मुम्बई, ७ जेठ ।
अभिनेता सलमान खान सफल अभिनेता र निर्माता नभई एक सफल व्यवसायी पनि हुन् । पहिरन ब्राण्ड बिइङ ह्यूमनका अलावा उनी भौतिक संरचनामा लगानी गर्छन् । अब सलमान चाँडै नै मुम्बईमा एक बिलाशी होटल बनाउँदैछन् ।
उनले बान्द्रास्थित कार्ट रोडमा १९ तलाको होटल बनाउने तयारी गरेका हुन् । उनको होटलको भवन निर्माणका लागि बीएमसीले अनुमति दिइसकेको छ । उनले जुन स्थानमा होटल बनाउने तयारी गरेका छन्, त्यहाँ यसअघि स्टारलेट नामको रेजिडेन्सियल सोसाइटी थियो । सलमानले यहाँ होटल बनाउनुअघि सोसाइटीको क्षतिग्रस्त भवनलाई हटाउनेछन् ।
उनको होटलमा तीन स्टरीय बेसमेन्ट हुनेछ । पहिलो र दोस्रो तलामा एक क्याफे र रेष्टुराँ रिजर्भका लागि बनाइनेछ । तेस्रो तलामा एक जिम र स्वीमिङ पुल, चौथो तलामा सर्विस फ्लोर, पाँचौं र छैटौं तलामा सभा हल हुनेछ ।
होटलको कोठा सातौं र १९ औं तलाको बीच तलामा हुनेछ । यो होटल सलमानका अभिनेता आमीर खानको घर फ्रीडा वनबाट २ सय मीटरको दुरीमा निर्माण हुँदैछ ।
काठमाडौं, ६ फागुन ।
फाल्गुनन्द लिङदेन फिल्मस् र यल्लीवूड फिल्मस्को संयुक्त लगानीमा निर्माणाधिन फिल्म ‘तलास २’ को छायाङ्कन पुरा भएको छ ।
दिनेश लिङ्देनको निर्देशन रहेको फिल्म काठमाडौं, झापासहित पूर्वका विभिन्न स्थानमा छायाङ्कन गरिएको हाे ।
निर्देशक लिङ्देनले फिल्मले हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा परेका नेपाली महिलाहरुले भोग्नु परेको विषयवस्तुमा बनाएको बताए । फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, रोहन सेन्चुरी, विमला खजुम, राजकुमार शाह, शर्मिला शर्मा, पुर्ण सेलिङ, तेज मेन्याङबो, सागर केरुङ, दिलिप योङहाङ, दिपेन्द्र नाल्बो, पुर्ण ओझा र राजु घिमिरेको अभिनय छ ।
साे फिल्ममा विकास चौधरीको सङ्गीतमा राजेशपायल राई, मेचु धिमाल, सुवास राईको स्वर रहेकाे तथा कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्व र सुमन योञ्जनको छायाङ्कन छ ।
सुदिता लिङ्देनको प्रस्तुति रहेको फिल्ममा लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता छन् ।
मुम्बई, १ जेठ ।
रीमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ ।
साेनाक्षी सिन्हा स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो ८ भागको क्राइम ड्रामा हो । सोनाक्षीका लागि यो डिजिटल डेब्यू हो ।
सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय छ । सिरिजमा सोनाक्षी सब–इन्स्पेक्टर अञ्जली भाटीको भूमिकामा छिन् ।
‘दबंग’बाट सुरु गरेको १३ वर्षपछि मैले एक प्रहरी–पत्नीको भूमिका निभाएकी छु । यो सिरिजले मलाई प्रहरीको भूमिका दियो । मलाई लाग्छ, म यो भूमिका निभाउनकै लागि जन्मिएको थिएँ । यो मेरा लागि एउटा सुखद अनुभव थियो,’ उनले भनेकी छन् ।
सिरिजले घर र कामलाई सन्तुलन गर्ने महिलाको कथालाई देखाउने सोनाक्षीको दाबी छ । उनले स्क्रिप्टका लागि सहमत हुन आफूलाई एक घण्टा भन्दा कम समय लागेको खुलाइन् ।
मुम्बई, ३१ बैशाख ।
बलिउड अभिनेता सलमान खानले शनिबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनको कालीघाट निवासमा शिष्टाचार भेट गरेका छन्।
सलमान खान अपराह्न ४ः२५ बजे मुख्यमन्त्रीको निवास पुगेका थिए । जुनबेला सुपरस्टार खानलाइ एक झलक हेर्न ठूलो संख्यामा फ्यान सडकमा भेला भएका थिए ।
दक्षिण भारतीय चलचित्र ‘दि केरल स्टोरी’ चलचित्रलाई आफनो राज्यमा प्रतिबन्ध गरेकी बर्नजीले बलिउड अभिनेता भेटे पछि थप चासो जनाईएको छ । धर्मान्तरणको बिषय उठान गरिएको सो चलचित्रले जातीय र समुदायगत सम्प्रदायबिच बैमनश्य बढाउने भन्दै उनले सो चलचित्र प्रतिबन्ध गरेकी हुन ।
ममता बनर्जीले भेटमा उनीहरुले चलचित्र जगतदेखि लिएर कला, समाज र जनताको विकासका विभिन्न विषयमा छलफल भएको बताइन् ।
ममता बनर्जीले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘आज मेरो निवासमा चर्चित फिल्म अभिनेता सलमान खानसँग भेट्न र कुराकानी गर्न पाउँदा म निकै खुसी छु । हामीले चलचित्र जगतदेखि कला, समाज र जनताको विकाससम्मका विभिन्न विषयमा अर्थपूर्ण छलफल गरेका थियौं । व्यस्त कार्यक्रमको बीचमा यहाँ आउनु भएकोमा म सलमानप्रति विशेष आभार व्यक्त गर्दछु। सु–स्वास्थ्यका साथ सफलताको सिँढी चढिरहोस् । म उहाँको भविष्यको लागि मेरो शुभकामना व्यक्त गर्दछु।’
सुरक्षा अधिकारीहरुका अनुसार सलमानले मुख्यमन्त्रीको निवासमा करिब ३० मिनेट बिताएका थिए । अभिनेता खान इस्ट बङ्गाल फुटबल क्लबको शतवार्षिकी समारोहमा सहभागी हुन बेलुका साँझ आएका हुन । उनै सुरक्षा अधिकारीहरुका अनुसार सलमान बसेको होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मुम्बई, २९ वैशाख ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनयको माध्यमबाट बलिउडदेखि हलिउडसम्म स्थान बनाएकी छन् । आज पनि उनी विश्वकै उत्कृष्ट अभिनेत्रीमा पर्छिन् । आफ्नो जिन्दगीमा यो सफलता बाबजुद पनि प्रियंका छोरी मालतीका लागि करियरसँगै देश पनि छोड्न तयार छिन् ।
उनले एक अन्तरवार्तामा आफ्ना लागि आमाबुवाले त्याग गरेको सम्झँदै आफू पनि छोरीका लागि सबै कुरा त्याग गर्न तयार रहेको खुलासा गरेकी छन् । ‘मेरा लागि मेरो करियर अत्यावश्यक छ । मैले यहाँसम्म पुग्नका लागि धेरै मेहनत गरेकी छु । मैले कहिल्यै पनि सोचिनँ कि कुनै समय मैले करियर नै छोड्नुपर्छ । अब म ४० वर्षकी भएँ । म यो अवस्थामा मेरो छोरीका लागि करियर र देश छोड्न तयार छु’, प्रियंकाले भनेकी छन् ।
उनले आफ्ना लागि आमाबाबुले सबै कुराको त्याग गर्नु आफूहरुका लागि भाग्यको कुरा भएको दाबी गरेकी छन् । ‘तर समाजमा यस्ता पनि आमाबाबु छन्, जो आफ्नो सन्तानका लागि केही गर्न सक्दैनन् । आज पनि समाज दबाबमा छ । यसकारण मलाई लाग्छ कि हामीले सन्तानसँग कुराकानी गर्न आवश्यक छ’, उनी भन्छिन् ।
काठमाडौं, २८ वैशाख ।
नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२३ को तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ । ११औँ संस्करणको यो फेस्टिबल यही १ देखि ३ असारसम्म हुने भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो महोत्सब कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो ।
महोत्सव अध्यक्ष तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले महोत्सवबारे,‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेका जानकारी दिइन्। अफ्रिकालाई अब पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर आफूहरुले विगत ११ वर्षदेखि महोत्सव आयोजना गर्दै आएका बताएकी उनले नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको बताइन् ।
यो अन्तर्राष्ट्रिय फिल्म महोत्सवका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको पनि उनले बताइन् । नेपालबाट यो महोत्सवमा फिल्म सहभागी हुनको लागि जेठको दोश्रो हप्तासम्म समय तोकिएको पनि उनले जानकारी दिइन् ।
महोत्सवका लागि हाल प्राप्त अन्तर्राष्ट्रिय चलचित्रहरु निर्णायक समूहबाट हेर्ने काम भइरहेको अध्यक्ष डा. मिश्रले बताएकी छिन् । महोत्सवको लागि बढीमा २५ वटा सिनेमा चयन गरिनेछ । नेपाली र अफ्रिकन फिल्म यो महोत्सवमा प्रदर्शन गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिकामाथि बनेको अन्य मुलुकका सिनेमा चयन गरिनेछ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।
महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा विगतझैं यसपटक पनि सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यबसायिक हुन सेकनन् लगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक क्षत्रीले बताएका छन् ।
नेपाल खण्डअन्तर्गत खुला प्रतिस्पर्धा र विधार्थी सिनेमा प्रतिस्पर्धा गरी दुईवटा विधा रहेको पनि क्षत्रीले बताए । यस्तै नेपाली खण्डअन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विधार्थी खण्डअन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ ।
मुम्बई, २६ वैशाख ।
पेन इण्डियाको फिल्मको बाढी आइरहेको वर्तमान समयभन्दा धेरै वर्ष अघि नै पेन इण्डिया सुपरस्टार बनिसकेका अभिनेता रजनीकान्त यो साल करियरकै ठूलो धमाका गर्दैछन् । हालैमात्र उनको फिल्म ‘जेलर’को फस्टलुक सार्वजनिक हुनासाथ त्यसले राम्रै चर्चा पायो ।
यो वर्ष रजनीकान्त दुई फिल्ममा देखिँदैछन् । उनी अर्को फिल्म ‘लाल सलाम’मा पनि देखिँदैछन् । यो फिल्ममा रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशन छ । ऐश्वर्या ८ वर्षपछि निर्देशनको कुर्सीमा बसेकी हुन् । फिल्मले ९० को दशकको मुम्बईको कथालाई देखाउनेछ ।
क्रिकेट खेलको कथालाई उतारिएको फिल्ममा तमिल स्टार विष्णु विशाल र विक्रान्तको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा रजनीकान्तले मुम्बईको एक डनको भूमिका निभाएका छन् ।
फिल्मको फस्टलुक सार्वजनिक भइसकेको छ । सार्वजनिक फस्टलुकमा रजनीकान्तले शेरवानी र पाइजामा तथा शीरमा एक रातो टोपी लगाएका छन् ।
सन् १९९५ रिलिज ‘बाश्शा (बादशाह)’ रजनीकान्तको सबैभन्दा आइकनिक फिल्ममध्ये एक हो । यो फिल्ममा उनले मुम्बईको एक डनको भूमिका निभाएका थिए । फिल्ममा उनको चरित्रको नाम मानिक थियो, तर उनले आफ्नो मरिसकेको साथी अनवर बाश्शाको सम्झनामा उसको नाम पनि आफ्नो नाममा जोड्छन् । २८ वर्षअघि रिलिज यो फिल्म रजनीकान्तको सफल फिल्ममा पर्छ । यो फिल्म १५ महिनासम्म थिएटरमा प्रदर्शन भएको थियो ।
मुम्बई, २० वैशाख ।
बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाह पछि सार्वजनिक रुपमा उनको उपस्थिति कमै छ । यहीकारण उनका फ्यानहरुले सामाजिक सञ्जालमा मिडियासँग कटरीना किन टाढिएकी छिन् ।
हालैमात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । जहाँ मिडियाले कटरिना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि उनको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था वा निजी जीवनका विषयले भने होइन । उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन् ।
कटरिना सार्वजनिक रुपमा कम देखिनु गर्भावस्था नभई फिल्म ‘टाइगर ३’का कारणले हो । जसमा उनी पुनः एकपटक अभिनेता सलमान खानसँग स्क्रिन शेयर गर्दैछिन् । निर्माताहरु फिल्म ‘टाइगर ३’ लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्न चाहिरहेका छन् । उनीहरु ‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्न चाहन्छन् । यहीकारण कटरिना आफैंले सार्वजनिक रुपमा आफ्नो उपस्थितिलाई कम बनाइरहेकी छन् ।
उनले ‘टाइगर ३’का लागि निकै मेहनत गरेकी छन् । कटरीनाको पछिल्लो फिल्म ‘फोनभूत’ बक्सअफिसमा असफल भएको थियो । त्यहीकारण उनी दर्शकमाझ आफ्नो प्रभाव छाड्न कुनै कसर बाँकी नराख्ने सोचमा छिन् ।
काठमाडौं, २० वैशाख ।
बिहीबारबाट रिलिज हुने फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले मंगलबार साँझ काठमाडाैंमा प्रिमियर गरेको छ । फिल्मकर्मी तथा पत्रकारको उपस्थितिमा काठमाडौंको नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज्मा गरिएको प्रिमियरमा उपस्थितले फिल्मको विषयवस्तुको प्रशंसा गरेका छन् ।

फिल्मले कुशल नृत्यकार बन्ने सपना साँचेको ज्याकी पात्रले बुवाको दबाबमा ब्रिटिस गोर्खामा भर्ती हुन गरेको संघर्षलाई देखाएको छ । फिल्मको समयावधि २ घण्टा २० मिनेटको छ ।
फिल्म हेरेपछि निर्देशक प्रदीप भट्टराईले ‘ज्याकीः आई एम ट्वान्थटी वान’ले नेपाली फिल्मले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको दाबी गरे । ‘नेपाली फिल्ममा जे बिक्छ, त्यही बनाउने चलन छ । यो फिल्मका लेखक तथा निर्देशक रेनाशा राई रानाले त्यो परिपाटीलाई भत्काइदिनुभएको छ । यो फिल्मले नयाँ सोचमा फिल्म बनाउने मेकरलाई बाटो खुला गरिदिएको छ’, उनले भने ।
अभिनेत्री प्रियंका कार्की र शिल्पा मास्केले नेपाली फिल्म क्षेत्रको पहिलो डान्स ड्रामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको बताए । उनीहरुले आफू प्रमुख कलाकार धिरज मगर र जसिता गुरुङको कामबाट प्रभावित भएको बताए । अर्की अभिनेत्री आना शर्माले नेपाली फिल्ममा नृत्य परक फिल्म बनाउन सक्नु आफैमा चुनौतिपूर्ण रहेकोमो त्यो चुनौतीलाई निर्देशक राईले पुरा गरेकोमा खुशी व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा यो शैलीको फिल्म बन्नु आफैमा सुखद कुरा भएको उल्लेख गरे ।निर्देशक राईले प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको खुलाइन् ।
अभिनेत्री जसिता फिल्ममा काम गर्दाको मिहिनेत सम्झिएर भावुक भइन् । अभिनेता धिरजले पनि फिल्मका लागि ३ बर्ष मिहिनेत गरेको र आज सुखद प्रतिक्रिया पाउँदा खुशी लागेको बताए । रेनाशा राणा राईको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले एउटा २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा भन्छ ।
मुम्बई, १० बैशाख । सन् २००० मा रिलिज सुपरहिट रोमान्टिक मेडी फिल्म ‘हद कर दी आपने’ले हालै २३ वर्ष पुरा गरेको छ ।
यो फिल्ममा गोविन्दा र रानीको जोडीलाई दर्शकले खुबै मनपराए ।
अब निर्माताले यो फिल्मको रिमेक भर्सन दर्शकमाझ ल्याउने तयारी गरेका छन् ।
निर्देशक मनोज अग्रवालका अनुसार फिल्मको रिमेक बनाउने तयारी सुरु भइसकेको छ । उनले स्क्रिप्ट पनि लेखिसकेका छन् । यद्यपि उनलाई भने रिमेकको खबर सार्वजनिक हुनासाथ आफू ट्रोलमा परिने हो कि भन्ने डर छ ।
उनले फिल्मको रिमेकमा अघिल्ला फिल्मका हरेक दृश्य नसमेटिने बताए । फिल्मका कलाकारको भूमिका अलग भए पनि फिल्मको सार भने पहिलाकै जस्तो हुने खुलाए ।
उनले फिल्ममा गोविन्दा र रानीको जोडी पुनः हुनेमा केही संकेत गरे । ‘उनीहरुसँग नियमित सम्पर्कमा छु । तर फिल्मको बारे कुराकानी भइरहेको छैन’, उनले भने ।