काठमाडौं, २५ जेठ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भईरहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
काबुल, २५ जेठ ।
अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।
सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरवाहीका कारण भ्यान सडकबाट खसेको बताए।
‘चालकको लापरवाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ,चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने ।
दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन ।
काठमाडौं, २५ जेठ ।
रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ ।
अष्ट्रियाका सुरक्षा अधिकारीहरुका अनुसार एउटा सुरुङमा आगो लागेपछि उनीहरू सवार रहेको रेललाई बाहिर निकालिएको हो ।
यस घटनामा परेर करिब ४५ यात्रुलाई सामान्य चोटपटक लागेको छ भने धुवाँको मुस्लोका कारण उनीहरुको स्वास्थ्यमा प्रतिकुलता देखिएको छ ।
ह्याम्बर्ग र एम्स्टर्डमका लागि जाँदै गरेको ट्रेन बुधबार साँझ अस्ट्रियाको आल्प्सको इन्सब्रक सहर नजिकैको सुरुङबाट अघि बढिरहेको थियो, त्यसैबेला यसको ओभरहेड तार टुटे पछि आगलागी सुरु भएको हो ।
यात्रुहरू बोकेको उक्त ट्रेनले अटोमोबाइलका समानहहरू ओसारपसार गरिरहेको थियो र तीनै तारका केबलबाट आगलागी सुरु भएको थियो, रेलका स्थानिय प्रवक्ताले भने।
उक्त रेलमा आगलागी भएपछि १ घन्टा भन्दा बढी समय लगाएर आगो निभाईएको थियो, उक्त आगलागीमा परेर कोही पनि हताहत भने भएका छैनन ।
काठमाडौं, २५ जेठ ।
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट बाहिरिएपछि अर्जेन्टिनाका लिजेण्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् ।
३५ वर्षीय मेस्सीलाई साउदी अरेबियाको पक्ष अल हिलालबाट थप आकर्षक प्रस्ताव थियो जबकि फाइनान्सियल फेयर प्ले सीमितताका कारण बार्सिलोना फर्कन असम्भव भयो।
‘मैले युरोप छोड्ने निर्णय गरे,’ मेस्सीले अखबार डायरियो स्पोर्ट र मुन्डो डेपोर्टिभोलाई भने, ‘मैले मियामी जाने निर्णय लिएको छु,’
‘विश्वकप जितिसकेपछि र बार्सिलोनामा जान नसकेपछि फुटबललाई फरक तरिकामा बाँच्न र मेरो दैनिक जीवनको मजा लिने समय हो, उनले अगाडी भने, ‘अबको खेल स्पष्ट रूपमा उही जिम्मेवारी र जित्ने चाहनाको साथ, राम्रोसँग गर्न, तर थप शान्तसँग।’
पूर्व बार्सिलोना फरवार्ड यस गर्मीमा क्याटालान क्लबमा फर्कन उत्सुक थिए तर ला लिगामा अर्को सिजनको लागि लाग्ने एफफपी सीमितताहरूले उनलाई फिर्ता ल्याउन कुनै पनि महत्वाकांक्षी योजना बनाएनन् ।
उनले थपे, ‘यो सत्य हो कि मलाई अर्को युरोपेली टोलीबाट अफर आएको थियो तर मैले यो बारे सोचेको पनि थिइन किनभने युरोपमा मेरो विचार बार्सिलोना फर्कने मात्र थियो तर त्याे सम्भवः भएन ।’
मेस्सी स्पेनिस क्लब बार्सिलोनावाट २०२१ मा पिएसजी आएका थिए ।
काठमाडौ, २५ जेठ ।
वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ ।
इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इंग्लिस क्लब वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो ।
चेक रिपब्लिकमाको फोर्टुना एरिना प्राहामा बुधबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो ।
तर, दोस्रो हाफको ६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाउन सुरु गरेका थिए । तर, ६७औं मिनेटमा फियोरेन्टिना जियाकोमो बोनोभेन्चुराले गोल फर्काए पछि खेललाई १–१ को बराबरीमा रहन आयो ।
त्यसपछि अतिरिक्त समयमा जरोड बोवेनले गोल गरे पछि वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बन्न पुग्यो ।
काठमाडौं, २५ जेठ ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।
संघीय संसद भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ ।
बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहिवार पनि छलफल जारी रहने भएको हो ।
काठमाडौं, २५ जेठ ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।
उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ ।
सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन । बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ
रौतहट ,आजको पात्रो । २५ जेठ २०८०, बिहीबार ।
पञ्चमी, आषाढ कृष्णपक्ष
आज बिहान सूर्योदय ०५ः०८ मा हुनेछ भने सूर्यास्त ६ स् ५९ मा हुनेछ ।
तिथि ः पञ्चमी २२ ः ४९ बजेसम्म, त्यसपछी षष्ठी , नक्षत्र ः श्रवण २३ ः ०० बजेसम्म, त्यसपछी धनिष्ठा , योग ः ऐन्द्र २३ ः १० बजेसम्म, त्यसपछी वैधृति , करण ः कौलव १२ ः ०३ बजेसम्म, त्यसपछी तैतिल २२ ः ४९ बजेसम्म, त्यसपछी गर ,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज समयमा होस नपुग्नाले काम रोकिन सक्छ , तर लगनशीलताले कामहरू अगाडि बढ्नेछ । साँझमा आर्थिक लाभ पनि मिल्नसक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । पुराना मित्रहरूसँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । व्यावसायिक काम राम्रै हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अनावश्यक यात्रा हुनेछ । प्रेमी बिच खिन्नता बढ्न सक्छ । मनमा निराशा र शरीरमा आलस्य आउला, तर साँझमा कुनै कुराले मन खुसी हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
हाम्रो पात्रो
सागर संगम ठाकुर,रौतहट ,जेठ २४ गते
रौतहटको धरहरीमा देवाही गाेनाहीका नगर प्रमुख प्रेमलाल साहले सडक ढलानको शिलान्यास गरेका छन् । देवाही गोनाही नगरपालिकाको वडा नं.९ धरहरीमा नगर प्रमुख साहले सडक ढलानलाई बुधबार शिलान्यास गर्नु भएको हो । मधेश प्रदेश सरकारको कुल बजेट २५ लाखको लागतमा हुने ढलान कार्यको नगर प्रमुख साहले बिधिपुर्वक शिलान्यास गर्नु भयो ।
वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा नगर प्रमुख प्रेमलाल साहले धरहरी देखि दिपही जाने सडकको करिब २ सय १० मिटर ढलान कार्य हुने नगर प्रमुख साहले बताए । वडा अध्यक्ष वीर बहादुर साहका अनुसार सो सडको ढलान कार्य असारको २० गते भित्र संम्पन हुने गरि सुरु गरिएको बताउनु भयो ।
लामो समयदेखि यो सडकलाई ढलान गर्ने नगर प्रमुख साह र आफनो चाहना आज पुरा भएको वडा अध्यक्ष साहले बताए । नगर प्रमुख साहले यो सडक खण्डले गाउँ र स्कुललाई जोडने काम गर्छ । यसको प्रत्य रुपमा बिधार्थी र किसान दुवैलाई फाइदा हुँने बताए । साथै नगर प्रमुख साहले छिटै गाउँका सडकहरु पनि ढलान हुने बताए ।
वीरगन्ज, २४ जेठ
दलित जनप्रतिनिधिहरुको नेतृत्व विकास गराउने उद्देश्यले दलित सरोकार मञ्च कञ्चनरुप नपा–८ सप्तरीको आयोजनामा बिरगंज को राणी सती धर्मशालामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
गत जेठ २२ गते सोमबारका दिन देखि सुरु भएको नेतृत्व विकास तालिम जेठ २४ गते आज सम्पन्न भएको छ।कार्यपालिका सदस्य हरुलाई स्थानीय स्तरमा कामकाज गर्न सजिलो बनाउने उद्देश्यले, दलित कार्यपालिका सदस्यहरुको संजालका पदाधिकारी हरुलाई सो तालिम प्रदान गरिएको हो।

साथै दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुनेञजातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूलाई सो नेतृत्व विकास तालिम प्रदान गरिएको हो।
तालिमबाट स्थानीय तहमा नीति तथा कार्यक्रमको निर्माण कसरी गर्ने,दलितमैत्री बजेट तथा त्यसको कार्यान्वयन कसरी गराउने, नगरपालिकामा हुने हरेक खालका योजना छनौटमा दलित अगुवा र दलित जनप्रतिनिधिको सहभागिता गराउनु पर्ने,हरेक योजना छनौट गर्दा अपनाईने १४ ओटा चरण तथा योजना छनौट गर्दा दलितका योजना प्राथमिकीकरण गर्ने ,छुवाछुत अन्त्यका लागी दलित अगुवा तथा दलित जनप्रतिनिधिहरुले खेल्नु पर्ने भुमिका तथा दलित जनप्रतिनिधिले दलित समाजको नेतृत्व कसरी गर्ने र कार्यपालिका सदस्यहरुको कामकर्तव्य, हक अधिकारको बारेमा विशेष तालिम प्राप्त भएको सो तालिममा सहभागी भएका दलित जनप्रतिनिधिहरले बताएका छन ।
यस्तै प्रशिक्षक सोनेलाल चौधरीले नेपालको दलित आन्दोलनका बिषयमा जानकारी गराउँदै नेतृत्व क्षमतामा विकास नभएसम्म अधिकार प्रयोग गर्न नसकिने बताएका थिए ।
नेतृत्व क्षमतामा विकास हुन नसक्दा दलितहरु पछि परीरहेको बताउँदै उनीहरुलाई तालिमबाट असल अभ्यास र सिकाई तथा विचारको आदान– प्रदान को लागि हौसला प्रदान गरेको बताए। उक्त नेतृत्व विकास तालिममा रौतहट र सर्लाहीको विभिन्न पालिका गरी २८ जना कार्यपालिका सदस्य र १५ जना दलित अगुवा गरि जम्मा ४३ जनाको सहभागीता रहेको थियो।
तालिममा प्रशिक्षक सोनालाल चौधरी,रघु लामिछाने र दलित सरोकार मञ्च का कार्यकारी निर्देशक भोला पासवानले प्रशिक्षण दिएका थिए।तालिम पश्चात् आयोजक संस्था दलित सरोकार मञ्चले,मधेस प्रदेश सरकारका प्रदेश सभा सदस्य श्याम पटेलको प्रमुख अथितियतामा तालिममा सहभागी सम्पूर्ण जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्। प्रमाणपत्र हस्तान्तरण गर्दै प्रदेश सांसद पटेलले आफूले तालिममा प्राप्त गरेको ज्ञान पालिका बैठकहरूमा प्रयोग गरी उपलब्धि हासिल गर्न दलित कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन् ।
उनले दलितले अधिकार नपाएसम्म कुनै पनि पालिका समृद्ध नहुने बताउँदै यसका लागि कार्यपालिका सदस्यहरू नै जागरुक हुन आवश्यक रहेको पनि बताए । तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएका हुन्। मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागि यस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित सरोकार मञ्च नेपालले जनाएको छ ।
त्यसैगरी दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दलित कार्यपालिका सदस्यहरूका कुरा सुनुवाइ नहुने भएकाले सबै एक गठ भएर अघि बढ्न सुझाव दिए । उनले यस्ता तालिम कार्यक्रमले दलित कार्यपालिका सदस्यहरूलाई आफ्ना हक अधिकारबारे जानकारी गराउने भएकाले मञ्चले आवश्यक्ता अनुसार सञ्चालन गरिरहेको जानकारी पनि दिए ।

उनको भनाइ थियो जति दलित कार्यपालिका सदस्यहरू सक्रिय हुन सके दलित समुदायले अधिकार पाउने सम्भावना पनि उत्तिकै रहन्छ । कार्यक्रममा सहभागी दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीमध्ये धेरैले आफूहरूलाई अहिलेसम्म कसैले पनि यस्तो जानकारी नदिएकाले अन्योलमा परेको बताएका थिए
। आफूहरूले पालिकाबाट पाउनुपर्ने सुविधा नपाएको, भूमिका के हो, काम के गर्ने भन्नेबारे कुनै तालिम नपाएको बताउँदै उनीहरूले दलित समुदायका लागि फाइदा पुग्ने कामका लागि पालिकाहरूले बजेट दिनसमेत आनाकानी गरेका गुनासो गरेका थिए ।
बैठकहरूमा आफ्ना कुरा सुनुवाइ नै नहुने, सुनिहाले पनि त्यसमा बजेट नछुट्याउने र छुट्याइहाले पनि दलित समुदायका कार्यपालिका सदस्यलाई जानकारी नै नदिइ त्यस्तो बजेट वडाध्यक्षहरूले आफैँ सञ्चालन गर्ने गरेका भनाइ पनि उनीहरूले त्यस अवसरमा राखेका थिए ।

उनीहरूले कार्यपालिका सदस्यहरूमा पनि दलित समुदायका प्रतिनिधिलाई हेपिने गरेको, पालिकाहरूले गरेका निर्णय हेर्न र पढ्नसमेत नदिने गरेकाले पनि आफूहरू अपमानित महसुस हुनुपरेको उल्लेख गरेका थिए । दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा आयोजना गर्ने क्रममा जेठ २२ देखि २४ गतेसम्म वीरगन्जमा आयोजना गरिएको हो ।
यसअघि सप्तरी र सिरहाका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि सिरहाको मिर्चैयास्थित होटल होलिडेमा, महोत्तरी र धनुषाको जनकपुर (मसला कटेल) मा तथा रौतहट र सर्लाहीको रौटहटस्थित होटल तराई इनमा सम्पन्न भइसकेको छ । केही समयअघि यही संस्थाद्वारा आयोजित जिल्लास्तरीय दलित कार्यपालिका सदस्यहरूको भेलाले मधेस प्रदेशको प्रत्येक जिल्लामा जिल्ला सञ्जाल गठन गरेको थियो ।
यस्तो सञ्जालमार्फत दलित कार्यपालिका सदस्यहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई सशक्त तुल्याउने र कार्यपालिका बैठकहरूमा सशक्तरूपमा प्रस्तुत हुन मद्दत गर्ने कार्यकारी निर्देशक पासवानको भनाइ छ । पत्रकार वृजलाल पासवानले आफ्नो अधिकार आफैँ लिने प्रतिबद्धतासहित यो तालिममा संलग्न भएकाहरूलाई धन्यवाद दिँदै आफूले सिकेको ज्ञानको भरपुर प्रयोग गर्न सुझाएका थिए।
