काठमाडौं, १९ वैशाख ।
भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको छ ।
उक्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिन्डर ३०९ रुपैयाँ घटेर आएको छ ।
हरेक १५/१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गर्दछ । जसअनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो । भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने नेपाली बजारमा भाउ घटाउने वा नघटाउने भनेर निर्णय गरिसकेको छैन ।
काठमाडौं–
नेपालले एसीसी प्रीमियर कपमा ऐतिहासिक जीत हासिल गरेको छ ।
नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै यूएईलाई ११७ रनमै रोकेपछि पाएको ११८ रनको लक्ष्यलाई नेपालले तीन विकेटको क्षतीमै भेट्टाएको हो ।
नेपालका गुल्सन झाले उत्कृष्ट ६७ तथा भिम सार्कीले ३६ रन बनाएपछि नेपाल ७ विकेटले विजयी भएको हो ।यो जीतसंगै नेपाल एसिया कपमा सोझै छनोट भएको छ ।गुल्सन झा र भीम सार्कीले चौथो विकेटका लागि गरेको साझेदारीका कारण नेपालले आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसियाकपमा स्थान सुरक्षित गरेको हो ।
कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स यूएईले दिएको ११८ को लक्ष्य पछयाएको नेपालले ३० ओभर ३ बलमा ३ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो ।
नेपालले ७ विकेटले जीत पार्दा गुल्सन झा र भीम सार्कीले जमेर प्रदर्शन गरे । नेपालका लागि मध्यम गतिका बलरको रुपमा चिनिएका अलराउण्डर झाले ८४ बलको सामना गर्दै ३ चौका र ६ छक्काको सहयोगमा ६७ रन बनाए ।

यस्तै भीम सार्कीले पनि ७२ बल खेलेर ४ चौकाको सहयोगमा ४६ रन बनाएर झासंग साझेदारीलाई खेलको अन्त्यसम्म जारी राखे ।
वर्षाका कारण हिजो रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल मंगलवार बिहान ९ बजेदेखि प्रारम्भ सुरु भएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल हेर्न हजारौं क्रिकेट प्रेमी भेला भएका थिए ।
काठमाडौं, १९ बैशाख ।
एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।
त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच सुरु हुनेछ ।
काठमाडौं, १९ बैशाख ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् ।
गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।
संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने छन् ।
सोही उपनिर्वाचनवाट बिजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।
बाँके, १९ बैशाख ।
नेपाल–भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ ।
भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज राती ७२ घन्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो । आगमी २१ बैशाखमा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुदैँछ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज राती १२ बजे देखी २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ ।
सोमवार निर्वाचनकाे सुरक्षा प्रयोजनका लागि ७२ घन्टाका लागि सिमा नाका बन्द गर्ने बिषयमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो ।
खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार साे समयमा दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्तीसमेत गर्नेछन ।
काठमाडौं, १९ बैशाख । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन् ।
एन्फा कम्पेक्समा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबल आज एक आपसमा भिडनेछन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
शिर्ष स्थानको जावलाखेल १३ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा छ भने पुलिसले १२ अंकमा सिमित छ ।
यसैगरी, च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेवाट नै सुरु हुनेछ ।
थ्रि स्टारले १३ वटा खेलवाट ६ वटामा जित हासिल गर्दै २२ अंक बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटारको १३ अंकमा सिमित छ ।
यस सिजनको लिगमा १४ वटा क्लब सहभागी रहेका छन् । यसपटक डबल राउण्ड रोविन प्रणालीका आधारमा लिगका खेलहरु भइरहेको छन् ।
गत १९ फागुनदेखि सुरु भएको लिगको पहिलो लेगका खेलहरु भने आइतबार मात्रै सकिएको हुन ।
काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोहि मूल्यमा यसको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो १७ पैसाले घटेको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको थियो।
मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५४ पैसा कम हो । सोमबार यसको खरिद मूल्य १६४ रुपैयाँ २५ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ एक पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।
मंगलबार पनि युएई दिराम, साउदी अरेबियन र मलेसियन रिंगिटको कारोबार रकम स्थिर रहेको छ । लगातार दुईदिनदेखि यि मुद्राको कारोबार रकम स्थिर रहेको थियो ।
जसअनुसार मंगलबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ४२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६ पैसा तोकिएको छ।
काठमाडौं, १९ बैशाख । भारतवाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मुल्यको बिवरण दिएको छ ।
निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो ।
डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि निगमले स्वचालित बिद्यीवाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।
काठमाडौं, १९ बैशाख । मिटर ब्याँज पीडित २९ दिन देखी धर्नामा बसेका छन् ।
काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।
पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।
२८ दिन देखी धर्नामा बसेका मिटर ब्याँज पीडितलाई भेटनका लागि हिजो पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेका थिए । उनले मिटर ब्याज पीडितहरुको माग राजनीतिक रुपमा सम्बोधन गर्न सुझाव दिएका छन् ।
‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरून्त राजनीतिक निर्णय गर्ने कुरा सरकारले गरोस्’ सो भेट पछि भट्टराईकाे सुझाव छ ।
मिटर ब्याँज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईसमक्ष गरेका थिए । उनीहरु गत चैत २९ गते काठमाडौंमा आई धर्ना सुरु गरेका हुन् ।
काठमाडौं, १९ बैशाख । आज दिनभरी जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवाश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।
‘देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मङ्गलबार पनि उस्तै हुनेछ । ‘मङ्गलबार पनि पहाडी क्षेत्रमा बर्षा हुनेछ भने तराईमा केही मात्रामा घटदै जानेछ, बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ”, उनले भने । उनका अनुसार बुधबारदेखि भने केही बर्षावाला माैसम कमजोर हुदैँ जानेछ ।
आज नेपाल र सयुक्त अरब इमिरेटस युएईका बिचमा साेमवार पुरा हुन नसकेकाे खेल आज हुदैँछ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाईरहेकाे बखतमा पानी पर्न सुरु गरे पछि राेकिन पुगेकाे थियाे । राेकिएकाे उत्त खेल सुरु गर्न पंतिक्षा गरे पनि पानी नराेकिए पछि दिउँसाे ३ बजे पछि आजसम्मका लागि स्थगित हुन पुगेकाे हाे । जुन खेल आज ९ बजेवाट सुरु हुदैँछ ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।