चितवन, १२ वैशाख । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् ।
मंगलबार चितवनमा आयोजित धन्यवादसभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् ।
नेतृत्व सक्षम नभएमा हटाउने भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेततृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए ।
यसका लागि आफूहरु जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ । चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने लामिछानेको भनाइ छ ।
इन्दीप कोइराला
बारा, १२ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।
कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भईरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसंग प्रतिक्रिया दिनेछु । ’
यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन्’ । यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।
मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् ।
यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन् ।
काठमाडौं, १२ खारेज । ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ ।
एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो ।
अहिले प्रतिनिधिसभा बैठक बसिरहेकाे छ ।साेही बैठकमा उनकाे पद रिक्त रहेकाे सभामुख घिमिरेले जानकारी गराउन लागेका हुन् ।
रौतहट, १२ वैशाख । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माधवनारायण नगरपालिका-६ माधोपुर बस्ने २३ वर्षीय दिपेश भन्ने मन्त्रीबाबु राय र राजदेवी नगरपालिका-६ मोहनपुर बस्ने २१ वर्षीय राजा भन्ने राजाबाबु पटेल रहेका छन् ।
मन्त्रीबाबु रायले परोहा नगरपालिका-३ तेजापाकड बस्ने ३० वर्षीय पुरूषलाई गत शनिबार आफ्नो घरमा बोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरास्थितमा रहेको रक्सी भट्टी पसलमा लगेको र उक्त पसलमा ८/९ जनाको अज्ञात व्यक्तिहरुले ती पुरूषलाई अपहरण गरी बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्नुका साथै फिरौती वापत चार लाख रुपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पीडित र अपहरणकारीहको खोजी गर्ने क्रममा आइतबार बिहान पीडितलाई सर्लाहीको बलरा भन्ने स्थानबाट भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी अपहरणकारीमध्ये राजाबाबु पटेल र मन्त्रीबाबु रायलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्यमा बोल्दै उनले बैठकमा सांसदहरुले उठाएका प्रश्न र यसबारे सरकारले गरेका सम्बोधनको अवस्थालाई संसद सचिवालयकै वेबसाइटमा राखेर जनतालाई जानकारी गराउनुपर्ने माग गरिन् ।
‘सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उनले बैठकमा भनिन् ।
सदनमा सांसदहरुले कुरा उठाउने र सात दिनभित्र सम्बन्धित् मन्त्रीबाट जवाफ आउने कानुनी व्यवस्था भए पनि यसप्रति सरकार जिम्मेवार नभएको उनको आरोप छ । उनले ललितपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुनेबारेमा पनि सरकारसँग जवाफ मागेकी छन् ।
‘संसदमा आइपुग्न अर्बौं खर्च हुन्छ । एक दिनको संसदीय बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा भरोसा विश्वास नागरिकको हामीसँग जोडिएको हुन्छ । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन् । प्रतिनिधिसभा नियामावली २०७९ को नियम १५ को उपनियम २ मा स्पस्ट व्यवस्था छ, सात दिनभित्र सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्छ । तर, खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ ? नख्खु भैंसेपाटी सडक कहिले निर्माण/बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ ? यी प्रश्नहरुको जवाफ आएन सभामुख महोदय । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायि बनाउन आवश्यक छ । सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् ? भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उनले भनिन् ।
पोखरा, १२ वैशाख । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि मंगलबार तीन दिनको समय दिएर आह्वान गरेका हुन् ।
मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि मंगलबार प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि १४ वैशाख अपरान्ह ४ बजेसम्मको समय दिएका छन् ।
प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागिे आह्वान गरेका हुन् । उक्त आह्वानअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्रीमा दाबी गर्न सक्नेछन् ।
इन्दीप कोइराला
बारा, १२ वैशाख । तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ । तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् ।
तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार आठ सय ८३ मतले चौथो स्थानमा छन् । उनीभन्दा अगाडि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुश्ववाहा दोस्रो र एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन् ।
खरेलले कोल्हबी नगरपालिकाको ८ नम्बर वडामा अन्य दलका उम्मेदवारभन्दा बढी मत प्राप्त गर्दा करैयामाई र सुवर्ण गाउँपालिकाको वडामा प्रतिस्पर्धात्मक मत पाएनन् ।
इन्दीप कोइराला
बारा, १२ वैशाख । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पछि परेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई धन्यवाद दिएका छन् । उम्मेदवार पौडेलले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई मतदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।
‘निर्वाचन प्रचारको क्रममा क्षेत्र भरिका आदरणीय जनसमुदायसँग मत मागियो, नेकपा एमालेको तर्फबाट सफल निर्वाचन प्रचार अभियान चलाइयो । ठुलो संख्यामा मतदाताहरुसँग भेटघाट गरियो । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओली स्वयंम चुनावी कार्यक्रममा सहभागीता जनाउनु भयो । फेरि पनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन र अझ मेहनत गर्न भनिरहेको अवस्था छ,’ पौडेले भनेका छन् ।
‘अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाटकाँट देखिएको छैन । यो उपनिर्वाचनले जे जस्तो परिणाम दिए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिवाट आएको जनादेशलाई स्वीकार गर्दछौ र आफुलाई समीक्षा गरेर जुन सुकै अवस्थामा पनि आफ्नो जिम्वेवारीबाट पछि हट्दैँनौ । हामी आफुमा रहेका कमी कमजोरी हटाउदै आफैलाई पुनर्गठित गरेर अघि बढ्न संकल्पवद्ध छौ ।’ उनले फेसबुक लेखेका छन् ।
बैशाख १२
बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मत गणना जारी छ।
पछिल्लो परिमाणअनुसार जनता समाजावदी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलो बनाएका छन्।
जसपा अध्यक्ष यादव ११ हजार ४ सय ३५ मतका साथ अगाडि हुँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले ७ हजार ४ सय ६३ मतका साथ उनलाई पछ्याइरहेका छन्।
यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेल ४ हजार २ सय १५ मतसहित तेस्रो स्थानमा छन्। बारा २ को मतगणना जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा भइरहेको छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ आइतबार उपनिर्वाचन गरिएको हो।
कूल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो। उक्त निर्वाचन क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएका छन्।
यसैबीच उपनिर्वाचन भएका अन्य क्षेत्र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले विजयी भइसकेका छन् भने चितवन २ मा रास्वपाकै सभापति रवि लामिछाने फराकिलो मतान्तरका साथ अगाडि छन्। उनको जित निश्चित भइसकेको छ।
सभार नेपालखबर
काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ मंगलबार २९ पैसाले घटेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार घटेको हो। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो १० पैसाले घटेको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ एक पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको थियो।
मंगलबार बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३३ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसाले घटेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा कायम गरिएको छ ।
यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
मंगलबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा, र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८० पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४६ पैसा तोकिएको छ।