२०८३ श्रावण २२
२०८३ श्रावण २२

 

काठमाडौं, १५ असार ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशका शासकहरुले भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गरिरहेको टिप्पणी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको ठूला काण्डमा शीर्ष नेताहरुको संलग्नता रहेको दाबी गर्दै उक्त टिप्पणी गरेका हुन् ।

देशमा भ्रष्टाचार र वैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले कुनै पनि दल भ्रष्टाचारबाट अछुतो नरहेको बताए ।

‘अहिले भ्रष्टाचार बढेर गएको छ। वैदेशिक हस्तक्षेप बढेर गएको छ । भ्रष्टाचारको डंगुरमाथि बसेर देशका शासकहरु शुद्धताको मन्त्र उच्चारण गरिरहेका छन्,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरणलाई मात्रै हेर्नुभयो भने पनि हामीले बारम्बार भनेको कुरालाई पुष्टि हुन्छ। हामीले भन्यौं नेपालमा हुने सबै भ्रष्टाचारको काण्डहरुमा अहिलेका ठुला हुँ भन्ने सबै दलहरु संलग्न छन्। त्यो कुरा प्रमाणित भयो। कुनै दल चोखो छैनन्।’

ठूलो भ्रष्टाचारका फाइल खुलिरहँदा दोषीलाई बचाउने खेल भइरहेको आशंका गर्दै अध्यक्ष लिङ्देनले भने, ‘ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण होस्, अहिले फाइल खोल्न बाँकी रहेको वाइटबडी प्रकरणमा होस्, प्रहरीले अनुसन्धान बढाएर जनदबाब बढेपछि सरकारमा बस्नेहरु एकातिर ठुल्ठुला कुरा गरिरहेका छन्। अर्कोतिर ठुला मान्छे र आफ्ना मान्छेलाई कसरी जोगाउँने भन्ने योजनामा लागिरहेका छन्।’

 

काठमाडौं, १५ असार ।

बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतको आदेशले उनी २४ वैशाख २०७८ मा पाँच लाख धरौटीमा रिहा भएका हुन् ।

 

सोही प्रकरणमा केही दिनअघि पक्राउ परेकाा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित चारजनामाथि सिआईबीले हिरासतमा  लिएर  अनुसन्धान गरिरहेको छ ।

 

भक्तपुर, १५ असार ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै भक्तपुरमा ओपन हाउस हुने भएको छ । असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुने भएको हो । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछि के पढ्दा के हुन्छ भन्ने दिशानिर्देश गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलले जनाएको छ । कार्यक्रममा विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको स्कुलले जनाएको छ ।


स्कुलका प्रिन्सिपल केशर खुलालले कार्यक्रम  शनिबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म दिनभर हुने जानकारी दिए । कार्यक्रम भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित स्कुल परिसरमा हुनेछ ।


कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीलाई निमन्त्रणा गरिएको जनाइएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्नेछ । साथै अन्य रुचि राख्ने विद्यार्थीले पनि स्कुलको अवलोकन भ्रमण गर्न पाउने छन् ।

  

 

सुर्खेत , १५ असार ।

दुईवटा घरमा मात्र सडक निर्माण गर्नका लागि कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जाजरकोटमा असार लाग्नै लाग्दा बजेट पठाएर जंगल विनास गरेर सडक निर्माण गरेको खुलासा भएको छ । भेरी नगरपालिका –४ का बोहरा गाउँका २ घरमा सडक पुर्‍याउनका लागि प्रदेश सरकारले १५ लाख बजेट कार्यालयमा पठाएको थियो ।

 

भुन्की इबर बिरुली सडक नामाकरण गरी प्रदेश सरकारले बजेट पठाएपछि उक्त सडकबाट २ वटा घरधुरी मात्रै लाभान्वित हुने भएका छन् । स्थानीय हस्तबहादुर शाही र मानबहादुर चन्दको घरसम्म सडक पुर्‍याउन सरकारले १५ लाख खर्च गर्न उक्त बजेट मन्त्रालयबाट पठाएको हो । उक्त आयोजना कार्यान्वयन गर्नका लागि समिति पनि गठन गरि काम नै सुरु भइसकेको छ । समितिले भेरी नगरपालिका ६ का वडा अध्यक्ष शशी बुढाको स्काभेटर प्रयोग गरेर सडक निर्माण थालिएको खुलासा भएको छ । ठेकेदार व्यवसायीसमेत रहेका वडाध्यक्षले बस्ती नै जोखिममा पर्ने गरी सडक निर्माणको काम सुरु गरेका छन् । वन÷जंगल क्षेत्रमा मनपरी रुपमा सडक खनिएपछि बस्ती नै जोखिममा परेको छ । कानुनतः वन क्षेत्रमा विकास निर्माणका काम गर्दा सम्बन्धित स्थानीय तहमार्फत सम्बन्धित डिभिजन वन कार्यालयबाट स्वीकृत लिएर काम सुरु गर्नुपर्दछ । तर असारे विकासको फाइदा उठाउँदै जनप्रतिनिधिहरुले आफूखुशी सडक निर्माण थालेका छन् ।

 

भेरी नगरपालिका ४ बोहराका स्थानीयले सामुदायिक वनमा क्षेत्र दोहन भएको भन्दै विरोध जनाएका छन् । भेरी नगरपालिका ६ वडाध्यक्ष बुढाले वन क्षेत्रमा आफु खुसी स्काभेटरबाट वन क्षेत्रको दोहन गरेको भन्दै स्थानीयले डिभिजन वन कार्यालय जाजरकोटमा समिति र बुढाविरुद्ध उजुरी परेका छन् । नगरपालिका ६ का अध्यक्ष बुढा निर्माण व्यवसायी समेत हुन् । स्थानीय तहमा हुने दोहनमा जनप्रतिनिधिकै संलग्नता रहेको स्थानीयहरू बताउँछन् । गत असार १० गते भेरी नगरपालिकाले सामुदायिक वन ऐन जारी गरेको छ । उक्त ऐन पारित हुँदा बुढा स्वम ऐनको पक्षमा मत जाहेर गरेका थिए । तर आफैले बनाएको ऐन विपरित कार्य गर्दै जाँदा प्रहरी प्रशासन मूखदर्शक भएको स्थानीयको आरोप लागेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा कार्यान्वयन गर्नका लागि गत जेठमा पूर्वाधार कार्यालयमा बजेट पठाएको थियो । प्रदेशबाट प्राप्त १५ लाख बजेटमा भुन्की इवर हुँदै बिरुली सडकका लागि बजेट आएको थियो ।

 

पूर्वाधार कार्यालयले उपभोक्ता समिति मार्फत सञ्चालन गरेको कामले बोहरा बस्तीनै जोखिम पर्ने भएको छ । उक्त सडक निर्माण गर्दा बोहरा गाउँको २ सय ५० घरधुरी प्रभावित हुने भएका छन् । सडक निर्माणका लागि बोहरा गाउँमा सञ्चालनमा रहेका ५ वटा खानेपानीका लाईनहरु समेत भत्काउन लागिएको प्रेम शाहीले बताए । गाउँमा बर्षेनी सिँचाई गर्दै आएको कुलोसमेत भत्काउन लाग्दा कुनै सुनुवाई नभएको बोहरा गाउँ सिचाई आयोजनाका अध्यक्ष पुतला चन्दले बताइन् ।

 

बोहरा गाउँमा २ करोड लागतमा सञ्चालन भएको सिंचाई आयोजना भित्र समितिले डोजर लगाउन थालेको चन्दले बताईन । पहिरो जाने क्षेत्रमा डोजर चलाउँदासमेत कुनै निकायले ध्यान नदिएको उनको भनाइ छ । सालको बुटेन क्षेत्र नाश गरी २ घरधुरीलाई सडक पुर्‍याउन वडाध्यक्ष बुढा नै लागि परेको स्थानीयहरु बताउँछन् । सडक निर्माण हुँदा वन क्षेत्रमा सालका रुखहरु सखाप हुनेछन् । वडाध्यक्षले भाई नाता पर्ने धन बहादुर बुढालाई परिचालन गरेर सडक निर्माण थालेका छन् । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पनि स्थानीयलाई हानी पुर्‍याएर सडक निर्माण गर्न नहुने बताए । डिभिजन वन कार्यालयले स्थलगत अध्ययन गरेर आवश्यक निर्णय लिने बताएको छ ।

 

काठमाडौ,  १५ असार  ।

नेपाल पुनर्बिमा कम्पनीको शुक्रबार साधारणसभा बस्दै छ । सभा, अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ।

 

प्रस्तावित बोनस सेयर सरकार र बिमा प्राधिकरणबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

 

आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गरिसकेको छ। असार ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

 

काठमाडौ,  १५ असार ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २४ असारदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सो शेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ७ गते हुनेछ भने ढिलोमा साउन २२ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिचार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

 

काठमाडौ,  १५ असार ।

चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ।  शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।

बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

 

काठमाडौ,  १५ असार ।

श्रीजनशील लघुवित्त वित्तीय संस्थाको शुक्रबार वार्षिक साधारणसभा बस्दै छ । सभा संस्थाकै केन्द्रीय कार्यालय गोलबजार, ७ सिराहामा बिहान ११ बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

 

सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । त्यसका साथै अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस हुनेछ । सभा प्रयोजनका लागि संस्थाले असार ४ गते बुक क्लोज गर्ने गरीसकेको छ । तसर्थ, असार ३ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

श्रीजनशील र मानुषी लघुवित्त एक आपसमा मर्ज हुँदैछन् । यी दुई बीच चैत ३ गते एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ । दुवै कम्पनी बराबरी हौसियता मर्ज हुन लागेका हुन् । हाल मानुषीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा र श्रीजनशीलको केन्द्रीय कार्यालय सिरहाको गोलबजारमा रहेको छ । एक आपसमा मर्ज हुन लागेका यी दुवै कम्पनीको हाल चुक्ता पुँजी समान १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । दुवै कम्पनीले आइपीओ जारी गरिसकेका छन् ।

 

म्याग्दी, १५ असार ।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ । निरन्तर परेको वर्षाका कारण बिहीबार रातिदेखि पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम अझै सुरु गर्न नसकिएको छैन । सडक अवरुद्ध भएसँगै सवारीसाधन र यात्रु लस्तीमा रोकिएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन् ।

 

काठमाडौ,  १५ असार ।

आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिने । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ ।

 

आईएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । अब पछि सर्वसाधारणलाई पनि ९६ लाख कित्ता सेयर खुला हुनेछ ।

 

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्याेरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।