काठमाडौं, २१ बैशाख । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान गरेको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरेका हुन ।
एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली क्रिकेट टिमका नेपाल प्रहरीका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् करण केसी र गुल्सन झालाई बिशेष समारोहका बिचमा सम्मान गरिएको हो ।
खेलकुद समितिका अध्यक्षसमेत रहेका महानिरीक्षक कुँवरले नेपाली क्रिकेटलाई एसीयाली कपमा पु¥याउन योगदान गरेको भन्दै खेलाडीहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरेका हुन ।
काठमाडौं, २० वैशाख
सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याइएका हुन् ।
सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ । राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । उनी ३ वर्षअघि सचिव भएका हुन् ।
पोखरेलले अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभागलगायत निकायमा बसेर काम गरिसकेका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिवका रुपमा काम गरेका छन् ।
काठमाडौं, २१ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बाँकी भू–भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।



रौतहट,२० बैशाख ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री राम सरोज यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । मन्त्री यादवले बुधबार रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश संचार सम्मेलनमा संवोधन गर्दै सो कुरा बताएका हुन् । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रममा प्रदेश स्तरिय कार्यक्रममा बोल्दै मन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै खाँचो भएकाले वर्तमान सरकार लागि परेको बताए । संचारकर्मी र संचारमाध्यमका लागि हित अनुकुलका ऐन तथा कानुन पनि निर्माणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री यादवले धारणा ब्यक्त गरे । पत्रकारका समस्या आफुले बुझेको जनाउँदै उनले यस प्रदेशमा संचारकर्मीलाई सहयोग गर्न अक्षयकोषका लागि एक करोड रुपैयाँ माथिको सहयोग राशी आँउदो वर्षमा दिने समेत जानकारी दिए ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)को अवसरमा बुधबार विहान चन्द्रनिगाहपुरमा नेपाल पत्रकार महाँसघका पुर्वअध्यक्ष तारानाथ दहालसमेतको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गरिएको थियो । मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा विभिन्न क्षेत्रमा योगदान गर्नुभएका ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र पत्रकारिता विषयमा वक्ताहरुले चर्चा र छलफल भएको थियो । कार्यक्रममा रौतहट क्षेत्र नं– ४ का संघिय सांसद देवप्रसाद तिमलसिना,प्रदेश सांसद युवराज भट्टराईलगाएतका वक्ताले पत्रकार पेशालाई मर्यादित वनाउनेतर्फ ध्यान दिन जोड दिए ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिला सहित ६–६ जनाको सहभागि रहनुभएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काप्ले,कटहरियाका नगरप्रमुख अजयप्रकाश जयसवाल,रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,केन्द्रीय सदस्यद्वय शिवपुरी, केसि लामिछाने,मधेस प्रदेश महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्षसहितको सहभागिता रहेको थियो ।








आरके श्रीवास्तव,रौतहट,वैशाख २० गते
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नगर स्तरीय जनस्वास्थ्य प्रयोगशाला आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ५ मा रहेको स्वास्थय चौकी सन्तपुरको भवनमा एक कार्यक्रमका बिच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले समुद्धघाटन गरेकी हुन् । देश संघीयतामा गएसंगै सरकारले सबै ठाउँमा जनस्वास्थ्य प्रयोगशाला सामाग्रीहरु पुर्याउने नीति लिएको थियो ।

सोही नीतिको कार्यान्वयन गर्दै फतुवा बिजयपुर नगरपालिकाले बुधवार बाट नगरपालिकामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो । बुधवार आयोजित विशेष समारोहमा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख खातुनले प्रयोगशालाको उदघाटन गरिन् । नगरप्रमुख खातुनको विशेष पहलमा र स्वास्थ्य चौकी फतुवा बिजयपुर २ का इन्चार्ज रमेश यादवको सक्रियतामा प्रदेश सरकार र संघिय सरकारको सहयोगमा करिब ८० लाख बराबर ल्याब सामाग्री ल्याएर सो प्रयोगशाला सञ्चालनमा आएको हो । साथै कार्यवाहक नगरप्रमुख खातुनले नगर बाट पनि बजेट छुट्टयाएर प्रयोगशालालाइ व्यवस्थित बनाएर सञ्चालन गर्न लगाउनु भएको हो ।

सो जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले का.वा. नगर प्रमुख खातुनलाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् । भिडियो एक्सरे मेसिन सेवा सुचारु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पता लगाउन सहज हुने भएको छ ।

ल्याब सञ्चालनमा आएपछि ग्रामीण भेगका गर्भवती महिला,बृद्धबृद्धा लगायतका बिरामी लाभान्वित हुने भएका छन् । भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएछि नगर भरीका महिला, बृद्धबृद्धा लगायतका बिरामीलाइ थप सहज हुने नगर प्रमुख खातुनले बताइन् । यस अघि भिडियो एक्सरे र ल्याब सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ ।

सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाइ हुने जोखिम कम गर्न समेत सहयोग पुग्ने नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले बताउनु भयो ।

उक्त उद्धघाटन समारोहमा फतुवा बिजयपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादव,प्रदेश सांसद प्रत्यासी मो.शेराज,स्वास्थ्य संयोजक रघुनाथ साह,जिन्सी शाखा प्रमुख हिरालाल महतो,राजनितीक दलका प्रतिनिधीहरु,कर्मचारीहरु तथा स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

दाङ, २० वैशाख
दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको ज्यान गएको छ । थप दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश बिक छन् । उनी तुलसीपुर बसेर जापानी भाषा पढाउँदै आएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार महेश बुधबार साँझ ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नम्बर ६ स्थित विद्युत कार्यालय नजिकै रहेको जापानी भाषा सिकाउने आफ्नो कार्यालयको बोर्ड फेर्दै थिए । पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका महेशको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए ।
करेन्ट लागेर पुथा – १२ कक्शेरा फल्नेका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालिका– ४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् । उनीहरू दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
अर्जनु र मोनिका पनि तुलसीपुर– ६ मै डेरा गरी बस्दै आएका थिए ।

भक्तपुर, २० वैशा
उपराष्टपति राम सहाय यादवले नेपाल र चीन दुई देशवीचको सम्वन्ध जनस्तरसम्म नै कायम रहेको बताएका छन् । डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुरले सञ्चालन गर्न लागेको निःशुल्क शल्यक्रियाको बुधबार अस्पताल परिसरमा उदघाटन गर्दै उनले नेपाल र चीनवीचको सम्वन्ध सरकारीस्तरमा मात्रै नभई जनस्तरमासमेत प्रगाढ रहँंदै आएको बताए । त्यस अवसरमा उपराष्टपति यादवले चीनवीचको मित्रता गहिरो रहेको बताए ।

अस्पतालले वैशाख २० र २१ गते निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको छ । त्यसैको बुधबार उदघाटन गरिएको हो । यसअघि वैशाख ९ गते मोतीविन्दुका विरामीहरुका लागि निःशुल्क आँंखा शिविर सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त शिविरबाट लाभ लिएका विरामीहरुका लागि निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको हो ।

कार्यक्रममा अस्पतालका मेडिकल कोअर्डिनेटर डा जितेन्द्रप्रसाद सिंहले चीनको सन्चन् छाओछीग होइसँंग सहकार्य गरी अरनिको समाजले अस्पतालमा मोतिविन्दुका विरामीहरुको निःशुल्क आँंखा शिविर गरेको जानकारी गराए । कार्यक्रमका अन्य वक्ताहरुले पनि नेपाल चीन सम्वन्धबारे चर्चा गरेका थिए ।
काठमाडौं, २० वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

उनको अन्त्येष्टिमा सभापति लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ता, शुभेच्छुक पशुपतिस्थित आर्यघाट पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
