२०८३ श्रावण २४
२०८३ श्रावण २४

 

वासिंगट डिसी, ३२ जेठ ।

अमेरिकाको पहिलो हिन्दू–अमेरिकी सम्मेलन अमेरिकाको शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको थियो।

 

सम्मेलन जुन १४ मा भएको थियो, जसको उद्देश्य अमेरिकामा बसोबास गर्ने हिन्दू समुदायका समस्याप्रति अमेरिकी कानून निर्माताहरूको ध्यानाकर्षण गराउने थियो। यो सम्मेलनलाई हिन्दूहरूको लागि अमेरिकी नाम दिइएको थियो।

 

प्राप्त जानकारी अनुसार वैदिक जप र प्रार्थनाको साथ अधिवेशन सुरु भएको थियो । यस क्रममा रोमेश जापराले भने, ‘हिन्दू मूल्य मान्यता हाम्रो अमेरिकी संविधानसँग पूर्णरुपमा जोडिएको छ भगवद् गीतासँग प्रतिध्वनित भएको छ, त्यसैले हामी हिन्दू अमेरिकीहरूलाई आवाज दिन समर्पित छौं।’

 

यस हिन्दु सम्मेलनका संस्थापक तथा अध्यक्ष रोमेश जापराले यो सम्मेलन पहिलो पटक भएको बताए । राजनीतिक सहभागिताका लागि हिन्दू अमेरिकी सम्मेलन आयोजना भएको उनको भनाई छ । ‘हाम्रो समुदाय सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक र अन्य सबै क्षेत्रमा सक्रिय छ तर राजनीतिमा हामी धेरै पछाडि छौं,’ उनले भने ।

 

हिन्दूहरूको लागि अमेरिकन सम्मेलन २० अन्य डायस्पोराहरूसँगै अमेरिकन फर हिन्दू राजनीतिक कार्य समितिले आयोजना गरेको हो। यस सम्मेलनमा फ्लोरिडा, न्यूयोर्क, बोस्टन, टेक्सास, शिकागो, क्यालिफोर्निया आदि शहरहरूका लगभग १३० भारतीय अमेरिकी नेताहरू सहभागी हुनेछन्।

 

लमजुङ, ३२ख जेठ ।  

बुधबार दिउँसोदेखि परेको वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

 

यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए।

 

खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।

 

यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयबासीको भनाइ छ। यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर प्रयोग भइरहेको इञ्जीनियर अधिकारीको भनाइ छ।

 

यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्।

 

काठमाडौं, ३२ जेठ ।

नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार दोस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ मन्त्री साउदले भने, ‘दोस्रोपटक बसेको बैठक मुख्यसचिवमा वरिष्ठतम् सचिवमध्येबाट वैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ ।’

बिहीबार नै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मुख्यसचिव पदबाट शंकरदास बैरागीले दिएको राजीनामा स्वीकृत गरेको थियो । उनको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

अर्यालले शुक्रवारबाट अनिवार्य अवकाश पाउँदै थिए । तर, बिहीबार नै सरकारले उनलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो ।

 

काठमाडौं, ३२ जेठ ।

नेपाल सरकारको मुख्यसचिव पदबाट राजीनामा दिएका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । बैरागीले दिएको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त गरेको हो ।

‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘पहिलो बैठकले शंकरदास बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । साथै दोस्रोपटक बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त निर्णय गरेको छ ।’

 

लसएन्जल्स, ३२ जेठ ।

हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन् ।

 

यो फ्रेन्चाइजीमा कुल पाँच फिल्म छन्, जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन् । ‘अवतार २’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो ।

 

यो सिरिज ओटीटी प्लेटफर्मममा पनि आइसकेको छ । तर बाँकी सिक्वेलको रिलिज तोकिएकै समयमा नहुने भएको छ । बाँकी सिरिजको रिलिज मिति निर्माण पक्षले एक वर्ष पछाडि सारेका छन् ।

 

जस अनुसार ‘अवतार ३’ डिसेम्बर १९, २०२५ मा रिलिज हुनेछ । यसअघि यो फिल्म २०२४ मा रिलिज हुने थियो । यो सिरिज ‘अवतार–द वे अफ वाटर’को फलोअप हो । नयाँ क्यालेन्डर अनुसार ‘अवतार ४’ तेस्रो फिल्मको चार वर्षपछि २१ डिसेम्बर २०२९ मा रिलिज हुनेछ । यो फिल्म यसअघि सन् २०२६ मा आउने चर्चा थियो ।

 

‘अवतार’को अन्तिम फिल्म ‘अवतार ५’ का लागि दर्शकले ८ वर्ष पर्खनु पर्नेछ । यो फिल्म सन् २०३१ डिसेम्बर १९ मा रिलिज हुनेछ । ‘हरेक अवतार फिल्म आफैमा एक जोशिलो र अद्भुत अनुभव हो । यसलाई गुणस्तरका साथ पर्दामा ल्याउन समय लाग्छ । जसका लागि हामी फिल्मकर्मी जुटिरहेका छौं । ताकि दर्शकको आशामा खरो उत्रन सकौं । टीम आफ्नो काममा कडा मेहनत गरिरहेका छन् ।

 

डिसेम्बर २०२५ मा दर्शकलाई फेरी पेण्डोरामा लैजानका लागि हामी प्रतिक्षामा छौं’, निर्माता जोन लेन्डाउले ट्वीट गरेका छन् ।

 

काठमाडौं, ३२ जेठ ।

आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को दुई फस्टलुक सार्वजनिक भएको छ ।

 

फिल्म प्रचारप्रसारको सुरुवात गर्न निर्माण टिमले बिहीबार दुई पोस्टर सार्वजनिक गरेको हो ।

 

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको स्थानीय गुरुङ पहिरनमा छन्, भने सलोन लामो कपाल र जुंगामा फरक देखिएका छन् । अभिनेत्री केकी अधिकारी नाकमा बुलाकीसहित देखिदा अभिनेता अर्पण थापालाई नाकबाट रगत बग्दै गरेको घाइते अवस्थामा देख्न सकिन्छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समिर खान प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन् ।

 

मुम्बई, ३२ जेठ ।

अभिनेता सनी देओल फिल्म ‘गदर २’ लिएर दर्शकमाझ आउने तयारीमा छन् । पर्दामा दमदार एक्सन दिने यी अभिनेता वास्तविक जीवनमा निकै लजालु स्वभावका छन् ।

सन् ९० को दशकका यी लोकप्रिय अभिनेताको फिल्मले बक्सअफिसमा धमाल मात्र मच्चाएन, उनको फिल्मका गीतहरु उत्तिकै सदाबहार बने । यद्यपि सनी स्क्रिनमा नृत्य गर्न निकै डराउँथे ।

 

दिग्गज अभिनेता धर्मेन्द्रका छोरा सनी अभिनित फिल्म ‘जीत’ को गीत  ‘यारा ओ यारा’ को एक किस्सा अहिले पनि बलिउडमा उत्तिकै चर्चाको विषय बन्छ ।

 

कमैलाई थाहा होला कि यो गीतको सुटिङका समयमा सनी र अभिनेत्री करिश्मा कपुरबाहेक फिल्मका प्राविधिकदेखि लिएर बाँकी कलाकार सबैलाई सेटबाहिर राखिएको थियो ।

 

यो फिल्म सन् १९९६ अगष्ट २३ मा रिलिज भएको थियो । यो फिल्म सनीको करियरको सम्झन लायक फिल्ममा पर्दछ ।

 

गीत ‘यारा ओ यारा’ स्वीटजरल्याण्डमा सुटिङ गरिएको थियो । सुटिङका क्रममा करिश्मा र सनीबाहेक सबैलाई सुटिङ सेटबाट भगाइएको थियो ।

 

सनीले नृत्यको नाममा यो गीतमा केवल हात र खुट्टा मात्र चलाएका थिए । ६ मिनेटको यो गीतपछि सनीले आफू देवल परिवारको उत्कृष्ट डान्सर नभएको स्वीकारेका थिए ।

 

सनीलाई आफू गीतमा नाँच्दा उनको नृत्य हेर्नेहरु हाँस्नेछन् भन्नेमा डर थियो । सोहीकारण सेटबाट करिश्मा र सनीबाहेक सबैलाई भगाइएको थियो ।
सनीले सेटमा आफूले गीतको रिहल्सल गर्दा कोरियोग्राफर चिन्नी प्रकाशबाहेक अरु कोही नबस्ने नियम बनाएका थिए ।

 

यो गीतको फाइनल सुट हुँदा साउण्ड, लाइटदेखि लिएर हरेक डिपार्टमेन्टमका मानिसहरु सनीको नियम अनुसार सेटबाट बाहिर गएका थिए । केही मानिस मात्र सेटमा थिए ।

सनीले आफ्नो नृत्यमा अरुले खिल्ली उडाउलान् भनेर यो नियम बनाएका थिए ।

 

 

निर्देशक साजिद नाडियाडवालाका अनुसार नृत्यको सट दिएपछि सनीले निर्देशक र कोरियोग्राफरलाई राम्रो भयो कि भएन भनेर सोध्थे । सनीको अगाडि सबैले तारिफ गरे पनि पछाडि भने उनीहरु हाँस्ने गर्थे ।

 

बासिंगटन डिसी, ३२ जेठ ।

ह्वाइट हाउसले एक ट्रान्सजेन्डर अधिवक्तालाई प्रतिबन्ध लगाएको छ।

 

अश्लिलता फैलाएको आरोपमा ट्रान्सजेन्डर वकिल रोज मोन्टोयालाई प्रतिबन्ध लगाएको हो ।

 

शनिबार साउथ लनमा भएको प्राइड इभेन्टमा मोन्टोया टपलेस भएकाले उनी माथी प्रतिबन्धको कारबाही गरिएको हो ।

 

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रेस सेक्रेटरी करिन जीन पियरले भने, ‘ट्रान्स एड्भोकेट रोज मोन्टोयालगायत कार्यक्रमका सहभागीहरूले अनुपयुक्त व्यवहार गरे। आफ्नो परिवारसँग मनाउन त्यहाँ उपस्थित सयौं सहभागीहरूका लागि यो व्यवहार अनुपयुक्त थियो।’

 

अधिवक्ता रोज मोन्टोयाले भिडियोमार्फत यसको जवाफ दिदैै क्षमा मागेकी छिन । उनले भनिन्, ‘म आफ्नो सत्यतालाई मात्र बाँचिरहेको थिएँ। कुनै पनि तरिकाले अश्लीलता फैलाउने मेरो मनसाय थिएन।’

 

ह्वाइट हाउसमा रोज मोन्टोयाको प्रतिबन्धलाई लिएर कन्जरभेटिभहरूले जो बाइडेनलाई आक्रमण गरेका छन् ।  एक दक्षिणपन्थी खाता ‘द लिब्स अफ टिकटक’ ले लेख्यो, ‘यो हाम्रो देशको अपमान हो।’

 

बाइडेन प्रशासनले सो समुदायलाई सहयोग गर्न कार्यक्रम आयोजना गरेको थियो। अमेरिकी राष्ट्रपति वाइडेनले सम्पूर्ण समुदायलाई सन्देश दिँदै भनेका थिए, ‘तिमीहरुलाई माया गरिन्छ, सुनिन्छ।’

 

तर, रोजले भने गरेको हर्कत क्षमायोग्य नभएको ह्वाइट हाउसको तर्क छ ।

 

काठमाडाैं, ३२ जेठ ।

आइसिसीको टेस्ट वरियतामा एकै देशका तीन खेलाडी शिर्ष तीनमा पर्न सफल भएका छन् ।

 

क्रिकेट इतिहासको ४०वर्षपछि अष्ट्रेलियाका तीनजना खेलाडी शीर्ष तीनको बरियतामा पर्न सफल भएका हुन ।

 

आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराए लगत्तै अष्ट्रेलियाका तीन ब्याटर शीर्ष तीनको वरियतामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइसिसीको नयाँ वरियता अनुसार टेस्टको शीर्ष स्थानमा मार्नस लाबुसेन, दोस्रो स्थानमा स्टिभ स्मिथ र तेस्रो स्थानमा ट्रर्विस हेड छन् । हेडले तीन र स्मिथले एक स्थान सुधार गरेर शिर्ष तीनमा पुगेका हुन ।

 

सन् १९८४ पछि पहिलो पटक टेस्ट वरियतामा एकै ब्याटर शीर्ष तीनमा परेका हुन । १९८४ डिसेम्बरमा वेस्ट इन्डिजका ग्रोर्डन ग्रीनिज शीर्ष, क्लाइभ लियोर्ड दोस्रो र ल्यारी गोम्स तेस्रो स्थानमा थिए ।

 

धनगढी, ३२ जेठ

कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर विकको पौडी खल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।

बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।