महोत्तरी, १८ पुस :
दिनगन्तीले पर्व आउन अझै पुगनपुग दुई साता बाँकी छ । मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको तयारीमा मैथिल(मिथिलाका बासिन्दा) जुटिसकेका छन् ।
अहिले घरघरमै तिल चुट्ने, निफन्ने र आफूलाई चाहिने राखेर बाँकी बजार लैजाने चटारो छ । त्यसैगरी चिउरा र मुरी (विशेष विधिले बनाइएको चामल भुटेर बनाइने भुजा)का लागि धान भिजाउने, चामल कुट्ने, निफन्ने चटारो घरघरै देखिन्छ । त्यसैगरी पर्वकै लागि उखु किसान उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन तल्लीन देखिन्छन् । पर्वअघि मिठ्ठाले राम्रो भाउ पाउने किसानको आश छ ।
पर्व नजिकिएसँगै गरिब किसानको व्यस्तता झनै बढ्छ । पर्व विशेषमा आफ्ना उत्पादित फसलले राम्रो मूल्य पाउने आशमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो । यसपालि अब १०–११ दिनपछि आउने यो पर्वका लागि महोत्तरीका सबैजसो हटिया (साप्ताहिक बजार) पर्व विशेषका सामग्रीले जम्न थालेका देखिन्छन् ।तिलासक्रायत पर्व यहाँका किसानका लागि नगद आर्जनको अवसर बन्ने गर्छ ।पुसको ठिही (चिसो) खप्दै उखु पेलेर बनाइएको मिठ्ठा, पाखोबारीमा लगाइएको तिल, कन्दमूल (तरुल, सुठुनी, पिँडालु) र मासको दालले राम्रो मूल्य पाएपछि किसानलाई यो पर्व नगद आर्जनको अवसर बनेको हो ।
त्यसैगरी धान किनेर मुरी (भुजा) र चिउराको व्यापार गर्ने साना व्यापारी पनि आर्जन हुने आशामा छन् । तिलको बजार जमिसकेको छ भने सख्खर, चिउरा र मुरीलगायतको बजार एक–दुई दिनपछि जम्न थाल्ने भङ्गाहा–५ सीतापुर बजारका किराना पसले रामभगत साह बताउनुहुन्छ । पर्व नजिकिएसँगै थोरै जग्गामा उखु लगाएका किसान भ्याइनभ्याई गरेर मिठ्ठा बनाउन र बनेको सामग्री बजार पुर्याउन तल्लीन छन् ।
धेरैजसो बस्तीमा पर्वका लागि मिठ्ठा खोज्न व्यापारी र उपभोक्ता घरघरै आएपछि बजार पुग्नुपर्ने समय पनि बचत भएको र राम्रो मूल्य पाइएको किसानको भनाइ छ । भङ्गाहा–४ का किसान लखन कापर भन्नुहुन्छ, “पवनी (पर्व) आइपुग्यो, उखु पेल्न र तिल चुट्ने समय एउटै पर्यो, भ्याइनभ्याई छ ।” पर्वको मुखमा कामको मारामार परे पनि मिठ्ठा र तिल बेचेको पैसाले नगद खर्चको राम्रै जोहो हुने गरेको कापर बताउनुहुन्छ । यसैगरी कापरकै छिमेकी भजनसिंह दनुवार पनि पर्वअघि तरुल, पिँडालु र सुठुनी खन्ने तालिकामा हुनुहुन्छ ।
तरुल, पिँडालु र सुठुनी तिलासक्रायत पर्वको खास परिकार भएको हुँदा यी उत्पादनले राम्रो मूल्य दिने दनुवारको भनाइ छ । “एकाध धुर (२० धुरको एक कठ्ठा)मा खमरुवा (तरुल), पिँडालु र अलुवा (सुठुनी) छ, आफ्नै टोल (घर वरिपरिका छिमेकी)ले मागेका छन्”, दनुवारले भन्नुभयो, “चाडवाडमा नगदकै कारोबार हुन्छ, राम्रै आर्जन होला ।” यी कन्दमूल केही दिनसम्म ताजै रहने हुनाले पर्वको तीन–चार दिनअघि खनिने दनुवार बताउनुहुन्छ । अहिले तीन–चार कठ्ठामात्र जग्गा भएका गरिब किसानले पनि मिठ्ठा, तरुल, पिँडालु, सुठुनी र तील बेचेर रु १०–२० हजार जोहो गर्ने योजना बनाएका छन् ।
आफ्नो पाँच कठ्ठा पाखो बारी (सिँचाइ नपुगेको)मै लगाइएको उखु, तिल, सुठुनी र तरुलबाट पोहोर रु २० हजार आम्दानी भएको भङ्गाहा–४ कै किसान चन्देश्वर राय दनुवार बताउनुहुन्छ । यसपालि अझ बढी आम्दानी हुने चन्देश्वरको विश्वास छ । “अन्य कुरा मजदुरी र बरबटैया गरेर गुजारा टारिन्छ”, उहाँ भन्नुहुन्छ, “नगद खर्च भने आफ्नै बारीको कमाइबाट दुःखसुख चलाइन्छ ।”
तिलासक्रायत पर्वमा सख्खर मिसाएर बनाइएको तिल, चिउरा, मुरी (विशेष प्रकारको चामलको भुजा) र जुनेला (अन्नविशेष)लाई (लड्डु), उसिनेको सुठुनी तथा तरुल एवं मासको दाल, अरवा चामल र घिउको खिचडी विशेष प्रकार मानिने मैथिल परम्परा छ । यसै परम्पराले अहिले महोत्तरीसहितका मिथिला क्षेत्रका बस्तीमा यी सामग्रीको जोहोमा सर्वसाधारण लाग्छन् ।
पर्वविशेषले जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा उखु, तिल, सुठुनी, पिँडालु तथा तरुललगायतका बाली बढी लगाइने गरेको छ । पर्वविशेषले आफ्ना उत्पादित बाली सजिलै घरघरै राम्रो मूल्य पाएर बिक्री हुने भएकाले अहिले खासगरी किसानका लागि नगद जोहोको अवसर बनेको हो । अहिले राम्रो तिल प्रतिकिलो रु तीन सय ५० र मिठ्ठा रु एक सय १० ले बिक्री हुँदैछ ।
त्यसैगरी अब एक सातापछि खनिने तरुल, सुठुनी र पिँडालुले पनि राम्रो भाउ पाउने किसानले आश गरेका छन् । तिलासक्रायत पर्व केही दिनमात्र बाँकी रहँदा यस क्षेत्रका घरघरमै अहिले यो पर्वको तयारीले रौनक बढेको छ ।
खासगरी यताका थारूको मुख्य पर्व नै तिलासक्रायत हुँदा थारू बस्ती पर्वको तयारीमा तल्लिन देखिन्छन् । तिलासक्रायत नजिकिएसँगै यहाँका बजारमा पनि पर्व विशेषका सामग्रीको बजार दिनदिनै जमेको छ । साप्ताहिक हटियामात्र नभएर अहिले बस्ती–बस्तीमै तिल, मिठ्ठा, चिउरा, मुरीका बजार जम्दैछन् । केही दिनपछि सुठुनी, पिँडालुको बजार जमाउने तयारीमा किसान जुटेका छन् । (रासस)
- मनहरी (मकवानपुर), १८ पुस :
- मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाँैडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् ।
- पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–११ थानाभ्याङमा आज बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना४३प २२२ नं को मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
- मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा–४ का ४१ वर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र विजय खत्री घाइते भएका उहाँले बताउनुभयो । मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ । प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । (रासस)
काठमाडौँ, १८ पुस :
न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो ।
यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि दुवै पद रिक्त थिए । (रासस)
श्रीभगवान यादव,कटहरिया,पुस १७ गते ।
रौतहट जिल्लाको कटहरीया नगरपालीकाको एक बिधालयमा छात्रबृत्ति वितरण गरिएको छ । सो नगरपालीको वडा नम्बर ५ स्थित रहेको श्री जनता नमूना माध्यमिक बिधालय कटहरियामा छात्रबृत्ति प्रदान गरिएको हो । मंगलबार नगरपालीका बाट आएको आर्थिक २०७९।०८० को छात्रबृत्ति वितरण गरिएको हो ।
बिधालयमा अध्ययनरत सम्पुर्न छात्रा,दलित छात्र छात्राछात्रहरु लाई कुल ५ लाख १२ हजार रुपयाँ वितरण गरिएको प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको हो ।
सो बिधालयमा अध्ययनरत २ देखी ९ सम्मका बिधार्थी लाई बवितरण गरिएको हो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष नसरुदिन अंसारीको अध्यक्षतामा वितरण गरिएको हो । साे अवसरमा बिधालय व्यवस्थापन समितिका पदाअधिकारिहरु र स्थानिय भद्रभलादमिहरुकाे उपस्थिति रहेको थियो ।
छात्रबृत्ति वितरणको अवसरमा कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,शिक्षा संयाेजक अनिल निधी,सह संयाेजक सुरेन्द्र ठाकुरको साथै वडा सदस्य भगल राय यादव पनि उपस्थिति रहेका थिए ।
काठमाडौं, पुस १७ गते ।
’ काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ ।

जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ । आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

‘हावा प्रोजेक्ट २.०’ अन्तरगत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरू सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ । ‘यसअघि पनि नेकसँग सहकार्य गरेर ‘हावा प्रोजेक्ट’ चलाएका थियो । त्यसलाई पुनः नियमितता दिनका लागि ‘हावा प्रोजेक्ट २.०’ ल्याइएको हो । यसले नेपालमा हावाबाट कसरी विद्युत निकाल्छ सकिन्छ, संभाब्यता अध्ययन र अनुसन्धान गर्नेछ ।’

नरेश महर्जनले बताए । प्रोजेक्टमा नेकमा अध्ययनरत सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका विद्यार्थीहरूलाई सहभागिता गराउँदै उनीहरूलाई नवीनतम सोच र अनुसन्धानमा लाग्न प्रेरित गरिने छ । कलेजले ‘हावा प्रोजेक्ट २.०’ कार्यान्वयनका लागि प्राध्यापक दिनेशप्रसाद गुरागाइँको अध्यक्षतामा सिभिल, कम्प्युटर, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल एण्ड कम्युनिकेसनका एक एक जना प्राध्यापकहरू समेत रहने गरी हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरेको छ ।
सोमबार कलेजमा विद्यार्थीहरू सँगकाे प्रस्तुतिकरणमा बोल्दै जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले जापानमा हावाबाट विद्युत निकाल्ने कार्य धेरै अगाडिबाट भइरहेको बताउँदै नेपालमा पनि हावाबाट विद्युत निकाल्न सम्भव रहेको जिकिर गरे । २०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आएका एत्सुओ किरिहराले नेपालका कुनकुन स्थानमा हावाबाट विद्युत निकाल्न सम्भव छ भन्ने सोध र अनुसन्धान गरिरहेका छन् । ‘अहिले विश्वभर आणविक उर्जाको विकल्पमा वैकल्पिक उर्जा खोज, उपयोगमा जोड दिइँदै आइएको छ ।
नेपालमा पनि जलश्रोत पछिको वैकल्पिक उर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ।’ उनले भने । जेइएसएका इन्जिनियरिङ सल्लाहकार किरिहराका अनुसार नेपालमा जनवरीदेखि मे सम्म हावाबाट विद्युत निकाल्न सकिन्छ । त्यससँगै सौर्य उर्जा समेत उत्पादन गर्न सकिने उनको दावी छ । ‘जनवरी देखि मे सम्म हावाबाट विद्युत निकाल्ने र अन्य समय सौर्य उर्जा प्रयोग गर्न सकिन्छ ।’ ठूल्ठूला स्कुल, कलेज, विश्वविद्यालय र अर्गनाइजेसन हरुमा हावा र सौर्य उर्जा प्रयोग गर्न सकिने उनको भनाई छ ।
नेकका भिजिटिङ प्रोफेसर समेत रहेका ७२ वर्षीय किरिहराले जापान लगायत विकसित देशहरूले न्यूक्लियर उर्जा विस्थापित गर्ने कार्य थालनी गरेकाले नेपालले पनि जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर हुँदा दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेकका सिभिल एण्ड रुरल इन्जिनियरिङ विभागका प्रा.डा. गणेश साह, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ विभागका सहप्राध्यापक गणेश प्रसाद अधिकारीले ‘हावा प्रोजेक्ट २.०’ले नेपालमा हावाबाट विद्युत उत्पादन गर्ने सवालमा सम्भाव्यता अध्ययनसँगै विद्यार्थीहरूलाई नवीनतम कार्य गर्न र ज्ञान हासिल गर्न प्रेरित गर्ने बताए । प्रोजेक्ट अन्तरगत अब चाँगुनारायण नगरपालिका क्षेत्रका विभिन्न घरहरूमा हावाको गति मापन गरिने उपकरण जडान गरिनेछ ।
त्यसको डेटा संकलन भने नेकलाई हस्तान्तरण गरिएको डिभाइसमा संकलन गरी अध्ययन गरिनेछ । नेकमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रोजेक्टमा सहभागी गराइने भएकाले उनीहरूले नवीनतम उर्जा, वैकल्पिक उर्जाका क्षेत्रमा नयाँ अनुभव हासिल गर्ने कलेजका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका विभागीय प्रमुख याम कृष्ण पौडेलले बताए ।
‘हावा प्रोजेक्ट २.०’ सन् २०२४ देखि २०२६ सम्म सञ्चालन हुनेछ । भविष्यमा नेकका विद्यार्थीहरूलाई इन्टरनेसनल एक्सपोज प्राप्त गर्न प्रोजेक्टले ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
धरान पुस १७ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानको लाङ्घाली बन उपभोक्ता समुहको भवनमा आयोजित तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानबारे, संगठनात्मक कार्यपद्धति, पार्टीको आदर्श, संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद साथै लिम्बुवान र उत्पीडित राष्ट्रियताको मुक्तिका सवालहरु, समाजवादको ऐतिहासिक पृष्ठभूमि र विकासक्रमबारे प्रशिक्षण दिए।
त्यसैगरी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटो विषयमा प्रशिक्षण दिए। पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङलाई संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलनको विषय रहेको थियो। त्यस्तै पार्टी विधान र संगठानात्मक पद्धतिबारे कार्यकारिणी सदस्य रणध्वोज कन्दङ्वा, राजनीतिमा लैङ्गिक सशक्तिकरण : युवा विद्यार्थी र महिलाको भूमिकाको विषयमा कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले प्रशिक्षण दिइन् ।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेत, डा. महेन्द्र लावती, दिलेन्द्र कुरुम्बाङ र खगेन्द्र माखीमले पनि प्रशिक्षण दिए । लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा सम्पन्न प्रशिक्षणमा एक सय पचास प्रतिनिधि सहभागी थिए।
आरके श्रीवास्तव,रौतहट,१७ गते पुस ।
रौतहट । समृद्धि आयोजना आयोजना व्यवस्थापन कार्यालय इटहरि सुनसरीको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा सहकारी र आइएमइ रेमिटान्स बिच अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल सरकारको उधोग वाणिज्य तथा आपूर्ती मन्त्रालय ग्रामीण तथा विप्रेशन आयोजना (समृद्धि) अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।

गत बिहिवार भएको कार्यक्रममा आइएमइ रेमिटान्स कम्पनीका मधेश प्रदेश प्रमुख विजय सुवेदी बाट रेमिटान्सको हालको अवस्था,अवसर, चुनौती र सहकारी संस्थाको माध्यम बाट रेमिटान्स लाइ कसरी लगानी योग्य ऋण र बचतमा प्रोत्साहन गर्ने इत्यादी विषयमा व्यापक छलफल गरिएको थियो ।

आइएमइ लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख रवि शंकर सर्राफ बाट वर्तमान अवस्थामा सहकारी संस्थाको ऋणलाइ जोखिमबाट जोगाउन ऋणीको पनि विमा गर्न सकिने र यसको प्रावधान के कस्तो रहेको छ भने जानकारी गराइएको थियो । त्यस्तै ऋणीको विमा गर्दा भुक्तानी गर्नुपर्ने विमा शुल्क र विमितको मृत्यु वा दुर्घटना हुँदा के कस्तो सेवा पाइने कुरामा जानकारी गराइएको थियो ।

अन्त्यमा रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्थाको मुख्य व्यवस्थापक यज्ञ प्रसाद प्रसाइ बाट समृद्धिको प्राविधिक सहयोगमा सञ्चालित समृद्धि विप्रेषण खाताको विशेषता,अवस्था,चुनौती र यसको कार्यविधिको छलफल र जानकारी प्रदान गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालक समृद्धि आयोजना विक्तिय समावेशिकरण अधिकृत इन्दिरा श्रेष्ठले समृद्धि आयोजनाको आगामी ६ महिनाको योजना तथा कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन् ।
जनकपुरधाम, १७ पुस :
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बेरुजु शून्य बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ ।
आज जनकपुरधाममा आयोजित लेखापरीक्षण, बेरुजु फर्छ्याेट तथा सम्परीक्षणसम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै जनभावनाअनुसार काम गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने गरी क्रियाशील हुन पनि सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।
“सङ्घीयता महँगो र अनियमितता मात्रै भइरहेको छ भन्ने ढङ्गले गलत प्रचारबाजी भइरहेको छ । यस्तो गलत भाष्यलाई चिर्न पनि बेरुजु शून्य बनाउनुका साथै सङ्घीयताको जननीका रुपमा रहेको मधेस प्रदेशले जनतालाई अनुभूति गराउने किसिमले काम गर्नुपर्ने आवश्यकता छ । यस कार्यमा सघाउ पुग्ने गरी तपाईं हामी मिलेर काम गरौँ”, मुख्यमन्त्री यादवले भन्नुभयो ।
महालेखापरीक्षकको कार्यालयका कार्यबहाक महालेखापरीक्षक महेश्वर काफ्लेले देशको वित्तीय अवस्थाबारे प्रकाश पार्नुहुँदै वित्तीय अनुशासन कायम गर्न तीनै तहका सरकार र सम्बद्ध पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारबीचको समन्वयले मात्रै देशको शासकीय प्रबन्ध र अर्थतन्त्रका सूचकलाई राम्रो बनाउन सकिने र त्यसका लागि उपलब्ध स्रोतसाधनको सदुपयोग हुन जरुरी रहेको धारणा राख्नुभयो ।
उपमहालेखा परीक्षक विन्दु विष्टले विगतको तुलनामा बेरुजु क्रमशः घट्दै गएको र थप सुधारका लागि लेखा समिति सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेले लेखा उत्तरदायी अधिकृतलाई खर्च निगरानी र वित्तीय अनुशासन पालन गर्न आग्रह गर्नुभयो ।
त्यसअवसरमा मुख्यमन्त्री कार्यालयको तर्फबाट सचिव रामकृष्ण पुडासैनीले मधेस प्रदेशबारे प्रस्तुति दिनुभएको थियो भने प्रदेश लेखानियन्त्रक वीरेन्द्रकुमार मिश्रले प्रदेशको वित्तीय क्रियाकलापबारेको प्रतिवेदन कावा महालेखापरीक्षक काफ्लेलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा सात प्रदेशका एक हजार दुई सय १८ कार्यालयमा लेखापरीक्षण भएकोमा सात रु अर्ब ५० लाख बेरुजु भएको र त्यसमध्ये ३५ प्रतिशत बेरुजु गम्भीर प्रकृतिका रहेकासमेत जानकारी दिइएको थियो ।(रासस)
काठमाडौँ, १७ पुस :
आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि रु बीस लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई रु तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा रु १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ ।
पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ । (रासस)