२०८३ जेष्ठ ८
२०८३ जेष्ठ ८

चितवन, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कसैसँग तालमेल नगरेको तथा एक्लै चुनाव लडेको बताएका छन् ।

 

चितवन–२ का उम्मेदवारसमेत रहेका लामिछानेले अन्य पार्टीसँग तालमेल गरेको तथा समर्थन गरेको भन्ने अफवाह फैलिएको भन्दै सो जानकारी गराएका हुन ।

 

‘राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलसँग तालमेल गरेको तथा समर्थन गरेको भन्ने हल्ला चलाईएको छ, यसमा कुनै सत्यता रहेको छैन,’ आइतवार बिहान फेसबुक लाइभमा बोल्दै लामिछानेले भने, ‘हामी तीनवटै निर्वाचन क्षेत्रमा एक्लै लडिरहेका छौं, हल्ला चलाउनेहरु पराजित मानशिकतामा पुगेका छन् ।’

 

लामिछानेले पराजित मानसिकता बोकेकाहरुले अफवाह र हल्ला फैलाएको जनाउँदै कुनै पनि भ्रममा नपरी घन्टी चुनाव चिन्हमा मतदान गर्न आग्रहसमेत गरेका छन ।

चितवन, १० बैशाख चितवनका मुख्य प्रतिस्पर्धी मानिएका तीन मध्य एकले मात्रै मतदान गरेका छन ।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मात्रै मतदान गरेका हुन । उनले चतुर्मुखी उच्च मावि शक्तिखोर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गरेका छैनन ।
नेका एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा  रहेको तथा रास्वपाका सभापति लामिछानको मतदाता नामावली काठमाडौंमा रहेको तथा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाएका हुन ।

 

चितवन– २ मा श्रेष्ठ, न्यौपाने र लामिछानेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

बारा, १० बैशाख । बारा–२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये तीनले भने मतदान गर्न नपाउने भएका छन् ।

 

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन ।

 

एमालेका पाैडेलकाे बारा–३ काे मतदाता रहेकाे, जसपा नेपालका यादवको सप्तरीमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन ।

 

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।

काठमाडौं, १० बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

 

कीर्तिपुरस्थित खेल मैदानमा युएई र र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ।

 

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

 

हिजो भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका थिए । साउदी अरेबियाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेर बिजयी भएको हो ।

काठमाडौं, १० बैशाख । प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ ।

 

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफमा भने लिभरपुलले सुरुवाती गोल हानेको थियो ।

 

लिभरपुलका डिएगो जोटाले  खेलको ४७औं मिनेटमा गोल हानेर लिभरपुलको अग्रता कायम गर्न सुरु गरे । तर, नटिङहमका नेको विलियम्सले ५१औं मिनेटमा गोल फर्काए पछि खेल १–१ को स्थीतिमा रहन पुग्यो ।
पुन जोटाले ५५औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे पनि मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल फर्काउदै खेल २–२ को बराबरीमा पु¥याएका थिए ।

 

अन्त्यन्त रोमाञ्चारकी उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्नतः मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–२ को जीत दिलाउन सफल भए ।

 

लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ ।

काठमाडौं, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ।

 

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो ।

पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

 

मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनी बुधवार देखी त्यहाँ उपचाररत रहेका छन ।

 

स्वास्थ्यमा सुधार आए पनि उपचार पछि कहिले स्वदेश फर्कने हो ? त्यो भने अझै टुंगो नलागेको दुतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ ।

काठमाडौं, १० बैशाख । उपनिर्वाचनका लागि मतदान सुरू भएको छ ।

 

निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजे देखी मतदान सुरु भएको हो । उसका अनुसार मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ ।

 

यसैगरी, बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहु–१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

 


बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

तनहु, १० बैशाख । आज हुने हुने उपनिर्वाचन प्रयोजनका लागि तनहुस्थित पृथ्वी राजमार्गलगायत स्थानिय सडकखण्ड बन्द हुने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने भएको हो ।

 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको सुचना अनुसार पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट मादी नदीको पुलको पश्चिम भागसम्म, डुम्रे–बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहनेछन् ।

 

‘दमकल, एम्बुलेन्स, खानेपानीका ट्यांकर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने छ,’ जारी सुचनामा उल्लेख गरिएको छ ।

काठमाडाै‌, १० बैशाख । आज अक्षय तृतीया ।

 

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजकाे तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनवाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ ।

 

आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएकाले आजकाे दिन  बिशेष रूपमा लिइने गरिन्छ । राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन् भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए।

 

यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारतलगायतका हिन्दु धर्मालम्बीहरूले जाैकाे सातु खाएर वा दान दक्षिणा दिएर याे पर्ब मनाउछन् ।

 

अक्षय तृतीयामा मुख्यत: सातु खाने चलन रहि आएकाे छ । यस दिनमा जाै‌ गहुँलगायतवाट बनेका सातु खाने चलन छ । यसले शितलतासमेत दिने भएकाले हिन्दु धर्ममा जाै‌लाइ पवित्र मानिन्छ । बढदाे गर्मीलाइ शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोकाे सातु खाने चलन छ ।

 

आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।

 

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।
भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।
हरेक वर्ष अक्षय तृतीयाका दिन सुनका गहना किन्ने चलन छ । यस दिन किनेको सुन सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । यस दिन किनेको वा लगानी गरेको सुन कहिल्यै समाप्त नहुने जनविश्वास छ । अक्षय तृतीयाको दिन भगवान विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम् रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ ।

 

यस पर्वमा सुन वा गरगहनाबाट बनेका नयाँ वस्तुको किनमेल गर्नुलाई निकै शुभ मानिन्छ । स्कन्द पुराणका अनुसार यस दिन गरेको शुभकर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुनेछ ।

 

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगलाई मत हाल्न जाँदा मोबाइल लैजाने देखी आफुले हालेको मत संकेत अरुलाई देखाएमा कारबाही गर्ने भएको छ ।

 

आज सम्पन्न हुन गईरहेको उपनिर्वाचनलाई भयरहित तथा निष्पक्ष रुपमा निर्वाचन गराउन १० बुदेँ निर्देशन जारी गर्दै आयोगले नाम ढाँटी अर्काको नाममा मतदान गर्न आउनेलाई कारबाहीसमेत गर्ने जनाएको छ ।

 

‘कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने’ आयोगको निर्देशनमा उल्लेख छ ।

 

निर्वाचन आयोगका अनुसार मतदानस्थलमा गर्न हुने तथा नहुने कार्यहरु यस्ता छनः
१. मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने ।

 

२. निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने÷गराउने ।

 

३. अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाउने ।

 

४. मतदान अधिकृतले दृष्टिबिहीन वा शारीरिकरूपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफै मत संकेत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्ने उपयुक्त व्यवस्था मिलाउने ।

 

५. दृष्टिबिहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मत संकेत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने कार्यमा सहयोग गर्ने ।

 

६. बुँदा नं. ४ र ५ मा उल्लेख भएदेखि बाहेक कुनै मतदाताले कुनै कारण देखाई सहयोगीसहित मतदान कक्षमा जान चाहेमा पूर्णरुपमा निधेष गर्ने ।

 

७. कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत संकेत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, मत संकेत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्र बाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने ।

 

८. निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई सुचारु गर्ने ।

 

९. मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कूल संख्या, खसेको मत, तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने ।

 

१०. मतदान प्रारम्भ भई सम्पन्न नभएसम्म कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउने ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।