आरके श्रीवास्तव,रौतहट,जेठ २५ गते
रौतहटको बृन्दावन नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गर्न थालेको छ । प्रत्येक वडाको किसानको लागि धान बिउ खरिद गरी कृषकलाई अनुदानमा बीउ वितरण गराउन लागेको हो । सरकारी फार्म बाट खरिद गरि ५० प्रतिशत अुनदानमा बीउ वितरण हुन लागेको नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बताउनु भयो ।
बृन्दावन नगरपालिकाको कृषकको लागि नेपाली विभिन्न जातका धान बिउ लगायत सोना मंसुली पनि वितरण भइरहेको मेयर कुर्मीले जानकारी गराए । बीउ अनुदानमा दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लाग्ने नगरप्रमुख कुर्मीको भनाइ छ ।
बृन्दावन नगरपालिकाका कृषकले माग गरेअनुरुप धानको बीउ विभिन्न ठाउँबाट बाट खरिद गरी वितरण गर्न लागेको हो । नगरपालिकाले दुई ठाउँमा नगरपालिकाको अस्थायी मुकाम हर्षहा र नगरपालिकाको कार्यालय हर्षहामा कर्मचारी राखि बिउ वितरण गराइरहेको मेयर कुर्मीले बताएका छन् ।
खेती गर्ने वेलामा राम्रो बीउ पाउन धेरै गाह्रो हुन्छ । राम्रो जातको बीउ पाउन सकेन भने लाखौं लाख लगानी गरिएको बाली नष्ट भई खेत बाझो हुने सम्भावना हुन्छ । त्यसैलाई मध्य नजर गरी नगरप्रमुख कुर्मीले कृषिमा आधारित कृषकलाई घरमै उच्च जातिका धानको बीउ उपलब्ध गराएपछि नगरबासीहरू हर्षित देखिएका छन् ।
आरके श्रीवास्तव,गरुडा,जेठ २५ गते
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन् । नगर प्रमुख कुर्मीले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण, बिधालयमा भवन निर्माणको साथै, नाला लगायतका कार्य धमाधम गराउन थालेका छन् ।
सो नगरपालिकाको वडा नम्बर ८ आकडपाथर टोलमा पक्की सडक ढलान कार्यको लागि तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ३० लाख लागतमा निर्माण हुने पक्की सडक ढलान कार्यको आज एक कार्यक्रम बिच नगर प्रमुख कुर्मी र वडाअध्यक्ष रवीन्द्र साहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
लामो समयदेखी सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर नगर प्रमुख कुर्मीले सो गाउँको मुख्य बाटोलाई ढलान गराएका हुन् । सडक ढलान भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।
सर्वसाधारणहरुलाई आवत जावत गर्न समेत सहज भएको छ । जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको नगर प्रमुख कुर्मीले बताएका छन् ।
जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने उनले बताएका छन् ।
आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,२५ गते जेठ
रौतहटको उतरी भेग चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर स्थित रहेको खानेपानी संस्थाको चुनावी सरगर्मी बढेको छ । चन्द्रनिगाहपुर खानेपानी संस्थाको आगामी जेठ २७ गते शनिबार हुने निर्वाचनको लागि सरगर्मी बढ्दै गएको देखिन्छ ।
खानेपानी संस्थाको नेतृत्व चयनको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । किशोर प्रसाद उपाध्याय नेतृत्वको समूह हाँस चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । भने लेखनाथ कोइरालाको नेतृत्वमा जेब्रा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
दुबै जना बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । किशोर प्रसाद उपाध्यायको प्यानल बिहीबार वडा नम्बर ६ का उपभोक्ता समक्ष भेटघाट तथा घरदैलो गरेका छन् । अर्का उम्मेदवार लेखनाथ कोइरालाको प्यानल बाट पनि उपभोक्ता समक्ष भेटघाट तथा घरदैलो गरेका छन् ।
चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचन समितिका संयोजक कृति सुवेदीले दिएको जानकारी अनुसार उम्मेदवारहरुले भोली शुक्रवार सम्म प्रचार प्रसार गर्न पाउने छन् । पर्सी शनिवार बिहान ८ बजे देखि ५ बजे सम्म मतदान हुने उनले जानकारी गराए हुन् ।
चन्द्रनिगाहपुर खानेपानी संस्थाको निर्वाचनमा लेखनाथ कोइराला प्यानलको तर्फ बाट उपाध्यक्षमा विश्वजित बन्जरा,सचिवमा रन्जन कुमार काफ्ले,कोषाध्यक्षमा मरछिया देवी,त्यस्तै सदस्यहरुमा कुल प्रसाद अधिकारी,खड्ग बहादुर न्यौपाने,मुना श्रेष्ठ गौतम,रामचन्द्र सिवाकोटी,नेहरुन नेसा,सत्भामा अधिकारी,त्यसैगरी महिला सदस्यहरुमा जुनकिरी बि.क.,यशोदा भट्टराइ रहेका छन् ।
यता किशोर प्रसाद उपाध्याय प्यानलको तर्फ बाट उपाध्यक्षमा डोलबहादुर ठाडा मगर,सचिवमा अबधेश हरि भट्टराइ,कोषध्यक्षमा बिनिता बखेल,सदस्यहरुमा बृजेश प्रसाद सािह,प्रह्लाद मैनाली,दुर्गा प्रसाद हुमागाइ,रामप्रसाद साह,बलराम सापकोटा,भरत प्रसाद अधिकारी रहेका छन् । त्यस्तै महलिा सदस्यहरुमा रत्ना कुमारी खड्का,कल्पना दाहाल,जानुका तिमिल्सिना रहेका छन् ।
काठमाडौं, २६ जेठ
नेपाली कांग्रेसको सचेतक पदमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले सांसद थिङलाई बिहीबार सचेतकमा मनोनयन गरेका हुन् ।

देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै थिङलाई सचेतकमा मनोनयन गरेको जानकारी दिएका छन् । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम पार्टी सभापति देउवाले थिङलाई सचेतकमा मनोनित गरेका हुन् ।

हेटौंडा, २५ जेठ
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन् ।
काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्केका हुन् । हेटौंडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिएका थिए ।

अस्पतालमा उपचाररत बिरामीसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । निरीक्षणपछि मन्त्री बस्नेतले देश भरिका अस्पतालले १० प्रतिशत सैय्या विपन्नका लागि छुट्याएर नि:शुल्क उपचार गर्नु पर्नेमा जोड दिएका थिए । देशका अधिकांश सरकारी अस्पतालले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समुन्वय नगरि नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’

जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने दावी गरे । कार्यक्रममा हेटौंडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका बिषयमा जानकारी गराएका थिए ।
त्यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका छन् ।
सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका बिषयमा जानकारी गराएका थिए ।
काठमाडौं, २५ जेठ
नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।
उनले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै अनलाइनबाटै गर्न सकिने जानकारी दिए । पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने धारणा राखेका थिए ।
थापाले तन्नेरीहरु बोकेर देश भए पनि त्यसबाट लाभ लिन नसकेको बताए । १०-१५ वर्षमा नेपाललाई विकास गर्न सकिने युवा जनशक्ति भएको बताए । देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेको थापाको निचोड छ । कांग्रेस सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको थापाले बताए ।
काठमाडौं, २५ जेठ ।
रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको उनले बताए ।
सदनमा ल्याएर विधेयकमाथि छलफल चलाएको भए महिलाप्रति गरिएको विभेद अन्त्य गर्न र उक्त विधेयकप्र्रति स्वामित्व लिन चाहेको भन्दै लामिछानेले नागरिकविहीन जनताले नागरिकता पाउनुपर्नेमा आफूहरुको स्पष्ट धारणा रहेको बताए ।
काठमाडौं, २५ जेठ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिमले दक्षिण अफ्रिका पुगिसकेको छ । १६ जेठमा नेपाली टिम पुगेको थियो भने २२ जेठमा सन्दीप लामिछाने गएका थिए ।
भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाई बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुईवटा तयारी खेल खेल्नेछ । बिहीबार नै नेपालले स्कटल्यान्डसँग र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
काठमाडौं, २५ जेठ ।
राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासन सँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
जनवर्गीय संगठनहरु व्यापक तयारीमा जुटेको तथा शुक्रबारको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने उनले बताए ।
विराटनगर, २५ जेठ ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने बताएका छन् ।
बिहीबार विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् ।
भारतले हालै आफ्नो नयाँन् संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटेका बेला उनले सो बताएका हुन् ।
लिम्पियाधुरा, लिपुलेकमाथिको नेपालको अधिकार कसैले खोस्न नसक्ने भन्दै उनले नेपालले हक र परिकल्पना प्रयोग गर्दा भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्ने बताए ।