आरके श्रीवास्तव,गरुडा,वैशाख २१ गते
रौतहटको माधवनारायण नगरपालिकामा नयाँ हाकिमको रुपमा देवनाथ यादव हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा यादव हाजिर भएका हुन् । उनलाई नगर प्रमुख बैजनाथ प्रसाद यादव,उप मेयर निर्मला देवी रमन, वडाध्यक्षहरू,जनप्रतिनिधी लगायत कर्मचारीहरुले स्वागत गरेका छन् ।

यस अघि रौतहटको जिल्ला हुलाक कार्यालयमा यादव कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिष झा रह्नु भएको थियो । माधवनारायण नगरपालिकामा कार्यालय प्रमुख बारम्बार फेरिदाँ सेवा प्रवाहमा समस्या हुने गरेको छ । पटक पटक कार्यालय प्रमुख फेरिदा कामकाज गर्न समस्या हुने गरेको छ । आज हाजिर भएका यादव समक्ष वर्षभरीको काम दुइ महिनामै सकाउनु पर्ने चुनौती रहेको छ । यद्यपी नयाँ कार्यालय प्रमुख यादवले ती सबै चुनौतीहरुलाइ सामना गर्दै सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन् । सबैजना सँग समन्वय गरेर काम कसरी छिटो भन्दा छिटो सकाउन सकिन्छ त्यता तर्फ लाग्ने वहाँको भनाइ छ ।

आरके श्रीवास्तव,गरुडा,वैशाख २१ गते
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ३ भेल्ही निवासी डाक्टर अनिल साहलाई बंगलादेशका राष्ट्रपति मोहम्मद सहाबुद्दीनले “द प्रेसिडेन्ट (चान्सलर) तथा एकसेलेंसी स्वर्ण पदक” द्वारा सम्मान गर्नुभएको छ । बंगलादेशमा चिकित्क्षा शिक्षा अध्ययनको क्रममा अन्य देशका विद्यार्थीहरुलाई पछाडि पार्दै सर्वाधिक अंक ल्याइ बंगलादेशका राष्ट्रपतिद्धारा सर्वोत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भई सम्पुर्ण नेपालीलाई गौरवान्वित बनाउनु भएको छ ।
जिल्लाको भेल्हीमा जन्मिनुभएका डाक्टर साह बंगलादेशका राष्ट्रपतिबाट अन्तर्रास्ट्रिय स्तरको सम्मान पाउनु सबै नेपालीको लागि साच्चै गर्वको कुरा रहेको छ । बंगलादेशको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा ३ हजार ४० जना एमबीबीएसका विधार्थी मध्ये एमबीबीएस ग्रेजुएट तर्फ सबैभन्दा बढी अर्थात सर्वाधिक प्राप्तांक ल्याएको भन्दै नेपालको मेडिसीटी हस्पिटल काठमाडौंमा कार्यरत डाक्टर साहलाई उक्त पदक द्वारा सम्मान गरिएको हो । अन्तर्रास्ट्रिय स्तरमा नै देशकै सान बढाउनुका साथै देश विदेशमा अध्ययनरत विद्यार्थीहरुको समेत हौसला बढाउने काम गर्नु भएकोमा रौतहट निवासी कन्सल्टेन्ट युरोलोजिस्ट डा. अनिल साह लाई चौतर्फी बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
काठमाडौं, २१ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र ओलीबिच भेटवार्ता भएको हो ।
सो भेटवार्ताको बिषय भने खुलाईएको छैन ।
काठमाडौं, २१ वैशाख ।
पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।
बुटवलमा बुधबार पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट काठमाडौं ल्याइएको थियो ।
सोही घटनामा पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं, २१ वैशाख ।
परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् । उनी बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बेलायतमा रहँदा मन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिंघक दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको हो । परराष्ट्रमन्त्री साउद २६ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं, २१ वैशाख ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित भएको छ । केही दिनयता भइरहेको वर्षाका कारण भएको प्रतिकूल मौसमका कारण बिहीबार उडान प्रभावित भएको हो ।
प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर भएकाले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
जसकारण अन्तर्राष्ट्रियतर्फका केही विमान आकाशमै होल्ड भएका छन् भने अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विमानको समयमै उडान हुन सकेको छैन ।
विमानस्थल कार्यालयका अनुसार लुक्ला, सिमिकोटलगायत हिमाली क्षेत्र र दुर्गम क्षेत्रका विमाननस्थलमा उडान बन्द गरिएको छ ।
दार्चुला, २१ वैशाख ।
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव सदरमुकाम खलंगा ल्याइँदै छ ।
मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव भारतीय सडक प्रयोग गरेर खलंगा ल्याउन लागिएको हो ।
यार्सा टिप्न जानेक्रममा उनीहरु हिमपहिरोमा परेका थिए । लगातारको वर्षाका कारण नेपाली भूमि प्रयोग गरेर शव ल्याउन नसकिने भएकाले भारतीय सडक प्रयोग गर्न लागिएको हो ।
साथै सोही हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, २१ वैशाख ।
गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका व्यक्ति सबैको बालबालिका सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेको छ ।
‘सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्यले २० वैशाखको अजिरकोट गाउँ कार्यपालिकाबाट सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालबलिकाहरुलाई बाल कक्षादेखि कक्षा ८ सम्मका सामुदायिक विद्यालयमा भर्ना गराउने निर्यण भएको हुँदा सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।
काठमाडौं, २१ वैशाख ।
निजामती कर्मचारीहरूले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि धर्ना दिएका छन्।
संघीय निजामती सेवा ऐनको माग गर्दै उनीहरुले बिहीबार सिंहदरवारअगाडि धर्ना दिएका हुन् । कर्मचारी संगठनले सरकारले तत्काल संघीय निजामति सेवा ऐन ल्याउनुपर्ने माग गर्दै धर्ना दिएको हो ।
तर, निजामती कर्मचारीका अन्य संगठनले भने सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेकोले आन्दोलन कार्यक्रम फिर्ता लिएका छन् ।
काठमाडाैं, २१ वैशाख ।
देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीय विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, लुपिजेशिक ५ एम्पुल र फेनारागन ४ एम्पुलसहित झापा गौरादह नगरपालिका-७ बस्ने ३५ वर्षीय अशोक विकलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-२१ पार्वतीपुर बस्ने ३३ वर्षीय सबिन घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाकाे दमक नगरपालिका-९ बरगाछी नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ कृष्ण मन्दिर बस्ने ३० वर्षीय रोशन विश्वकर्मा र ३० वर्षीय कैलाश कुर्मी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।