काठमाडौं, २ जेठ ।
निर्वाचन सम्पन्न भएको पाँच महिना पछि संसदीय समितिका बैठक बसेको छ ।
सिंहदरवारस्थित संघीय संसदको कार्यालयमा आज एकै पटक १० वटा बिषयगत समितिहरुको बैठक सुरु भएको हो । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजेवाट एकैपटक सुरु भएको हो ।
गत मंशिर ४ गते निर्वाचन सम्पन्न भएको पाँच महिना नाघिसक्दा पनि अझैसम्म बिषयगत समितिका बैठक बस्न समेत सकेको थिएन । अघिल्लो अधिवेसनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा बिषयगत समितिमा रहने सदस्यहरु मनोनयन भए पछि आज पहिलो बैठक बसेको हो । आजको पहिलो बैठक भने समितिमा रहेका जेष्ठ सदस्यले सभापतित्व गरिरहेका छन् ।
जेष्ठ सदस्यले सभापतित्व गरिरहेको समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रुपमा परिचय आदान प्रदान हुने र समितिमा आगमी दिनमा हुने छलफल र अजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
काठमाडाैं, २ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ ।
साे भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका पेस संयाेजक शेखर अधिकारीले जानकारी दिए ।
उनका अनुसार ‘आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु । सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु,’ प्रधानमन्त्रीले भने ।
जवाफमा सभामुखको भनाइ थियो, ‘सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन चाहन्छु । आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएका छन् । संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ । सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’
काठमाडौं, २ जेठ ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रिय सदस्य आरजु राणा सम्बन्धी अडियो झुटो भएको बताएका छन् ।
सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसुन’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन् ।
‘आरजु राणाको नाममा आएको अडियो झुटो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झुटो भएको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ, त्यस्को सत्यतथ्य अझै बाहिर आएको छैन्, यो आउनु पर्छ भनेर भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नु भएको छ ।’
मगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेको महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापुर्वक लिएको पनि जनाएका छन । ‘बालकृष्ण खाँणजी माथी पनि अनुसन्धान जारी रहेको छ, उहाँमाथी पनि छानबिन जारी छ, सो छानबिन पछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उनको प्रतिक्रिया थियो ।
सो बिषयलाई लिएर पार्टी भित्र कुनै बिबाद नभएको पनि उनको भनाई छ । ‘महामन्त्रीहरुले पनि त्यसवारेमा कुनै फरक मत राख्नु भएको छै्रन, पार्टी निर्णय प्रति उहाँहरु प्रतिबद्ध रहनु भएको छ’ उनले भने ।
काठमाडौं, २ जेठ ।
रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् ।
उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।
विश्वकर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले डिलबहादुर विश्वकर्मासहित ८ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, २ जेठ ।
सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्दैछ ।
जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरुलाई सो बैठकमा सहभागी हुनका लागि निम्ताे दिएका छन् ।
सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको हो ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सो गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेका छन् ।
काठमाडौं, २ जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापतित्व ग्रहण गरेका छन् ।

आज देखी सुरु भएको प्रतिनिधिसभाका १० बिषयगत समिति मध्ये कांग्रेस सभापति देउवाले कानुन समितिको अध्यक्षता गरेका हुन ।
उनले जेष्ठ सदस्यको नाताले सो समितिको सभापतित्व ग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी राजनीतिक दलका अध्यक्ष मध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने राज्य व्यवस्था समितिको बैठकको सभापतित्व ग्रहण गरेका छन् ।
रौतहट , जेठ १ गते ।
रौतहटको अधिकांश पालिकामा जनप्रतिनिधिबीचको विवादका कारण विकास निर्माणको काम प्रभावित भएपनि गरुडा नगरपालिकामा विकास निर्माणका कार्य गति लिएको छ । जिल्लाका अधिकांश पालिकामा यतिखेर जनप्रतिनिधिहरु अर्थात मेयर, उपमेयर र वडा अध्यक्षहरुबीच बजेट भागबण्डामा सहमति हुन नसक्दा विकास निर्माणका कामहरु अगाडि बढ्न सकिरहेका छैनन तर गरुडा नगरपालिकाका नगर प्रमुख (मेयर) कन्थमनी प्रसाद जयसवालले सबै पक्षलाई समेटेर नगरमा विकास निर्माणका कामलाई निकै जोरसोरले अगाडि बढाएका छन् ।

मेयर जयसवालले गरुडा नगरपालिका वडा नं. १ जयनगर, वडा नं. ६ पोठियाही लगाएतका विभिन्न वडामा यतिखेर सडक ढलान कार्यलाई तिव्रता दिएका छन् । नगरपालिकाको १२ लाख रुपैँयाको लागतमा वडा नं. १ जयनगरमा १४ सय १४ फिट चौडाइ, १ सय २८ मिटर लम्बाई तथा ८ ईन्च मोटाई ढलान हुने उक्त सडक ढलान कार्यको सोमवार आयोजित एक कार्यक्रमकाबीच मेयर जयसवालले शिलान्यास गर्दै शुभारम्भ गरेका हुन ।

मेयर जयसवालले वडा नं ६ पोठियाहीमा समेत २ सय २ मिटर लामो पक्की सडक ढलान कार्य शुरु गरेका हुन् । नगरस्तरीय विकास कोषबाट १५ लाख रुपैंयाको लागतमा पोठियाहीमा तन्की साह कानुको घरदेखि विरेन्द्र साह कानुको खेतसम्म १२ फिट चौडाई र ८ इन्च मोटाई सडक ढलान कार्य भइरहेको नगर प्रमुख जयसवालले बताए ।

वर्षौदेखी पक्की सडक नहुँदा खासगरी वर्षाको समयमा हिलोको कारण स्थानीयहरुलाई आवतजावत गर्न निकै कठिनाई हुँदै आएकोले आफुले स्थानीहरुको आवतजावतमा कुनै समस्या नहोस भन्ने उद्देश्यका साथ सडक ढलान कार्यलाई तिव्र गतिमा अगाडि बढाएको उनले बताए ।सडक ढलान भएपछि आम नागरिकलाई हिड्डुल गर्न तथा आवतजावत गर्न सहज हुने उनले बताए । पक्की सड्क ढलानले गाउँको वर्षौदेखिको समस्या समाधान हुने भन्दै स्थानीय निकै हर्षित हुँदै मेयर जयसवाललाई धन्यवाद दिएका छन् ।

प्रेमचन्द्र झा,जेष्ठ ०१ गते रौतहट ।
गौर भन्सार कार्यालयको प्रमुख वासु नेपाल जागिरको अन्तिम समयमा पैसाका लागि जे सुकै जस्तोसुकै हरक्त गर्न तयार रहेको कुरा मल लिलामीले पुष्टि गरेकोछ । भन्सार प्रमुख नेपालले व्यापारीसंग सेटिड्ग गरेका कारण पनि राजश्व कम उठने गरेको पुरानो आरोप समेत आज भएको मल लिलामीले पुष्टि गरेको हो ।
सोमवार दिउसो ४स्३० बजे सम्म कार्यालयमा थिएन कार्यालय प्रमुख नेपाल । जागिर अवधि थौरै रहेका कारणले पनि उनी बढि सयम व्यक्तिगत लाभ र एसमौजमा बढि समय बिताउने गर्दछन ।मल लिलामीको लागि तस्करसंग सेटीङ्ग चन्द्रनिगाहपुरमा भएको हो ।उनी कार्यालयमा नभएका कारण शिबहरि निरौलालाई निमित तोकिएका थिए ।हाकिम साहेव चपुर जानू भएको भन्सार कर्मचारीहरुले एक स्वरमा बोलेका थिए ।
अवैधरुपमा भित्रिएको रासायनिक मल गौर भन्सार कार्यालयले व्यवसायीको मिलेमतोमा न्युन दर रेट कायम गरी सोमबार लिलाम गरेका छन । गौर भन्सार कार्यालयमा दाखिला रहेको मल भन्सार प्रमुख नेपालले आर्थिक चलखेलका कारण हतारमा लिलाम गरी तस्करलाई नै जिम्मा लगाएको आरोप छ ।

बजार मूल्य भन्दा आधा मूल्याङ्कन गरी भन्सार प्रमुखले लिलाम प्रकृया गरी भन्सार एजेन्टमार्फत तस्करलाई जिम्मा लगाएको स्थानीयको आरोप लगाएका छन । जिल्ला प्रहरी कार्यालय रौतहटले राजपुर नगरपालिका–५ स्थित घरबाट १ हजार ३ सय बोरा मल बरामद गरेको थियो । युद्व लडे झै ज्यान जोखिममा लिएर प्रहरीले सो मल उठाएका थिए ।मल आइतबार गौर भन्सार कार्यालयमा दाखिला गरिएको थियो ।
भन्सार दाखिला भएको मलको बजार मूल्य करिब २० लाख रुपैयाँको रहे पनि गौर भन्सार कार्यालयका प्रमुख वासु नेपाल, नायब सुब्बा रेवती रोक्कालगायतले आर्थिक चलखेल गरी १० लाख रुपैयाँमै चन्द्रपुरका व्यवसायीमार्फत मल तस्करलाई नै जिम्मा लगाएको हो। अवैध चोरीपैठारीको माध्यमबाट भित्रिएको अन्य समानलाई सुरक्षाकर्मीले बरामद गरी भन्सार दाखिला गर्दा लिलाम गर्न महिनौँ लगाउने भन्सारले हतारमा मल लिलाम किन गरे व्यवसायीहरुको आरोप छ ।

सुरक्षाकर्मीले विवादका बीच अवैध चोरी निकासीको समान बरामद गरी भन्सार दाखिला गर्दा अन्य वस्तुमा समेत न्युन भन्सार दर राखेर लिलाम प्रक्रिया गर्ने गरेकाले उनीहरुको मनोबल हतोत्साहित हुँदै गएको देखिन्छ ।
अत्यधिक न्युन रकम राखेर भन्सारले मल लिलाम गरेको प्रहरी स्रोतले बताए। गौर भन्सार कार्यालयका निमिय प्रमुख शिवहरी निरौलाले मल लिलाम भएको बताए । आफूहरुले कुनै तस्करसँग साठगाठ गरी लिलाम नगरेको उनले बताए । कार्यालय प्रमुख वासु नेपाल र सुचना अधिकारी रेवती रोक्कासंग पटक पटक सम्पर्क गर्दा हुन सकेन ।
प्रेमचन्द्र झा,जेष्ठ ०१ गते रौतहट ।
धार्मिक अगुवा सरोकारवाला र अपाङ्गता भएका व्यक्ति विच सम्वाद भएकोछ ।
जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या यादवको प्रमुख उपस्थितिमा आपाङ्गता भएका व्यक्तिसंग संवाद भएको हो ।

अन्तर धार्मिक सञ्जालका अध्यक्ष अनिसु रहमानको अध्यक्षतामा भएको समवादमा जनकी घिमिरे साह ,रिता कुमारी ,दिपक श्रेष्ठ सहितले हिन्दु ,मुस्लिम र ईसाई धर्मका मानिसले मिलेर बस्न सबैले सिक्नु पर्छ प्रतिवद्वता गरेका छन ।

उमेर पुगेपछि बिना दाइजो (विना ढेउआ के )विवाह गर्ने रामलाल पासवान ,ओम प्रकाश पासवान सहितकालाई सम्मान गरिएको थियो ।कार्यक्रममा वल्ड भिजन र चिरन नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

आरके श्रीवास्तव,गरुडा,जेठ ०१ गते ।
रौतहटको फतुवा बिजयपुरमा हैण्डपाइप जडानमा द्धिवेदी निर्माण सेवाको बदमासी गरेको पाइएको छ । सो नगरपालिकाको वडा नम्बर २ मा द्धिवेदी निर्माण सेवाले चापाकल गाडने जिम्मा पाएको हो । तर उसले आफनो मनलाग्दी तरिकाले कल जडान गरिरहेको स्थानियहरुले गुणासो गरेका छन् । सो नगरपालिकाको वडा नम्बर २ मा स्थानिय मन्जुर सोनार,मंगर मुखियाको घरमा चापाकल १ सय २० फिट मात्रै चापाकल जडान भएको पाइएको छ ।

स्थानिय तहलाइ जानकारी नै नदिइ आफनो मनलाग्दी जथाभावी तरिकाले हैण्डपाइप जडान गरिरहेको पाइएको छ । सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय सँग बुझदा आफूलाइ यस बारे जानकारी नै नदिइ २ सय फिट सम्म जडान गनृुपर्ने कल १ सय २० फिट सम्म नै कल जडान गरि रहेको स्थानियहरुले आफू समक्ष गुणासो गरेको सुुनाए । उनले समन्वयकारी भूमिका निर्वाह नहुँदा चापाकल जडानमा लापारवाही भएको बताए ।

उनले स्थानीय निकायसँग समन्वय नगरिएको कारण यस्तो दुरुपयोग भइरहेको बताएका छन् । चापाकल जडानमा चरम दुरुपयोग भइरहेको पाइएको छ । क–कसको नाममा चापाकल आएको हो त्यसको नामावली समेत सार्वजनिक गरिएको छैन् । गुपचुप तरिकाले उक्त निर्माण सेवाले कल गाड्ने काम गरिरहेको बुझिएको छ । संघिय सरकार खानेपानी मन्त्रालय बाट जडान हुने चापाकलको दुरुपयोग भइरहेको स्रोतले जनाएको छ ।

चापाकल जडान गर्दा उद्देश्यअनुरूप नगरी आर्थिक लाभ हुने गरी काम गरिरहेको देखिन आएको छ । यस विषयमा निर्माण सेवाका सञ्चालक दिलिप चौरसिया सँग बुझदा कागज देखाउन मानेका छैन्न् । भने पेटी ठेकेदार सुनिल कुमार साहले जवाफ दिन भाग्न खोजिरहेका छन् ।

उनले कागज देखाउन नमान्दा स्थानियहरुले बजेट पचाउने मनसायले दिन नमानेको आरोप लगाएका छन् । स्थानियहरुले सम्बन्धित निकायलाइ यता तर्फ ध्यानकर्षण गराउन खोजेका छन् ।
