राैतहट,३० गते जेठ
रौतहटका ३ जना नाबालक श्रमिकको भारतबाट उद्दार गरि आफन्तलाइ बुझाइएको छ । सामुदायिक बिकाश तथा सचेतना नेपालको पहलमा र भारत स्थीत एक गैर सरकारी संस्था तथा भारतिय प्रहरीको समन्वयमा भारतको मुम्बईको एक ब्याग उद्योगका कार्यरत ३ जना नाबालकको उद्दार गरिएको हो । उद्दार गरिएका बालकहरुलाइ मंगलबार एक कार्यक्रम गरि परिवारलाइ जिम्मा लगाइएको सामुदायिक बिकाश तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलिप कोइरालाले जानकारी दिनुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडामा आयोजित कार्यक्रममा राजपुर नगरपालिकाका एक जना,बृन्दावन नगरपालिकाका १ जना र यमुनामाइ गाउपालिकाका १ जना गरी ३ जना नाबालकहरुलाइ परिवारको जिम्मा लगाइएको कार्यकारी निर्देशक कोइरालाले जानकारी दिनुभएको छ ।
यो सहित गत साउन यता २३ जना बाल श्रमिकहरुको भारतबाट उद्दार गरेको कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा सेवा केन्द्र गरुडाकी प्रमुख प्रसनि फुल माया गुरोले अब देखी यी बालबालिकालाइ बालश्रम नगराउन र पठनपाठनको लागी बिद्यालय पठाउन परिवारलाइ आग्रह गरेकी छिन ।
राैतहट,३० गते जेठ
राष्ट्रिय तथ्याङ्क कार्यालयले जाति, भाषा र धर्म सम्बन्धिको तथ्याङ्कमा आदिवासी मगर जाति भित्रको एक प्रमुख थर मध्ये ’पुन’ जातिलाई छुट्टै गणना गरेको भन्दै नेपाल मगर संघले विरोध जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मातहतमा रहेको सो कार्यालयले २०८० जेष्ठ १९ गते जारी गरेको तथ्याङ्क त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई तुरुन्त सच्याउन माग गरेको छ ।
मंगलबार संघको रौतहट कार्यसमितिले इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाउँदै मगर जातिसँग यथोचित परामर्श नगरी हालसम्म एक ढिक्का रहेको मगर जातिलाई फुटाउने दुरासयाले पुनको छुट्टै संख्या निकाल्ने कार्य अक्षम्य गल्ति भएको भन्दै यसलाई सच्याउन प्रधानमन्त्रीले निर्देशन दिन माग गरेको छ ।
‘आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सुचिकृत संख्यात्मकहरुमा सबैभन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जाति भित्रको एक प्रमुख थर मध्ये ’पुन’ हो र यो पुन छुट्टै जाति नभएर मगर समुदाय भित्रकै एक महत्वपूर्ण थर भएको तर नेपाल सरकार अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयमा लिखितरुपमा पटकपटक ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाउँदा बुझाउँदै पनि हामीसँग यथोचित परामर्श नगरी हालसम्म एक ढिक्का रहेको मगर जातिलाई फुटाउने दुरासयाले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ति भएको छ ।
सम्माननीय प्रधानमन्त्री मातहतको निकाय जस्तो उच्च निकायले गरेको गम्भीर त्रुटीले हाम्रो समाजमा भौतिक, मानसिक र नैतिक समस्या सृजना गरेको छ । सरकारको यस प्रकरको त्रुटिले मिलेर बसेको मगर समुदायमा द्वन्दको बिजारोपण भएको हुनाले तुरुन्तै सच्याउन हुन् हार्दिक अनुरोध गर्दछौ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा इतिहास, भूगोल, भाषा संस्कृति भेषभुषा, रहनसहन र प्राचिनताको हिसावले पुनहरु मगर जाति भित्रको एक प्रमुख थर भएको हुनाले ३ दिन भित्र पुन जाति भनि सार्वजनिक गरिएको ९ हजार ८२७ को संख्यालाई तुरुन्तै मगर जातिको संख्यामा गाभ्न प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अन्यथा आफ्नो जातीय पहिचान र अस्तित्वका लागि सशक्त आन्दोलनमा जाने चेतावनी पनि दिइएको छ ।
नेपाल मगर संघ जिल्ला कार्य समिति रौतहटका अध्यक्ष शेर बहादुर थापा मगरको नेतृत्वमा गएको टोलीले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख झरेन्द्र प्रसाद चापागाइलाई ज्ञापन पत्र बुझाएको हो । कार्यक्रममा नेपाल मगर संघका प्रस्वावित केन्द्रिय सदस्य धन बहादुर थापा मगर , प्रदेश सदस्यहरु डोल बहादुर ठाडा मगर , कुमार अस्थानी मगर, जनजाति महासंघ रौतहटका अध्यक्ष नरेन्द्र राना मगर, जिल्ला कमिटी सदस्य अनिल कुमार सारुमगर लगायतका मगर अगुवाहरुको सहभागिता रहेका थियो ।

काठमाडौं, ३० जेठ ।
काठमाडौं महानगरपालिका-११ भोटेवहाल शान्तिमार्ग बस्ने शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
महोत्तरी, ३० जेठ ।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौं, ३० जेठ ।
पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सुनुवाइ सर्वाेच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
प्रचण्ड र बाबुराम भट्टराईले नेतृत्वको गरेको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेर ‘युद्ध अपराध’ गरेको जिकीर गर्दै विष्टसमेतले प्रचण्ड र बाबुरामलाई ‘युद्ध अपराध’को मुद्दा चलाउनुपर्ने र आफूहरुमाथि लगाइएको ‘अयोग्य लडाकु’को बिल्ला हटाउनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा आइतबार रिट दर्ता गरेका थिए ।
उक्त मुद्दामा मंगलबार सुनुवाइ हुन लागेको हो । रिटमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाबुराम भट्टराई, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायलाई विपक्षी बनाइएको छ ।
मुकेशकुमार यादव ,सिरहा २६ जेठ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको लापरबाहीले सिरहा सुपर मार्केट प्रालिले सञ्चालन गरेको एवीमलको गोदामममा आगलागी भएको चार महिना बितिसक्दा पनि बिमाबापतको रकम पाउन सकेको छैन । बिमा कम्पनीले खटाएको सर्भेयरले समयमा सही रिपोर्ट नदिँदा मर्कामा परेको सिरहा सुपर मार्केट प्रालिका सञ्चालन जाकिर अन्सारीले बताए।
आगलागी भएकै दिनदेखि इन्स्योरेन्स कम्पनीको सम्पर्क र समन्वयमा रहेर सर्भेको जिम्मा लिएको सीमेक कन्सल्टेन्सी प्रा.लि. माग गरेको सवै आवश्यक कागजातहरु उपलब्ध गराउँदासमेत चार महिनापछि पूर्वाग्रही तरिकाले रिपोर्ट दिएको मलका मुख्य कार्यकारी अधिकृत पिन्टु राउतले बताए ।
कार्यकारी अधिकृत राउतले भने, ‘हामीले हाम्रो गोदाममा रहेको सामाग्रीहरुको तीन करोड ६८ लाखको माग दाबी गरेको भए पनि सर्भेयरले मनोमानी ढंगले ४६ लाखमात्र मूल्यांकन गरेको छ । यो उहाँहरुले गरेको मूल्यांकन हचुवाको छ ।’
आफ्नो गोदाममा अझै पनि आगलागीबाट जलेका सामाग्रीहरु सुरक्षित राखिएको बताउँदै कार्यकारी अधिकृत राउतले भने, ‘हाम्रो गोदाममा अझै पनि आगलागीका कारण जलेका र काम नलाग्ने सबै सामाग्रीहरु सुरक्षित छन् । म स्वतन्त्र रुपले अन्य सर्वेयरहरुलाई पनि आएर मूल्यांकन गर्न अनुरोध गर्छु । हाम्रो मलले चार वर्ष देखि सगरमाथा इन्स्योरेन्स कम्पनीलाई प्रत्यक वर्ष ६ लाख रुपैयाँको दरले प्रिमियम बुझाउँदै आएको छु । अहिले उनीहरुले गरेको मूल्यांकनले त्यहि हामीसँग लिएको रकम नै फिर्ता गर्नेगरी मूल्यांकन गरेको जस्तो भान भइरहेको छ।’
यसले इन्स्योरेन्स कम्पनी र सर्भेयर कन्सल्टेन्सीले मिलेमतोमा क्षति मूाल्यांकन गरेको आशंका गरिएको छ । गत २९ माघमा सिरहा सुपरमार्केट प्रा.लि.द्वारा सञ्चालित एवीमलको गोदाममा आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, फर्निचर, किचेन लगायतका तिन रोड ४२ लाखभन्दा बढीको सामाग्री जलेर नष्ट भएको दावी गरेको छ । तर, इन्स्योरेन्स कम्पनीले हायर गरेका सर्भेयरले इन्स्योरेन्स कम्पनीलाई खुसी पार्ने मनासायसहित तथ्यहिन, पूर्वाग्राही भएर मूल्याङ्कन गरेको राउतको आरोप छ ।
मार्केटको रेट पनि नदिई ३७ लाख बराबरको मूल्यांकन रिर्पोट पठाएको भन्दै उनले भने, ‘भवितव्य केही घटना, दुर्घटना भए तत्कालै राहत पाइने आशमा इन्स्योरेन्स गराएँ । तर, राहत दिनुको सट्टा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सि.मेक कन्सलटेन्सीका कर्मचारीले ममाथि अन्याय नै गरे ।’ तर, आफूलाई न्यायोचित बिमाबापतको रकम नदिए दुवै कम्पनीविरुद्ध कानुनी संघर्ष गर्ने उनको भनाइ छ ।
बिमा कम्पनी र कम्पनीको तर्फबाट हायर भएका सर्भेयरका कारण आफू मार्कामा परेको सिरहा सुपरमार्केटका सञ्चालक जागिर अन्सारीले बताए ।
‘लुम्बिनी इन्स्योरेन्स कम्पनीले हायर गरेको सर्भेयर कम्पनी सि.मेक कन्सल्टेन्सी प्रा.लि.लाई हामीले सबै डकुमेन्ट बुझाएको चार महिना बितिसक्दा पनि ताकेता गरेनन् । सर्भेयर कम्पनीले वास्तापनि गरेनन्। तर, हामीले त्यसपछि सर्भेयर र इन्स्योरेन्स कम्पनीलाई हारगुहार गरेपछि चार महिनापछि तपाईंले पठाएको डकुमेन्ट अपुग छ भन्यो । पुनः सबै सच्याएर पठाउन भन्दै आलटाल गरे ।’
आगलागीका बेला जनकपुर, मिर्चैयाका र गोलबजारको मलमा बिक्रीका लागि ल्याइएका सामाग्रीहरु काम नलाग्ने गरी जल्नुका साथै कार्यालय प्रायोजनका लागि रहेका सर्वर कम्युटर, सीसीक्यामेरा, एसी मेसीनलगायतका सामाग्री पनि जलेको जनाएको छ ।
आगलागी भएको बेलाको सीसीटिभिलगायतका आवश्यक कागजातलाई बेवास्ता गर्दै सर्भेयर र इन्स्योरेन्स कम्पनीको मिलोमतोमा माग दाबी गरेको रकमको १० प्रतिशत मात्र मूल्यांकन गरी पठाइएको गुनासो छ
उनीहरुले प्रतिवेदनमा माग दाबीअनुसारका कागजात पूरा गर्न नसकेको, आगो लागेरभन्दा पनि आगो निभाउने क्रममा सामानहरु क्षति भएको र म्याद सकिएका सामाग्रीहरु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यता सिरहा सुपर मार्केटले भने गोदाममा रहेका सामाग्री बिक्रीयोग्य नगरहेकाले सबैको बिमा दाबी गर्दै आएको छ । कम्पनीले सवै सामानहरु पूर्णरुपमा नजलेपनि धुवाँको दाग, धुवाको गन्धका कारण बिक्रीयोग्य नरहेको बताउँदै आएको छ। कम्पनीले बिक्रीयोग्य नभएकाले सबै सामाग्रीको बिमादावी गरेको छ । सीमेक कन्सल्टेन्सी प्रा.लिका सर्भेयर शेरबहादुर बुढाले स्थलगत रिपाेर्टिङ गरेर क्षति भएकाे बिलकाे आधारमा मूल्यांकन गरेकाे जानकारी दिए । ‘हामीले स्थलगत निरीक्षण गरी जे जति क्षति भएकाे देखियाे साेहीअनुसारकाे मूल्यांकन गरेकाे हाे,’ उनले भने, ‘करिब सात दिन लगाएर गरिएकाे स्थलगत निरीक्षण गरी क्षति भएकाे बिलकाे आधारमा मूल्यांकन गरेकाे हाे ।’
लमजुङ, ३० जेठ ।
लमजुङको राईनास नगरपालिकाले पर्यटन प्रवर्द्धनका साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरेको छ । राइनास नगरपालिकाको वाड ९ र १० को गौरबको योजना अन्तर्गत स्थानीयको जिबनस्तरलाइ उकास्न पर्यटक लक्षित साइकल ट्रेलको निर्माण गरेको हो ।
वडा नं. ९ र १० लाई जोड्ने गरी निमार्ण गरिएको साइकल ट्रेल तथा पदमार्गको औपचारिक उद्घाटन गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका निम्ती आकर्षण थप्दै साइकल यात्रा सहित नगरप्रमुख खड्ग बहादुर गुरुङले उक्त साईकल ट्रेलको उद्घाटन गरेका हुन् ।
साइकल ट्रेल औपचारिक उद्घाटनका अवसरमा लमजुङ र अन्यत्र जिल्लाका गरी २१ जनाले साईकल यात्रा गरेका थिए । साइकल यात्रीहरुले राईनास वडा नं. १० को प्यारजुंग भन्ज्याङदेखि जोगिगुफा, साल्मेकोट लामागाउँ, गोरखनाथ मन्दिर, कोकेगाउ, घुरसापे, दरबारगढी, पात्लेपानी, राइनासकोट हुदै सिद्ध गुफा भएर भक्ति थापा पार्क मोहोरियाकोट सम्म साइकल यात्रा गरेका थिए ।
राइनासको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने लक्ष्य सहित नगरपालिकाले भक्तिपार्क देखि प्यारजुङ भञ्ज्याङ सम्म साइकल ट्रेल तथा पदमार्ग निर्माण गरेको हो । उक्त ट्रेल तथा पदमार्ग निर्माणलाई चालु आर्थिक वर्षको गौरवको योजनाको रुपमा लिइएको छ ।
राइनास नगरपालिका वडा नं. ९ को १० लाख र वडा नं १० को ६ लाख गरि १६ लाख रुपैयाको लागतमा ट्रेल तथा पदमार्ग निर्माण भएको हो । साइकल ट्रेल र पदमार्ग निमार्णमा स्थानियको १० प्रतिशत जनश्रमदान रहेको छ । सो क्षेत्रका धार्मीक, पर्यटकीय तथा ऐतिहासीक स्थलहरुको प्रवर्दन तथा संरक्षणका निम्ति ट्रेल तथा पदमार्ग निर्माण गरिएको राईनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए।
साइकल ट्रेल र पदमार्ग निमार्ण समितिका अध्यक्ष धुव्र गुरुङले लमजुङमा पर्यटन प्रवद्र्धनमा नयाँ कामको थालनी भएको भन्दै यसले राइनासको मात्र नभई सिंगो लमजुङको पर्यटनमा प्रवद्र्धन हुने बताए ।
राइनास ९ को भक्ती थापा पार्क देखि, राइनासकोट, हुँदै वडा नं १० को पात्लेपानी ऐतिहासीक दरबार, कोकोगाउँको गोरखनाथ मन्दिर, लामा गाउँको साल्मेकोट जोगी गुफा, क्याभ्रे भञ्ज्याङ हुँदै प्यारजुङ भञ्ज्याङ सम्म करिव ६ किलोमिटर साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
सिओल, ३० जेठ ।
दक्षिण कोरियाको स्वशासित प्रान्त जेजुमा रहेका नेपालीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष कोटाको माग गरेका छन् ।
दक्षिण कोरियाको आइल्याण्ड क्षेत्र जेजुमा रहेको क्षेत्रीय समितिले उपाध्यक्षसरह हुने गरी केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चिता माग गरेको हो । एनआरएनए जेजु प्रान्त क्षेत्रीय समितिको बैठकले लामो समयदेखि एनआरएनको केन्द्रीय समितिमा आफूलाई वेवास्ता गरिएकाले विधान संशोधन गरेर जेजुको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिलाई प्रस्ताव गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । दक्षिण कोरियामा एनआरएनएको एउटै कमिटी रहेकोमा जेजुमा रहेका नेपालीले प्रान्तीय समिति पनि गठन गरेका हुन् । बैठकले दक्षिण कोरियाको सदस्यतावापत बुझाउनुपर्ने रकमको पचास प्रतिशत जेजु कार्यसमितिले खर्च गर्न पाउनुपर्ने निर्णय गरेको छ ।
कोरियाको सदस्यताका लागि २० हजार कोरियन बोन बुझाउनुपर्ने व्यवस्था छ । जेजु प्रान्तीय समितिले क्षेत्रीय कार्यालय व्यवस्थापन र नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि सदस्यताको पचास प्रतिशत रकम आफूले खर्च गर्न पाउनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो ।
जेजु प्रान्तको अधिवेशन जुन १८ मा गर्ने निर्णय भएको छ । क्षेत्रीय कार्यसमितिको निर्वाचनमा एनआरएनको सदस्यता दर्ता प्रक्रियामा भाग नलिएको भएपनि निर्वाचनमा भाग लिन पाउनुपर्ने र कार्यसमितिको उम्मेदवारले भने अनिवार्य सदस्यता दर्ता गरेको हुनुपर्ने निर्णय बैठकले गरेको हो ।
काठमाडौं, ३० जेठ ।
चलचित्र आदिपुरुष रिलिज हुनुअघि नै चर्चामा रहेको छ । आउने साता ६५०० स्क्रिनमा रिलिज हुन लागेको यो मेगा फिल्मको फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए ।
यस्तो अवस्थामा फिल्मको अग्रिम बुकिङ सुरु भएको छ । यो चलचित्रलाई लिएर फ्यानहरुको उत्साह अग्रिम बुकिङबाट मात्रै थाहा पाउन सकिन्छ ।
बुकिङ खुल्ला भएको मात्र २ दिनमा यस फिल्मको ४५ हजार टिकट बिक्री भएको छ । यो देखेर यो फिल्मले दर्शकको धेरै माया पाउने देखिन्छ ।
आइतबारदेखि आदिपुरुषको अग्रिम बुकिङ सुरु भएको हो । त्यसपछि फ्यानले पनि टिकट किन्न ढिला गरेनन् । बक्स अफिस रिपोर्टका अनुसार यो मेगा फिल्मको पिबिआरवाट २१ हजार ५०० टिकट बिक्री भइसकेको छ भने आइनक्समा यो चलचित्रको १४ हजार ५०० टिकट बिक्री भइसकेको छ भने सिनेपोलिसमा ९ हजार टिकट बिक्री भइसकेको छ ।
यसरी यो फिल्मका लागि सोमवारसम्म जम्मा ४५ हजार टिकट बिक्री भइसकेको छ । जसलाई उत्कृष्ट सुरुवात मानिएको छ । यसैबीच, बिहीबारको अन्त्यसम्ममा ३ लाख ५० हजार देखि ४ लाख टिकट बिक्री हुने अनुमान गरिएको छ ।
भैरहवा, ३० जेठ ।
नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ ।
विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुदै काठमाण्डौ जाने छ, यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेकाे हाे ।
नेपाल एयरलाइन्सको मलेसिया– भैरहवा–काठमाडौंको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउदैन । ४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जाने छ ।
निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ । विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन, जजिरा एयरलायन्स र हिमालय एयरलाइन्सले केही अन्तराष्ट्रिय उडान गरेपनि अहिले रोकिएको छ ।