काठमाडौं, २५ जेठ
नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।
उनले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै अनलाइनबाटै गर्न सकिने जानकारी दिए । पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने धारणा राखेका थिए ।
थापाले तन्नेरीहरु बोकेर देश भए पनि त्यसबाट लाभ लिन नसकेको बताए । १०-१५ वर्षमा नेपाललाई विकास गर्न सकिने युवा जनशक्ति भएको बताए । देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेको थापाको निचोड छ । कांग्रेस सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको थापाले बताए ।
काठमाडौं, २५ जेठ ।
रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको उनले बताए ।
सदनमा ल्याएर विधेयकमाथि छलफल चलाएको भए महिलाप्रति गरिएको विभेद अन्त्य गर्न र उक्त विधेयकप्र्रति स्वामित्व लिन चाहेको भन्दै लामिछानेले नागरिकविहीन जनताले नागरिकता पाउनुपर्नेमा आफूहरुको स्पष्ट धारणा रहेको बताए ।
काठमाडौं, २५ जेठ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी लागि नेपाली टिमले दक्षिण अफ्रिका पुगिसकेको छ । १६ जेठमा नेपाली टिम पुगेको थियो भने २२ जेठमा सन्दीप लामिछाने गएका थिए ।
भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाई बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुईवटा तयारी खेल खेल्नेछ । बिहीबार नै नेपालले स्कटल्यान्डसँग र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
काठमाडौं, २५ जेठ ।
राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासन सँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
जनवर्गीय संगठनहरु व्यापक तयारीमा जुटेको तथा शुक्रबारको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने उनले बताए ।
विराटनगर, २५ जेठ ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने बताएका छन् ।
बिहीबार विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् ।
भारतले हालै आफ्नो नयाँन् संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटेका बेला उनले सो बताएका हुन् ।
लिम्पियाधुरा, लिपुलेकमाथिको नेपालको अधिकार कसैले खोस्न नसक्ने भन्दै उनले नेपालले हक र परिकल्पना प्रयोग गर्दा भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्ने बताए ।
इरान, २५ जेठ ।
इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको छ ।
यो मिसाइलको गति ध्वनि भन्दा १५ गुणा बढी रहेको छ । यो मिसाइलले प्रतिरक्षा प्रणाली छिर्न सक्ने दाबी गरिएको छ । मिसाइलको नाम फतेह हो। राष्ट्रपति इब्राहिम रायसी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका वरिष्ठ कमाण्डरहरूको उपस्थितिमा मंगलबार यसको अनावरण गरिएको थियो। यो पूर्णतया इरानमा निर्मित छ।
इरानको मिसाइल कार्यक्रमलाई लिएर पश्चिमी देश र इजरायलले चिन्ता व्यक्त गरेका छन् । इजरायलले ब्यालिस्टिक मिसाइललाई परमाणु हतियार बोक्न प्रयोग गर्न सकिने बताएको छ। तर, इरानले यी सम्भावनालाई अस्वीकार गर्दै आएको छ ।

मिसाइलको गति सीमा म्याच १५ मच (५,१४५ मिटर वा १६,८८० फीट प्रति सेकेन्ड) छ। यो यसको फायरपावर १४०० किमी छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले यसलाई फतेह नाम दिएका छन्।
हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा वा बढीमा यात्रा गर्छन्। फतेह कुनै पनि राडारमा समातिने छैन।

फतहलाई अन्य कुनै मिसाइलले नष्ट गर्न सकिँदैन किनभने यो फरक दिशामा र विभिन्न उचाइमा यात्रा गर्दछ।
आईआरजीसी एयरोस्पेस प्रमुख अमीर अली हाजिजादेहले गत वर्ष नोभेम्बरमा इरानी क्षेप्यास्त्र प्रविधिका पिता भनेर चिनिने हसन तेहरानी मोगद्दमको पुण्यतिथिमा हाइपरसोनिक मिसाइलको विकासको घोषणा गरेका थिए।
काठमाडौं, २५ जेठ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।
विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।
सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुनेछ ।
यसअघि घरेलु मैदानमा स्कटल्याण्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो ।
आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने छनोट खेलका लागि नेपाली खेलाडी अफ्रिका पुगेकाे हाे ।
काठमाडौं, २५ जेठ ।
मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘टेल योर स्टोरी– (मधेश च्याप्टर)’ कार्यशाला सुरु भएको छ ।
बुधबारबाट राजधानीमा सुरु कार्यशालाले पुरुषप्रधान फिल्म क्षेत्रमा मधेशका महिलाहरूलाई आफ्नो कथा आफैँ भन्ने अवसरको सिर्जना गर्ने लक्ष्य राखेको छ । कार्यशालाको उद्देश्य महिला सशक्तिकरण तथा सिर्जनात्मक विविधताको समावेशिता रहेको छ ।
दुई चरणमा भैरहेको यस कार्यशालाको पहिलो चरण जेठ १६ देखि जेठ २० सम्म सन्चालन भएको थियो, जसअन्तर्गत राखिएको ५ दिने भर्चुअल कक्षामा निवेदनमार्फत छानिएका १७ प्रशिक्षार्थी सहभागी भएका थिए । ती मध्येबाट ९ प्रशिक्षार्थीलाई दोस्रो चरणको कार्यशालाका लागि चयन गरिएको हो । जेठ २४ देखि जेठ २९ सम्म सन्चालन हुने दोस्रो चरणको कार्यशालामा प्रशिक्षार्थीहरूलाई नेपालका ख्यातिप्राप्त फिल्मकर्मी तथा कथाकारले कथालेखनका विषयमा सल्लाह तथा मार्गदर्शन प्रदान गर्नेछन् ।
मधेशका महिलाका जीवन र अनुभव, साहस र अठोटका कथा प्राय ओझेलमै रहन पुगेका छन् र विरलै फिल्मको पर्दामा उत्रिने मौका पाउँछन् । तसर्थ, पटकथा लेखनका आधारभूत ज्ञान प्रदान गरेर तिनै अनुभवलाई मधेशकै सम्भावना बोकेका महिला कथाकारको आवाजमा छोटो फिल्मको पटकथाको रूप दिनु नै ‘टेल योर स्टोरी’ कार्यशालाको प्रमुख लक्ष्य रहेको छ । फिल्म इन्डिपेन्डेन्ट अन्तर्गतको ग्लोबल मिडिया मेकर्सको सहयोग, तथा नेपालस्थित अमेरिकी राजदुतावास तथा शिक्षा फाउन्डेसन् नेपालको सहकार्यमा सन्चालित ‘टेल योर स्टोरी–(मधेश च्याप्टर)’ कार्यशाला महिला कथाकारहरूलाई आफ्ना जीवनुभव पटकथाका रूपमा उतार्नका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नमा दत्तचित्त लागेको छ ।
कार्यशालाको अन्त्यमा तीन छोटा पटकथा छानिनेछन्, जसलाई मधेशकै फिल्मकर्मीहरूबाट फिल्मका रूपमा विकास गरिनेछ । कार्यशालामा आरतीकुमारी मण्डल, कविता खड्का, किरण शाह, पुनम रौनियार, प्रतिभा झा, पुजा यादव, पुष्पा यादव, रेनुका जिसी र सुष्मा शर्मा सहभागी छन् । उनीहरुलाई शिवानी सिंह थारु, सरिता शाह, सम्पदा मल्ल, नविन सुब्बा, मुना गुरुङ, दीपक रौनियार, आन्विका गिरी र अविनाश विक्रम शाहले प्रशिक्षण दिइरहेका छन् ।
याङुन, २५ जेठ ।
गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन भएको छ । टाउकोमा गोली लागेर घाइते भई याङ्गुन अस्पतालमा उपचाररत गायिका क्याबको एक साता पछि मृत्यु भएको हो ।
कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनी माथी गोली हानेका थिए । उनको मृत्युले सैन्य समर्थकहरूलाई मात्र होइन, सेना समर्थक मिडियामा काम गर्ने सेलिब्रेटीहरूलाई पनि स्तब्ध बनाएको जनाईएको छ ।
बीवीसीका अनुसार ५८ वर्षीया गायिका क्याब सेनाका उच्च अधिकारी तथा जुन्ताका शिर्ष नेताहरूको नजिक थिइन् । उनलाई जुन्ताको सूचनादाता भएको आरोप पनि लगार्इदै आईएको थियो ।
उनको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरु सेनाको विरुद्धमा सहरी छापामार गरिरहेका समूहसँग सम्बन्धित रहेको बताइएको छ ।
सुश्री क्यावको हत्या उच्च प्रोफाइल सरकारी समर्थकहरूको हत्याको शृङ्खलाको पछिल्लो घटना हो।
काठमाडौ, २५ जेष्ठ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०, कुरीलो प्रतिकेजी १८०, काउली स्थानिय प्रतिकेजी मूल्य ६०,आलु रातो ४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १६० रुपैयाँ, चमसूरको साग रू ११०,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी २२० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार खरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा (रहु) ३१५, ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।