काठमाडौं, ३२ ।
प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकता विषयमा सामूहिक आत्मदाह भए कसले जिम्मेवारी लिन्छ भन्दै सरकार र न्यायालयको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै जनमत पार्टीका सांसद खानले काठमाडौंको माइतीघर मण्डासहित देशभर नागरिकता पाउनुपर्ने मागसहित प्रदर्शन भइरहेको जानकारी गराउँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
सोही क्रममा केही दिनअघि एक प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेको घटना स्मरण गराउँदै बैठकमा उनले भने, ‘सरकारको ध्यान कता छ ? नागरिकताबाट वञ्चितहरूले माइतीघरमा आत्महत्याको कोसिस हुँदै छ । यो रोकिएन र भोलि सामूहिक आत्मदाह भयो भने कसले जिम्मेवार लिने सरकार कि न्यायालयले ?’
नागरिकले नागरिकता माग्नु अपराध भए गोली हानेर लखट्न भन्दै उनले भने, के नागरिकता माग्नु अपराध हो ? यो अपराध हो भने गोली हानेर धपाउनुहोस्, नभए नेपाली हामी नागरिकलाई नागरिकता दिनुहोस् ।’
सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याए पनि न्यायालयले रोकेकोप्रति असन्तुष्टि जनाउँदै उनले यसबारे गृहमन्त्रीको समेत जवाफ मागेका छन् ।
काठमाडौं, ३२ जेठ ।
सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियालाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानिया काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बानियाले बोकेको झोला सडकमा फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको थियो । साथै प्रहरीले बानियालाई खोजी गर्ने क्रममा भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट फेला पारी पक्राउ गरेको हो ।
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बस्ने २१ वर्षीय शशी राईलाई भरुवा बन्दुक २ थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौ, ३२ जेठ ।
बिहीबार सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार घएको छापावाल सुनको भाउ बिहीबार घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो ।
त्यस्तै, तेजावी सुन यसअघि प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेको महासङ्घले जनाएको छ । बुधबार प्रतितोला १ हजार ४२५ रुपैयाँ पर्ने चाँदीलाई बिहीबार १ हजार ४०५ रुपैयाँ मात्रै पर्ने भएको छ ।
काठमाडौं, ३२ जेठ ।
भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् । भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन उनले माग गरे ।
हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।
काठमाडौं, ३२ जेठ ।
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबारको संसदीय सुनुवाइ सकिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनी उपस्थित भएका थिए । बुधबार उजुरीकर्तासँग छलफल गरेको समितिले सुनुवाइका लागि बिहीबार कार्कीलाई बोलाइएको हो । सो क्रममा बैठकमा कार्कीले न्यायालयमा हुने विचौलियाको प्रभाव निस्तेज पार्नेसहितको कार्ययोजना पेस गरेका छन् ।
आफूले न्यायाधीशको इमान कायम राखेको दाबी गर्दै उनले विचौलियाका गतिविधि सूक्ष्म निगरानीमा राख्ने जानकारी दिए । उनको बिहीबारको सुनुवाइ सकिएको छ । शुक्रबार फेरि सुनुवाइ हुनेछ । त्यसबेला सांसदहरुले उनको कार्ययोजनासहितका विषयमा प्रश्न गर्नेछन् भने कार्कीले जवाफ दिने कार्यक्रम छ ।
१ फागुन २०७८ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनलाई गत २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्याधीशमा सिफारिस गरेको हो ।
वासिंगट डिसी, ३२ जेठ ।
अमेरिकाको पहिलो हिन्दू–अमेरिकी सम्मेलन अमेरिकाको शक्तिको केन्द्र अमेरिकाको क्यापिटल हिलमा भएको थियो।
सम्मेलन जुन १४ मा भएको थियो, जसको उद्देश्य अमेरिकामा बसोबास गर्ने हिन्दू समुदायका समस्याप्रति अमेरिकी कानून निर्माताहरूको ध्यानाकर्षण गराउने थियो। यो सम्मेलनलाई हिन्दूहरूको लागि अमेरिकी नाम दिइएको थियो।
प्राप्त जानकारी अनुसार वैदिक जप र प्रार्थनाको साथ अधिवेशन सुरु भएको थियो । यस क्रममा रोमेश जापराले भने, ‘हिन्दू मूल्य मान्यता हाम्रो अमेरिकी संविधानसँग पूर्णरुपमा जोडिएको छ भगवद् गीतासँग प्रतिध्वनित भएको छ, त्यसैले हामी हिन्दू अमेरिकीहरूलाई आवाज दिन समर्पित छौं।’
यस हिन्दु सम्मेलनका संस्थापक तथा अध्यक्ष रोमेश जापराले यो सम्मेलन पहिलो पटक भएको बताए । राजनीतिक सहभागिताका लागि हिन्दू अमेरिकी सम्मेलन आयोजना भएको उनको भनाई छ । ‘हाम्रो समुदाय सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक र अन्य सबै क्षेत्रमा सक्रिय छ तर राजनीतिमा हामी धेरै पछाडि छौं,’ उनले भने ।
हिन्दूहरूको लागि अमेरिकन सम्मेलन २० अन्य डायस्पोराहरूसँगै अमेरिकन फर हिन्दू राजनीतिक कार्य समितिले आयोजना गरेको हो। यस सम्मेलनमा फ्लोरिडा, न्यूयोर्क, बोस्टन, टेक्सास, शिकागो, क्यालिफोर्निया आदि शहरहरूका लगभग १३० भारतीय अमेरिकी नेताहरू सहभागी हुनेछन्।
लमजुङ, ३२ख जेठ ।
बुधबार दिउँसोदेखि परेको वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाको सिम्पानी आँगेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए।
खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।
यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयबासीको भनाइ छ। यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर प्रयोग भइरहेको इञ्जीनियर अधिकारीको भनाइ छ।
यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्।
काठमाडौं, ३२ जेठ ।
नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार दोस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ मन्त्री साउदले भने, ‘दोस्रोपटक बसेको बैठक मुख्यसचिवमा वरिष्ठतम् सचिवमध्येबाट वैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ ।’
बिहीबार नै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मुख्यसचिव पदबाट शंकरदास बैरागीले दिएको राजीनामा स्वीकृत गरेको थियो । उनको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
अर्यालले शुक्रवारबाट अनिवार्य अवकाश पाउँदै थिए । तर, बिहीबार नै सरकारले उनलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो ।
काठमाडौं, ३२ जेठ ।
नेपाल सरकारको मुख्यसचिव पदबाट राजीनामा दिएका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । बैरागीले दिएको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त गरेको हो ।
‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘पहिलो बैठकले शंकरदास बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । साथै दोस्रोपटक बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त निर्णय गरेको छ ।’
लसएन्जल्स, ३२ जेठ ।
हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन् ।
यो फ्रेन्चाइजीमा कुल पाँच फिल्म छन्, जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन् । ‘अवतार २’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो ।
यो सिरिज ओटीटी प्लेटफर्मममा पनि आइसकेको छ । तर बाँकी सिक्वेलको रिलिज तोकिएकै समयमा नहुने भएको छ । बाँकी सिरिजको रिलिज मिति निर्माण पक्षले एक वर्ष पछाडि सारेका छन् ।
जस अनुसार ‘अवतार ३’ डिसेम्बर १९, २०२५ मा रिलिज हुनेछ । यसअघि यो फिल्म २०२४ मा रिलिज हुने थियो । यो सिरिज ‘अवतार–द वे अफ वाटर’को फलोअप हो । नयाँ क्यालेन्डर अनुसार ‘अवतार ४’ तेस्रो फिल्मको चार वर्षपछि २१ डिसेम्बर २०२९ मा रिलिज हुनेछ । यो फिल्म यसअघि सन् २०२६ मा आउने चर्चा थियो ।
‘अवतार’को अन्तिम फिल्म ‘अवतार ५’ का लागि दर्शकले ८ वर्ष पर्खनु पर्नेछ । यो फिल्म सन् २०३१ डिसेम्बर १९ मा रिलिज हुनेछ । ‘हरेक अवतार फिल्म आफैमा एक जोशिलो र अद्भुत अनुभव हो । यसलाई गुणस्तरका साथ पर्दामा ल्याउन समय लाग्छ । जसका लागि हामी फिल्मकर्मी जुटिरहेका छौं । ताकि दर्शकको आशामा खरो उत्रन सकौं । टीम आफ्नो काममा कडा मेहनत गरिरहेका छन् ।
डिसेम्बर २०२५ मा दर्शकलाई फेरी पेण्डोरामा लैजानका लागि हामी प्रतिक्षामा छौं’, निर्माता जोन लेन्डाउले ट्वीट गरेका छन् ।