रौतहट,०६ गते
रौतहटमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ। रौतहटको गौर नगरपालिकाको वडा नम्बर ७ सिसवा टोलका यार महम्मद खानलाई छिमेकीले धारिलो हतियार छुरा प्रहार गरेको स्थानीयले बताएका छन् ।
छुरा खानको मुटुमै प्रहार भएकाले गम्भीर घाइते भएका थिए। खानलाई प्रादेशिक अस्पताल गौरमा उपचारका लैजाँदै गर्दा बाटोमा निधन भएको पारिवारिक स्रोतको भनाइ छ। यस घटनाबारे छानबिन भइरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, ६ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाएको छ ।
अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘हिन्दु राज्य’ को पक्षमा अभिब्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दू समूहले रकम दिने गरेको जनाएपछि राप्रपाले असहमति जनाएको हो ।
राप्रपाले सो प्रतिवेदन प्रति असहमति जनाउदै नेपालस्थित अमेरिकी राजदुतावासमार्फत पत्राचार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकाले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमाथि असहमति जनाउँदै अमेरिकी राजदूत डीन आर थम्प्सनलाई पत्र लेखेका हुन ।
अमेरिकी बिदेश मन्त्रालयको सो प्रतिवेदन एकपक्षीय र पुर्वाग्रही भएको पनि अध्यक्ष लिङदेनले जनाएका छन् । ‘प्रतिवेदन (हालै सार्वजनिक प्रतिवेदन ) ले एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गरेको छ, जसले गर्दा सन्तुलित, भरपर्दो र वास्तविकता प्रस्तुत गर्नबाट सो प्रतिवेदन पुरै चुकेको छ,’ नागरिक समाजप्रति पनि अमेरिकन बिदेश मन्त्रालयले अपुरो ज्ञानका आधारमा लेखेको भन्दै राप्रपाले भनेको छ, ‘नागरिक समाजका नेताहरूले आरोपलाई समर्थन गर्ने कुनै ठोस प्रमाण पेस गरेका छैनन्, यसबाहेक प्रतिवेदनले राप्रपाबाट कुनै विचार वा प्रतिक्रिया खोज्न असफल भएको छ ।’
हिन्दु राज्य स्थापनाका लागि आफुहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्विकार गरेको पनि पत्रमा उल्लेख छ । ‘हामी हाम्रा एजेन्डा र लक्ष्यहरू स्थापना गर्नका लागि हाम्रा मित्र राष्ट्रहरूबाट राम्रो विश्वासको स्वागत गर्दछौं । तथापि, राप्रपाले कुनै पनि प्रकारको बाह्य हस्तक्षेप र आर्थिक समर्थनलाई स्वीकार गर्दैन,’ राप्रपाको स्पष्ट दृष्टीकोण उल्लेख गर्दै भनेको छ ।
सो प्रतिवेदनले नेपाल र अमेरिकाको बिचमा बैमन्यस्यता उत्पन्न गराउने पनि उल्लेख गरिएको छ । ‘प्रतिवेदनमा लगाइएका व्यापक आरोपहरूले हाम्रो (नेपाल र अमेरिका बिचको) छविलाई धमिलो पार्छ र नतिजाहरूको कारण हामी गहिरो चोटमा छौं,’ पत्रमा भनिएको छ, ‘हामी अमेरिकाको विदेश मन्त्रालयलाई प्रतिवेदनका कमजोरीहरू पुनः हेर्न र सुधार गर्न आग्रह र आह्वान गर्दछौं ।’
सो पार्टीले राष्ट्रको संरक्षकको रूपमा संवैधानिक राजतन्त्र र सबै धर्मकाे सम्मानसहित हिन्दू राज्यप्रतिको आफ्नो दृढ विश्वासमा अडिग रहेको पनि पत्रमा उल्लेख गरेको छ ।
काठमाडौं, ६ जेठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत जेनेभा पुगेका छन ।
विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा सहभागी हुन स्विटरजरल्याण्डको राजधानी जेनेभा पुगेका हुन ।
आगामी मे २१ देखी ३० मेसम्म आयोजना हुने महासभामा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै मन्त्री बस्नेत जेनेभा आईपुगेका हुन । उनी दुई दिन पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
काठमाडौं, ६ जेठ ।
आफनै जीउँमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी सीताराम रिजालका उपचारको क्रममा उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।
प्यारालाइसिसले ग्रस्त श्रीमान मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती श्रेष्ठले हिजो दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।
गोले जल्दै डेरावाट निस्के पछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पतालमा ल्याईएको थियो । जसकाे उपचारको क्रममा उनकोअस्पतालमा निधन भएकाे हाे ।
काठमाडौं, ६ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।
कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री उक्त कुरा बताएका हुन् ।

‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्प सहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं’ उनले भने ।
उनका अनुसार शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्र बिरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको छ ।

प्रधानमन्त्रीले भारतसँग खुला सिमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामि भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्नेसमेत बताएका छन् ।
प्रधानमन्त्रीले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेकोसमेत बताएका छन् । उनले भने, ‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ । त्यसमा खेलकूलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।’
खड्क सुनार,मुगु ६ जेठ ।
मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी बजारबाट काठमाडौं सम्म सिधा बस सेवा सुरु भएको हो ।
क्षेत्रिय कार्यालय नेपालगञ्ज रहेको भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिले सयुक्त रुपमा गमगढी बजारमा स्थापना गरि शुक्रवार विधिवत रुपमा उद्धघाटन गरेका छन् । सो प्रालिले अब सिधै गमगढी देखि सुर्खेत , नेपालगञ्ज हुदै काठमाडौंसम्म बस सेवा सुरु गरिएको जनाईएको छ ।
मुगुमा स्थापना भएको सो प्रालि लाई छायानाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौलागाई र भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिका ईन्चार्ज रविन मल्लले आज सो प्रालिको उद्धघाटन गरेका हुन । मुगु जिल्ला २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए ।
बिगतका दिनहरुमा मुगुमा सडक पुगे पनि यात्रु सेवा यातायातका साधनले सिधै राजधानीसम्म चल्न सकेका थिएनन । राजधानीसम्म सवारी नचल्दा यहाका नागरिकहरु सवारी ब्यवसायीबाटै ठगिन पुगेका थिए । अब सिधै काठमाडौंसम्म नागरिकले सवारी साधन प्रयोग गर्दा सहज बातावरण हुने काउण्टरले जनाएको छ ।
अन्य सवारी साधनले चर्को भाडा असुल्ने, मनमरी ढंगबाट भाडा लिने गरेको जनाउदै अब त्यस्तो हुन नदिने र बिशेष गरेर बालवालिका, अपांगता र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखिने काउण्टर ईन्चार्ज रविन मल्लले बताए ।
मुगुमा च्याउ उम्रे जस्तै काउण्टरहरु स्थापना भएका छन् । दिर्घकालिनसम्म नरहने यात्रु ठगिन पुगेका छन् छायनाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेक राज चौलागाईले भने ।
मुगुमा अब राजधानिसम्म बस सेवा सञ्चालनमा आएकाले नेपालकै ठूलो ताल रारा र हिन्दूहरुको पवित्र तीर्थस्थल छायाँनाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने बताए ।
काठमाडौं, ६ जेठ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हरेक शुक्रवार बालबालिकासँग बस्न सुरु गरेको जनाएका छन् ।
काठमाडौं महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरेको जनाउँदै मेयर शाहले ‘बुक फ्री फ्राइडे’ अभियान क्रमश सफल हुदैँ गएकोसमेत जनाएका छन् ।
उनले सो बारेमा सामाजिक सञ्जालमार्फत जानकारीसमेत दिएका छन । उनले फेसबुकमा लेखेका छनः
म काठमाडौं महानगरपालिकामा मेयरको रूपमा निर्वाचित भए देखि नै शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएका छौ। पछिल्लो समयमा हरेक शुक्रवार विद्यालयमा विद्यार्थिहरु सँगै बस्ने र उनीहरू सँग बसेर सिक्ने गरेको छु।

हिजो शुक्रवार बिहान काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो। शिक्षामा सीप कार्यक्रम मार्फत विद्यार्थीहरू सँगै बसेर सिक्न मौका पाए। साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको सहभागिताको बारेमा पनि बुझ्नु पाइएको थियो।
शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेकट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन्। उक्त कार्यक्रममा प्रत्येक कक्षामा कक्षा ९ का ३० जना विद्यार्थीहरू सहभागी छन्।

उक्त अनुगमनमा विद्यार्थीलाई भविष्यको लागि तयार गर्न यसले पार्ने प्रभावको बारेमा बुझ्ने मौका समेत पाए। यसका साथै हामीले अडियो भिजुअल कक्षामा विद्यार्थीहरूको सहभागिता कस्तो छ भनेर पनि हेर्ने मौका पाएको थिए। साथै विद्यालयहरूको वर्तमान अवस्था, विद्यालयको समग्र विकासका लागि आवश्यक पर्ने पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताका बारेमा पनि जानकारी पाइयो। विद्यालयको भ्रमणको अन्त्यमा शौचालयको सरसफाइ र शौचालयको अवस्थाको समेत अवलोकन गरेको थिए।

त्यस्तै दिउँसो पद्मकन्या विद्याश्रम भ्रमण गरिएको थियो। उक्त विद्यालयमा सिपमा शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरू स्केचीङ र मूर्तिकला, फेसन र कपडा निर्माण जस्ता कार्यक्रममा संलग्न भएका छन्। यस्तै ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरू पत्रपत्रिका पठन, भाषण तथा कविता, कला तथा खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशालामा सहभागी भएका पाइयो। यस्तै उक्त विद्यालयमा हामीले नेपालकै पहिलो विद्यार्थिहरुको ट्राफिक क्लब पनि स्थापना गरेका छौ।
काठमाडौं, ६ जेठ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आब्हान गरेका हुन ।
‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन ।
‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन् ।
‘कसरी त्यसको Business Plan बनाउने Implementation Plan बनाउने ,कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ उनकाे अपिलमा भनिएकाे छ, ‘ विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ, तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा छ ।’ उनका अनुसार २०८० जेठ १९ गते भित्र निवेदन दिइसक्ने पर्नेछ ।
काठमाडौं, ६ जेठ ।
यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको हो ।
मलेशियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परे पछि आधारशिविर ल्याईएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एकजनाको भने पहिचान खुल्न बाँकी छ ।
सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले जानकारी दिएका छन् । ‘यस सिजनमा सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा गरी अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्’ उनले सञ्चारकर्मीसँग भने ।
सगरमाथा आरोहण गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ४ सय ६६ जना आरोहीले अनुमति लिएका थिए । ती मध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिर्पोट तयारी गरिदै गरेको पर्यटन बोर्डले जनाएको छ ।
यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएका छन् ।
रौतहट, जेठ ५ ।
रौतहट प्रहरीले आज विभिन्न कार्यक्रमको आयोजना गरि समुदाय प्रहरी साझेदारी कार्यक्रम मनाएको छ । सो कार्यक्रम अन्तरगत समुदायीक प्रहरी वडा समिति नं।५ गरुडा नगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय शिवनगरको सहयोगमा बुधबार बिहान ११ बजेको समयमा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित रहेको श्री माध्यमिक विद्दालय महमदपुरमा विधार्थीहरुलाई लैङगिक हिंसा न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा करिब २० जना मानिसहरुको सहभागितामा रहेको जिल्ला प्रहरी कार्याल रौतहटले जनाएको छ । यसरी नै समुदायीक प्रहरीले विधालय सम्पर्क समिति नं। ११ फतुवा विजयपुर नगरपालिकाको आयोजना र प्रहरी चौकी दुधिआवाको सहयोगमा आज ९शुक्रबार० विहान फतुवाबिजयपुर नगरपालिका वडा नम्बर ११ स्थित रहेको श्री हिमाली जनता मा।वि।मा अध्यनरत रहेका कक्षा ९ र १० का छात्रछात्राहरुलाई आत्महत्या न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको हो । सो कार्यक्रममा करिब ५४ जना छात्रछात्रा तथा शिक्षक शिक्षिका ४ जना सहभागि रहेको प्रहरीले जनाएको छ ।
यस्तै गढीमाई नगरपालिका वडा नम्बर ७ स्थित रहेको श्री माध्यमिक विधालय धनाडीमा बालबिबाह न्यूनिकरण, आगोलागी तथा बाढी दुवान विपद् न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो ।
साथै गढीमाई नगरपालिका वडा नम्बर २ स्थित रहेको समनपुर बजारमा पनि विपद् सम्बन्धी बाढी, डुवान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । स्थानीयहरुको सहभागिमा सो कार्यक्रम भएको ईलाका प्रहरी कार्यालय समनपुरले जनाएको छ । प्रहरीले विभिन्न कार्यक्रम गरि समुदायीक प्रहरी साझेदारी कार्याक्रम मनाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ