२०८३ श्रावण २५
२०८३ श्रावण २५

 

काठमाडौं, २८ जेठ

अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायानाथ रारा नगरपालिका–३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिका पठाउँछु भनेर ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कि ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले २ जनालाई माल्टा पठाउँछु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। श्रेष्ठले अमेरिका पठाउने भन्दै ६ लाख २१ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

 

काठमाडौं, २८ जेठ । 

राप्रपाको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय प्रजातान्त्रिक भूतपुर्व सैनिक संगठनको महाधिवेशनको उद्घाटन समारोहमा नेपाली सेनाका अवकाशप्राप्त एक दर्जनभन्दा बढी जर्नेलहरु सहभागी भएका छन् ।

 

संगठनको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न अवकाश प्राप्त मेजर जनरलहरु गजेन्द्र लिम्बू, समीर शाही, शशी बहादुर सिंह, कुबेर थापा, अप्रा उपरथीहरु नरबहादुर कँडेल, सुवर्ण बहादुर शाह, निरज पौडेल, भरत खड्का, अप्रा सहायक रथीहरु प्रेमसिंह बस्न्यात, बाबुकृष्ण कार्की, प्रदीप अधिकारी लगायत अवकाशप्राप्त एक दर्जन बढी जर्नेलहरु, तीन दर्जन बढी महासेनानी, सेनानीहरु पुगेका थिए ।

 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समय नेपाली सेनामा रहि योगदान दिएका अवकाशप्राप्त सैनिक अधिकारीलाई देश बचाउने र देश बनाउने राप्रपाको अभियानमा जोडिन आग्रह गरे ।

‘विचार, भावना र दृष्टिकोणमा एकरूपता भएकाहरू सहकार्य गर्दै सबल राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बेला आएको छ, देश बाहिरी आँखाले देखेजस्तो मात्रै छैन, एकजुट भएर अघि बढौं, हामीसँग समय धेरै छैन,’ अध्यक्ष लिङ्देनले भने ।

अवकाशप्राप्त सैनिक अधिकारीहरु कुनै  राजनीतिक दलको कार्यक्रममा एकैसाथ सहभागी भएको सम्भवतः पहिलोपटक भएको राप्रपाको दाबी छ ।

 

काठमाडौं, २८ जेठ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ ।

पूर्वबाल लडाकुसहितले प्रधानमन्त्री प्रचण्ड र डा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि उनको राजीनामा मागिएको हो ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नैतिकताका आधारमा पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा  दिनुपर्ने माग गरेका हुन् ।

 

प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने भन्दै उनले तत्काल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर अदालतलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

‘प्रतिनिधिसभा नियमावलीको २०६९ को नियम २६ अन्तर्गत प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा हाजिर हुन भनेर तारेख पर्चा पनि काटिसकेको छ। म यहाँ सोध्न चाहन्छु– ३० गते प्रधानमन्त्री अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्ड भएर ? युद्ध अपराधको मुद्दामा अदालतमा जाने कुरा.. यो देशले अपराध गरेको होइन ? व्यक्तिले गरेको हो ? त्यो भएर, म सम्मानीय सभामुखमार्फत् सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन,’ सांसद शाहीले भने ।

 

शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका माधव सापकोटाले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरी यी कुराहरू राख्नुभयो। उहाँले प्रधानमन्त्रीलाई एकोहोरो गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो। उहाँले बोलेको कुरा रेकर्डबाट हटाइयोस्,’ सांसद सापकोटाले भने ।

 

यसपछि सभामुख देवराज घिमिरेले दुवै सदस्यको भनाइप्रति ध्यानाकर्षण भएको भन्दै बैठक अघि बढाए ।

 

डोटी, २८ जेठ

डोटीमा सेती नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।

जिल्लाको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ वर्षीय तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले बताए । खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा मृत्यु भएको हो ।

डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको खोजिकार्य पछि शव फेला परेको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, २८ जेठ ।

सांसद राजीव गुरुङ (दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो ।

फिल्ममा ‘लाखे’ फेम्ड निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । सम्राट नेपाली फिल्म क्षेत्रका द्वन्द्व निर्देशकका रुपमा परिचित छन् ।  निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो basnetsamrat99@gmail.com तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ । उनले यो समयसीमा असार ७ गतेसम्म रहेको बताए ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।

यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स(यूके)को सहकार्य हुनेछ । फिल्ममा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।

फिल्मको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । फिल्ममा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन् ।

 

बुटवल, २८ जेठ

बुटवल उपमहानगरपालिका–११ देवीनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरूको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पर्स लुटपाट गर्ने उद्देश्यले ढुंगाले टाउको लगायतका अङ्गहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।

 

चितवन, २८ जेठ 

भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासमा भ्यागुताको विवाह गरिएको छ ।

लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिस आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन् ।

आज भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरिएको छ । शनिबार पनि भरतपुर–९ काँडाघारी टोलमा भ्यागुताको विवाह गरिएको थियो ।

बाजागाजा र नाँचगानसहित गरिएको विवाहमा ठूलो संख्यामा मानिसको सहभागिता रहेको थियो ।

विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै भ्यागुताको बिहे गरेका हुन् ।

 

वीरगन्ज, २८ जेठ

वीरगन्जमा सडकको नाला सफा गर्ने क्रममा विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला परेको छ ।

आइतबार बिहान साढे ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका-१० मा डोजर प्रयोग गरेर नाला सफा गर्ने क्रममा फोहोरमा प्लाष्टिकको झोलामा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ ।

जनप्रतिनिधिको रोहबरमा झोला खोल्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

 

काठमाडौं, २८ जेठ

पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा १६ बाटुलेचौरस्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थापालाई उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

नवलपरासी, २८ जेठ

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफूले सुरु गरेको विकासका कामको परिणाम देखिन थालेको बताएका छन् । उनले नवलपरासी १ को विकासका लागि व्यवस्थित रुपमा कामको सुरुवात भएको बताए ।

आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिवद्धतापूर्ण रुपमा यो क्षेत्रको विकासका लागि काम गरेका छौं । म निर्वाचित भएको ६ महिनामै त्यसको परिणाम तपाईहरु सबैले देख्नुभएको छ ।’

नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले चुनावी प्रतिवद्धता कार्यान्वयनमा आफू इमान्दार भएको बताए । ‘यहाँका नागरिकले मलाई निर्वाचित गराएर ऋण लगाउनुभएको छ । मतदाताको ऋण म सधैं सम्झिरहेको  छु । चुनावी प्रतिवद्धता कार्यान्वयनका लागि एउटा सिस्टमको निर्माण गरेको छु र उपलब्धीलाई संस्थागत गर्न म सदैव सक्रिय छु,’ उनले भने ।

उनले वर्षौदेखि समस्याका रुपमा रहेको गण्डक आयोजनाको कामले तीब्रता पाएको बताए । ‘हरेक वर्ष मनसुन आउने वित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो । अहिले ८० करोडको लागतमा बिसौं वर्षसम्म विग्रेर रहेका बाँध तथा ठोकरहरुको मर्मत सम्भारको काम तीब्रताका साथ अगाडि बढेको छ,’ उनले थपे, ‘सरोकारवालाहरुले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुवान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टरप्लान निर्माण कार्य अगाडि बढेको छ ।’

सांसद चौधरी निर्वाचित भएपछि नारायणघाट–बुटवल सडकखण्डको निर्माण कार्यले तीब्रता पाएको छ । ५४ महिनाको दौरानमा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत यो सडकखण्डमा पछिल्लो एक महिनामा तीन प्रतिशत बढि काम भएको छ । अबको आठ महिनाभित्रै नवलपरासीखण्डको सडक निर्माण सम्पन्न हुने प्रतिवद्धता ठेकेरदार कम्पनीले आफूसँग गरेको सांसद चौधरीले पत्रकार सम्मेलनमा बताए ।

त्यस्तै तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्गको काम अगाडि बढेको सांसद चौधरीको दावी थियो । ‘विभिन्न प्रकारका अवरोधको भूमरीमा परेको हुलाकी राजमार्गको काम अहिले अगाडि बढेको छ । विगतमा एकले अर्कालाई दोषारोपण गर्ने काम भएको थियो । अब  यो काम सुचारु भएको छ,’ उनले भने ।

उनले केराको उत्पादन, बीउ र बजारीकरणका विषयमा पनि आफूले काम गरिरहेको बताए । विगतमा  केराको वीउ अर्को मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेकोमा नवलपरासीमै वीउ  उत्पादन हुन थालेको सांसद चौधरीले उल्लेख गरे ।

हरेक महिना आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने चौधरीले विकासका आयोजना र कामका बारेमा सरोकारवाला पक्षसँग संवाद गर्ने गरेका छन् । विकास निर्माणका काममा भएका प्रगति र समस्याका बारेमा उनले छलफल गर्दै आएका छन् ।

‘म हरेक महिना जिल्ला आउँदा विकास निर्माणका कार्ययोजनाका विषयमा छलफल र संवाद गर्ने गरेको छु । कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरोकारवाला निकायसँग सहजीकरणका लागि सबैसँग सामूहीक छलफल गर्ने गरेका छौं,’ उनले भने, ‘आँखामा केवल विकासको लक्ष्य लिएर अगाडि बढेका छौं । हामीले विकासमा काममा पार्टी हेरेका छैनों,  न व्यक्तिको अनुहार ।’

चुनावका बेला ६ महिनामा भूमीहीनलाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता कार्यान्वयनमा आइसकेको उनको भनाई थियो । त्यस्तै नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपनि अदालतमा मुद्धा परेका कारण कार्यान्वयनमा आउन ढिलाई भएको प्रष्ट पारे । उनले नवलपरासी १ को विकासका लागि परियोजनाको छनौट गरेको र त्यसमध्ये १५ गौरवका आयोजनाको चयन भएको बताए ।

पत्रकार सम्मेलनमा कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्यले सांसद चौधरीको जितपछि व्यवस्थित रुपमा विकासको काम अगाडि बढेको बताए । उनले विगतमा विकास निर्माणमा हुने अवरोधलाई हटाएर सांसद चौधरीले सबै पक्षसँगको समन्वयमा काम गर्ने गरेको बताए ।

बर्दघाट नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद सापकोटाले नवलपरासीको विकासका लागि सांसद चौधरीले स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न उर्जा थपिएको बताए । उनले भने, विकासमा जुन सपना देखाउनुभएको छ, त्यसलाई हामी सबैले सहयोग गर्नेछौं । उहाँ यो निर्वाचन क्षेत्रमा आउनु गौरवको यो विषय हो हामी सबैका लागि । नदेखिने खालका विभिन्न समस्याहरु थिए, त्यसलाई उहाँले सम्बोधन गर्नु भएको छ,‘ उनले भने ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।