२०८३ जेष्ठ ६
२०८३ जेष्ठ ६

 

काठमाडौं, ८ जेठ ।

सरकारको नीति तथा कार्यक्रम माथीको छलफल आज पनि जारी रहने भएको छ ।

 

गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।

 

हिजो देखी सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।

 

आज पनि सोही नीति तथा कार्यक्रम माथी छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।

 

काठमाडौं, ८ जेठ ।

नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीकाे अनुसन्धान प्रतिवेदन आज बुझाईदैछ ।

 

जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।

 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।

 

सो प्रकरणमा पुर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिना देखी जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भए पछि आज बुझाउन लागिएको हो ।

 

काठमाडौं, ८ जेठ ।

आज राष्ट्रिय सभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, वानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको  सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८० ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।

 

बैठक अपरान्ह १:०० बस्नेछ ।

 

काठमाडौं, ८ जेठ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

 

राती भने कोशी प्रदेश, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 

चितवन, ७ जेठ

ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको ज्यान गएको छ । आइतबार बिहान चितवन भरतपुर महानगरपालिका-१२ टिकौली जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३-००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका-११ का २० वर्षीय सागर तामाङको मृत्यु भएको हो ।

उनको स्कुटर पछाडि सवार २० वर्षीय विशान्त ढकालको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पनि अवस्था गम्भीर छ । विशान्तको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ट्रक चालक तनहुँ घुमाउने नगरपालिका-४ बस्ने ५० वर्षीय ढकबहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

काठमाडौं, ७ जेठ

नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् ।

एमाले सांसद शाहीले संसद्मा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै लिएर टिप्पणी गरेका थिए ।

बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै भएको तर तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्रि पाण्डेको नाम लिएर उनले सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्त छोड्न अलिकता पनि संकोच लागेन ? भन्दै प्रश्न गरेका थिए । उनले ७ वटा मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको आरोपसमेत लगाएका थिए ।

त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकोमा उक्त अभिव्यक्ति हटाइएको हो ।

 

धनगढी, ७ जेठ

कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरूको सहयोगमा खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको शव फेला परेको हो ।

 

काठमाडौं, ७ जेठ ।

संगीतकार दीपक शर्माका ६ वटा फिल्मका गीत करोड क्लबमा पुगेको गीति एल्बम लोकार्पण गरिएको छ । काठमाडौं आइतबार आयोजित एक कार्यक्रममा गीतकार राजेन्द्र थापा, संगीतकार चेतन सापकोटा, नरहरि प्रेमी र चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा ‘करोड’ एल्बम लोकार्पण गरेका हुन् ।

करोड एल्बममा फिल्म मंगलमबाट ‘पर्ख पर्ख मायालु, छक्का पञ्जा ३’बाट ‘पहिलो नम्बरमा’, फिल्म हिजोआजका कुराबाट ‘माया जदौ’, फिल्म ‘छक्का पञ्जा ३’बाटै ‘देखन चम्पा’ केही महिनाअघि रिलिज भएको फिल्म ‘छक्का पञ्जा ४’को ‘दर्शन सलाम’ र फिल्म ‘चि मुसी चि’को हवल्दार सुन्तली’ गीतले करोडभन्दा बढि पटक युट्यबमा हेरिएको छ । करोड क्लबमा पुगेका गीतहरु संकलन गरेर संगीतकार शर्माले ‘करोड’ नामक एल्बम विमोचन गरेका हुन् ।

गीति एल्बमको बिमोचन गर्दै संगीतकार तथा गायक नरहरि प्रेमीले दीपकले नयाँ संगीतमा नयाँ आयाम थपेको बताए । दीपकका गुरुसमेत रहेका नरहरिले दीपकलाई आफूले संगीतको बाटो देखाउन प्रेरित गरेको स्मरण गराए । गायनको सुरुवातमा दीपकलाई धेरै संगीतकारहरुले रिजेक्ट गरेको अनुभव सुनाउँदै उनले दीपकका गीत करोड क्लबमा पुगेकोमा खुसी व्यक्त गरे ।

 

‘दीपकले पहिलो पटक ‘मोबाइलको बोक्रो र खोक्रो’ बोलको गीतबाट गायनमा अगाडि बढेका हुन् । त्यो बेला मैले नै उसलाई यो गीत गाउन लगाएको थिएँ,’ उनले उदितनारायण झाको कथा सम्झँदै भने, ‘उदितनारायण झालाई कतिपय संगीतकारले यसले के गीत गाउँछ यसले भनेर रिजेक्ट गरिएका थिए रे । तर, पछि नामी गायक भएर जन्मिए ।’


संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले संगीतकार शर्माको मेहनतको प्रशंसा गरे । ‘गाउँमा कुटो कोदालो छाडेर हार्मोनियम बोकेर आएका हौ, यो बाटो दीपकले पनि समाएको छ,’ उनले भने, ‘करोड पटक गीत हेरिएकोमा बधाई छ। उनले गीतसंगीतका व्यापारीहरुले संगीतकार र गीतकारको रोयल्टी नदिई आफै मोटाउने गरेको आरोप लगाए ।

वरिष्ठ गीतकार राजेन्द्र थापाले गीतहरु करोड क्लबमा पुग्नु चानचुने कुरा नरहेको बताए । गीतकार थापाकै शब्द रचनामा रहेको फिल्म ‘छक्का पञ्जा ३’को गीत ‘पहिलो नम्बरमा ’ र फिल्म ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘दर्शन सलाम’ लगायत गीतहरु चलेकोमा खुसी व्यक्त गरे ।

 

उनले भने, ‘एउटा चल्नु दुईटा चल्नु ठिकै हो । तर, ६/६ वटा करोड पुग्नु चानचुने कुरा होइन ।’ उनले संगीतकार दीपक शर्मालाई भर्सटायल संगीतकारका रुपमा हेरेको समेत बताए ।

 

मुम्बई, ७ जेठ ।

टेलिभिजन शो ‘बालवीर रिटर्नस’ र ‘अवैध’ सिरिजकी अभिनेत्री श्वेता खण्डुरीले हालै काठमाडौंबाट सगरमाथा आधार शिविरसम्मको यात्रा गरिन् । उनले यो यात्रालाई आफ्नो जीवनको स्मरणीय यात्रा भनेकी छन् ।

 

‘सुरुमा यो असम्भव जस्तो लागेको थियो । एक सेकेण्डको निर्णयले सगरमाथा आधार शिविरमा जान चाहेको थिएँ । मेरी आमा आफ्नो युवा दिनमा जहिल्यै ट्रेकिङ गर्न चाहनुहुन्थ्यो, तर दुर्भाग्य उहाँले यसो गर्न सक्नुभएन । मैले सगरमाथा आधारशिविरसम्म ट्रेकिङ गर्न जान लागेको सुनाउँदा उहाँ खुशी हुनुभयो’, उनले भनेकी छन् ।

 

श्वेता र उनको टिमले २३ अप्रिलबाट यात्रा सुरु गरेका थिए । उनीहरुले काठमाडौंबाट रामेछापसम्मको हवाई यात्रा पछि ६ देखि ७ घण्टासम्म सडक यात्रा गरेका थिए । यात्राका आधा मानिसहरु एकदिन अघि नै लुक्ला पुगेका थिए । तर उनीहरु भने विस्तारै त्यहाँ पुगे ।

 

‘हामीले सगरमाथा आधार शिविरसम्म पुग्नका लागि ७ दिनसम्म ट्रेक गर्‍याैँ । यात्रा निकै लोभलाग्दो थियो । उचाईका कारण मलाई श्वास लिन समस्या भए पनि गन्तव्यसम्म पुग्न म दृढ थिएँ । म यात्राको समयमा बिरामी पनि भएँ । तर सगरमाथा आधारशिविरसम्म पुग्ने मेरो चाहनालाई पुरा गरेरै छोडें’, उनले भनेकी छन् ।

 

काठमाडौं, ७ जेठ ।

नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नफस्ने र निर्दाेष नउम्कने दाबी गरेको छ ।

काटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष नफस्ने र दोषी नउम्कने बताएका हुन् ।

यसअघि आइतबार प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउन र निर्दाेष फसाउन खोजिएको भन्दै सरकारको कडा आलोचना गरेका थिए ।

यसपछि आयोजित पत्रकार सम्मेलनमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका प्रवक्ता महराले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने र निर्दाेष फस्ने स्थिति नआउने दाबी गरेका हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।