पेरिस, १६ असार ।
फ्रान्समा चौथो दिनसम्म पनि हिंसा जारी रहेको छ ।
एक १७ वर्षीया युवाको प्रहरीले गोली हानेर मारे पछि सोको विरोधमा सयौं मानिसहरूले विरोध प्रदर्शन गरिरहेका छन्।
सो क्रममा आन्दोलनकारीले सवारी साधन, पसल, विद्यालय र सार्वजनिक पुस्तकालयमा आगजनी गरिरहेका छन् ।
बीबीसीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि पटाका समेत प्रहार गरेका छन् । फ्रान्सको आन्तरिक मन्त्रालयले सो हिंसा नियन्त्रण गर्नका लागि अहिले फ्रान्सका सडकमा ४० हजार प्रहरी तैनाथ गरेको छ ।
सो हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ८७५ प्रदर्शनकारी पक्राउ गरेको छ । प्रहरीका अनुसार यी प्रदर्शनकारीहरूमध्ये अधिकांश १४ देखि १८ वर्षका किशोरकिशोरीहरू रहेका छन्।
फ्रान्स २४ को रिपोर्ट अनुसार प्रदर्शनकारीहरूले तीन दिनमा ४ सय ९२ भवनमा क्षति पुर्याएका छन् भने २ हजार सवारीसाधनमा आगजानी गरेका छन । सो क्रममा ३८ सय ४८ अन्य स्थानमा आगजानी र तोडफोड भएका छन् ।
गत जुन २७ मा फ्रान्सको राजधानी पेरिसको उपनगरीय इलाका नान्तेरेमा ट्राफिक सिग्नलमा नरोकेपछि १७ वर्षीय बालक नाहेललाई प्रहरीले गोली हानेको थियो । ड्राइभिङ लाइसेन्स नभएका अरबी मुलका ती किशोरलाई गोली हानेर प्रहरीले मारेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भए पछि पेरिसमा एक्कासी हिंसा र दंगा फैलिन पुगेको हो ।
नैरोबी, १६ असार ।
पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ ।
शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
ढुवानी कन्टेनर बोकेको लरी सडकबाट ओर्लिएर धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि यसका धेरै भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएकाे छ ।
रिपोर्टका अनुसार क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले घटनाको जानकारी दिएका छन्। उनले शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४८ पुगेको बताए ।
दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिए,’ उनले भने । उनका अनुसार करिब २० वटा शव आफ्नै आँखाले देखेको बताए । यस क्रममा अन्य धेरै शव पनि सवारीसाधन मुनि थिए ।
लरीले ६ भन्दा बढी सवारी साधनलाई ठक्कर दिएको जनाइएको छ । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेकाे छ । मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी समेत रहेका छन् ।
केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘लण्डियानीमा भएको भयानक सडक दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति राष्ट्र शोकमा छ ।’
स्मरण रहोस, शुक्रबार साँझ भएको दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक हो। गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट खसेर नदीमा खसेको थियो। उक्त दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो ।
क्र्यालिफोनिया, १६ असार ।
ट्विटरले हरेक दिन नयाँ प्रयोग गरिरहेको छ।
यसैबिच ट्विटरले शुक्रबार थप नयाँ परिवर्तन गरेको छ।
नयाँ परिवर्तन अनुसार अब लगइन नगरी ट्वीट हेर्न पाइने छैन । यसको मतलब यो हो कि यदि तपाइँ ट्वीट हेर्न चाहनुहुन्छ भने तपाइँले ट्विटरमा आफ्नो आईडी सिर्जना गर्नु पर्नेछ। एलोन मस्कले यसलाई अस्थायी आपतकालीन उपाय भनेका छन्।
ट्वीटरका मालिक एलोन मस्कले धेरै डाटा लुटिएको र यो सामान्य प्रयोगकर्ताका लागि अपमानजनक सेवा भएको बताए । यस अघि पनि मस्कले ओपन एआई लगायतका अन्य प्लेटफर्महरू प्रति आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनले भने कि धेरै प्लेटफर्महरूले उनीहरूको डाटाको साथ भाषिक मोडेलहरू तालिम दिन प्रयोग गर्थे।
तपाई यो थाहा लिनुहोस कि ट्विटरले एप प्रोग्रामिङ इन्टरफेसका लागि थर्ड पार्टी एप्स र रिसर्चर्सलाई पनि चार्ज गर्न थालेको छ।
उता, माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरले भिडियो डाउनलोड गर्ने सुविधा जारी गरेको छ । यस फिचर अन्तर्गत नयाँ डाउनलोड भिडियो विकल्प थपिएको छ। अर्थात् ट्विटर प्रयोगकर्ताहरूले कुनै पनि तेस्रो पक्ष एप र साइटको मद्दत बिना नै प्लेटफर्ममा सीधा भिडियोहरू डाउनलोड गर्न सक्षम हुनेछन्।
यद्यपि, यो सुविधा हाल बिटा परीक्षकहरूको लागि जारी गरिएको छ।
एप अनुसन्धानकर्ता र ट्विटर प्रयोगकर्ता नीमा ओभजीले पनि यो सुविधाको बारेमा जानकारी दिँदै स्क्रिनसट साझा गरे। प्रयोगकर्ता भन्छन्, ‘ट्विटर भिडियो डाउनलोड बटनमा काम गरिरहेको छ र सिर्जनाकर्ताहरूले यसलाई सक्षम र असक्षम गर्न सक्षम हुनेछन्। यो फिचर छिट्टै रोल आउट हुने दाबी गरिएको छ ।
हालै भर्खरै ट्विटरले नयाँ भिडियो एप लन्च गर्ने घोषणा गरेको छ।
काठमाडौं, १६ असार ।
हामी सबै आफ्नो दाँत सफा गर्नको लागि दैनिक माझ्छौं, तर प्रायः हामी देख्छौं कि दाँतमा पहेंलोपन देखिन्छ, जुन कहिलेकाहीँ लाजको कारण बन्न सक्छ।
सबैको चाहना हुन्छ दाँत हीरा जस्तै चम्किलो होस् र हाम्रो हाँसो देखेर मानिस मोहित बनोस् । त्यसो भए के गर्ने ताकि दाँत सधैं सेतो र सफा देखिन्छ ? दाँत चम्किलो बनाउन के गर्ने ? कतिपयले दाँत सेतो पार्ने घरेलु उपाय पनि खोज्न थाल्छन् ।
दाँत सेतो बनाउने रामबाण उपाय थाहा छ भने, यो पनि धेरै सजिलो हुन्छ। यहाँ हामीले तपाइँको लागि केहि यस्तो रेसिपी ल्याएका छौं, जसको बारेमा धेरै कमलाई थाहा छ। तपाईंको दाँत सधैं चम्किलो हुनको लागि तपाईले बिहान के गर्नु पर्छ ? हामीलाई थाहा दिनुहोस्।
दाँत र गिजाको स्वास्थ्यका लागि दैनिक ब्रस गर्नु मात्रै होइन, केही थप उपाय अपनाउनुपर्छ । साथै, क्याल्सियम युक्त चीजहरू सेवन गरेर तिनीहरूलाई बलियो बनाउन आवश्यक छ। मुखको स्वास्थ्यलाई स्वस्थ राख्न हामीले केही बीउहरू सेवन गर्न सक्छौं। तिल दाँतको चमक र गिजाको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
बिहान सबेरै भुटेको तिल चपाउँदा दाँत बलियो बनाउन मद्दत गर्छ । चबाए पछि टूथपेस्ट वा टुथ पाउडर प्रयोग नगरी नरम टुथ ब्रशले दाँत माझ्न सिफारिस गरिन्छ।
तिलको दानामा प्रचुर मात्रामा क्याल्सियम हुन्छ, यसले दाँत र गिजाको वरपरका हड्डीहरूलाई सुरक्षित राख्छ। तिनीहरूले दाँतको इनामेल निर्माण गर्न मद्दत गर्दा प्लेक हटाउन मद्दत गर्ने विश्वास गरिन्छ ।
बिहान सबेरै भुटेको तिल चपाउँदा कलेजो र पेटलाई उत्तेजित गर्नुका साथै पाचन शक्तिमा सुधार ल्याउने विश्वास गरिन्छ । मौखिक स्वास्थ्यको ख्याल गर्नु हाम्रो दाँत र गिजाको लागि मात्र नभई हाम्रो पाचन, अंग र तन्तुको स्वास्थ्यको लागि पनि धेरै लाभदायक छ।
तिललाई आयुर्वेदमा चमत्कारी बीउ मानिन्छ। तिनीहरू हड्डी, दाँत र कपाल बलियो बनाउन सहायकको रूपमा काम गर्न सक्छन्। यी बीउहरूले कब्जियतको उपचारमा मद्दत गर्न सक्छन्। यसको साथमा, यसले कडा खोकीलाई शान्त पार्ने काम पनि गर्छ।
काठमाडौं, १६ असार ।
मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ ।
सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को शुक्रवार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरेको हो ।
गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समय देखी बन्न सुरु गरेको भए पनि अझै पनि पुरा नभएको सो खेल मैदानलाई पुर्णता दिनका लागि सरकारले पनि यस आर्थिक बर्षमा सहयोग प्रदान गरेको छ ।
काठमाडाैं, १६ असार ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
काठमाडौं, १५ असार ।
लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ परेका छन् ।
भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०१-००६ ख १८ ०२ नम्बरको टिपर चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ का ३२ वर्षीय जीवन तामाङ, बा २१ च ६५९ नम्बरको जीप चालक ललितपुरको इमाडोलका २३ वर्षीय विकेश विष्ट, बा ११ च ३९ ४० नम्बरको कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र प्रदेश ३-०१-०२३ च १४ १२ नम्बरको पिकअप चालक काठमाडौं महानगरपालिका ३५ का ३५ वर्षीय माधव गुरुङ रहेका छन् ।
नियन्त्रणमा लिएका चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ ।
काठमाडौं, १५ असार ।
निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेज तथा शिक्षालयका सञ्चालकहरूले राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले आफूहरूले अघि सारेका १५ बुँदे माग ७ दिनभित्र सम्बोधन गर्न माग गरेका छन् । चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिमार्फत आयोगका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र माग सम्बोधन गर्न भनेका हुन् । संयौंको संख्यामा आयोग कार्यालयमा पुगेका उनीहरूले आयोगका कारण चिकित्सा शिक्षा क्षेत्र तहसनहस भएको बताएका छन् ।
आयोगले आफ्नो स्थापनाको प्रथम वर्ष देखिनै देशभरका चिकित्सा शिक्षाका स्नातक तथा स्नातकोत्तर तहको शुल्क निर्धारण गर्दै आएको छ । शुल्क निर्धारण गर्दा निजी शिक्षण संस्थाहरू तथा सार्वजनिक शिक्षण संस्थाहरूको लागि एउटै शुल्क निर्धारण गर्दै आएको छ । सार्वजनिक वा सरकारी सम्पत्ति प्रयोग गरी स्थापित सार्वजनिक वा सरकारी संस्था र निजी शिक्षण संस्थाहरूमा समान शुल्कको व्यवस्था न्यायोचित नभएको उनीहरूको आरोप छ ।
स्तरउन्नतिको प्रतीक्षामा सास्ती खेपिरहेका शिक्षण संस्थाहरूको स्तर उन्नति सम्बन्धी प्रक्रिया तुरुन्त सम्पन्न गरी यस शैक्षिक वर्षमा विद्यार्थी भर्ना गर्ने वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन् । सीटीईभीटई ऐन २०४ अनुसारको मापदण्डको आधारमा सञ्चालित प्रमाणपत्र तहको भर्ना अवरुद्ध भएका ७३ वटा नर्सिङ कलेजको भर्ना विना सर्त सुचारु गर्न समेत उनीहरूले माग गरेका छन् ।
पोखरा, १५ असार ।
मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे माग राख्दै साझापत्र बुझाएका छन् । शुक्रबार पोखरामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

तत्काल प्रहरी समायोजन हुनुपर्ने, संघीय निजामती ऐन लगायतका कानुन ल्याउनुपर्ने, प्रदेश सरकारको कार्यालयहरु रहेका भवन र भवन परिसरको जग्गाको स्वामित्व प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने लगायतका माग साझा पत्रमा उल्लेख छ ।

साझा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताए ।

दार्चुला, १५ असार ।
करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ । जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका थियो । अदालतको आदेश अनुसार बुधवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो ।
प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथी अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।