२०८३ असार २७
२०८३ असार २७

आरके श्रीवास्तव,राैतहट,१९ गते साउन ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आजदेखि विश्व स्तनपान सप्ताह सुरु गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेकाे उक्त कार्यक्रम स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ता र स्वास्थ्य सहसंयाेजक रमेश प्रसाद यादवले उद्घाटन गरेका हुन् । यादवका अनुसार स्तनपान सप्ताह साउन १६ गतेदेखि २२ गतेसम्म मनाइनेछ ।
नगरपालिकाका ८ वटै स्वास्थ्य संस्थाहरूमा एकैसाथ स्तनपान सप्ताह मनाइँदैछ । कार्यक्रम अन्तर्गत ‘सुनौलो हजार दिन’ अन्तर्गतका आमाहरूलाई स्तनपानको महत्वबारे जानकारी गराउने उद्देश्य राखिएको छ ।
कार्यक्रममा आमाहरूलाई बच्चा जन्मिएको १ घण्टाभित्रै आमाको पहिलाे बिगाैती दूध खुवाउनुपर्ने, ६ महिना सम्म बच्चालाई मात्र आमाको दूध खुवाउने, र ६ महिनापछि स्तनपानसँगै फलफूल, लिटाे, गेडागुडी, माछामासु जस्ता पौष्टिक खाना खुवाउनुपर्ने सन्देश दिइएको छ ।
फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले स्तनपान सप्ताह जस्ता कार्यक्रमहरूले मातृत्व स्वास्थ्य र शिशु विकासमा ठूलो टेवा पुग्ने बताउँदै भनिन्, “हामीले नगरपालिकास्तरबाट आमाहरूलाई स्तनपानको महत्व बुझाउने यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौं। स्वस्थ आमा र बच्चा नै स्वस्थ समाजको आधार हुन्।”
सप्ताहभर विभिन्न सूचना, परामर्श सेवा, समुदायस्तरीय अन्तरक्रिया कार्यक्रम लगायतका गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ ।

राकेश यादव,राैतहट,१८ गते साउन । 

जनता समाजवादी पार्टी नेपाल (जसपा) जिल्ला कार्य समिति रौतहटले आज एक प्रतिनिधिमण्डल मार्फत प्रधानमन्त्री तथा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई सात बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । सुख्खाग्रस्त क्षेत्र घोषणा गरिए पनि पीडित किसानहरूलाई राहत नपुगेको भन्दै तत्काल राहत प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।

जिल्ला अध्यक्ष राजिव रंजन यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा किसानका लागि राहत प्याकेज सुनिश्चित गर्नु पर्ने, पानीका स्रोतको संरक्षण गर्न चुरे क्षेत्रको दोहन तत्काल रोक्नु पर्ने, अबैध उत्खनन नियन्त्रण तथा कानुन विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरूमाथि कडा कार्यवाही गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी, बिरगंजदेखि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषासम्मका जिल्लामा देखिएको पानीको समस्या समाधान गर्न तुरुन्त कदम चाल्न आग्रह गरिएको छ। साना किसानलाई मोटर, स्यालो, ट्युबेल जडान गर्न हालको २ बिघा जग्गा शर्त हटाई सहज पहुँच हुने व्यवस्था मिलाउन र उखु किसानका बाँकी भुक्तानी तुरुन्त दिनु पर्ने माग पनि उल्लेख छ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, माधव नारायण नगरपालिकाका उपप्रमुख निर्मला रमण, पूर्व राज्य मन्त्री योगेन्द्र राय यादव, पूर्व गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर लगायत सयौं पार्टी कार्यकर्ताहरू सहभागी थिए ।

 

 

प्रेमचन्द्र झा,राैतहट,१८ गते साउन । 

रौतहट । राजदेवी नगरपालिका–१ निवासी प्रभु राय यादवले सूचना अधिकार ऐन २०६४ को दफा ३ अनुसार राजदेवी नगरपालिकासँग विभिन्न विकास योजनाहरू, खर्च विवरण, कर्मचारी नियुक्ति, स्वास्थ्य सेवा, कृषि कार्यक्रम, सञ्चारमाध्यमलाई वितरण गरिएको रकमलगायतका विषयमा विस्तृत १३ बुँदे सूचना माग गरेका छन्।

उहाँले मिति २०८२ साल साउन ४ गते नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिँदै नगरपालिकाबाट विद्यालयहरूमा छात्रवृत्ति, खाजा, विज्ञान प्रयोगशाला जस्ता शीर्षकहरूमा कति रकम खर्च भएको, कुन विद्यालयमा कति रकम विनियोजन गरिएको हो भन्ने विवरण माग गरेका छन्। साथै, विद्यालयहरूमा हाल कति बालबालिका छन्, राहत तथा अनुदान कोटाको संख्या कति छ, त्यसको विवरण पनि उहाँले माग गर्नुभएको छ। २०७९ सालदेखि हालसम्म विद्यालयहरूमा कति बजेट विनियोजन गरिएको छ, कुन शीर्षकमा कति खर्च भएको छ भन्ने कार्यक्रमगत विवरण माग गरिएको छ।

त्यस्तै, वडा नं. १ देखि ९ सम्मका विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरूमा करार तथा नयाँ रूपमा कति नियुक्ति भएका छन्, कुन पदमा को–को नियुक्त भएका छन् भन्ने नामावलीसहितको सूचना माग गरिएको छ। राजदेवी नगरपालिकाले नगरस्तरीय योजना अन्तर्गत कुन–कुन वडामा कति योजना सञ्चालन गरेको हो भन्ने विवरण पनि माग गरिएको छ।

स्वास्थ्य क्षेत्रमा २०७९ सालदेखि हालसम्म कति बजेट छुट्याइएको छ, आयुर्वेदमा कति रकम विनियोजन भएको छ, कुन किसिमको औषधिहरू उपलब्ध छन् भन्ने विवरण पनि सोधिएको छ। साथै, नगरपालिकाबाट कृषि क्षेत्र अन्तर्गत धान र गहुँको बीउ, मोटर, बोरिङ्ग, च्यास्फर्म, पोल–तार वितरण गरिएको कागजात मागिएको छ।

बेरुजुसम्बन्धी विवरणमा नगरपालिकामा हालसम्म कति बेरुजु छ, पहिलेको कति थियो, फछ्र्यौट भएको रकम कति हो र कुन कर्मचारी वा व्यक्तिको नाममा कति बेरुजु रकम छ भन्ने विस्तृत विवरणसहित नामावली माग गरिएको छ। नगरपालिकाले टिपर, डोजर, कल्टिभेटर, एम्बुलेन्सलगायतबाट २०७९ सालदेखि हालसम्म कति आम्दानी गरेको छ भन्ने विवरण पनि उक्त निवेदनमा समेटिएको छ।

वडा नं. १ मा २०७९ सालदेखि हालसम्म कुन शीर्षकमा कति रकम बजेट गरिएको हो, कार्यालयको महिनाको भाडा, रंगरोगनको खर्च, अफिस सञ्चालन खर्चजस्ता विवरण पनि समावेश छन्। श्री माध्यमिक विद्यालय पथरामा २०७९ सालदेखि हालसम्म कुन शीर्षकमा कति रकम खर्च भएको हो भन्ने विवरण र त्यसको नामावलीसमेत माग गरिएको छ। अन्त्यमा, नगरपालिकाबाट सञ्चारमाध्यमलाई दिइएको रकम कति हो, कुन मिडियालाई कति दिइएको हो भन्ने नामावलीसहितको विवरण पनि यादवले माग गरेका छन्।

निवेदक प्रभु राय यादवले नागरिकले सूचनाको हक प्रयोग गरेर सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहितामा नागरिक निगरानीको अभ्यास गर्न सक्ने बताउँदै यस्तो माग गर्नु नागरिकको अधिकार मात्रै नभई कर्तव्य पनि भएको उल्लेख गर्नुभएको छ।

यादवले भने अनुसार, निवेदन दर्ताका लागि साउन ४ गतेदेखि पाँच दिनसम्म पटक–पटक कार्यालय गइसकेपछि बल्ल साउन १८गते आइतवार निवेदन दर्ता गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले नगरपालिकाका अधिकांश कर्मचारी भारतको देवघरलगायतका स्थानमा तिर्थ गर्न गएको हुँदा सूचना पाउन अझै महिना दिन लाग्न सक्ने प्रतिक्रिया दिएका छन्। यादवले नगरप्रमुख भिखारी यादवलाई समेत यस विषयमा जानकारी गराइसकेको बताउनु भएको छ।

सूचना अधिकार ऐन २०६४ अनुसार, निवेदन परेको मितिदेखि १५ कार्य दिनभित्र आवश्यक सूचना उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था रहेको छ। यदि सो समयमा पनि सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा उजुरी दिन सकिने प्रावधान छ।

यस घटनाले जनताले सार्वजनिक कार्यालयमाथि निगरानी राख्न, बजेट पारदर्शिता माग गर्न र सुशासन सुनिश्चित गर्न सूचना हकलाई प्रभावकारी रूपमा प्रयोग गर्न थालेका छन् भन्ने स्पष्ट सङ्केत दिएको छ।

आरके श्रीवास्तव,राैतहट,१८ गते साउन ।
रौतहट । उखु उत्पादक संघ रौतहटले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८१/८२ को बाँकी रहेको उखु अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेको छ । संघले प्रति क्विन्टल ७० रुपैयाँका दरले हुने करिब १ अर्ब ६० करोड रुपैयाँ अनुदान सरकारले अझै नदिएको भन्दै चिनी उद्योगबाट भुक्तानी भए पनि सरकारी अनुदान रोकिएको जनाएको छ ।
सर्लाहीको हरिवनमा बसेको नेपाल उखु उत्पादक महासंघको बैठक निर्णयअनुसार संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै उखु अनुदान र आगामी मूल्य निर्धारणका लागि त्रिपक्षीय वार्ता गराउन पनि आग्रह गरेको छ ।
किसानहरुले विगतमा आन्दोलनबाट अनुदान व्यवस्था लागू गराएको स्मरण गराउँदै संघले यदि माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको उखु उत्पादक संघ राैतहटका अध्यक्ष अशाेक प्रसादले जानकारी गराउनु भएको हाे ।
पहिलो चरणमा साउन १८ गते जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र, साउन २० मा चिनी उद्योग अगाडि प्रदर्शन, र भदौ ८ देखि माईतीघर मण्डलामा धर्ना कार्यक्रम घोषणा गरिएको छ । ज्ञापनपत्र बुझाउने क्रममा नेता वृजकिशाेर यादव,रामभराेस यादव लगायतका व्यक्तिहरू सहभागी थिए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते साउन । 

रौतहटको ईशनाथ नगरपालिका वडा नं. २, औरैयामा सञ्चालित बनाना रिसोर्ट (केराबारी) मा शनिबार बिहान भीषण आगलागी हुँदा ४० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति नष्ट भएको छ ।

शनिबार बिहान करिब ३:४० बजे खाना पकाउने ग्यास सिलिन्डर लिक भएर अचानक आगो लाग्दा रिसोर्टमा रहेका कृषि प्रयोजनका मेसिन, खाद्यान्न, फर्निचर, फ्रिज, लत्ताकपडा, तथा अन्य भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएको सञ्चालक राकेश गुप्ताले जानकारी दिए ।

बनाना रिसोर्ट नेपाल सरकार र श्री जौहरीमाई कृषि तथा सहकारी संस्थाको संयुक्त लगानीमा सञ्चालित थियो । आगलागीबाट ठूलो परिमाणमा क्षति पुगेको गुप्ताले बताए ।

आगो नियन्त्रणमा लिनका लागि स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रूपमा प्रयास गरेको थियो । ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक आशंका गरिए पनि प्रहरीले घटनाबारे गहिरो अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

घटनास्थल अवलोकन गर्न पुगेका नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नं. २(क) का क्षेत्रीय सभापति लालबिहारी साहले पीडित व्यवसायीप्रति गहिरो सहानुभूति प्रकट गर्दै सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सञ्चालक गुप्ताका अनुसार, आगलागीको कारणले रिसोर्टको पूरै सेवा सञ्चालन ठप्प भएको छ र अब पुनःस्थापना तथा क्षतिपूर्ति सम्बन्धी पहल आवश्यक रहेको छ ।

प्रहरीको अनुसन्धानपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते साउन । 

रौतहटकाे गरुडा नगरपालिका–४, गरुडा मा आज एक विशेष भेलामार्फत २५ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ । उक्त कमिटी ‘बिजुली–पानी फ्री’ अभियानलाई सशक्त बनाउने उद्देश्यले गठन गरिएको हो ।

गठित वार्ड कमिटीको अध्यक्षमा महेसिया साह चयन भएका छन् भने उपाध्यक्षमा शोभा देवी साह, सचिवमा रामधारी साह, सह–सचिवमा मोरनी देवी, र कोषाध्यक्षमा सुगान्धी देवी साह चयन भएका छन् ।

त्यसैगरी, कमिटीमा सदस्यको रूपमा सोसिला देवी साह, चाँदतारा देवी साह लगायत २५ जना सर्वसाधारणको प्रतिनिधित्व रहने गरी चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टीका सचिवालय सदस्य रविन्द्र यादव रहेका थिए भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य अमिन्द्र यादव, मञ्जु महतो, रिता शाह, शेहरा खातुन, कमल यादव, लालबाबु शाह, अफ्रोज आलम र राजकुमार शाह सहभागी थिए ।

भेलामा वक्ताहरूले जनताको आधारभूत सेवा, विशेषगरी विद्युत् र खानेपानीमा सुधार ल्याउन नवगठित कमिटीलाई सक्रिय रूपमा लाग्न आह्वान गरेका थिए । कार्यक्रममा स्थानियवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

सागर संगम ठाकुर, रौतहट, १७ गते साउन । 

रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा सञ्चालित आरपार कोचिङ सेन्टर परिवारले शिक्षक सेवा उत्तीर्ण परीक्षामा उल्लेखनीय सफलता प्राप्त गरेका विद्यार्थीहरूको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम स्थानीय समाजसेवी हरिश्चन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि जय किसान नमूना माध्यमिक विद्यालय धरहरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामनन्दन साह रहनुभएको थियो। २०७९ सालदेखि निरन्तर रूपमा सञ्चालनमा रहेको आरपार कोचिङ सेन्टरले हालैको परीक्षामा ८०% विद्यार्थीलाई सफलता दिलाएको छ।

यस वर्ष तीन जना विद्यार्थी शिक्षक सेवा आयोगको परीक्षामा सफल भएसँगै सम्मान कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक श्री संजय प्रसाद गुप्ताले कोचिङ सेन्टरको प्रयासको प्रशंसा गर्दै विद्यालय र आफ्नाे व्यक्तिगत तर्फबाट आवश्यक सबै किसिमको सहयोग गर्न तत्पर रहेको बताउनुभयो। कार्यक्रममा वडाध्यक्ष वीर बहादुर साहद्वारा अघिल्लो आर्थिक वर्षमा गरिएको एक लाख रुपैयाँको सहयोग विशेष रूपमा उल्लेख गरिएको थियो। उहाँले वडाका अति विपन्न तथा पिछडिएका वर्गका विद्यार्थीहरूलाई शिक्षामा पहुँच दिलाउन निरन्तर लागिरहेकै कुरा दोहोराउनुभयो।

कोचिङ सेन्टरका संस्थापक रामानन्द प्रसाद यादव र सह-संचालक मुकेश प्रसाद यादवको नेतृत्वमा संस्था शिक्षाको गुणस्तर उकास्न सफल भएको भन्दै विभिन्न वक्ताहरूले भविष्यमा पनि संस्थालाई साथ र सहयोगको प्रतिबद्धता जनाए। कार्यक्रमको अवसरमा प्रशिक्षकहरूलाई ड्रेस वितरण गरिनुका साथै समाजसेवीहरू र पत्रकार सागर संगम ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

आरके श्रीवास्तव,राैतहट,१६ गते साउन । 

नवप्रवेशी यूवा नेता राजाबाबु साहलाई जनता समाजवादी पार्टी (जसपा) नेपालमा भव्य स्वागत गरिएको छ ।

शनिबार कटहरिया बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा साहलाई जसपा नेपाल नगर कमिटी कटहरियाले सम्मानपूर्वक स्वागत गरेको हो । कार्यक्रममा जसपा नगर अध्यक्ष रामसेवक यादवको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य चुल्हाई राय यादव रहेका थिए । कार्यक्रममा जसपा नेता बच्चा यादवलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो ।

यसअघि साहले काठमाडौंस्थित जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा पार्टी प्रवेश गरेका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीको सदस्यता प्रदान गर्दै टीका, माला र अविर लगाएर स्वागत गरेका थिए ।

राजाबाबु साह लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय रहँदै आएका थिए । उनले केही दिनअघि पार्टी परित्याग गरी एकाएक जसपा नेपालमा प्रवेश गरेका हुन् ।

उनको आगमनले जसपा नेपालमा थप ऊर्जा र सशक्त राजनीतिक धार प्रवेश हुने विश्वास गरिएको छ ।

रौतहट, चन्द्रपुर —
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि शनिबार हुने २८ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष उदय नारायण सापकोटाको पक्षमा व्यवसायीहरूको समर्थन बलियो हुँदै गएको छ। संघको नव निर्मित भव्य भवनमै हुने अधिवेशनमा सापकोटालाई नै पुनः अध्यक्षमा निरन्तरता दिनुपर्ने आवाज व्यापारी समुदायबाट व्यापक रूपमा उठेको छ।

व्यापारीका हक र हितको संरक्षण गर्दै उल्लेखनीय कार्य गर्दै आएका सापकोटाको कार्यकालमा संघले ऐतिहासिक प्रगतिहरू गरेको बताइन्छ। संघको आफ्नै भवन निर्माण सम्पन्न गर्नु, सदस्य व्यापारीहरूको समस्या समाधानमा सक्रिय भूमिका खेल्नु, नीतिगत सुधारमा पहल गर्नु लगायतका कामले उनलाई व्यापारीको मन जित्न सफल बनाएको छ।

”सापकोटाज्यूले संघलाई एउटा संस्थागत आकार दिनुभयो। उहाँ नेतृत्वमा फेरि केही बाँकी कामहरू सम्पन्न गर्नु आवश्यक छ” व्यवसायी शिवराम राउत भन्छन्, ”यसैले हामी सकेसम्म सर्वसम्मत उहाँकै नेतृत्व चाहन्छौं।”

स्पष्ट वक्ता, दूरदर्शी नेतृत्व क्षमता तथा राजनीतिक, प्रशासनिक र व्यवसायिक क्षेत्रसँगको राम्रो समन्वय सापकोटाको विशेषता मानिन्छ। यही कारणले उनलाई भिजिनरी लिडरुका रूपमा व्यापारी समुदायले मूल्यांकन गर्दै आएको देखिन्छ।

यद्यपि, अधिवेशनमा पूर्व महासचिव सुनिल कुमार साहले पनि अध्यक्ष पदमा दाबी गरेका छन्। कांग्रेस र एमाले निकट नेताहरूको समेत समर्थन पाएको भनिएका साहले संघमा फेरबदल ल्याउने भन्दै उम्मेदवारी घोषणा गरेका हुन्। तर उनी महासचिव पदमा रहेकै बेला संघको उत्थानमा खास योगदान नदिएको भन्दै स्थानीय व्यवसायीहरूको उनले तिब्र आलोचना झेलिरहेका छन्।

”साहज्यूले महासचिव हुँदा खास केही गर्नु भएको सम्झना छैन। यसपालि संस्थागत निरन्तरताको पक्षमा जानु उपयुक्त हुन्छ,” चन्द्रनिगाहपुरका व्यवसायी दिपक न्यौपानेले बताए।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको यो अधिवेशन संघको इतिहासमै महत्वपूर्ण मानिएको छ। संघका नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर व्यवसायीहरूको हक संरक्षण गर्ने कामलाई निरन्तरता दिने नेतृत्व को आउने भन्ने चासो व्यापारीहरूमा चुलिएको छ।

शनिबार हुने अधिवेशनमा अधिकांश व्यवसायीहरूको समर्थन सापकोटा नेतृत्वको टिमलाई प्राप्त हुने अनुमान गरिएको छ। यदि कुनै सहमति हुन सकेन भने प्रतिस्पर्धा स्वाभाविक हुने बताइएको छ।

संघले आगामी कार्यकालमा आर्थिक क्षेत्रको सुदृढीकरण, युवा उद्यमशीलता प्रवर्द्धन तथा संघ–सरकार–व्यवसायीबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने योजना अघि सार्ने तयारी गरिरहेको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते साउन । 

राैतहटकाे मौलापुर नगरपालिकाले पत्रकार रविन्द्र प्रजापतिको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नगर प्रमुख रिना कुमारी साहको नेतृत्वमा पालिकाले दिवंगत पत्रकारका परिवारलाई नगद रू २५ हजार सहयोग प्रदान गरेको छ ।

नगर प्रमुख साह तथा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नगरपालिकाकाे तर्फबाट रविन्द्र प्रजापतिको घरमै पुगेर परिवारलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँहरूले स्व. प्रजापतिको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

नगर प्रमुख साहले भनिन्, “पत्रकार रविन्द्र प्रजापतिको असामयिक निधनले हामी सबै स्तब्ध भएका छौं। पालिकाको तर्फबाट यो सानो सहयोग मार्फत उहाँका परिवारलाई केही राहत मिलोस् भन्ने हाम्रो चाहना हो।”

स्व. प्रजापति लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका थिए र उनले स्थानीयस्तरमा जनसमस्या उठाउने कार्यमा उल्लेखनीय भूमिका खेलेका थिए ।

स्मरणीय हाेस् गत साउन गते शनिबार राति पत्रकार प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेलापरेका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।