२०८३ असार २८
२०८३ असार २८

आरके श्रीवास्तव,राैतहट,२१ गते वैशाख । 

गरूडा । रौतहट जिल्लाको चन्द्रपुर ४ स्थित आज बिहान भएको एक सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गरूडा नगरपालिका-२,गेडही गुठ्ठी निवासी ६० वर्षिय बलिराम सहनी र ४० वर्षीय उनकी छोरी उर्मिला देवी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार बिहानको समयमा माेटरसाइकिल र कार एक आपसमा ठाेक्किएर दुर्घटना भई उनीहरूकाे मृत्यु भएको बताएका छन् ।

दुर्घटनामा परि सख्त घाइते भएका दुबै जनाकाे उपचारकाे क्रममा मृत्यु भएको उनले बताए । बुवा बलिराम सहनी चन्द्रपुर स्थित हाइवेे ट्रमा सेन्टर र छाेरी उर्मिलाकाे एलएस न्यूराे हस्पिटल बारामा मृत्युु भएको डिएसपी राईले पुष्टि गरेका छन् ।

उनका अनुसार मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो ।

दुर्घटनापछि कार चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए । घटनापश्चात् मुचुल्का उठाउने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता स्थानीय बासिन्दाहरूले ट्राफिक व्यवस्थापनमा चासो नदिएकोप्रति गुनासो व्यक्त गरेका छन् । राम्रो सँग ट्राफिक व्यवस्थापन हुन नसक्दा यस्ता किसिमको घटनाहरू घटिरहेको सर्वसाधारणकाे गुनासो रहेको छ ।

राजेश पासवान/बैशाख २१/रौतहट। 

चमार कल्याण समाज नेपालको जातिय भेला रौतहटको गुजरा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। चमार कल्याण समाजका केन्द्रीय उपाध्यक्ष पुनित राम चमारको अध्यक्षतामा शनिबार सो बैठक सम्पन्न भएको हो।


बैठकबाट रविदास सेवा समिति गठन दर्ता गर्ने सम्बन्धमा,धर्मशाला सभाहल तथा विवाह मंडप निर्माण सम्बन्धमा,आर्थिक संकलन सम्बन्धमा,निर्माणका लागि ठाउँ छनौट गर्ने सम्बन्धमा लगायत विविध प्रस्तावहरु माथिगहन छलफल भइ निर्णय समेत भएको छ।

कार्यक्रममा वक्ताहरूले जातीय पहिचान, शिक्षा,स्वास्थ्य,दाइजो प्रथा अन्त्य, मृत्यु भोज अन्त्य,विभिन्न निकायमा प्रतिनिधित्व बढाउने, सामाजिक न्याय, जातीय भेदभाव र समावेशी विकासका पक्षमा महत्वपूर्ण मन्तव्य व्यक्त गर्नु भएको थियो। साथै, चमार समुदायबीच एकता मजबुत पार्न आगामी दिनहरूमा थप क्रियाशील भूमिका निर्वाह गर्न आग्रह समेत गर्नुभएको छ।

उक्त कार्यक्रममा कृष्णन्दन् राम,रामाज्ञा राम,सोनेबाल राम,अरुण राम,सत्यनारायण राम,भोला राम,अवधनरायण राम,उदयनरायण राम र उपेन्द्र राम लगायत चमार जातिका विभिन्न अगुवा तथा अभियन्ताहरुको उपस्थिति रहेको थियो।।

आरके श्रीवास्तव,राैतहट,२० गते वैशाख ।
रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाको आयोजनामा आज गौरमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ रौतहटका अधयक्ष सञ्जय कार्कीले गर्नु भएको थियो ।


महासंघका सचिव गौतमले श्रेष्टले कार्यक्रम सञ्चालन गर्दै देशभरि भएको प्रेस स्वतन्त्रको बाहिर आएका घटनाबारे साझा गरेका थिए । “नयाँ विश्वमा साहसी पत्रकारिता प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव” भन्ने नारासहित आयोजित कार्यक्रममा सञ्चारमाध्यमको वर्तमान अवस्था, पत्रकारितामा बढ्दो चुनौती र पत्रकारको सुरक्षा लगायतका विषयमा गहन छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसपी गिरीले प्रेस स्वतन्त्रता कायम राख्न राज्य संयन्त्र प्रतिवद्ध रहेको बताउँदै निष्पक्ष र उत्तरदायी पत्रकारिताको आवश्यकता रहेको औंल्याएका थिए ।
उनले पत्रकारमाथि हुने आक्रमण र दवाबलाई रोक्न प्रशासन गम्भीर रहेको बताए । साथै एसपी गिरीले पत्रकारहरुलाई गहिराइमा पुगेर समाचार लेख्न पनि सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष कार्कीले रौतहटका पत्रकारहरू विभिन्न चुनौतीका बीच पनि सत्यतथ्य सूचना सम्प्रेषणमा समर्पित रहेको बताए । उनले प्रेस स्वतन्त्रतामाथि हुने प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका थिए । साथै उनले समाज परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा कान्तिपुरका उपसम्पादक शिव पुरीले रौतहटका पत्रकारहरुले पत्रकारिताको आचारसंहिता भित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्लाका अग्रज पत्रकार, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अन्य वक्ताहरुले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

बज्जिकाञ्चल संवाददाता,रौतहट,२० गते वैशाख ।
रौतहट । लोकतान्त्रिक पत्रकार संघ रौतहटको आयोजनामा आज ‘कृत्रिम बौद्धिकता (एआई) ’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको मध्य भाग गरुडा स्थित रहेको होटेल एनपी स्टारमा भएको कार्यक्रममा एआई प्रविधिले पत्रकारिता क्षेत्रमा ल्याइरहेको परिवर्तन, अवसर र चुनौतीबारे गहन छलफल गरिएको हो ।


लोकतान्त्रिक पत्रकार संघका रौतहट संयोजक राजु कुमार श्रीवास्तव(आरके श्रीवास्तव) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा लोसपा नेपालका केन्द्रिय सदस्य रामप्रवेश दास रहनु भएको थियो ।


कार्यक्रममा आफनो धारणा राख्दै प्रमुख अतिथी दासले सर्वप्रथम विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । उनले पत्रकारिता पेशालाइ मर्यादित पेशा भएकोले यसको ख्यालगरी उपस्थित पत्रकारहरुलाइ पत्रकारिता गर्न आग्रह गरेका थिए । पत्रकारको सुरक्षा नभए सम्म लोकतन्त्र मजबुत हुन नसक्ने धारणा राखेको थिए ।


पत्रकारको स्वतन्त्रता र सुरक्षाको ग्यारण्टी राज्यले गर्नुपर्नेमा जोड दिनु.भएको थियो । शोषित पिडितको पक्षमा आवाज उठाइ दिन नेता दासको आग्रह थियो ।
त्यस्तै बज्जिका भाषामा सेवक एवम् साहित्यकार संजय साह मित्रले आजको युगमा सञ्चार माध्यम नयाँ हिसाबले गइरहेको छ । हामीहरुले यसको यसको प्रयोग धेरै पहिला देखि गरिरहेको बताए । अरुको जब हामी नक्कल गर्छौ त्यहीबेला देखि कृत्रिक बौद्धिकता सुरु हुन्छ ।


भारतीय मिडियामा एआइको प्रयोग भइहरेकोले यहाँ पनि हुनुपर्नेमा जोड दिएका थिए । कृत्रिम बौद्धिकता बिना अहिलेको पत्रकारिता सम्भव नभएको मित्रको भनाइ थियो । त्यसैगरी राष्ट्रिय शिक्षक मञ्च रौतहटका अध्यक्ष शिशंकर झाले एआइको प्रयोगले छिटो,छरितोको साथ साथै धेरै नाकारात्मक असर परिरहेको बताए । यसतर्फ सजग भइ कामगर्नुपर्ने बताए ।


यस्तै बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किसुन दयाल यादव श्रीकृष्णले अहिलेको जमाना एआइको नै आइसकेको धारणा राखे । प्रेसमा यसको सहि सदुपयोग गर्न सुझाव दिएका थिए । विश्वकर्मा लोहार संघ रौतहटका अध्यक्ष एवम् स्तम्भकार विवेक शर्माले बढ्दो क्रममा रहेको बताए । यसको चुनौती पनि रहेकोले यता तर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए । पुर्ण रुपमा एआइ माथि निर्भर हुपर्ने अवस्था नरहेको बताए ।
कार्यक्रममा वक्तहरुले सूचना प्रविधि एआई प्रविधिका सकारात्मक पक्षसँगै नकारात्मक असरहरूबारे पनि चर्चा गरेका थिए । वहाँहरुले पत्रकारितामा एआईको प्रयोगले सूचनाको तिव्रता र सटीकता बढाउने भए पनि झूटो सूचना र पूर्वाग्रहपूर्ण सामग्रीको जोखिम बढ्ने बताएका थिए ।
संघका अध्यक्ष आरके श्रीवास्तवले कार्यक्रमको समापन गर्दै एआइ प्रविधिसँग सचेत भएर प्रयोग गर्न जोड दिएका थिए । उहाँले रौतहटका पत्रकारहरूलाई एआइ प्रयोगमा गर्दा सचेत र सजग भएर प्रयोग गर्न सुझाव दिएका थिए । यसका लागि जिल्लाका सञ्चारकर्मीहरुलाइ डिजिटल साक्षरतामा अझ सशक्त बनाउने अभियानमा संघ प्रतिबद्ध रहेको बताए ।
अन्त्यमा कार्यक्रममा सहभागीहरूले एआईको प्रभावकारी र नैतिक प्रयोगका लागि साझा पहल आवश्यक रहेको निष्कर्ष निकालेका थिए । कार्यक्रममा पत्रकार, सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

फाेटाे फिचर:

ओम प्रकाश यादव रौतहट, १९ गते वैशाख । २०८२

रौतहटको माधवनारायण नगरपालिकाले एक सय भन्दा बढि जेष्ठ नागरिकलाई सम्मान गरेको छ।

माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिकाका १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन्।

माधवनारायण नगरपालिकाले एक कार्यक्रम मार्फत पालिकाभित्रका १३० ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला गरेर सम्मान गरेको हो ।

माधवनारायण नगरपालिका -६ माधोपुर स्थित शुक्रबार आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा नगर प्रमुख यादवले नगरभरिका ८५ वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

माधवनारायण नगरपालिका कार्यालयले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रत्येक बृद्धबृद्धा अर्थात् जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै विभिन्न प्रकारका सामग्री समेत प्रदान गरेका हुन्।

नगरपालिकाका वडा नं.१ देखि ९ नम्बर वडाका ८५ वर्ष नाघेका १ सय ३० जना जेष्ठ नागरिकलाई दोसल्ला सहित एकएक थान टर्च लाईट, झुल, बिस्कुट, च्यामन् परास लगाएतका सामग्री प्रदान गरिएको माधव नारायण नगर प्रमुख यादवले बताए।

ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सांस्कृतिक, नैतिक र व्यावहारिक सबै पक्षले उचित रहेकोले आफूले उनीहरुलाई पालिकाको तर्फबाट सम्मान गरेको मेयर बैजनाथ प्रसाद यादवले बताए।

वृद्धवृद्धाहरूमा एक–आपसमा मनका भावना, विगतका सम्झनालाई ताजा गराउन र नयाँ पिँढीलाई परम्परागत संस्कृति हस्तान्तरण गर्न पालिकाभित्रका ज्येष्ठ नागरिकलाई भेला गराई सम्मान गरेको उनको भनाइ छ।

उनले भने, ‘ज्येष्ठ नागरिकसँग मानव मूल्य र मान्यता, सांस्कृतिक तथा सामाजिक सभ्यताको दरिला सम्बन्ध कायम रहेको हुन्छ । समाजको हरेक विकासको गति र तीव्रतामा पनि ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको छ ।’

एउटा उदाहरणीय र सहयोगी समाजलाई बढावा दिनका लागि पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्नु अति आवश्यक रहेको उनले बताए।

उनले अघि भने,’ज्येष्ठ नागरिकसँग वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भकारी हुन्छ । सामान्य जीवन जिउने तरिकादेखि कृषि, पूर्वाधार, शैक्षिक, व्यवस्थापकीय आदि ज्ञान र अनुभव हुन्छ । यसलाई मार्गदर्शनका रूपमा उपयोग गर्न सकियो भने सबैलाई फाइदा नै हुन्छ ।’

‘ज्येष्ठ नागरिकले आफ्नो समग्र जीवनमा केही न केही गरेर समाजमा महत्वपूर्ण योगदान दिएकै हुन्छन् । उनीहरूको विगत र वर्तमानका योगदानलाई उचित मूल्याङ्कन गरी सम्मान गर्नाले सबैमा सकारात्मक कृतज्ञताको भावना बढ्छ । समाजमा सकारात्मक प्रभावलाई स्वीकार गर्ने परिपाटीको विकास हुन्छ, ‘उनले भने ।,

उनले अघि भने, ‘कतिपय ज्येष्ठ नागरिकले युवा पुस्ताका लागि प्रेरणा र नमुनाका रूपमा काम गरिरहेका हुन्छन् । उनीहरूको लगनशीलता, लचिलोपन र चुनौतीहरू पार गर्ने क्षमताले अरूलाई पनि प्रेरणा र मार्गदर्शन प्रदान गर्न सक्छ ।’

यस्ता ज्येष्ठ नागरिकलाई आदर, सम्मान गर्दा जीवनको बहुमूल्य पाठ एक अर्कामा प्रसारण गर्ने अवसर बढ्दै जाने र परिवार तथा समुदायमा एकता, शान्ति, मेलमिलापको भावना बढने भएको हुनाले नगरका जेष्ठ नागरिकलाई सम्मान गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा माधवनारायण नगर उपप्रमुख निर्मला देवी रमण, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, ६ नम्बर वडाका वडा अध्यक्ष रामनरेश राय, वडा नम्बर ७ का वडा अध्यक्ष योगेन्द्र प्रसाद कुशवाहा, लगाएतका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

राकेश यादव,गाैर,१८ गते वैशाख । 
नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सचिव गोकर्ण बिस्टले नेपाली जनताको शान्तिपूर्ण आन्दोलनले चिहानमा पुगी सकेको राज सस्था कुनै पनि हालतमा पुनर्जीवित हुन नसक्ने बताएका छन्।
२४० वर्ष शाहबंशीय साशन व्यवस्थालाई नेपाली जनताले बिस्थापित गरी सकेको हुदा पुनः फर्किन सकिने अवस्था नरहेको दावी गरे।
रौतहट जिल्लाको सदरमुकाम गौर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा नेकपा एमाले गौर नगर कमिटिले आयोजना गरेको नेकपा एमाले गौर नगर कमिटिको ९ औ नगर अधिबेशनको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व मन्त्रि समेत रहेका बिस्टले गणतन्त्रको बिरुद्धमा लाग्ने कुनै पनि शक्तिलाई लोकतान्त्रिक शक्तिले शासक्त रुपमा प्रतिरक्षा गर्ने बताए।
नेपाली जनताको हित, लोकतन्त्र गणतन्त्रको रक्षा, बेरोजगारी समस्याको समाधान गरी रोजगारी सृजना, जनताको विकास समृद्धिको लागि नेकपा एमाले काम गरी रहेको बताउदै नेकपा एमालेको विकास देखेर चारै तिर बाट प्रहार भैरहेको उल्लेख गरे।


२०१५ सालको आम निर्वाचनमा रौतहटको चारै क्षेत्र बाट एमाले बिजयी भएको इतिहासलाई स्मरण गर्दै आगामी २०८४ मा पनि जिल्लाको सबै निर्बाचन क्षेत्र एमालेको झन्डा फहराउनु पर्ने अपेक्षा एमालेको रहेकोले संगठित भएर पार्टीमा लाग्नु पर्ने कार्यकर्ताहरुलाई आग्रह गरे।
नेकपा एमालेमा १५ बर्ष बसेर देशको प्रधानमन्त्री समेत बनिसकेका माधव कुमार नेपालले रौतहटको जनतालाई ठगी मात्र गरेको टिप्पणी गरे।
पटक पटक मत लिएर निर्वाचित भएका नेपालले रौतहटमा केहि विकास नगरेकोले अबको निर्वाचनमा जनताले बहिस्कार गर्ने समेत बिश्वास व्यक्त गरे। उनले चैत्र १५ मा भएको लुटपाट आगजानीको घटना संलग्न रहेकालाई सरकारले कानुनी दायारामा ल्याएर कडा कार्यवाही गर्न नेपाल सरकारलाई ध्यानकर्षण गराए।


राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गर्दै भने मुलधारको पार्टी बिरुद्ध च्याउ झै उम्रिएका पार्टी २ बर्ष नबित्दै कान्डै काण्डमा परि सके।
गरिव, दलित, अपाङ्ग, महिला, मजदुर किसानको समस्यालाई मध्य नजर गर्दै बर्तमान सरकार निशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्र अघि बढी रहेको अवस्थामा केहि विकास बिरोधी तत्वले बिना कारण सरकारको आलोचनामा लागी परेको जिकिर गरे।
एमालेको नेतृत्वमा मुलुक समृधि तर्फ अग्रसर भई रहेको दावी समेत गरे। पार्टीले मिसन २०८४ लाई सफल बनाउन अघि बढी रहेकोले पार्टी का कार्यकर्ताहरुले इमान्दारिता पुर्वक कार्य गर्न आग्रह गरे।
पार्टीको बिरुद्ध तथा जनताको भावना बिपरित कार्य गर्ने आफै समाप्त भएर जाने बताए
उदघाटन समारोहमा सम्बोधन गर्दै नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले माधव कुमार नेपाल जनतालाई पटक पटक ठगिदै आएको आरोप लगाए।

जनता संग मत लिएर निर्वाचित भएका नेता नेपालले रौतहटको दलित र मुस्लिम प्रति शिक्षाको बिषय लिएर गरेको अभद्र टिप्पणीको जवाव आगामी निर्वाचनमा पाउने बताए।
इन्चार्ज गुप्ताले रौतहटका जनताले माधव नेपाललाई लखेटिने समेत बताए। अधुरो पुल निर्माणको कार्य नेकपा एमालेको पहलमा सुचारु भएको दावी उहाको रहेको छ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई लाल बकैया नदी बाट उत्खन्न गरिने माटोको प्रति लगाइएको कर फिर्ता लिन आग्रह समेत गर्दै जनभावना बिपरित काम नगर्न सुझाव समेत दिए।
उदघाटन सत्रमा नेकपा एमालेका केन्द्रिय सदस्य रेखा झा,केन्द्रिय लेखा आयोगका सदस्य राज किशोर प्रसाद यादव, केन्द्रिय सदस्य कुन्दन कुशवाहा, प्रदेश सांसद जय चन्द पटेल,मोहमद जैद आलम, प्रदेश कमिटि सदस्य श्याम सुन्दर पटेल, जिल्ला अध्यक्ष सचितानन्द साहले आ आफ्नो मन्तव्य राखेका थिए।

आरके श्रीवास्तव,राैतहट,१८ गते वैशाख ।
डिभिजन वन कार्यालय रौतहट प्रमुखकै मिलोमतोमा व्यापक वन फँडानी भएको आरोप लागेको छ । गत एक महिनामा रौतहटमा पाँच बिगाहाभन्दा बढी क्षेत्रफलको वनक्षेत्र पूर्णतः फँडानी भएको छ भने वनक्षेत्रमा हजाराँै रुख कटान गरिएका छन् ।


रौतहटको चन्द्रपुर नगरपालिकाको गैंडाटार क्षेत्रमा वन कार्यालयकै मिलोमतोमा व्यापक वन फँडानी भइरहेको वन जंगल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनिलकुमार यादवले आरोप लगाएका छन् । गत एक महिनाभन्दा केही समय अघिदेखि गैंडाटार वन क्षेत्रमा व्यापक रुख कटान भएको बताउँदै संयोजक यादवले पाँच बिघा जति क्षेत्रफलको वन सम्पूर्णतः फँडानी गरिएको आरोप पनि लगाएका छन् ।


डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहकै मिलोमतोमा गैंडाटारमा वन क्षेत्र फँडानी गरिएको र फँडानी भई खाली भएको जमिनमा वृक्षरोपण गरिएको आरोप संयोजक यादवको रहेको छ । घटनालाई ढाकछोप गर्न खाली जमिनमा वृक्षरोपण गरिएको संयोजक यादवको भनाइ छ ।


वन क्षेत्रको खाली जमिनलाई अतिक्रमणबाट जोगाउन वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयले जनाएको थियो । तर वन अधिकृत साहकै मिलोमतोमा गैंडाटारका साथै अन्य वन क्षेत्रमा पनि व्यापक रुख कटानी भएको यादवको दाबी छ । मधेश प्रदेशका वन मन्त्रीलाई चुनौती दिँदै यादवले भने – रौतहटको वनमा भइरहेको व्यापक फँडानीको निरीक्षण गर्न म मधेश प्रदेशका मुख्यमन्त्री र वन मन्त्रीलाई चुनौती दिन्छु ।


रौतहटको वन क्षेत्रमा भइरहेको व्यापक फँडानीमा मधेश प्रदेशको वन मन्त्रालय तथा वन मन्त्रीको पनि संलग्नता रहेको संयोजक यादवले आशंका व्यक्त गरेका छन् । रौतहटको वन क्षेत्रमा व्यापक मात्रामा भइरहेको फँडानी तथा रुख कटानको विषयमा वन मन्त्रालय, सरोकारवाला निकाय तथा वन मन्त्रीसमेतलाई जानकारी हुँदाहुँदै पनि घटनालाई आलटाल गर्ने र ढाकछोप गर्ने काम भइरहेको प्रति संयोजक यादवले आपत्ति जनाएका छन् ।
रौतहटका वन अधिकृत हेमन्त प्रसाद साहले विगतमा पनि वन क्षेत्र व्यापक फँडानी गरेर इतिहास कायम गरेको आरोप संयोजक यादवको रहेको छ । केही वर्षपहिले महोत्तरीमा वन प्रमुख हुँदा रम्तेल डाँडाको वन क्षेत्र फँडानी गरेको र सो आरोपमा साह निलम्बित समेत भएको संयोजक यादवको दाबी छ । निलम्बन फुकुवा भएपछि जिम्मेवारीमा आएका वन अधिकृत साहले अहिले पनि वन फँडानी गराइरहेको यादवको भनाइ छ ।
डिभिजन वन कार्यालय, वन अधिकृत साह र वन माफियाहरुको मिलोमतोमा वन क्षेत्रमा रुख कटान गरी साइकलमा रुख ढुवानी गर्नेहरुको संख्यामा वृद्धि भएको संयोजक यादवको भनाइ छ । वन क्षेत्रबाट साइकलमा काठ ढुवानी गर्नेहरुले एक हजारदेखि एक हजार पाँच सय रुपैयासम्म वन कर्मचारीलाई बुझाउने गरेको संयोजक यादवको आरोप रहेको छ ।
गैंडाटारमा पाँच बिघा वन क्षेत्रको रुख फँडानी गर्नेलाई वन अधिकृत साहकै संरक्षण रहेको गम्भीर आरोप संयोजक यादवले लगाएका छन् । अहिले पनि वन क्षेत्रमा रुख कटान भइरहेको बताउँदै संयोजक यादवले जंगलमा रुख काटेर माटो र पातपतिंगरले छोपेको तथा रुख काटेर खाली भएको जमिनलाई जोतेर मकै छरिएको पनि पाइएको बताएका छन् । वन कार्यालय र वन मन्त्रालयलाई सबै घटनाको जानकारी भएको तर सबै मिलेर ढाकछोप गरिरहेको आरोप यादवको छ । घटनालाई ढाकछोप गर्न वनसित सम्बन्धित सबै लागि परेको बताउँदै यादवले वन फँडानी र रुख कटानको विषयमा छानबिन गर्न पनि माग गरेका छन् । संयोजक यादवले भने – छानबिन गरेर कारबाही नगरे म अख्तियार जान्छु ।
यता डिभिजन वन कार्यालय राैतहटका प्रमुख हेमन्त साहले अतिक्रम भएको जग्गा आफूहरूले नियन्त्रणमा लिइसकेको बताए । बाहिर आएको कुरा गलत रहेको उनकाे भनाइ छ ।

बज्जिकाञ्चल संवाददाता,गाैर,१८ गते वैशाख । 

रौतहट जिल्लाको  गौर नगरपालिकको नवौं नगर अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले राष्ट्रिय सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यमा सम्पन भएको हो ।

जिल्ला इन्चार्जको रूपमा जिम्मेवारी पाएका अजय कुमार गुप्ताले पार्टीलाई मजबुत बनाउन दिनरात लागि परेको मेहनतकै कारण आज  हजाराैं कार्यकर्ताको सहभागीतामा गौर नगर अधिवेशन सम्पन्न भएको हाे ।

ऐतिहासिक नवौं नगर अधिवेशन बाट सर्वसहमतले अध्यक्ष पदमा भैरव प्रसाद पटेल, उपाध्यक्ष भिखारी पटेल, सचिव रामविनोद सिंह, अन्य सदस्य र नगर लेखा समिति अध्यक्ष पदमा रामकृष्ण गुप्ता लगायत ५१ सदस्यीय कमिटी गठन भएको निर्वाचन संयोजक मिथिलेश कुमार झाले  बताएका हुन् ।

बज्जिकाञ्चल संवाददाता, रौतहट, १६ गते वैशाख । २०८२

मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्यसमिति रौतहटले रौतहट जिल्ला अदालत गौर अगाडि धर्ना दिएका छन् ।

फर्जी तमसुक खारेज, किसानको जग्गा फिर्ता, पक्राउ पुर्जी खारेजी लगायतका माग राखी गौर नगर परिक्रमा गर्दै अदालतको गेटमा धर्ना दिएको मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला अध्यक्ष शिवशङ्कर महतोले बताउनुभयो ।

धर्ना कार्यक्रम अगाडि मजदुर किसानले जिल्ला अदालतका श्रेस्तेदारमार्फत मुख्य न्यायाधीशलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको लामो सङ्घर्ष पश्चात शोषित उत्पिडित जनसमुदायको पक्षमा अनुचित लेनदेनविरुद्ध कानुन आए पनि पीडितको हकमा कार्यान्वयन नहुँदा  निराशा थपिएको ज्ञापनपत्रमा भनिएको छ ।

सम्मानित अदालतले न्यायिक सङ्घर्षको मर्मलाई ध्यानमा राखी पिडित पक्षलाई न्याय दिलाउन पिडितविरुद्ध फैसला तत्काल स्थगित गरि पुनरावलोकन गर्न मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको माग रहेको छ  ।

सभार गोरखापत्र

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।