२०८३ श्रावण २२
२०८३ श्रावण २२

 

काठमाडौँ, २९ असार ।

अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् ।

 

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउन लागेका हुन ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

 

साथै, आफनो भ्रमणको क्रममा उनले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामुहिक भेटघाट गर्नेछन् ।

 

भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा सम्पन्न गरेर नेपाल आउन लागेका सहायक विदेशमन्त्री लुले अन्य राजनीतिक दलका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाईएको छ ।

 

मस्को, २९ असार ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी हतियारले युक्रेनको युद्धभूमिको अवस्था परिवर्तन गर्न नसक्ने बताएका छन् ।

उनका अनुसार ती बिदेशी हतियारहरुले थप तनाव बढाउने छन्, लडाइँलाई तिव्र पार्नेछ र अन्ततः विनाश निम्त्याउने छ भन्दै युक्रेनलाई उनले चेतावनीसमेत दिएका छन् ।

 

राष्ट्रपति पुटिनले रुसी सेनालाई प्राथमिकताका आधारमा विदेशी ट्याङ्कलाई कारबाही गर्न समेत निर्देशन दिएका छन ।

 

नाटो शिखर सम्मेलनपछि पहिलो पटक रुसी सरकारी टेलिभिजनमार्फत राष्ट्रपति पुटिनले आफनो धारणा बाहिर ल्याएका हुन ।

पुटिनले युक्रेनलाई नेटो सदस्यता दिने आश्वासन रुसको सुरक्षाका लागि खतरनाक भएको र यसले फेरि एकपटक विश्वव्यापी तनाव बढेको प्रारम्भिक प्रतिक्रिया दिएका छन्  ।

फ्रान्सले युक्रेनलाई २५० किलोमिटर मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र दिने घोषणा गरेकोमा पनि पुटिनले आपत्ति जनाएका छन । यद्धपी, फ्रान्सको सो सहयोगले उल्टै क्षति पुर्‍याउने छ तर युद्ध मैदानको अवस्था परिवर्तन नहुने बताए ।

युक्रेनसँगको खाद्यान्न निर्यात सम्झौतामा पुटिनले रुसका केही अपेक्षा पूरा नभएमा यो सम्झौतालाई निरन्तरता नदिने बताएका छन् । यस सम्झौताको म्याद जुलाई १७ मा सकिँदैछ।

 

यस सम्झौता अन्तर्गत खाद्यान्न बोकेका युक्रेनी जहाजहरू रूसी सेनाको अनुमतिमा मात्र ब्ल्याक सागर हुँदै बाहिर जान पाउँछन । युक्रेनी जहाजहरू विदेश जानको लागि यो एक मात्र तरिका र बाटो पनि हो।

 

किभ, २९ असार ।

बिहीबार बिहानै रुसी सेनाले युक्रेनका धेरै सहरहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको छ ।

 

यी आक्रमणमा परेर तीन जनाको मृत्यु भएको जनाईएको छ ।

 

समाचार अनुसार राजधानी कीभमा मात्रै दुई दर्जनभन्दा बढी ड्रोन आक्रमणहरू भएका थिए, जसमध्ये २० ड्रोन युक्रेनमा तैनाथ गरिएको वायु रक्षा प्रणालीले खसालेका थिए। पछिल्लो रुसी आक्रमणमा कीभमा चार जना घाइते भएका छन् र धेरै घरहरू ध्वस्त भएका छन्। ड्रोन आक्रमणमा युक्रेनको उत्तरमा दुई जनाको मृत्यु भएको छ भने दक्षिणमा एक जनाको मृत्यु भएको छ ।

 

उता, रुसी सेनाले ठूलो संख्यामा युक्रेनी नागरिकलाई बन्दी बनाएर युद्धको मोर्चामा खाडल खन्न बाध्य पारेको जनाईएको छ ।  युक्रेनी सेनालाई यी खाडलहरूबाट घेरेर आक्रमण गरिएको थियो ।

 

लिथुआनियामा नेटो शिखर सम्मेलन सकिएको केही घण्टापछि आक्रमण भएको हो।

 

नयाँदिल्ली, २९ असार ।

भारतीय अन्तरिक्ष अध्ययन संस्था इसरोले आज चन्द्रयान-३ मिशन प्रक्षेपण गर्दैछ।

 

चन्द्रयान–३ श्रीहरिकोटाबाट प्रक्षेपण गरिने छ । यस अभियानका लागि सबै किसिमको तयारी पूरा भएको छ । यो आज दिउँसो २.३५ बजे त्यसकाे प्रक्षेपण सुरु हुनेछ।

 

चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण हुनेबित्तिकै भारत यस्तो गर्ने विश्वको चौथो देश हुनेछ ।

चन्द्रयान-३ को प्रक्षेपण हुनु अघि, चन्द्रमा ल्यान्डर विक्रमलाई GSLV मार्क  ३ हेभी लिफ्ट लन्च भेहिकलमा राखिनेछ, जसलाई बाहुबली रकेट भनिएकाे । यसलाई लन्च भेइकल मार्क ३ (LM-3) नाम दिइएको छ। GSLV ४३.५ मिटर उचाइ छ। अर्थात् यसको उचाइ दिल्लीमा रहेको कुतुबमिनार भन्दा बढी छ। चन्द्रयान–३ प्रक्षेपण भएको ४० दिनपछि अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण हुनेछ ।

 

पहिलो पटक, भारतको चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ, जहाँ पानीको निशान फेला परेको छ। सन् २००८ मा भारतको पहिलो चन्द्रमा मिसनमा भएको खोजले विश्वलाई चकित पारेको थियो । विक्रमको उद्देश्य सुरक्षित, नरम अवतरण गर्नु हो। यसपछि, ल्यान्डरले रोभर प्रज्ञान छोड्नेछ, जुन चन्द्रमाको सतहमा एक चन्द्र दिन (१४ पृथ्वी दिन बराबर) घुम्नेछ र वैज्ञानिक प्रयोगहरू पनि गर्नेछ।

 

यस मिसन अन्तर्गत, वैज्ञानिकहरूले चन्द्रमाको माटोको विश्लेषण गर्ने, चन्द्रमाको सतहको वरिपरि घुम्ने र चन्द्रमासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारीहरू पत्ता लगाउने अपेक्षा गरिएको छ।

 

इसरोले अघिल्लो चन्द्र अभियानका क्रममा भएको गल्तीबाट पाठ सिकेर ल्यान्डरमा इन्जिनको संख्या पाँचबाट घटाएर चारमा राखेको र सफ्टवेयरलाई पनि अपडेट गरेको जनाएको छ । सबै कुरा ठीकसँग परीक्षण गरिएको छ।

 

लण्डन, २९ असार ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणमा रहेको बेलामा फ्रान्समा रहेको युरोपेली संसदमा मणिपुर हिंसासँग सम्बन्धित प्रस्ताव पारित भएको छ ।

युरोपियन संसदबाट मणीपुर हिंसा सबन्धी प्रस्ताव पारित भए पछि भारतले भने त्यसमाथी  कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको र यसलाई पटक्कै सहन नसकिने बताएको छ ।

 

युरोपेली संसदले बिहीबार भारतमा मानवअधिकारको अवस्थाबारे विशेष गरी मणिपुरमा हालैका झडपहरू उल्लेख गर्दै एउटा प्रस्ताव पारित गरेको थियो । फ्रान्सको स्ट्रासबर्गमा रहेको युरोपियन संसदले भारतीय अधिकारीहरूलाई जातीय र धार्मिक हिंसा रोक्न र सबै धार्मिक अल्पसंख्यकहरूको सुरक्षा गर्न कदम चाल्न आह्वान गरेको छ।

 

 

यस्तो अवस्थामा भारतीय बिदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले युरोपेली संसदले मणिपुरको घटनाक्रम बारे छलफल गर्दै अस्थायी प्रस्ताव स्वीकार गर्नु भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको प्रतिक्रिया दिएका हुन ।

‘भारतको आन्तरिक मामिलामा यस प्रकारको हस्तक्षेप अस्वीकार्य छ र यसले औपनिवेशिक मानसिकता झल्काउँछ’ विदेश सचिव विनय क्वात्राले भने । उनका अनुसार सम्बन्धित ईयू सांसदहरूसँग सम्पर्क भइरहेको  र उनीहरूलाई यो पूर्ण रूपमा भारतको आन्तरिक मामिला हो भनेर स्पष्ट  पारे पनि युराेपियन स‌सदवाट पारित हुन गएकाे थियाे ।

 

 

मणिपुरमा झण्डै दुई महिनादेखि कुकी र मेइती समुदायबीच हिंसात्मक झडप भइरहेको छ।

 

आरके श्रीवास्तव,राैतहट,२९ गते असार राैतहट ।

राैतहटमा धारिलो हतियार प्रयाेग गरि एक पुरूषको हत्या भएको छ । जिल्लाको देवाहीगाेनाही नगरपालिका-६ कर्कच कर्मैया बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयाेग भई हत्या भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साहले दिएको जानकारी अनुसार साह शुक्रबार बिहान घरमै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । साहको हत्या कसले र किन गर्याे ? यसबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ । घटना स्थलमा प्रहरी टाेली र देवाही गाेनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहकाे टाेली पुगि घटनाबारे जाँच बुझ गरिरहेका छन् ।

 

चितवन, २८ असार ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । अस्पतालभित्रको फार्मेसीमा औषधि किन्न सास्ती हुने गरेको गुनासो आएपछि मन्त्री जोशीले आज आकस्मिक अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा औषधि लिने सेवाग्राहीको लामो साइन रहेको र फार्मेसीको काउन्टर खाली रहेको पाइएको मन्त्री जोशीको सचिवालयले जनाएको छ । मन्त्री जोशीले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल र अध्यक्ष राजु पौडेललाई बोलाई आफ्नो डियूटी समयमा काममा नआउने कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न निर्देशन दिए ।

मन्त्री जोशीले फार्मेसीमा बीमा मार्फत् २४सैं घण्टा औषधि किन्न मिल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।

 

काठमाडौं, २८ असार ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेकी छन्।

दाहालको निधनमा दुःख व्यक्त गर्दै उनले प्रधानमन्त्री दाहालको परिवारलाई समवेदना सन्देश पठाएकी हुन्।

नेपालका लागि बंगलादेशी राजदूतले बिहीबार प्रधानमन्त्री दाहालको परिवारलाई भेटेर बंगलादेशकी प्रधानमन्त्री हसिनाले पठाएको शोक सन्देश बुझाएका थिए।

 

काठमाडौं, २८ असार ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बिनियोजन विधेयक, २०८० को छलफलका क्रममा सांसदहरुले उठाउनुभएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘मुलुकको आवश्यकता, तत्कालीन परिस्थित, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण भएको हो । भविष्यमा पनि सोही सिद्धान्तका आधारमा सङ्ख्या निर्धारण हुनेछ ।’

रक्षामन्त्री खड्काले हाल नेपाली सेना विभिन्न काममा पूर्णरुपमा जिम्मेवारीका साथ सक्रियरुपमा लागेको स्पष्ट पारे । नेपाली सेनाको सङ्ख्यालाई उच्चतम उपयोग गरी मुलुकको विकास र उन्नती तथा प्रगतिमा खटाइएको उनको भनाइ छ ।

‘नेपाली सेना, संविधान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय मापदण्ण्ड अनुरुप सीमा सुरक्षा एवम् भौगोलिक अखण्डता रक्षाका कार्यमा सदैव क्रियाशिल रहेको प्रति सबैलाई अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘कुनै पनि देशको सेनाको सङ्ख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समय–समयमा मुलुकको आवश्यकता अनुसार निर्धारण हुने गर्छ ।’

उनले नेपाली सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णय बमोजिम निर्धारण हुने समेत स्पष्ट पारे । साथै नेपाली सेनाले संविधान तथा अन्य कानूनले दिएको जिम्मेवारी,  सरकारले समय–समयमा दिने जिम्मेवारी, अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका गर्ने कार्यलगायत विभिन्न जिम्मेवारीका पनि प्रभावकारी र जिम्मेवारपूर्वक निर्वाह गरेको बताए ।

उनले भने, ‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ । त्यो बेलासम्म हाम्रो मुलुकको रक्षाका लागि, भौलोगिक अखण्डताका लागि, सीमा रक्षाका लागि नेपालीसँगै नेपाली सेना पूर्णरुपमा प्रतिबद्ध छ । प्रतिकुल अवस्थालाई अनुकुलतामा परिणत गर्दै नेपाली सेनाले आफ्नो भूमिका अत्यन्तै अनुशासित रुपमा निर्वाह गर्दै आएको छ ।’

उनले हाल नेपाली सेनाको दरबन्दी दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ सङ्ख्या कायम भएको बताए । जसमध्ये ७४ हजार पाँच सय पाँच पुरुष र छ हजार सात सय ७२ महिला रहेको उनको भनाइ छ ।

हाल कायम रहेको नेपाली सेनालाई दुई वटा प्रमुख काममा जिम्मेवारी दिइएको उनले सुनाए । उनका अनुसार ४० हजार दुई सय ७ जनालाई शान्ति सेना, विभिन्न तालिम प्रदान, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटाइएको छ भने बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा खटाइएको छ ।

उनले नेपाली सेनालाई भौतिक पूर्वाधार निर्माण, वातावरण तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पनि खटाइएको बताउनुभयो । अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि पनि नेपाली सेनाले प्रमुख भूमिका खेलेको उनको भनाइ छ ।

 

काठमाडौं, २७ असार ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा हाल १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी हुन् ।

उनका अनुसार सबैभन्दा धेरै पत्रपत्रिका रहेका छन् भने सबैभन्दा  थोरै टेलिभिजन रहेका छन् ।

पत्रपत्रिकाको संख्या  ७ हजार ९७९ रहँदा टेलिभिजन २४२ वटा सञ्चालनमा रहेका छन् । यसैगरी, ३ हजार ९९० अनलाइन पत्रिका सञ्चालनमा रहँदा ९२८ वटा एफएम रेडियो चलिरहेका मन्त्री शर्माले जानकारी दिइन् ।
उनका अनुसार गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।