किभ, ३२ जेठ ।
युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।
रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।
उक्त हमलामा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
आक्रमणबाट धेरै घर, पसल र गोदाममा क्षति पुगेको छ । रुसी सेनाले सो क्षेत्रमा प्रहार गरेका नौवटा क्रुज मिसाइल र ड्रोनलाई भने युक्रेनी सेनाले खसालिएको दिएको छ ।
क्षेत्रीय प्रशासनले कालो सागरबाट भएको आक्रमणमा समुद्रबाट प्रहार गरिएका चारवटा कालिबर क्रुज मिसाइलहरू समावेश भएको बताएको छ।
रोम, ३२ जेठ ।
ग्रीसको तटीय क्षेत्रमा सयौं आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।
सोही समयमा दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।
मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुंगामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए ।
राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ । सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्छन्। ग्रीसका अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् । अधिकारीहरुका अनुसार डुङ्गा लिबियाको टोब्रुकबाट गएको थियो ।
यसअघि संयुक्त राष्ट्रसंघले ग्रीसको पाइलोसमा डुङ्गा पल्टिएपछि ३२ जनाको शव निकालिएको ट्वीट गरेको थियो । खोजी र उद्धार प्रयास जारी छ र धेरै हताहत भएको आशंका छ। प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा ४ सय जना सवार थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले डुङ्गा डुबेको घटनालाई भयानक भएको बताएका छन् ।
काठमाडौं, ३२ जेठ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा बिहान ११ बजे सो बैठक बस्नेछ ।
आजको बैठकवाट मन्त्रालयगत रुपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
काठमाडौं, ३२ जेठ ।
संसदीय सुनवाई समितिले न्यायधिस हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।
लामो समय देखी कार्यबहाक प्रधानन्यायधिसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो ।
संवैधानिक परिषदले भावी प्रधानन्यायधिसमा सिफारिसमा परेका कार्कीलाई उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजाे छलफल गरेकाे थियाे ।
काठमाडौं, ३२ जेठ ।
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकि भू-भागमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशको एक दुई स्थानमा लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,३१ गते जेठ ।
चन्द्रपुर । रौतहटको चन्द्रपुरमा चोरीको घटनामा बृद्धि भएपछि स्थानियवासी हैरान भएका छन् । चन्द्रनिगाहपुर आसपासको बस्तिमा चोरीका घटना बढ्दै जान थालेको स्थानियहरुले बताएका छन् ।
रातीको समयमा घर घरबाट मोवाईल लगायत सरसमान चोरी हुन थालेको छ । चोरी गर्ने गिरोह सक्रिय रहेको स्थानियहरुको भनाइ छ ।
गर्मीको बेला घरको झ्याल खोलेर सुत्ने भएपछि त्यसको फाईदा उठाउदै चोरहरुले लौरोको सहायतामा मोवाईल चोर्ने गरेको स्थानियको गुनासो छ ।
गएको सोमबार राती स्थानीयवासी विसाल तिवारीको सुतिरहेको बेला मोवाईल चोरी भएको थियो ।
स्थानीयहरुले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रातीको समयमा मोवाईल गस्ति लाई कडा पार्न माग गरेका छन् ।
इप्रका चन्द्रनिगाहपुरका डिएपी एकनारायण कोईरालाले साना तिना चोरीका घटनामा संलग्न चोरहरुलाइ प्रहरीले चाडै नियन्त्रणमा लिने बताएका छन् । यस भेगमा पछिल्लो समय मोटरसाईकल र मोवाईल चोरीका घटनामा बृद्धि भएपछि स्थानियवासी त्रसित छन् ।
आरके श्रीवास्तव,चन्द्रपुर समाचारदाता,३१ गते जेठ
प्रभु साह निकट आइटि आर्मीले चन्द्रपुर सहितको जिल्लाको अधिकांश स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आज विभिन्न स्थानीय तहहरुलाई आम जनताको दैनिक जनजीवनका कठिनाई एवं समस्याहरुको सहज समाधान गर्न तथा पालिका र पब्लिक बिच परस्पर सुखद एवं सुमधुर सम्बन्ध स्थापित गर्ने गराउने उदेश्यका साथ विभिन्न माग एवं ध्यानाकर्षण सहितको ज्ञापन पत्र पेश गरेको छ ।

जिल्लाको चन्द्रपुर,गरुडा,कटहरिया सहित करिब १३ वटा पलिकाहरुमा सम्बन्धीत नगर कमिटिले ज्ञापन पत्र बुझाएको आईटी आर्मीका मधेश प्रदेश अध्यक्ष नरेश साह तुरहाले जानकारी गराउनु भयो ।
ज्ञापन पत्रमा बजेटको भागबन्डा बन्द गर, पानी बिजुली फ्री गर,गरीब दलितलाई आवासको व्यवस्था गर,किसानलाइ पेन्सन देउ,आमजनता जिन्दावाद,घुस कमिसन बन्द गर,दलतन्त्र मुर्दाबाद ,आम जनताको लोकतन्त्र ,भगौडा दलाल मुर्दावाद नाराहरू लगाउँदै पालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

यस्तो छ ज्ञापन पत्र
उपरोक्त सम्बन्धमा, अहिले देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको कुरा तपाई हामी सबैलाई सर्वविदित नै छ । यस आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ ।
यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणालीमा आश्रित कृषि रहेको, व्यापार ब्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढÞिरहेको तथा मजदूरहरु बाध्यभएर कष्टकर बैदेशिक रोजÞगारीबाट जिवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधीहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ।

जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खड़ा गरिएकोछ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सन हुदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ ।
यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्ता सम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने , आन्तरिक राजस्वलाई समेत पारदर्शी न बनाउने जस्ता कार्य गरिरहेकोछ ।
यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधानका गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गर्दछौ ।

आरके श्रीवास्तव,गरुडा समाचारदाता,३१ गते जेठ
चन्द्रपुरःरौतहटको उक्तरी भेग चन्द्रपुरमा खानेपानी पाइपलाईन बिस्तार र अवरुद्ध पानी सुचारु गर्न खाडल खन्ने काम सुरु गरिएको छ । आज (बुधबार) बाट देउराली चौक बाट दक्षिण पूर्व अवरुद्ध पानी सूचारु गर्न खाडल खन्ने सुरु गरिएको हो ।

नेपाली काङ्ग्रेसका चन्द्रपुर नगर सभापती मुकेश गिरिको पहल र चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले पाईप उपल्बध गराउने प्रतिबद्धता गरे संगै पाईप हाल्न खाडल खन्न सुरु गरीएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव अवदेशहरी भटृराईले जानकारी दिए ।

आज खाडल तयार भए संगै भोलि नै पाईप हाल्ने कार्य हुने सचिव भटृराईको भनाइ छ । त्यस्तै पैसा नतिरेका उपभोक्ताहरु लाइ महसुल बुझाउन अनुरोध गरिएको छ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारी सहित टोलिले सो काम सुचारु गराएका हुन् ।

बिगत ३ महिना देखि पुर्व टोलका लगायत अन्य ठाउँका उपभोत्ताले शुद्ध खानेपानी बाट बञ्चित भएका बिषयलाई मध्य नजर गर्दै सो माम सुचारु गरिएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष किशोर प्रसाद उपाध्यायले बताए । कोही पनि उपभोक्ता खानेपानी बाट बञ्चित हुनु हुँदैन् उनको भनाइ रहेको छ ।

यस्तै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले आफुले प्रतिबद्धता गरे अनुसार पाईप सहयोग गरेको बताएका छन् ।

काठमाडौं, ३१ जेठ
सभामुख देवराज घिमिरेसँग आज दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान-प्रदान, आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ ।
भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवलाई विशेष महत्वका जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले दक्षिण कोरियामा ८५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको बताउँदै नेपालको आर्थिक विकासमा कोरियाको सहयोग उल्लेखनीय रहेको बताए ।
सभामुखले सामसुङले नेपालमा कारखाना सुरु गरेकोमा धन्यवाद दिँदै नेपालमा थप लगानी गर्न आग्रह गरे । बौद्ध जन्मस्थल लुम्बिनीमा कोरियाबाट उल्लेख्य पर्यटकहरू आइरहेको बताउँदै सभामुखले आगामी दिनमा पर्यटन आवागमन वृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले नेपाल–कोरिया सीधा हवाई उडानका लागि सकारात्मक तदारुकता देखाउन राजदूतमार्फत कोरिया सरकारको ध्यानाकर्षण गराए ।
राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू ‘शिष्ट, मिहिनेती र अनुशासित’ रहेको टिप्पणी गरे ।
उनले नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताए ।
कोरियाको संसदमा कोरिया नेपाल मैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत राजदूत तइयोङले नेपालको संघीय संसद्ले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे ।
कोरियाबाट फर्केका नेपालीहरूले नेपालमा कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी गरेको बताउँदै उनले घर र गाडी किनेर खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उनले जलविद्युतलगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।
इलाम, ३१ जेठ
आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए ।
यस्तै दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दैआएकी थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहेको परिवारका सदस्यले बताएका छन् । घटना २०७९ चैत ५ गते भएको थियो । घटनालगतै पक्राउ परेका पीडक पुर्पक्षका लागि थुनामा रहेका थिए ।