तनहुँ, १२ जेठ ।
जंगली च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना बिरामी परेका छन् ।
बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० बर्षिया मीनमाया तामाङ गुरुङ र ३२ बर्षिया छोरा थमन गुरुङ बिरामी भएका हुन् ।
उनका अनुसार बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचार गरिएको थियो । तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ भने बाँकी दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौ, १२ जेष्ठ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०, मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी ३००,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, कागती १८० रुपैयाँ,चमसूरको साग रू ११०, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार २५० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा (रहु) ३३०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
सर्लाही, १२ जेठ ।
हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ ।
बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारकोको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका–२ का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो ।
बिहीबार साँझ आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि उनको सोही घरमा चेप्पिन पुगेकी थिइन ।
नयाँ दिल्ली, १२ जेठ ।
दिल्ली प्रहरीले १७ वर्षअघि भएको अपहरण प्रकरणको समाधान निकालेको छ ।
दिल्ली प्रहरीका अनुसार १७ वर्षअघि सन् २००६ मा अपहरणमा परेकी ३२ वर्षीया महिला दिल्लीको गोकलपुरीमा फेला परेकी छिन् ।
डीसीपी शाहदरा रोहित मीनाका अनुसार, ‘एउटा गोप्य सूचनाको आधारमा सीमापुरी प्रहरी थानाको टोलीले मे २२ मा १७ वर्षअघि अपहरणमा परेकी बालिका , जो हाल ३२ वर्षीय भएकी छिन, उनलाई फेला पारेको थियो।’ प्रहरीका अनुसार , केटीका आमाबाबुको उजुरीमा सन २००६ मा दिल्लीको गोकुलपुरी पुलिस स्टेशनमा आईपीसीको धारा ३६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। तर, लामो समयसम्म छानबिन गर्दा पनि उनी फेला परेकी थिइनन् ।
उनले अगाडी भने, ‘२००६ मा बालिकाको अपहरण भएको थियो तर त्यो बेला कस्ले अपहरण गरेको थियो, अझै पनि खुल्न सकेको छैन, हामी थप अनुसन्धानमा नै छौं ।’ उनी अपहरणमा पर्दा बालिका भए पनि आज उनी जवान भईसकेकी छिन् । उनलाई पुरानो कुरा स्मृतिमा ल्याउन भनिएको छ तर उनले अझै पनि त्यो पाटोमा खुलाउन सकेकी छैनन ।
तर, उनी दिपक नामका एक युवासँग अलग बस्न थाले पछि ती बालिकाको बारेमा प्रहरीमा खबर आएको थियो । ‘अनुसन्धानका क्रममा यो खुल्न गयो ती युवतीले घर छाडेर दिपक नामका व्यक्तिसँग चेरदिह, जिल्ला बलिया, युपी गाउँमा बस्दै आएको खबर आयो, यो पनि थप खबर आयो कि केही विवादपछि दीपकलाई लक डाउनमा उनले छाडेकी थिइन्, । र गोकलपुरी क्षेत्रमा छुट्टै भाडाको घरमा बस्न थालेको थिइन, पछि उनलाई प्रहरीले सोधपुछ गर्दा १७ बर्ष अघि अपहरणमा परेको खुल्न पुग्यो ।’
उनले आफु कसरी परिवारवाट अलग भएँ, त्यो अझै पनि उनले स्मरण गर्न सकेकी छैनन । यद्धपी, प्रहरीले उनको १७ बर्ष अघिको अपहरणको घटनालाई सम्झन भनिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
डीसीपी शाहदरा रोहित मीनाका अनुसार शाहदरा जिल्लाबाट २०२३ मा हालसम्म ११६ अपहरण र अपहरण गरिएका बालबालिका र व्यक्तिसहित ३०१ जना बेपत्ता भएका पत्ता लगाएको थियो ।
मुम्बई, १२ जेठ ।
यतिबेला मनोरञ्जन क्षेत्रबाट एउटा खुसीको खबर आएको छ ।
बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो खलनायकको भूमिकाबाट फ्यानको मनमा स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन् ।
अभिनेताले भर्खरै कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरे, जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरु पनि प्रतिक्रिया नदिएर बस्न सक्दैनन् । यति मात्र होइन, उनी अभिनेतालाई उनको नयाँ इनिङ्सका लागि बधाई दिँदै आएका छन् ।
फ्यानहरुले शेयर गरेका तस्विरमा आशिष विद्यार्थी र उनकी श्रीमती रुपाली बरुआ परम्परागत सेतो पहिरनमा देख्न सकिन्छ । योसँगै उनको अनुहारमा ठूलो मुस्कान पनि देखिएको छ । यसबाहेक, आफ्नो विवाह गर्ने निर्णयको प्रतिक्रिया दिँदै, दिग्गज अभिनेताले इ–टाइम्ससँग कुरा गर्दै भने, ‘जीवनको यो चरणमा, रूपालीसँग विवाह गर्न पाउँदा असाधारण अनुभूति भएको छ। हामीले बिहान कोर्ट विवाह गर्यौ र साँझ गेट टुगेदर सकियो।’
आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् । जसमा १९४२ः ए लभ स्टोरी, बाजी, जीत, मृत्युदाता, अर्जुन पण्डित, मेजर साब, सोल्जर, हसिना मान जायेगी, जानवर, वास्तवः द रियलिटी, जोरु का गुलाम, रिफ्युजी, जोडी नम्बर १ जस्ता दर्जनौ फिल्महमा अभिनय गरेका छन । उनको खलनायकको भूमिकालाई निकै रुचाइएको छ ।
काठमाडौं, १२ जेठ ।
बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ ।
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो । उनले बार्सिलोनामा झन्डै ११ बर्ष बिताएका छन् ।
बीबीसी स्र्पोटसका अनुसार बार्सिलोना र अल्बाबीच सम्झौता अन्त्य गर्नका लागि सहमती भइसकेको छ ।
बार्सिलोनाका लागि अल्बाले ६ ला लिगा, पाँच कोपा डेल रे र एक च्याम्पियन्स लिग जिताउनका लागि मुख्य भुमिका खेल्ने खेलाडीको रुपमा अब स्मरण गरिने छ, बार्सिलोनका लागि उनको योगदान अतुलनीय छ, बीबीसीले भनेको छ ।
यस सिजनमाा मात्रै अल्बाले २९ लिग खेल खेल खेलेका थिए । उनले बार्सिलोनावाट चार सय ५८ खेलमा सहभागी जनाएका थिए । स्पेनिस रक्षक अल्बा सन् २०१२ मा ला लिगाको अर्को क्लब भ्यालेन्सियाबाट बार्सिलोना भित्रिएका हुन् ।
बार्सिलोना छाडन लागेका उनले यसपछि के गर्छन ? त्यो भने खुल्न सकेको छैन ।
टोकियो, १२ जेठ ।
जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन् ।
मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
जापनीज सञ्चार माध्यमका समाचार अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए । सो घटनामा समग्रमा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ । तर, उनकाे नाम भने सार्बजनिक गरिएकाे छैन ।
तर, उनले चार चार जना माथी किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो ? त्यो भने अझै खुल्न सकेको छैन । प्रहरी हिरासतमा रहेका कारण उनी माथी छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उदेश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानी हत्या गरिए पछि यो पछिल्लो घटनालाई उत्तिकै दर्दनाक मानिएकाे छ किनभने जापानमा बन्दुकमार्फत हुने हिंसा अत्यन्तै दुर्लभ घटनाको रुपमा लिइन्छ ।
मुम्बई, १२ जेठ ।
यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्स फिल्म ‘पठान भर्सेस टाइगर’का लागि भिलेनको खोजी सुरु गरेको छ ।
शाहरुख खान र सलमान खानको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको सुटिङ सन् २०२४ बाट सुरु हुनेछ ।
फिल्मका लागि यशराज फिल्मस्ले सबै कुरा फाइनल गरिसके पनि भिलेनको हकमा भने उनीहरुले फिल्मका लागि ‘खतरनाक’ भिलेन पाउन सकेका छैनन् । फिल्मको काम आगामी वर्षको जनवरीबाट सुरु गर्ने तयारी भइरहेको छ । सिद्धार्थ आनन्दको निर्देशन रहने फिल्ममा दीपिका पादुकोण र कटरीना कैफरको पनि अभिनय रहनेछ । फिल्ममा उनीहरुको भूमिका समान रहने बताइएको छ ।
‘फिल्मको नाम पठान भर्सेस टाइगर हो, तर यसको अर्थ यो होइन कि यसमा दुई जासुसबीचको दुश्मनी हुनेछ । फिल्ममा एक सामान्य भिलेन देखाइने छ, जसका विरुद्ध दुई जासुस लड्नेछन् । निर्देशक सिद्धार्थ फिल्ममा खतरनाक भिलेनका लागि कुनै ठूला स्टारको खोजीमा छन्, जसको लेभल हिरोको जस्तै होस्’, फिल्म निकट स्रोतले भनेको छ ।
हाल निर्माण युनिटले एक्सन सेटको डिजाइनको काम गरिरहेको छ ।
काठमाडौं, १२ जेठ ।
इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ ।
युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४–१ को अन्तरले पराजित गरेको हो । प्रिमियर लिगमा चेल्सीको यो १६औं हार हो ।
ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको सुरुवाती छैटौं मिनेटमा क्यासमिरोले सुरुवाती गोल गरेर म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्ज्युरी समयमा मार्सियालले थप गोल गरे पछि उसको अग्रता दोब्बर हुन पुग्यो ।
पहिलो हाफमा २–० ले अघि बढेको म्यानचेस्टरले ७३औं मिनेटमा पेनाल्टी पायो । ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत सानदार गोल गरे पछि म्यानचेस्टर ३–० को फराकिलो अन्तरसहित अघि बढने मौका पायो ।
त्यसको केही मिनेट पछि नै अर्थात ७८औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडले ४–० को फराकिलो जीतको दावेदारी प्रस्तुत गरे पनि ८९औं मिनेटमा चेल्सीका जोआओ फेलिक्सले गोल फर्काए पछि खेल ४–१मा रहन पुग्यो । तर, त्यसपछि दुवै पक्षवाट कुनै गोल हुन नसके पछि म्यानचेस्टर ४–१ को फराकिलो अन्तरसहित बिजयी हुन सफल भयो ।
यस जितसँगै म्यानचेस्टरले ३७ खेलबाट ७२ अंक जुटाएको छ भने चेल्सी समान ३७ खेलबाट ४३ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
काठमाडौं, १२ जेठ ।
नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान संघले आजथ काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
कृषकहरुलाई सहुलियत पुर्ण ऋण, कृषी बिमा, प्राकृतिक क्षतिपुर्तिको ब्यवस्था, उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउनु पर्नेलगायत माग राखी सरकारलाई खबरदारी गर्न काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो ।
नेमकिपा निकट किसान संगठनले जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । सो जुलुस दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुनेछ ।