सागर संगम ठाकुर, रौतहट, १३ गते असार ।
रौतहटको देवाही गोनाही नगरपालिकामा लैङ्गिक समानता र लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने तालिम सम्पन्न भएको छ । देवाही गोनाही नगरपालिका वडा नं. ९ को आयोजनामा तथा नगरपालिकाको सहयोगमा सौगात नेपाल संस्थाको समन्वयमा आयोजित तालिममा करिब ५० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
प्रेमपुर गोनाहीस्थित मधेस संग्रहालयमा आयोजना गरिएको सो तालिम कार्यक्रम वडा अध्यक्ष वीर बहादुर साहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै वडा अध्यक्ष साहले गाउँघरमा हुने लैङ्गिक हिंसाका विविध पक्षहरूबारे प्रकाश पार्दै यस्ता तालिमहरूले समुदायमा चेतना फैलाउने र दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
तालिममा प्रशिक्षकहरूले महिला, पुरुष, बालबालिका तथा वृद्धहरू सबैमा हुने दुर्व्यवहार तथा हिंसाका प्रकार, यसको सामाजिक असर र न्यूनीकरणका उपायबारे जानकारी दिएका थिए । साथै लैङ्गिक विभेद अन्त्य, समान अवसरको सुनिश्चितता, र समुदायमा सकारात्मक सोच विकास गर्न आवश्यक रणनीतिबारे समेत व्यापक छलफल गरिएको थियो ।
कार्यक्रमको समापनमा सौगात नेपाल संस्थाका प्रमुख सुरेन्द्र पासवानले तालिममा सहभागी रहेका नगरपालिका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूलाई गम्छा ओढाएर सम्मान प्रकट गरेका थिए ।
यस किसिमका तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने तथा लैङ्गिक न्यायको पक्षमा समुदायलाई एकजुट गराउने अपेक्षा गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१३ गते असार ।
नेपाल विद्युत प्राधिकरण मौलापुर सवस्टेसन अन्तर्गत अत्यावश्यक मर्मत तथा स्तरोन्नति कार्यका कारण देवाही गोनाही नगरपालिका तथा कटहरिया नगरपालिकाका केही क्षेत्रहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।
प्राधिकरणका अनुसार मिति २०८२ असार १४ गते शनिवार, बिहान ७:०० बजे देखि बेलुका ५:०० बजे सम्म कटहरिया ११ के.भी. फिडर अन्तर्गत बुस कटिङ तथा कटहरिया बजार क्षेत्रमा एसिएसआर तारको सट्टा एबिसी केवल जडानको कार्य सम्पन्न गरिनेछ । उक्त कार्य सम्पन्न गर्नुपर्ने भएकाले मौलापुर सवस्टेसनबाट प्रशारण हुने सम्पूर्ण लाइन बन्द रहनेछ ।
विद्युत अवरुद्ध हुने क्षेत्रहरू देवाही गोनाही नगरपालिका अन्तर्गत टिकुलिया, कर्कच, पिप्रा र कटहरिया नगरपालिका अन्तर्गतको सम्पूर्ण क्षेत्रकाे लाईन अवरुद्ध हुने भएको छ ।
प्राधिकरणले सो समय अवधिमा विद्युत सेवा बन्द रहने जानकारी दिंदै सर्वसाधारणलाई वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
यदि तोकिएको कार्य समय भन्दा अगाडि सम्पूर्ण मर्मत कार्य सम्पन्न भएमा विद्युत आपूर्ति तोकिएको समयभन्दा पहिले नै पुन: सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरणले अस्थायी असुविधाप्रति उपभोक्तामाझ क्षमायाचना गर्दै सहयोग र सहनशीलता अपनाउन आग्रह गरेको छ ।
बज्जिकाञ्चल संवाददाता, १३ गते असार ।
जनकपुरधाम । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य तथा आम सांस्कृतिक मोर्चाका केन्द्रीय इन्चार्ज विजय यादव ‘निर्विज’ ले मधेश प्रदेश सरकारले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेकोमा गम्भीर आपत्ति जनाएका छन्।
यादवले लेखीको नियुक्तिको आधार र योग्यतामाथि प्रश्न उठाउँदै तत्काल सच्याउन माग गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै यादवले गृह तथा सञ्चार मन्त्रालयका राजकुमार लेखीका भाइ भएकै आधारमा किशोर कुमार लेखीलाई नियुक्त गरिएको आरोप लगाएका छन्। उनले किशोर कुमार लेखीलाई चलचित्र, नाट्य, संगीत वा साहित्य कुनै पनि विधामा अनुभव नभएको व्यक्ति भन्दै यस किसिमको नियुक्तिले मुख्यमन्त्री सतीश कुमार सिंहको सुशासनको नारामाथि प्रश्नचिह्न खडा गरेको बताएका छन्।
यादवले मधेश प्रदेशमा सक्षम कलाकार तथा संस्कृतिविद्हरूको अभाव नहुँदा नहुँदै पनि अनुभवहीन व्यक्तिलाई नियुक्ति गरिनुले ‘कार्यकर्ता भर्ना’को प्रवृत्ति देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री सिंहलाई यस विषयमा तत्काल ध्यानाकर्षण गराउँदै यदि यो नियुक्ति नसच्याइएमा आम सांस्कृतिक मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
यादवले यदि किशोर कुमार लेखीलाई पदबाट नहटाइए तत्काल सडकमा उत्रिने चेतावनीसमेत दिएका छन्।
राजेश निर्माणी, रौतहट, १३ गते असार ।
राैतहटकाे वृन्दावन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्न आह्वान गरिएको नगरसभा रोक्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले दिएको अन्तरिम आदेश आज बदर गरेको छ ।
न्यायाधीश गोकर्ण डाँगी र नेत्र आचार्यको संयुक्त इजलासले शुक्रबार गरेको आदेशमा नगरसभाको विषयमा दुवै पक्षको कुरा सुनी मात्र निर्णय गर्न उचित हुने देखिएको उल्लेख गर्दै, यसअघि असार ८ गते जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो ।
उक्त आदेशसँगै वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले अब सबै जनप्रतिनिधिहरूसँग छलफल गरी असार मसान्तभित्रै नगरसभा सम्पन्न गर्ने तयारी भएको जानकारी दिए ।
उनका अनुसार यसअघि जति अवरोध र जालझेल भए पनि आफ्नो कार्यकालमा तीनपटक नगरसभा समयमै सम्पन्न गर्न सफल भएका थिए।
यसपटक भने उपप्रमुख संगिता कुमारी रामले व्यक्तिगत स्वार्थका कारण विपक्षीसँग मिलेर नगरसभा रोक्न खोजेको स्थानीयको आरोप छ। रामले असार ८ गते उच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश माग गर्दै नगरसभा तत्काल स्थगनको माग गरेकी थिइन्, जसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत नगरपालिकालाई नगरसभा नगर्न निर्देशन दिएको थियो ।

न्यायालयले दिएको पछिल्लो आदेशमा उपप्रमुख राम संयोजक रहेको स्थानीय राजस्व परामर्श समितिको बैठक स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार भएको प्रमाण नदेखिएको र नगरसभाको सूचना आफूले नपाएको भनी गरेको दावी समेत कागजातबाट पुष्टि नभएको उल्लेख गरिएको छ ।
यस फैसलापछि अब वृन्दावन नगरपालिकाले बजेट पारित गर्ने बाटो खुलेको छ र विकास तथा सेवा प्रवाहमा आउने अवरोध हट्ने अपेक्षा गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,बारा,१३ गते असार ।
बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१, जमुनियास्थित श्री नेरा आधारभूत विद्यालयमा आज निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिको आयोजनामा, विद्यालयको सहकार्य र सिम्रौनगढ नगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

विद्यालय परिसरमै आयोजना गरिएको उक्त शिविरमा करिब २ सय ५० जना विद्यार्थीहरूले आँखा परीक्षण गराएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नूर आलम बादशाहले गर्मी याममा आँखा लगायतका स्वास्थ्य समस्याहरू देखिने सम्भावना बढ्ने भएकाले सचेतना र उपचारका लागि शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।
“गर्मी महिनामा आँखा सम्बन्धी समस्या बढ्न सक्छ । समयमै परीक्षण र सचेतना कार्यक्रम भएमा जटिल अवस्थाबाट बच्न सकिन्छ,” अध्यक्ष बादशाहले भन्नुभयो ।
शिविरमा सिम्रौनगढ नगर आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. दिलीप कुमार यादवको नेतृत्वमा विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूका अतिरिक्त अभिभावक तथा स्थानीयबासीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचान गरी उपचार गर्न मद्दत पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
चन्दन यादव,रौतहट १२ गते आसार ।
रौतहट जिल्लामा रहेको गुजरा नगरपालिकाको १ नम्बर वडा रङगपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा बाली,वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ ।

बाली तथा वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ । कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरका प्रमुख डा। विशेश्वर यादव प्रमुख आतिथि तथा प्रशिक्षकका रूपमा सहभागी हुनु भएको थियो ।

बैठकमा सहभागी भएका स्थानीय किसानहरूले मल अभाव, सिँचाइको कमी, बजार मूल्यमा अस्थिरता, बाली भण्डारणको सुविधा अभाव र बजारीकरणमा समन्वयको कमी जस्ता समस्याहरू प्रस्तुत गरेका थियो ।

डा. यादवले थपे, “कृषि अनुसन्धानसँगै किसानका व्यावहारिक समस्यामा ध्यान दिनु जरुरी छ । हामी समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी अगाडि बढ्नेछौं ।”
बैठकले स्थानीय तह, प्राविधिक निकाय र किसानबीच सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कृषि अधिकृत, कृषि सहकारी संस्था र कृषक समूहको समेत उपस्थिति रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड समितिको अध्यक्ष धर्मेन्द्र धामीले जानकारी गराएका थिए ।

डा. यादवले सबै समस्या गम्भीरतापूर्वक सुनी समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिनुभयो। उहाँले भन्नुभयो, “कृषि विकासका लागि अनुसन्धान मात्र होइन, किसानको आवाज बुझ्नु अझ जरुरी छ। हामी प्रदेशस्तरबाट समस्या समाधान गर्न प्रयास गरिरहेकै छौं ।”

कार्यक्रमले किसान–कृषि अधिकृतसंग बीचको संवादमा नयाँ ऊर्जा दिएको स्थानीयको प्रतिक्रिया रहेको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा भएको कार्यक्रममा स्थानिय किसानहरु, साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक तथा कर्मचारीहरु लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,११ गते असार ।
राैतहटकाे गुजरा-१, रंगपुरस्थित साना किसान कृषि सहकारी संस्था लि.ले विउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत गोदाम घर निर्माण तथा विउ प्रशोधन मेशिन खरिद र जडानसम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम नवस्थापित विउ प्रशोधन केन्द्र परिसरमा आयोजना गरिएको थियो ।

कार्यक्रममा कृषि विकास निर्देशनालय, नकटाझिज, धनुषा –मधेश प्रदेशको ५०% लागत साझेदारीमा भएको सहयोगप्रति सहकारीका पदाधिकारीहरूले आभार व्यक्त गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष धर्मेन्द्र धामीले भने, “हामी स्थानीय किसानहरूलाई आत्मनिर्भर बनाउने दिशामा एक ठूलाे कदम चालिरहेका छौं । यो गोदाम र प्रशोधन केन्द्रले किसानका बिउको गुणस्तर सुधार्नेछ र उत्पादन लागत घटाउनेछ ।” उहाँले किसानको जीवनस्तर उठाउन यस्ता योजनाहरू दीर्घकालीन फाइदाकाे आधार हुने विश्वास व्यक्त गरेका हुन् ।

त्यस्तै, मुख्य प्रबन्धक कपुरीलाल बण्ठाले परियोजनाको पारदर्शिता र समावेशीपनमा जोड दिँदै भन्नुभयो, “हामीले सार्वजनिक सुनुवाईमार्फत स्थानीय समुदायलाई सूचित र सहभागी गराउने प्रयास गरेका छौं । हरेक काममा स्थानीय किसानको प्रत्यक्ष सरोकार कायम राखेका छौं ।”
कार्यक्रममा स्थानीय कृषक, उपभोक्ता प्रतिनिधि, जनप्रतिनिधि तथा पत्रकारको उपस्थिति थियो । सहभागीहरूले परियोजनालाई सकारात्मक मूल्याङ्कन गर्दै सहकारी संस्था र निर्देशनालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रमले विउ प्रशोधन तथा भण्डारण क्षेत्रमा गाउँमै पूर्वाधार निर्माणमार्फत कृषिमा आत्मनिर्भरताको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिएको छ ।
आरके श्रीवास्तव,धनुषा,११ गते असार ।
जनकपुरधाम — मधेस प्रदेशका दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूका लागि जनकपुरधाममा तीन दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा मिथिला बिहारी नगरपालिका २ मा सुरु भएको कार्यक्रममा संचार क्षेत्रका विविध पक्षमा छलफल भइरहेको छ ।

उद्घाटन सत्रपछि फोटो पत्रकार प्रकाश माथेमाले फोटो पत्रकारिता, अनलाइन मिडिया संघका अध्यक्ष शिवप्रसाद सत्यालले अनलाइन पत्रकारिता, र पत्रकार प्रकाश मैनालीले साइबर सुरक्षा विषयमा सहजीकरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले सञ्चारकर्मीहरूलाई मर्यादित, अनुशासित र उत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । “सरकारको कमजोरी औँल्याउनुहोस्, सल्लाह दिनुहोस्, तर पूर्वाग्रही समाचार नगर्नुहोस्,” मन्त्री लेखीले भन्नुभयो ।

कार्यक्रममा प्राधिकरण अध्यक्ष जितेन्द्र खड्का र प्रमुख प्रशासकीय अधिकृत प्रसन्न राज कर्णको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काले डिजिटल युगमा अनलाइन पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै तथ्य, सन्तुलन र विश्वसनीयतामा आधारित समाचार प्रकाशनमा जोड दिनुभयो । “पत्रकारिताको मूल धर्म भनेको सत्य खोज्नु र जनतालाई सही सूचना दिनु हो,” उहाँले भन्नुभयो, “सञ्चारमाध्यमको विश्वसनीयता सुरक्षित गर्न सम्पादकहरूको भूमिका निर्णायक हुन्छ ।”
त्यस्तै, प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत प्रसन्न राज कर्णले सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको बताउनुभयो । “सञ्चारमाध्यमहरू जनताको आवाज हो, तर त्यसलाई प्रभावकारी बनाउन सम्पादकहरूको अभिमुखिकरण अनिवार्य छ,” उहाँले भन्नुभयो, “प्राधिकरणले सूचना प्रवाहलाई मर्यादित, तथ्यपरक र उत्तरदायी बनाउने दिशामा सहकार्यलाई अझ सुदृढ बनाउने छ।”
कार्यक्रममा अनलाइन सञ्चारमाध्यमका सम्पादक, पत्रकारहरू तथा संचार क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।

आरके श्रीवास्तव,राैतहट,१० गते असार ।
राैतहटकाे गुजरा नगरपालिका–४ स्थित कनकपुरमा करिब ४५ लाख रुपैयाँको लागतमा हुने सडक स्तरोन्नति तथा आर.सी.सी. ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश सरकारको विनियोजित बजेटमार्फत निर्माण हुन लागेको उक्त परियोजनाको शिलान्यास मधेश प्रदेशका पूर्व राज्यमन्त्री केशव राय चौधरीले गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री चौधरीले यस सडक परियोजनाले स्थानीय जनताको दैनिक आवतजावत सहज बनाउने तथा समग्र क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । “भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत विकासको गति बढाउन प्रदेश सरकारले निरन्तर पहल गरिरहेको छ,” उहाँले भन्नुभयो ।

करिब ४५ लाखको लागतमा सम्पन्न हुने यस सडक स्तरोन्नति तथा ढलान परियोजनाले वर्षातको समयमा हुने कीचड र हिलाको समस्याबाट स्थानीयलाई मुक्ति दिलाउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले सडक सुधारको लागि लामो समयदेखि आवाज उठाउँदै आएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । अलि ढिलै भएपनि निर्माण कार्य सुरु भई तोकिएको समयसीमा भित्र सम्पन्न गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
आरके श्रीवास्तव,राैतहट,१० गते असार ।
रौतहटको गुजरा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५० करोड ४ लाख १८ हजार ३ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार १२ औं नगरसभा मार्फत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
नगरप्रमुख सन्तलाल चौधरीको अध्यक्षतामा सम्पन्न नगर सभामा उपप्रमुख रत्न लामाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले बजेट वक्तव्य पढेर सुनाएका थिए ।

बजेटमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार सिर्जना, पूर्वाधार तथा सामाजिक सुरक्षालगायतका क्षेत्रमा प्राथमिकता दिइएको जनाइएको छ । आगामी वर्षमा नगरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरसभामा सम्बाेधन गर्दै नगर प्रमुख चौधरीले जनताको आवश्यकता र सुझावका आधारमा योजनाहरू समेटिएको उल्लेख गर्दै बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक हुने बताए । उपप्रमुख लामाले नीति तथा कार्यक्रममा समावेश परियोजनाहरू समावेशी, दिगो र विकासमुखी हुने दाबी गरिन् ।