ मुस्लिम देशसँग वार्ता गर्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन् ।
काठमाडौं, ९ साउन । निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ ।
आइतबार विज्ञप्ति जारी गरेर आयोगले खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई जरिवाना तोकिएको हो । खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई १५/१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको आयोगले सात दिनभित्र खर्च विवरण बुझाउन पनि भनेको छ ।
काठमाडौं, ९ साउन । पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ।
जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। घछनाबारे पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्।
काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो।
मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ गते मात्र उनको अर्थ मन्त्रालयमा सरूवा भएको थियो।
गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको छ।