२०८३ श्रावण २०
२०८३ श्रावण २०
काठमाडौँ,२० पुस :
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आउनुभएका उहाँले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गर्नुभएको हो ।
भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।(रासस)

आरके श्रीवास्तव रौतहट पुस १९ गते ।

माैलापुरमा “असहाय सँग मेयर कार्यक्रम”प्रभावकारी बन्दै गएको छ ।

No description available.

नगरपालिका द्वारा छोरीको बिहेमा आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख रिना कुमारी साहले अनुदान रकमकाे चेक हस्तान्तरण गर्नु भएको हाे ।

No description available.

मौलापुर नगरपालिकाको असहायसँग मेयर कार्यक्रम अन्तर्गत छोरीको बिहेका लागि आर्थिक सहायता अनुदान रकम प्राप्त गर्न निवेदन पेश गरेकाहरूले चेक पाएका छन् त्यस्ता लाभग्राहीहरुलाई जनही रु. ३० हजारको दरले ४९ जना लाभग्राहीहरुलाई १४ लाख ७० हजार रकम बराबरको चेक प्रत्येक लाभग्राहीहरुलाई हात हातमै उपलब्ध गराईएकाे माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराएका हुन् ।

No description available.

नयाँ निवेदनहरुको हकमा नगर प्रमुख वा निजको प्रतिनिधिबाट बिहेको दिन निवेदकको घरमै चेक हस्तान्तरण कार्य जारी रहेकाे अधिकृत साहले जानकारी गराए ।

No description available.

नगरप्रमुख साहकाे पहलमा झण्डै ६ वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गर्दै आएको छ ।

No description available.

No description available.

आरके श्रीवास्तव रौतहट, पुस १९ गते 

रौतहट । धाकधम्की दिएर रकम माग गर्ने एक जना व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।रौतहटको एक ब्यापारीलाई बारम्बार फोन गरेर धाक धम्कि देखाएर पैसा माग गरे पछि अनुसन्धानको क्रममा रौतहट प्रहरीले पक्राउ गरेर बिहिवार सार्वजनिक गरेको छ ।पक्राउ पर्ने जिल्लाको -फतुवा विजयपुर नगरपालिका -८ बस्ने बर्ष ३५ को श्रीभगवान साह रहेको रौतहट प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार साहले व्यापारीलाई १० देखि १८ गतेसम्म फोन गरेर पाँच लाखदेखि ५० लाखसम्म माग गरेका थिए।आफुले माग गरेको अनुसार पैसा न दिएमा परिवारका सबै सदस्यलाई मारिदिने धम्की दिएका प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन्। उनीहरुविरुद्ध आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै यस घटनामा संगलंगन अन्यलाई खोजतलास कार्य भईरहेको समेत रौतहट प्रहरीले जनाएको छ ।

काठमाडौँ, १९ पुस :

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यसैगरी दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पाेरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । आजै दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ । भूकम्पपछिको पुनः निर्माणका लागि भारत सरकारले रु १० अर्ब अनुदान सहयोग गर्ने घोषण गरेको छ । (रासस)

गोदार (धनुषा), १९ पुस :

तपाईँ हुलाकी राजमार्ग हुँदै सिरहा जानुभएको छ भने धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलछेउमा एउटा कालो रङको चारपाङ्ग्रे गाडी पक्कै देख्नुभएको होला । यो गाडी विगत आठ महिनादेखि सार्वजनिक बिदाबाहेक अन्य दिनमा यही पुल छेउमा देखिने हुँदा गाडी किन र कसले राख्ने गरेका होलान् ? भन्ने तपाईँलाई पक्कै जिज्ञासा हुनुपर्छ ।

यहाँ नजिक न बस्ती छ, न व्यापार । बाह्र वर्षअघिदेखि बनेको उक्त नदीमाथिको पुल सञ्चालनमा नआउँदै भास्सिएकाले यहाँबाट चारपाङ्ग्रे गाडी गुड्ने कुरै छैन तर पनि किन र कसले पुल छेउमा गाडीे राखिरहेको छ भन्ने बुझ्दै जाँदा थाहा भयो, त्यो गाडी त डा रामकिशोर गोइतको रहेछ ।

उहाँ सिरहास्थित प्रादेशिक अस्पतालमा कार्यरत हुनुहुन्छ । त्यसैकारण डा गोइतलाई दिनहुँ कार्यस्थल सिरहा गइरहनुपर्छ । सिमाना जोडिएकै भए पनि जनकपुरधाम निवासी उहाँलाई ढल्केवर गोदार हुँदै त्यहाँ गइरहन दिनहुँ करिब ८७ किलोमिटर पार गर्नुपर्छ तर हुलाकी राजमार्ग हुँदै गएमा भने करिब २८ किलोमिटर बाटो छिचोले पुग्छ । यही छोटो दूरीको लाभ उठाउन डा गोइतले हुलाकी राजमार्गको बाटो रोजिरहनुभएको हो ।

आफ्नै गाडीमा कार्यस्थल पुग्न उहाँलाई भाँसिएको कमला पुल बाधक भएकाले विगत आठ महिनादेखि जनकपुरबाट गएर चारपाङ्ग्रे गाडीलाई कमला पुल छेउमा थन्क्याउने र पुलपारिबाट मोटरसाइकलको सहारामा कार्यस्थल आउजाउ गर्नुपर्ने बाध्यता छ । “के गर्नु ! ढल्केबर हुँदै पूर्वपश्चिम राजमार्गबाट जाँदा झण्डै तेब्बर दूरी पार गर्नुपर्छ । छोटो दूरीको सदुपयोग गरौँभन्दा पनि कमलाको पुल बाधक बनेकाले यहाँ गाडी पार्किङ गरेर जाने गरेको छु । खै कति वर्षसम्म यस्तो गर्नुपर्ने हो कुन्नि !”, डा गोइतले रासससँगको कुराकानीमा भन्नुभयो । “करिब १२ वर्ष लगाएर बनाइएको पुल एकै वर्षमा भास्सिएको साढे दुई वर्ष भइसक्दा पनि पुनःनिर्माण नहुँदा यहाँका मानिसले यस्तै सास्ती खेपिरहनुपरेको छ । अहिले त जेनतेन यस्तै चलिरहेको छ । वर्षायाममा त महेन्द्र राजमार्ग वा भारतको जयनगर भएर सेवा गर्न जानुपर्ने बाध्यता छ ।

यो पीडा कसले बुझिदिने”, उहाँले बताउनुभयोे, “करिब १३ वर्षदेखि निर्माणाधीन पुल सञ्चालनमा आए पनि तीन वर्षअघि भास्सियो । सञ्चालनमा आउन फेरि कति वर्ष लाग्ने हो ठेगानै छैन । यसले मलाई मात्रै होइन, प्रदेशको राजधानी पुग्नुपर्ने इमर्जेन्सीका बिरामीलाई त झन् कठिन भइरहेको छ ।”

डा गोइतका आफ्नै पीडा छन् । त्योभन्दा बढी पीडा छ उहाँका गाडी चालक बैजनाथ साहलाई छ । गाडीको सुरक्षाका लागि पनि चालकले डा गोइत नफर्कुञ्जेल त्यही पुलमा कुरेर बस्नपर्छ । “के गर्नु जागिर र गाडीको बचाउ गर्नैपर्यो । कहिलेकाहीँ त डाक्टरसापले शल्यक्रिया गर्दा धेरै समय लगाएमा झिमिक्क रात पर्दासम्म यही कुरेर बस्नुपर्छ”, चालक साहले आफ्नो पीडा सुनाउनुभयो ।

जनकपुरधामबाट आवतजावत गर्न डा गोइतलाई मात्रै होइन सोही अस्पतालमा कार्यरत अर्थोसर्जन डा रवि श्रीवास्तव र इण्डोक्रोलोजिष्ट डा सितेश गोइतलाई पनि उस्तै कठिनाइ भोग्नु परिरहेको छ । सिरहा अस्पतालमा विगत १० महिनादेखि कामकाज गर्दै आउनुभएका डा श्रीवास्तवले भन्नुभयो, “अस्पतालको आवास सुविधा राम्रो छैन । जनकपुरधामबाट दिनहुँ धाउने बाटोको हालत झन् खराब छ । यो १० महिनाको अवधिमा भोगेको दुःख भनिसाध्य छैन ।”

सङ्घीयता आएपछि घर पायक हुनेगरी सेवा गर्ने अवसर मिले पनि पुलको दूरावस्थाले आफूहरूलाई सास्ती दिनाका साथै सङ्घीय व्यवस्थामा पनि ढिलासुस्तीले विगतमा झै निरन्तरता पाउनु शोभनीय नभएको उहाँको गुनासो थियो । जनकपुरधामबाट सिरहा र सिरहाबाट जनकपुरधाम जान महेन्द्र राजमार्ग या त भारतको जयनगर पुग्नुपर्ने भएकाले अधिकांश नागरिकले यही बाटो प्रयोग गर्छन् । यो बाटो प्रयोग गर्दा करिब ६० किलोमिटर दूरी छोटिन्छ जबकि अरु बाटो प्रयोग गर्दा ८७ किलोमिटर लामो दूरी पार गर्नुपर्छ ।

“वर्षाबाहेक अन्य समयमा कमला नदीमा स्थानीयवासीले अस्थायी काठेपुल प्रयोग गर्छन् । त्यसका लागि मोटरसाइकल प्रयोग गर्नेहरुले एक पटकमा रु ५० तिर्नुपर्छ । कुनै बेला रु एक सय ५० तिरेर पनि आवतजावत गरेको छु”, सप्तरीको शम्भुनाथ नगरपालिका अर्नाहाका सञ्जीवकुमार यादवले भन्नुभयो, “वर्षात्मा त्यो सुविधा पनि प्रयोग गर्न नपाउँदा जनजीवन झन् कष्टकर हुन्छ ।”

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । तर सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त कम्पनीसँगको ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । सो कम्पनीले निर्माणको काम अन्तिम चरणमा पुर्याएर विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा त्यसअघि नै बाढीका कारण पुल भास्सियो । तेह्रवटा पाया र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भास्सिएको थियो ।

गत वर्ष फागुनमा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ (हाल उपप्रधान तथा गृहमन्त्री)ले तत्काल पुल निर्माणको काम सुरु गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएअनुसार सोही वर्ष चैत २६ गते प्राविधिक नक्सा स्वीकृत भई पुनःनिर्माणको काम सुरु पनि गरियो तर सो कार्य वर्षा सुरु भएसँगै ठप्प छ ।

विसं २०७८ असारमा भास्सिएको पुल निर्माण सुरु हुन डेढ वर्ष लाग्दा पनि २०७९ चैतदेखि पुनःनिर्माण सुरु भएर केही हप्तामै रोकिएको सो काम आगामी २०८१ असार मसान्तभित्र सक्नुपर्ने हुलाकी सडक निर्देशनालय सिरहाका निर्देशक कृष्णकुमार महतोले जानकारी दिनुभयो ।रासस

काठमाडौँ, १९ पुस :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा विशेष गरी प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउनका लागि आज बस्ने नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक फलदायी हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार रुपक सापकोटाले जानकारी दिनुभयो ।

गत जुनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका विद्युत् व्यापार, कनेक्टिभिटीलगायतका विषयमा छलफल भइ प्रधानमन्त्री दाहालले ती सम्झौतालाई चाँडो कार्यान्वयनमा ल्याउने गरी आजको दुई देशबीचको संयुक्त आयोगको बैठकमा आवश्यक छलफल गरी अगाडि बढ्न भारतीय विदेशमन्त्रीलाई आग्रह गर्नुभएको थियो । उहाँले भारतसँग भएको विद्युत् व्यापारसम्बन्धी सम्झौता नेपाल र भारत दुवै देशका लागि तथा नेपालले बंगलादेशसम्म विद्युत् व्यापार गर्न सक्नेसम्मका लागि पनि कोशेढुङ्गा सावित हुने भन्दै यस सम्झौतालाई आपसी समझदारीअनुसार सहजरुपमा अघि बढाउन जोड दिनुभएको सल्लाहकार सापकोटाले जानकारी दिनुभयो

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नुभएको हो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरिसक्नुभएको छ ।(रासस)

काठमाडौँ, १९ पुस :

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीनरूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशका बीचमा सहमति भएको बताउनुभएको थियो ।

भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको आजदेखि हुन लागेको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा नै दुई देशका प्रधानमन्त्रीले बिजुली निर्यातका विषयलाई ऐतिहासिक र महत्त्वपूर्ण भएको टिप्पणी गर्नुभएको थियो । विभिन्न आन्तरिक तयारीपछि यो विषयले साथर्कता पाएको हो ।

सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।

उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको छ । सरकारले निजी क्षेत्रलाई समेत साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणात्मक परिवर्तन गर्ने लक्ष्य राखेको छ । त्यसअघि ऊर्जामन्त्री बस्नेतसँग भारतीय ऊर्जासचिव अग्रवाललगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले दुई देशबीच ऊर्जा क्षेत्रमा सार्थक सहकार्य आरम्भ भएकामा खुसी व्यक्त गर्दै त्यसलाई थप निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयो ।

उहाँले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउने बताउनुभयो । उहाँले अन्य आयोजनालाई पनि गति दिन र तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले ठूला आयोजनामा भारतीय लगानीको अपेक्षा गरेकोसमेत बताउनुभयो । (रासस)

सर्लाही, १९ पुस :

सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।

जिल्लाका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीको भनाइ छ । उहाँ अनुसार गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदानसहित रु छ सय १० निर्धारण गरिएको थियो ।

जसमा रु पाँच सय ४० चिनी मिल र रु ७० सरकार उपलब्ध गराउने निर्णय भएको थियो । जिल्लाका उखु उत्पादक किसानका लागि वितरण गर्न बाँकी रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ मध्ये सरकारले दसैँअघि रु ११ करोड २६ हजार छ सय ३८ निकासा गरेको थियो । बाँकी अनुदान रकम सरकारले पठाएपछि उखु उत्पादक किसानको बक्यौता रहेको प्रतिक्विन्टल रु ४९ का दरले किसानको खातामा पठाइएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवं कोष नियन्त्रक निर्मल न्यौपानेले जानकारी दिनुभयो । उहाँले किसानलाई अनुदान रकम खातामा आएको वा नआएको बुझ्न आग्रह समेत गरिएको बताउनुभयो ।

सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल रु छ सय ३५ निर्धारण गरेको छ । चिनी उद्योगीले प्रतिक्विन्टल रु पाँच सय ६५ र सरकारले रु ७० गरी प्रतिक्विन्टल रु छ सय ३५ उखु उत्पादक किसानलाई उपलब्ध गराउने निर्णय हो । यस वर्ष मधेस प्रदेश सरकारले प्रतिक्विन्टल रु १० अनुदान दिने घोषणा गरिसकेको छ । (रासस)

धरान (सुनसरी), १९ पुस :

सिक्किमबाट आउनुभएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आउनुभएका गुरुङले भाकल पूरा गर्न आउनु भएको थियो । उहाँले भन्नुभयो, “बुढासुब्बाप्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।”

सन्ध्या गुरुङ पनि सिक्किमबाट धरान आएका बेला बुढासुब्बाको दर्शन गर्न मन्दिर आइपुग्नुभएको थियो । उहाँ पनि बुढासुब्बाप्रति अगाध आस्था रहेको बताउनुहुन्छ । परिवारसँगै बुढासुब्बा मन्दिरको दर्शन गर्न आउनु भएकी गुरुङले भन्नुभयो, “बुढासुब्बासँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ । हामीलाई पनि विश्वास लागेरै यहाँसम्म आएका हौँ ।”

धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिर धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ । नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतका सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत बुढासुब्बा दर्शन गर्न आउने तीर्थालुहरुको सङ्ख्या बढिरहेको छ । बुढासुब्बाप्रति आस्था राख्ने दर्शनार्थीहरु पूर्वी पहाड र तराईबाट धेरै आउने गर्दछन् । त्यसबाहेक नेपालका विभिन्न जिल्लादेखि भारतका नेपाली भाषीहरु उत्तिकै हुन्छन् ।

सुनसरीको इटहरीबाट दर्शनका लागि बुढासुब्बा मन्दिर आउनुभएकी सुनिता राई आफू धेरैपटक बुढासुब्बा आइसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी त वर्षैपिच्छे जस्तो भाले चढाउन यहाँ आउँछौँ । यहाँ पूजा गरेपछि हामीले सोचेका कुराहरु पनि पूरा भएकै छन् । बुढासुब्बाप्रति गहिरो आस्था छ ।”

२०६४ सालदेखि बुढासुब्बा मन्दिरको द्वार बाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आउनु भएका प्रेमप्रसाद पराजुली भूटान र वर्मादेखिका भक्तजनसमेत बुढासुब्बा आउने गरेको बताउनुहुन्छ । बुढासुब्बामा दर्शन गर्न आउनेहरुको सङ्ख्या बर्सेनि बढिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिला बुढासुब्बालाई जनजातिको देउता भन्ने गरिन्थ्यो तर अहिले सबै जातिका मान्छे पूजा गर्न आउँछन् । अहिले बुढासुब्बा सबैका साझा देउता भएका छन् ।”

एक दशकअघिसम्म बुढासुब्बाको बाँसमा नाम लेख्दा प्रेम अमर हुने विश्वास गरेर बाँसमा नाम लेख्ने प्रचलन थियो । त्यसो गर्दा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तार जाली लगाएको छ । अहिले युवापुस्ता माझ प्रेम अमर हुने विश्वासका साथ बाँस वरिपरि मालाको डोरी बाँध्ने लहर चलेको छ ।

टाढादेखिका भक्तजन कुखुराको भाले, अण्डा, फलफूल लिएर पूजा गर्न यहाँ आइपुग्छन् । वरिपरि हरियालीले ढाकिएको बुढासुब्बा मन्दिर क्षेत्रमा बस्दा मनै आनन्द हुने गरेको दर्शनार्थीहरु अनुभव सुनाउँछन् ।

बुढासुब्बा मन्दिरमा पहिला बिहान मात्र पूजा हुने गरेकामा अहिले दिनभरजसो नै हुने गर्दछ । बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बुढासुब्बा मन्दिरमा दर्शन गर्न दैनिक सदरदर पाँच सयभन्दा बढी भक्तजन आउने गर्दछन् । विशेषगरी शनिबार र मङ्गलबारका दिन अझै धेरै भक्तजन आउने उहाँको भनाइ छ । कात्तिक र चैत महिनाका शनिबार र मङ्गलबारका दिन अन्य महिनाका शनिबार र मङ्गलबारभन्दा दोब्बर, तेब्बर आउने गर्दछन् ।

यो मन्दिरमा हिन्दू धर्मावलम्बी र किरात धर्मावलम्बिका साथै अन्य धर्मका मान्छेसमेत आउने गरेको सचिव आले बताउनुहुन्छ । “हिन्दू धर्मावलम्बीहरु बुढासुब्बालाई किरातेश्वर महादेवका रुपमा पूजा गर्छन्”, आले भन्नुहुन्छ, “किरात धर्माबलम्बीहरुमध्ये कसैले यलम्बरको प्रतीकका रुपमा पूजा गर्छन्, त कसैले बुद्धिकर्ण रायको समाधिका रुपमा पनि पूजा गर्छन् । बुद्ध धर्मावलम्बी र मुसलमानहरु समेत मन्दिरभित्र पूजा नगरे पनि मन्दिर घुम्न आउने गरेका छन् ।”

बुढासुब्बाका बारेमा विभिन्न किंवदन्ती छन् । बुढासुब्बा एक शिकारी भएको कथा पढ्न पाइन्छ । बुढासुब्बा र उनकी बहिनी शिकार खेल्दै विजयपुर डाँडामा आइपुगेको र त्यहीँ आफ्नो बाँसको धनुष गाढेर समाधि लिएको कथा पनि जनमानसमा पाइन्छ । उनै शिकारीले गाडेको धनुषबाट बाँस पलाएर झ्याङ भएको हुनाले बुढासुब्बा मन्दिर क्षेत्रमा भएका बाँसको टुप्पा नपलाएको जनश्रुति छ । बुढासुब्बाका बाँसमा टुप्पा हुँदैनन् । बुढासुब्बा वरपर माटोका मट्याङ्ग्राहरु अहिले पनि भेटिन्छन् । त्यही किंवदन्तीका आधारमा बुढासुब्बा मन्दिरसँगै उनकी बहिनी भनिने छुट्टै मन्दिर पनि छ ।

कवि लक्ष्मी आचार्यले बुढासुब्बालाई महाभारतका पात्र एकलव्यको समाथी भन्नुभएको छ । महाभारतको कथामा धनुर्विद्याका गुरु दोर्णाचार्यलाई नभेटे पनि गुरु मानेर धनुर्विद्या सिकेका एकलव्यले आफू निपूर्ण भएपछि दोर्णाचार्यलाई भेट गरेको र भेटमा गुरु भेटी चढाउन खोज्दा दोर्णाचार्यले बुढी औंला चढाउन लगाएको कथा पाइन्छ । तिनै दोर्णाचार्यलाई आफ्नो बुढीऔंला चढाएका एकलव्यको समाधि भएको कवि आचार्यले आफ्ना लेखहरुमा उल्लेख गर्नु भएको छ ।

इतिहासकारहरुले भने बुढासुब्बालाई तत्कालीन किरात राज्यका राजा बुद्धिकर्ण रायको समाधिस्थल भनेर उल्लेख गरेको पाइन्छ । इतिहासकारहरुले कुनै समय विजयपुरमा छुट्टै सेन राज्य रहेको उल्लेख गरेका छन् । विजयपुरका राजा कामदत्त सेनको हत्यापछि १८२६ सालमा विजयपुरगढीको सिंहासनमा चौतारिया बुद्धिकर्ण राय बसेको इतिहास पाइन्छ । विसं १८३४ मा गोर्खाली फौजले बुद्धिकर्ण रायलाई मारेको उल्लेख छ । हाल बुढासुब्बा मन्दिरभित्र रहेको ढिस्को उनै बुद्धिकर्ण रायको समाधि वा चिहान भएको इतिहासकार इमनसिंह चेम्जोङले लेख्नुभएको छ । मन्दिरभित्र रहेको यही माटोको ढिस्कोमा कुखुराको बलि दिने, फूल अक्षता र रक्सी चढाउने प्रचलन छ ।

मन्दिर नजिकै माला तथा फूल व्यापार गर्दै आउनु भएका प्रेमप्रसाद पराजुली पहिला बुढासुब्बामा भाले, रक्सी, अण्डा, पान, सुपारीसँगै गाँजा पनि चढाने गरेको तर गाँजा प्रतिबन्ध भएपनि हाल चढाउन छाडिएको बताउनुहुन्छ । बुढासुब्बामा गरेको भाकल पूरा हुने दर्शनार्थीहरुको विश्वास रहेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘अहिले भक्तजनले आफ्नो कामना पुरा भएको सुनाउँदा अहिले पनि मन्दिरभित्र साक्षात बुढासुब्बा हुनुहुन्छ कि भन्ने जस्तो लाग्छ ।’’

उहाँ बर्सेनि देश विदेशबाट आउने भक्तजन बढिरहे पनि व्यवस्थापन पक्ष फितलो रहेको बताउनुहुन्छ । बुढासुब्बामा टाढाबाट आउने भक्तजनलाई वासस्थानको व्यवस्था गर्नुपर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने पराजुलीको धारणा छ । इतिहास अनुसार पनि बुढासुब्बाको इतिहास दुई सय वर्षभन्दा बढी देखिन्छ । बुढासुब्बाका पुजारी ७२ वर्षीय डम्बर आलेमगरका अनुसार उहाँहरुले १७ औँ पुस्तादेखि मन्दिरमा पुजाआजा गर्दै आउनु भएको छ । यहाँ सुरुदेखि नै मगर पुजारी रहँदै आएका छन् । उहाँ भन्नुहुन्छ, “जुनसुकै आस्थाले जे मानेर पूरा गरे पनि कसैसँग विवाद गर्दैनौँ, सबैको आआफ्नो आस्था हो ।”

मन्दिरको नियमित आम्दानी भनेको भक्तजनले चढाउने भेटी हो । शनिबारको दिन पाँचदेखि सात हजार रुपैयाँसम्म भेटी सङ्कलन हुने व्यवस्थापन समिति सचिव उत्तम आले बताउनुहुन्छ । पूजाका लागि दैनिक आवश्यकपर्ने सामग्री पुजारीले नै किन्ने गरेका छन् । यसरी संकलन भएको भेटीबाट पुजारीले आफ्नो परिवार पाल्ने र घर खर्च धान्ने गरेका छन् ।

पुजारी आले खलकका तीन परिवार छन् बुढासुब्बामा । उनीहरु वर्षेनी पालैपालो पुजा गर्छन् । जसले वर्षभर पूजा गर्छ, भेटी पनि उसैको हुन्छ । तीन वर्षमा मात्र फेरि पालो आउने भएकाले एक वर्षको भेटीले तीन वर्ष पु¥याउनु पर्ने अवस्था रहेको सचिव आले बताउनुहुन्छ । यो मन्दिरको कतै गुठी पनि छैन भने कुनै सरकारी निकायबाट पनि नियमित पैसा आउँदैन ।

मन्दिर क्षेत्रमा ४० हाराहारीमा फुल मालाका पसल छन्, त्यसबाट मासिक ५० हजार जति आम्दानी हुने गरेको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । मन्दिरमा व्यवस्थापन समितिले एक जना चौकीदार र एक जना सरसफाई कर्मचारी राखेको छ । पसलको त्यो आम्दानी कर्मचारीलाई तलब दिनै ठिक्क हुने गरेको र बचेको पैसा मन्दिर र वरपरको व्यवस्थानमा खर्च हुने गरेको उहाँ बताउन हुन्छ ।

केही वर्षअघि कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि मन्दिर वरिपरको पर्खाल लगाइएको छ । बुढासुब्बाका बाँसमा जथाभावि नाम लेख्ने प्रचलन बढेर बाँस मर्न थालेपछि धरान उपमहानगरपालिकाको सहयोगमा बाँस संरक्षणको काम पनि थालिएको छ । हाल पुरातत्व विभाग र दाताको सहकार्यमा मन्दिरमा पित्तलको छाना, रेलिङ, खम्बा लगाएर निर्माण गरिएको छ ।

मन्दिरको भेटी र पसलहरुको भाडाबाहेक सरकारी तबरबाट नियमित सहयोग नभएकाले समस्या भएको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । उहाँ बुढासुब्बा मन्दिरमा दर्शनार्थीहरु बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग गरे सहज हुने बताउनुहुन्छ । मन्दिरको व्यवस्थापनको जिम्मा सरकारबाट भए सजिलो हुने समितिको भनाइ छ । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।