२०८३ बैशाख २०
२०८३ बैशाख २०

 

काठमाडौँ मंसिर २०,/   

– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार निर्माण गर्ने बताएका छन्।

केपी ओलीकप टि २० क्रिकेट प्रतियोगितामा जित हासिल गरेको मधेस प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई बधाई दिँदै उनले आफू आएदेखि नै खेलकुद विकासको लागि प्रतिवद्ध भएको बताए।

उनले प्रदेशका विजयी टिमलाई पाँच लाख रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरे। उक्त अवसरमा मुख्यमन्त्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गरेका थिए।

पोखरामा मंसिर १५ गते भएको रोमाञ्चक फाइनलमा मधेश प्रदेशले दश जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लवलाई ११ रनले पराजित गरेको थियो। यसअघि धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरु उत्साहित भएको बताए।

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेलाडीले सारा देश र प्रदेशलाई खुशी दिन्छ तसर्थ खुशीयाली दिनेहरुका खुशीको बाटो खोल्न, खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह गरेका थिए।

 

 

महोत्तरी १९ मंसिर                   

– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रूपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन्। 

 महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रूपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रूपान्तरित भएमात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताए ।

‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको हो’, प्रधानमन्त्री दाहालले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भने, ‘यसको स्थायित्व र सवलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ ।’ स्वार्थभन्दा माथि उठेर काम गर्न उनले निर्देशन दिएका छन् ।

‘हामीमाथि मुलुकको बृहत् कार्यभार छ, हामीले आफ्नो चरित्र बिगार्नु हुँदैन, गलत बाटोमा लागेको भए तत्काल सच्चिनु पर्छ’, प्रधानमन्त्रीले भने, ‘त्यही सच्चिन, रूपान्तरित हुनु अभियानको अभिष्ट हो ।’ अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उहाँले अपिल छ । अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्याङ्कन पार्टी नेतृत्वले गरिरहेको उनले बताएका छन् ।

मधेस प्रदेश प्रमुख लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य, रुपान्तरण अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यलगायत सहभागी थिए । 

 

 आरके श्रीवास्तव,राैतहट,मंसिर १९ गते ।

राैतहटमा भन्सार छली ल्याउदै गरेको सरसामान सहित मोटरसाईकिल बरामद गरेको छ ।आइतबार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा फेला पारेको हाे ।

जिल्लाकाे गौर नगरपालिका वडा नम्बर १ र ईशनाथ नगरपालिका वडा नम्बर ८ स्थितबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी / निकासी गरी बिआर५५डि ३५८३ र बिआर३०सि०५९७ नम्बरकाे माेटरसाइकिल किराना, लत्ताकपडा र सोफी लगायतका सर सामान ओसार पसार गर्दै गरेको अबस्थामा प्रहरी टोलीलाई देखि मोटरसाइकिल सहित सामान फाली भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी निरिक्षक झलक प्रसाद शर्माले जानकारी गराएका हुन्

साे क्रममा मोटरसाइकिल २ थान, किराना, लत्ताकपडा र सोफी गरी जम्मा मुल्य रु.दुई लाख अड्तिस हजार एक सय पचास बराबरको सामान र मोटरसाइकिल नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि साेमबार गौर भन्सार कार्यालयमा बुझाईएको शर्माले बताए ।

 

वीरगञ्ज मंसिर १८,/         

– पर्साको पोखरिया नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना गर्न लागेपछि त्यसको विरोध भएको छ। नगरपालिकाले छोटो अवधिको सूचना निकालेर गैरकानुनी तरिकाले कर्मचारी नियुक्ति गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले त्यसको विरोध गरेका छन्।

नगरपालिकाले यही महिनाको ७ र १० गते सूचना प्रकाशन गरेर विभिन्न पदमा करारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै दलहरूले नै विरोध गरेका छन्। नगरपालिकाले कम्प्युटर अपरेटर, सुपरभाइजर, अनमी, अहेब, हेल्थ असिसटेन्ट, कविराज, स्टाफ नर्स, स्वयं शिक्षक/शिक्षिकालगायत पदमा ४२ जना कर्मचारी भर्ना गर्ने जनाएको छ।

नगरपालिकाले प्रकाशन गरेको सूचनामा परीक्षाका लागि मौखिक र अन्तर्वार्ता मात्रै दिनुपर्ने उल्लेख गरेको छ। यसरी बिना मापदण्डका आधारमा नगरपालिकाले एक हप्ताको समय दिनु तथा भएका कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था रहेका बेला आफ्ना आसेपासेलाई कर्मचारीको रुपमा भर्ना गर्न विज्ञापन गरिएको कांग्रेसका क्षेत्रीय सचिव सुरेन्दप्रसाद सिंहले बताए।

यसैगरी, नगरपालिकाको कर्मचारी भर्ना गर्ने मापदण्डसमेत नपुगेको तथा आफ्नो कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्न नगरपालिकाले मौखिक र अन्तर्वार्ता मात्रै लिएर भर्ना गर्न लागेकाले त्यसलाई रोक्नुपर्ने नेकपा माओवादी केन्द्र पोखरिया नगर कमिटीका अध्यक्ष पन्नलाल कुर्मीको भनाइ छ।

पोखरिया नगरपालिकामा कर्मचारी चाहिने भए नियमअनुसार भर्ना प्रक्रियामा जानुपर्ने रास्वपाका पर्सा जिल्ला संयोजक दिलीप कुर्मीले बताए।

पोखरिया नगरपालिकाले बितेको ७ र १० गते दुई वटा बिज्ञापन गरेर करारमा कर्मचारी भर्ना गर्न लागेको छ। यता नगरपालिकाले कर्मचारी भर्ना प्रक्रिया नरोकेपछि उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता भएकोमा अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितलाई बिपक्षी बनाएर दर्ता भएको रिटको सुनुवाइ गर्दै न्यायाधीश राजेशकुमार काफलेको इजलासले सुनुवाइ गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

यसैबीच, अदालतको डण्डा चलेपछि नगरपालिकाको निम्ति प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले कर्मचारी भर्ना प्रक्रिया हालका लागि स्थगन गरेका छन्।

श्रविास्तवले सोमबार सूचना निकालेर करार सेवा तत्कालका लागि अर्को निर्णय वा सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराएका छन्।

 

 

धनुषा मंसिर १७/       

धनुषामा एक महिलाको शव फेला परेको छ।

मिथिला नगरपालिका-५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा शव फेला परेको प्रहरीले जनाएको छ।

अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

उनका अनुसार आइतबार बेलुकी घाँस काट्न गएकी महिलाले शव देखेपछि गाउँमा आएर जानकारी गराएकी थिइन्।

‘उनले रातो साडी र हातमा रातो पहेँलो रंगको लहठी लगाएकी छन्। अनुहार सुन्निएर कालो देखिएको छ। यस क्षेत्रमा अहिलेसम्म कुनै महिला हराएको हामी कहाँ जानकारी आएको छैन,’ प्रहरी निरीक्षक साहले भने।

शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत मंगलबार पनि धनुषामा एक महिलाको शव फेला परेको थियो। धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। अहिलेसम्म उनको समेत पहिचान खुलेको छैन।

 

 

बारा,मंसिर १७/         

बारा जिल्लाको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसनको उद्घाटन गरिएको छ।

आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्टेसनको उद्घाटन गरेका हुन्।

अब विमानस्थलमा ११ किलोलिटर (केएल) र १६ केएल गरी २७ केएलका दुइटा रिफ्युलर रहनेछन्।

रिफ्युलिङका लागि जनकपुरबाट सिमरा विमानस्थलसम्म हवाइ इन्धन बोक्ने ९ केएलको डिस्पेन्सर राखिएको छ। भण्डारण ट्यांक नहुन्जेल जनकपुरमा रहेको डिपोबाट इन्धन ल्याइनेछ।

चालु अर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार रिफ्युलिङ स्टेसन उद्घाटन गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए। छिट्टै भरतपुर र जुम्लाको विमानस्थलमा रिफ्युलिङ स्टेसन राखिने उनको भनाइ छ।

यो विमानस्थलमा बुद्ध एयरलाइन्सका सात र यतिको दुई जहाजले दैनिक उडान तथा अवतरण गर्दै आएका छन्।

काठमाडौंबाट छोटो दूरीमा रहेको यो विमानस्थलमा रिफ्युलिङ सुरू भएसँगै आपतकालीन उडान तथा अवतरणमा सहज हुने उल्लेख गरिएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंबाट नजिकको विमानस्थलमा रिफ्युलिङ सेवाले निकै फाइदा पुग्ने बताए। ‘यहाँ पहिल्यैदेखि रिफ्युलिङ स्टेसन खाँचो थियो। यसबाट राज्यको ठूलो रकम बचत हुनेछ,’ उनले भने।

अब काटमाडौंको तुलनामा सिमरामा ढुवानी खर्च समेत कम लाग्ने उल्लेख गरिएको छ। त्यस्तै जहाजहरू रिफ्युलिङका लागि काठमाडौं पुगिरहनु पर्ने अवस्था पनि नरहने हुँदा इन्धन बचत हुने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेम ठाकुरले बताए।

रिफ्युलिङ स्टेसनका कारण वायुसेवा कम्पनीहरू उत्साहित भएको उनको भनाइ छ। यसले राज्यलाई पनि करोडौं बचत हुने उनले उल्लेख गरे।

 

 

महोत्तरी मंसिर १७,/               

मटिहानी नगरपालिकाले आइतबार ४० जना अपांगलाई कम्बल वितरण गरेको छ।

नगरपालिकाले अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा नगरका ४० जना अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको हो।

अपांगता भएका व्यक्तिलाई सहयोग गर्नका लागि नगरपालिका हरपल तयार रहेको मेयर हरिप्रसाद मण्डलले बताए।

 

 

जनकपुरधाम,मंसिर १७।

नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापतिमा नविन गोहिवार निर्वाचित भएका छन् ।

३५१ मत ल्याएर निर्वाचित भएका गोहिवार शेखर कोइराला समूहका छन् । उनलाई पूर्व सांसद दिनेश प्रसैलाले सभापतिका लागि उम्मेदवार बनाएका थिए ।

शेखर कोइराला समूहकै दाबी गर्ने भूपनारायण यादव ३१२ र संस्थापन पक्षका साधु गोइत मात्र १०० मत ल्याएका छन् ।

भूपनारायणलाई धनुषा २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र गोइतलाई पूर्व सांसद मुक्ता यादवले मैदानमा उतारेका थिए ।

शनिवार तामझामका साथ बिदेह नगरपालिकाका ६ तीनकौरियास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा पार्टीको क्षेत्रीय सभापतिका लागि शनिवार मतदान भएको थियो ।

 

रौतहट,आइतबार, १७।

रौतहटको कटहरिया नगरपालिकाका बैधनाथ  प्रसाद  जयसवाल  ३५ सय किलोमिटर लामो धार्मिक यात्रामा निस्केका छन्।

पछिल्लो समय गरुडा बस्दै आएका ५० वर्षीय  जयसवाल शनिबार साइकल बाट भारत जम्मू कश्मीर स्थित बैष्णोदेवी यात्राको सङ्कल्प सहित धार्मिक यात्रामा निस्किएका हुन्।

साइकल यात्री जैसवाललाई मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले धार्मिक यात्राको सफलताको शुभकामना दिँदै टीका तथा फुलमाला लगाई गेरु वस्त्र सँगै नगद ११ हजार ५१ रुपैयाँ दिएर बिदा गरेकी थिइन्।
त्यस्तै साइकल यात्री जैसवाललाई गरुडा स्थित सुन चाँदी व्यवसायी सङ्घका प्रदेश अध्यक्ष रामजी साह, कांग्रेस नेता रामाभरोसी यादव, समाजबादी नेता ब्रिजकिशोर यादव लगायतकाले सम्मान सहित बिदाइ गरेका थिए। साइकल बाट हुने धार्मिक यात्राले मानव मानवबिच सद्भाव बढेर साम्प्रदायिक विभेद अन्त्य गर्न सहयोग पुग्ने यात्री जैसवालले विश्वास लिएका छन्।

 

वीरगन्ज,मंसिर १६।

आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगन्जबाट एकजनालाई पक्राउ गरेको छ ।

गैरकानुनी गतिविधि गरेको आरोपमा बाराको आदर्श कोतवाल गाउँपालिका–८, लक्ष्मीटोल निवासी ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो ।

‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा  घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै वीरगन्ज महानगरपालिका–२३, हरपतगञ्जस्थित व्यापारीसँग मासिक रूपमा रकम उठाइरहेको सूचनाका आधारमा कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।