२०८३ जेष्ठ ६
२०८३ जेष्ठ ६

 

काठमाडाैं, १४ जेठ ।

चितवन र कञ्चनपुरबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । चितवनकाे भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रविन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

 

भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी ‍गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी रविनलाई पक्राउ गरेको हो । हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।

 

कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका-१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

 

काठमाडौं, १४ जेठ ।

सरकारले लमजुङकी अनिता ढुंगानालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै बैठकले गणतन्त्र दिवसको अवसरमा केही कैदीको बाँकी सजाय र केही कैदीलाई आममाफी दिने निर्णय गरेको छ । जसमा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिन उनको निवेदनको आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने बैठकले निर्णय सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने,  क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने र वन तथा वातावरण मन्त्रालयको मध्यतमोर जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनक्षेत्रको प्रयोग गर्न र सो जग्गामा रहेको रुख हटाउन स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

 

काठमाडाैं, १४ जेठ ।  

बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई र झपामा १७ वर्षीया किशाेरीलाई बलात्कार गरेकाे आराेपमा दुईजनालाई पक्राउ गरिएकाे छ ।  बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई प्रहरीले पक्राउ गरेको हाे ।

 

थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

झापामा  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय विवेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

 

मुम्बई, १४ जेठ ।

अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहली बलिउडको रुचाइएको जोडीमा पर्दछन् । यो जोडीले पहिलो सन्तानका रुपमा भामिकालाई सन् २०२१ मा स्वागत गरे । अहिले अनुष्का फिल्मभन्दा बढी ब्राण्ड प्रमोसनदेखि सम्झौतामा व्यस्त छिन् ।

 

उनले हालैमात्र भारतीय बलर झुलन गोस्वामीको बायोपिकको काम सकिन् । केही दिनअघिमात्र विराट र अनुष्का बेङ्लोरको पुमाको एक कार्यक्रममा देखिए । जहाँ अनुष्काले विराट र छोरी भामिकासँगै आफ्नो आगामी जीवन र करियरको बारेमा खुलेर कुरा गरिन् ।

 

‘भामिकाको उमेर बढी आमासँग बस्ने उमेर हो । भामिकाका लागि विराट आदर्शवान पिता हुन् । अहिलेको अवस्थामा भामिकालाई विराटको भन्दा पनि मेरो बढी आवश्यकता छ । त्यहीकारण अब म भामिकाकै लागि वर्षमा एउटा मात्र फिल्म गर्न चाहन्छु’, अनुष्का भन्छिन्, ‘अभिनय र परिवारलाई सन्तुलनमा राख्न मैले यो निर्णय लिएकी हुँ । भामिकाका लागि मेरो उपस्थिति र नेतृत्व अनिवार्य भइसकेको छ ।’

 

काठमाडौ,  १४ जेष्ठ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य घटेको छ ।

 

नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ ।

आज आइतबार तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेर  छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ कायम थियो ।

 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।

 

काठमाडौं, १४ जेठ ।

सरकारले रेशमलाल चौधरीको बाँकी सजाँय मिनाहा गर्दै आममाफी दिने भएको छ ।

 

आज बसेको मन्त्रीपरिषद बैठकले पुर्व सांसद चौधरीको बाँकी सजायँ मिनाहा गरेर जेलमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

 

‘रेशमलाल चौधरी, जो अहिले कारागारमा हुनुहुन्छ, जसको अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था छ, राष्ट्रपति कार्यालयले सोधेका केही बिषयहरु सम्वोधन गरेर राष्ट्रपति कार्यालयमा बाकी सजायँ मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन् ।

 

उनका अनुसार आजको मन्त्रीपरिषद बैठकले यसरी सिफारिस गर्दा सरकारले कुनै कानुनी उलङघन गरिएको छैन ।

 

‘हामीले बिभिन्न कानुन ब्यावसायसँग गरेको सल्लाह अनुसार कानुनत: ठिक छ भन्ने कुरा छ, अहिले हामीले यो निर्णय कानुन भन्दा बाहिर गएर गरेका छैनौं’ उनले भनिन ।

 

विशाल बस्नेत,महोत्तरी, १४ जेठ । 

बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन । तर ‘राल्फा’ आन्दोलनको  चर्चा हिजोआज पनि भइरहन्छ ।  २०२१ सालमा सरकारका विरुद्ध सुरु भएको  राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो ।

 

काठमाडौंमा जन्मिए पनि यो आन्दोलन गाउँगाउँसम्म पुग्यो । पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची–महाकालीसम्म पुगेका थिए  । यस्तै साहित्यिक आन्दोलनको सुरुवात हुने भएको छ, महोत्तरीमा पनि ।

 

भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमलाइ थप सशक्त बनाउन र खबरदारी गर्न प्रगतिशील लेखक संघ महोत्तरीले गणतन्त्र दिवसको अवसर पारेर यसकाे औपचारिक सुरुवात गर्ने भएको छ । `लेखक तथा साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाको माध्यमबाट आन्दोलन गर्ने तयारी गरेका हौँ, ´ प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले भने।

 

यसअघि पनि बिद्रोही चेतका कविताका माध्यमबाट जिल्लाका साहित्यकारहरुले आफ्ना रचनाहरु प्रकाशन गर्दै आएका छन । सामाजिक मुद्दाका  विषयहरूलाई समेत रचनाका माध्यमबाट प्रष्फुटित गर्दै आएका महोत्तरीका साहित्यकारहरु भ्रष्टाचारको विरुद्ध पहिलोपटक संगठित हुन लागेका हुन् ।

 

मोफसलबाट सुरु गरिएको यो साहित्यिक आन्दोलन सम्भवत: देश कै पहिलो आदोलन हुन सक्ने प्रगतिशील लेखक संघको दाबी छ । तत्कालीन समयमा रायन र रमेशले रेडियो नेपालबाट पारिश्रमिक नपाएको विषयमा पारिजातले नेतृत्व गरेको राल्फा आन्दोलनको जतिकै भ्रष्टाचार विरुद्धको आन्दोलन सशक्त बन्नुपर्ने अध्यक्ष नारायण घिमिरेले बताए ।

समाजमा विद्रोही चेतका कविताका माध्यमबाट भ्रष्टाचारविरुद्ध चलाइने कलम साहित्यकारहरुको लागि आफैँमा चुनौती भए पनि सबैले त्यसकाे जिम्मेवारीबोध गर्नुपर्ने महोत्तरीका साहित्यकारहरुको बुझाइ छ ।

गणतन्त्र दिवसको दिन बर्दिबासस्थित एक होटलमा हुने आयोजित कार्यक्रममा  साहित्यकारहरुले आफ्ना विद्रोही भावहरु व्यक्त गरेर भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनको सुरु गर्नेछन ।

 

मुम्बई, १४ जेठ ।

हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु पनि अब सावधान हुन थालेका छन् । कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन् ।

 

अभिनेता आमिर खानजस्ता कलाकार अभिनयबाट केही समयका लागि ब्रेक लिइसकेका छन् । अब यो लाइनमा रणवीर कपुर पनि आएका छन् ।

 

यहीकारण रणवीरले लामो समयदेखि योजनामा रहेको दिग्गज गायक तथा अभिनेता किशोर कुमारको बायोपिकबाट हात झिक्ने संकेत दिइसकेका छन् । यो फिल्ममा अब रणवीरको स्थानमा अर्का अभिनतो रणवीर सिंह जोडिने सम्भावना देखिएको छ ।

 

निर्देशक अनुराग बसु लामा समयदेखि रणवीरसँग मिलेर किशोर कुमारको बायोपिक बनाउने तयारीमा थिए । तर रणवीरका लागि नयाँ अभिप्रायले निर्देशक बसुलाई समस्यामा परेको छ ।

 

केही समयअघि रणवीरले ११ वर्षदेखि आफूले किशोर कुमारको बायोपिकमाथि विचार गरिरहेको खुलाएका थिए । उनले निर्देशकले स्क्रिप्ट लेखिरहेको र आफ्ना लागि अर्को बायोपिकमा अभिनय गर्न पाउनु खुशीको कुरा भएको बताएका थिए ।

 

रणवीरले फिल्म ‘एनिमल’ पछि कुनै पनि फिल्ममा सम्झौता गरेका छन् । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’ पछि रणवीर अभिनयबाट ब्रेक लिन चाहन्छन् ।

 

 

नयाँदिल्ली, १४ जेठ ।

भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन् ।

 

नयाँ संसद भवनको उदघाटन राष्ट्रपतिले गर्नु पर्ने बिपक्षीको आग्रहलाई अस्विकार गर्दै प्रधानमन्त्री मोदीले आइतबार बिहान उदघाटन गरेका हुन । तर, मोदीको बिपक्षीको आग्रह अस्विकार गरेकोमा प्रतिपक्ष दलले सरकारको आलोचना गरिरहेका छन् ।

 

प्रतिपक्ष दलहरुले हिन्दुत्व विचारधारा वीडी सावरकरको जन्मजयन्तीको अवसरमा संसद भवन उदघाटन गर्ने निर्णयको पनि निन्दा गर्दै आएका छन् । तर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले  बिपक्षीको बहिष्कारलाई भने ‘लोकतन्त्रको अनादर’ भनेको छ ।

 

नयाँ संसद भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्वाकांक्षी परियोजनाको एक हिस्सा हो।

 

नयाँ भवनको उद्घाटन गर्दै मोदीले भारतको स्वतन्त्रताको ७५ वर्ष पछि सो संघर्षमा ज्यान गुमाएका प्रति श्रद्धांजलि ब्यक्त गरेका छन् भने ७५ रुपैयाँको नयाँ सिक्का पनि अनावरण गरेका छन् । नयाँ चार तले भवन अनुमानित ९.७ बिलियन रुपैयाँमा निमार्ण भएको हो ।

लोक सभा कक्षलाई भारतको राष्ट्रिय चरा मयूरको जस्तै डिजाइन गरिएको छभने तल्लो सदन अर्थात राज्यसभा कक्षलाई भारतको राष्ट्रिय फूल कमलसँग मिल्दोजुल्दो बनाउन डिजाइन गरिएको छ ।

गत बुधबार प्रमुख प्रतिपक्षी कांग्रेस सहित १९ दलले उद्घाटन समारोह बहिष्कार गर्ने सामुहिक निर्णयको घोषणा गरेका थिए । उनीहरुले नयाँ संसद भवन राष्ट्रपतिवाट उदघाटन गराउनु पर्ने माग राखेका थिए । तर, बिपक्षीको माग सम्बोधन नगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद भवनको उदघाटन गरेका हुन ।

 

काठमाडौ, १४ जेष्ठ । 

नेपाल रिपब्लिक मिडियाले आज आइतबार जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । नेपाल रिपब्लिक मिडियाले वैशाख ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।

 

यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा जेठ १४ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन् ।

 

यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आइपीओ जारी गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

 

योमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।