बुटवल, १९ बैशाख । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैँछन् ।
आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकवाट नवनियुक्त मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गत आइतवार दर्ता गराएका थिए । जसअनुसार सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टा पछि अर्थात मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आब्हान गरेका छन् ।
नेकपा माओवादी केन्द्रले समर्थनमा नेकपा एमालेका लिलानाथ गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसके पछि गत बिहिवार ढलेको थियो । सो सरकार ढले पछि माओवादी केन्द्रलगायतका राजनीतिक दलको समर्थनमा समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ती गर्दै पद तथा गोपनियताको सपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारी भने तोकिएको छैन, सबै तीन मन्त्री बिना बिभागीय रहेका छन् ।
विश्वासको मत लिए पछि मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने तथा नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गर्ने योजना बनाएका छन् ।
काठमाडौं, १९ बैशाख । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुदैँछ ।
एसीसी प्रिमियम कप क्रिकेटको सोमवारको खेल बर्षाका कारण रोकिन पुगे पछि आज बाँकी खेल हुन लागेको हो ।
त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो ।
नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिए पछि पहिलो पटक बर्षाको कारण रोकिन पुगेकाे खेल पुनः सुचारु गरिएको थियो ।
तर, दोस्रो पटक पुनः सुचारु गरिए पनि बर्षा सुरु भए पछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि बर्षा रोकिन छाँटकाट नदेखिए पछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।
हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिए पछि युएई दबाबमा परेको थियो ।
हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानवाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।
मंगलबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। मंगलबार पनि सोमवारको झै वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।
तर, वर्षाको कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जीत हासिल गर्नेछ, त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता हेरिनेछ । बरियताको आधारमा आधारमा युएई भन्दा अगाडी रहेकाले नेपाल स्वतः एसियाकपमा छनोट हुनेछ।
आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९ औँ स्थानमा रहेका छन्।
काठमाडौं, १९ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आशिक देखि सामान्य बदली रहेको छ ।
दिउँसोː कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं, १८ वैशाख । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

यी हुन् ७ बुँदे सहमतिको पूर्णपाठ :
प्रधानमन्त्रीज्यूलाई सम्बोधन गरी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष श्री महावीर पुनले दिनुभएको ज्ञापनपत्रमा उल्लिखित मागहरुमा माननीय उप–प्रधानमन्त्री तथा रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यूसँग भएको छलफल बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा निम्नलिखित विषयमा आज मिति २०८० वैशाख १८ गते यो सहमति भएको छ ।
१. अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने ।
२. कोषको व्यवस्थापन तथा सञ्चालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेस गरी पारित गर्ने । सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने ।
३. आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने ।
४. अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने । आविष्कारबाट उत्पादित वस्तु तथा सेवाहरूलाई आवश्यक पर्ने अनुमति, लाइसेन्स, दर्ता, संचालन तथा दिगोपन कायम गर्ने विषयसँग सम्बन्धित् कानुनमा सुधार गरी सहजीकरण गर्ने ।
५. मागपत्रमा उल्लिखित अन्य विषयहरुलाई कानुन बनाउँदा ध्यान दिने ।
६. माथि उल्लिखित विषयहरुमा दुवै पक्ष बसेर समीक्षा गर्ने ।
७. महावीर पुनको नेतृत्वमा भइरहेको धर्नालगायत सबै आन्दोलनका कार्यक्रम अहिले नै अन्त्य गर्ने ।
रौतहट,वैशाख १८ गते
मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत तथा लेखापालको मिलोमतोमा ब्यायमशाला तथा योग केन्द्रको सामाग्री खरिदमा २० लाख अनियमितता भएको समाचार प्रकाशमा आएको छ । मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत रामबाबु शाह र लेखापाल जयप्रकाश महतोको मिलोमतोमा ब्यायमशाला तथा योग केन्द्रको सामाग्री हिनामिना भएको हो । ब्यायमशाला तथा योग केन्द्रमा आवश्यक पर्ने सम्पुर्ण सामाग्री खरिद गर्न २० लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरीएको थियो ।

भवन उदघाटन सँगै ब्यायमशाला तथा योग केन्द्रका सामाग्री राख्नु पर्नेमा निमित प्रशासकीय अधिकृत शाह र लेखापाल महतोले रकम सप्लायर्सको नाममा भुक्तानी गरी हिनामिना गरेको कार्यालय श्रोतबाट थाहा हुन आएको छ । २०७९ फागुन २ गतेका दिन ब्यायमशाला तथा योग केन्द्रको उदघाटन भएको थियो । उद्धघाटनको अवसरमा सामाग्री पछि राख्ने जानकारी दिए पनि हाल सम्ममा सो सामाग्री ब्यायमशाला तथा योग केन्द्रमा राखिएको छैन । यस सम्बन्धमा निमित प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा सामाग्री खरिद गर्ने प्रक्रिया शुरु भएको छ । आफुले ब्यायमशाला तथा योग केन्द्रका विनियोजित रकम हिनामिना नगरेको बताए । लेखापाल सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
बज्जिकाञ्चल,वैशाख १८ गते
रौतहटको गौर नगरपालिकामा आज कुर्मी सशक्तीकरण मञ्चको नगर स्तरीय कमिटी गठन गरिएको छ । अधिकर चाहियो भने अधिकारी बनौं कलयुग होइन, यो संसार कलम युगको हो भन्ने मुल नाराका साथ कुर्मी सशक्तीकरण मञ्च रौतहट द्वारा आयोजित स्वजातीय भेटघाट तथा नगर स्तरीय कमिटी गठन कार्यक्रम आज बिहानै वडा नम्बर ४

टिकुलिया टोलमा केन्द्रीय सदस्य अभिमनु कुमार पटेलको प्रमुख आतिथ्य र जिल्ला उपाध्यक्ष दिनेश पटेलको अध्यक्षतामा सम्पन्न भएको छ । कुर्मी सशक्तीकरण मञ्च रौतहटद्धारा गौर नगरपालिकामा २१ सदस्यीय नगर कमिटी गठन भएको छ । गठित कमिटिको अध्यक्षमा जयनन्दन प्रसाद पटेल,उपाध्यक्षमा,बिजय प्रसाद पटेल,कोषाध्यक्षमा रेखा कुमारी पटेल,सचिवमा अखिलेश कुमार पटेल , सह सचिवमा विजय कुमार पटेल लगायतका व्यक्तीहरु रहेका छन् ।
काठमाडौं, १८ बैशाख ।
पत्रकार गणेश पाण्डेद्धारा निर्देशित डकुमेन्ट्री को–हजबेण्डले एक करोड ३० लाख राशीको पुरस्कार जितेको छ ।
जापानको क्युशु शहरमा भएको पाँचौ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा सो पुरस्कार जीत हासिल भएको हो ।
‘आजको दिनलाई मैले मेरो करिअरकै सबैभन्दा ठूलो उपलब्धिमुलक दिनका रुपमा लिएको छु । मेरो डकुमेन्ट्री फिल्म को–हजबेण्डले आज जापान र क्यानडामा एकैसाथ अवार्ड जितेको छ,’ पाण्डेले फेसबुकमा लेखेका छन, ‘जापानको क्युशु शहरमा भएको पाँचौ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा एक हजार डलर नगदको ब्रोन्ज अवार्डसहित मैले एक लाख डलर (एक करोड ३० लाख नेपाली रुपैंया) बराबरको फिल्म फण्डिड पनि जितेको छु।’ उनका अनुसार सो पुरस्कार अब बनाउने डकुमेन्ट्री फिल्मका लागि प्राप्त भएको हो ।

‘नेपाली डकुमेन्ट्री फिल्मले एक लाख डलरको फण्डिङ प्राप्त गर्नु नेपाल र नेपालीका लागि पनि निकै सुखद खबर हो’ उनले अगाडी लेखेका छन, ‘आज को–हजबेण्ड निर्माणका क्रममा पटक पटक गरी हुम्ला जिल्लामा बिताएको दुइ महिने कठिन दिनलाई सम्झेको छु । को–हजबेण्ड निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुहुने सबैमा हार्दिक धन्यवाद ।’
यसैगरी, क्यानडाको गेटवे फिल्म महोत्सवमा पनि आज नै को–हजबेण्डले प्रथम पुरस्कार अर्थात बेष्ट डकुमेन्ट्री फिल्म जितेको उनले जानकारी दिएका छन् ।
तनहुँ, १८ बैशाख ।
दुई साता देखी बेपत्ता भएका आमा छोरा अझै फेला परेका छैनन ।
दुई साता देखी बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन ।
राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपरेको बताए । श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरे पछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए ।
भारतको रोजगारीमा गर्दै आएका श्रीमान लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भए पछि नेपाल आएका थिए । आफान्तलगायत सबैतिर खोजी गर्दा पनि फेला नपरे पछि खोजि गरिदिन उनले अपिल गरेका छन् ।
काठमाडौं, १८ बैशाख ।
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आज देखी खुला हुने भएका छन् ।
भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानीनाकासहित अन्य चिनिया नाकाहरु पनि सोमबारदेखि खुला हुने भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरुप १८ वैशाख देखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् । मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो ।
जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकालगायत आजवाट खुल्नेछन् ।
चीनतर्फका नाका मध्ये मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाका भुकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारी पछि पुर्ण रुपमा सुचारु हुन सकेका थिएनन ।
चितवन, १८ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन् ।
चितवनमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।
‘केपी ओलीजी पुर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाँही विल्कुलै होइन। त्यो झुठो कुरा हो,’ प्रचण्डले भने । तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरु रहेको गर्नुभएको छ, त्यो चाँही निकै संवेदनशील बिषय हो, प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले आफनो सरकार पाँचै बर्ष टिक्ने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।