२०८३ जेष्ठ २
२०८३ जेष्ठ २

 

काठमाडौं, २९ असार ।

पशुचौपायमा देखिएको लम्की स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्की स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरी र सत्तापक्ष कांग्रेस रामहरी खतिवडाले लम्की स्किन रोगको महामारी नियन्त्रण गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लम्की स्किन रोग नियन्त्रणका लागि बजेट छुट्याएर तत्काल काम गर्न र पीडित किसानलाई राहत उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।
(यसअघि लम्की स्किन हुनुपर्नेमा अन्यथा हुन गएकाेमा सच्याइएकाे छ ।)

 

बैतडी, २९ असार ।

आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले रेशम र अर्का ८ वर्षीय नातीसमेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएकोमा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो ।

घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, २९ असार ।

कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पशुचौपायमा महामारीको रुप लिएको लम्की स्किन रोग नियन्त्रणका लागि पाँचवटा सुझाव दिएका छन् ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पाँच बुँदे सुझाव दिएका हुन् ।

 

पशु स्वास्थ्य आपत्तकाल महसुस गरेर सम्बन्धित् सम्पूर्ण निकायलाई यसविरुद्ध सम्पूर्ण रुपमा केन्द्रित गर्न, आवश्यक बजेट अविलम्ब प्रवन्ध गर्न, पर्याप्त खोप आयात गर्न, गाउँगाउँमा पशु चिकित्सक र प्राविधिक परिचालन गर्न र चौपाय मृत्युले नोक्सानी व्यहोरेका किसानलाई राहतको योजना ल्याउन उनले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराए ।

 

साथै मिटरब्याजपीडितलाई न्याय दिनका लागि तत्काल विधेयक सदनमा ल्याउन सरकारसँग शर्माको माग छ ।

 

काठमाडौं, २९ असार ।

सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्की स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

शुक्रबार पनि लम्की स्किनबारे सांसदहरुले कुरा उठाएपछि सभामुख घिमिरेले लम्की स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित् मन्त्रीलाई रुलिङ गरेका हुन् ।

 

किभ, २९ असार ।

युद्ध कौशल र रणनीतिका विज्ञहरू भन्छन् कि युद्ध श्रोतले होइन, साहसले लडिन्छ।

 

यो पटक रुस–युक्रेन सीमामा उभिएका महिला सैनिकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुका साथै शत्रुलाई मुहम्मे जवाफ दिइरहेका छन् ।

यहाँ हामी युक्रेनका महिला सैनिकहरूको दस्ताको बारेमा कुरा गर्दैछौं, जसले रुसी आक्रमणबाट देशको रक्षा गर्दा स्रोतसाधनको चरम अभावको सामना गरिरहेका छन्।

 

यसैबीचमा केही युद्ध पत्रकारले धेरै महिला सैनिकहरूसँग कुरा गरेका छन्, जसले आफ्नो कठिन अवस्थाको बारेमा जानकारी दिँदै स्रोतको अभाव हुदाँ पनि आफ्नो मनोबल तोड्न नसकेको बताए। अवस्था यस्तो छ कि महिला सैनिकको पोसाक पनि उनीहरुको साइजभन्दा निकै ठूलो छ ।

 

‘डेली वेस्टमा प्रकाशित रिपोर्टका अनुसार युक्रेनका हजारौं महिला सैनिक रुसविरुद्ध जारी युद्धको बीचमा बहादुरीका साथ लडिरहेका छन् । यी महिला सैनिकहरूसँग उनीहरूको सही साइजको वर्दी पनि छैन। युक्रेनको सशस्त्र बलमा करिब ६० हजार महिला तैनाथ छन् ।

 

यस रिर्पोट अनुसार धेरै महिला सैनिकलाई उद्धृत गर्दै सेनामा महिला स्रोतको व्यापक अभाव रहेको उल्लेख गरिएको छ । यस्तो अवस्थाले युक्रेनका सैन्य स्वयंसेवीहरूको चिन्ता थपिएको छ।

 

महिला सैनिकका अन्य चिन्ताको बारेमा कुरा गर्दा नराम्रो पोशाक बाहेक उनीहरूसँग राम्रो गुणस्तरको जुत्तासमेत छैन। कतिपय महिलाले पुरुष सिपाहीको बडी आर्मर प्रयोग गर्नुपर्ने हुन्छ । सही साइजको जुत्ता नहुँदा उनी आवश्यक पर्दा छिटो दौडिन पनि सक्दैनन् ।

 

महिला सैनिकहरुले महिनामा केही दिन रासन समेत नपाएको बताएका छन् । उनीहरुलाई औषधि र सेनेटरी प्याडको पनि अभाव छ । महिला सैनिकहरू युद्धको मैदानमा आफ्नो हेरचाह गर्न असमर्थ छन्। उनी स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याबाट गुज्रिरहेका छन् । माइनस तापक्रम भएको जङ्गलमा शौचालय जाने व्यवस्था नभएको जुलिया नामकी महिला सैनिकले बताइन् ।

 

महिला सैनिकहरूले सिस्टिटिस र ढाड दुख्ने समस्याको सबैभन्दा बढी सामना गर्नु परिरहेको छ ।यस्तो कठिन परिस्थितिमा पनि देशको रक्षा गर्ने यो भावनाले युक्रेनको महिला शक्तिको बल देखाएको जनाईएको छ । उनीहरुको कठिनाइको कथा सञ्चारमाध्यममा प्रकाशित भएपछि मानिसहरुले उनको साहसलाई सलाम गरिरहेका छन् ।

 

लन्डन, २९ असार ।

बेलायती सरकारले डाक्टरहरूको पाँच दिन वाकआउटसहित छुट्टै हडताल अन्त्य गर्ने प्रयासमा लाखौं सरकारी कर्मचारीहरूको तलब बढाउने प्रस्तावमा सहमति जनाएको छ ।

 

प्रधानमन्त्री ऋषि सुनकले प्रहरी कर्मचारीको तलब ७ प्रतिशत, शिक्षकको ६ दशमलव ५ प्रतिशत र कनिष्ठ चिकित्सकको ६ प्रतिशत तलबभत्ता बढाउने प्रस्ताव गरेको तलब संशोधन निकायबाट आएको सुझावलाई सरकारले स्वीकार गरेको बिहीबार पुष्टि गरेको हो ।

 

बेलायती प्रधानमन्त्री ऋषि सुनकले यो प्रस्ताव अन्तिम भएको र तलबको विषयमा थप कुराकानी नहुने बताएका छन् । बेलायतको राज्य वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवाले अहिलेसम्मको सबैभन्दा लामो हडतालको सामना गरिरहेको छ किनभने इङ्गल्याण्डका हजारौं डाक्टरहरूले तलबको मुद्दालाई लिएर हिजो देखि पाँच दिनको वाकआउट सुरु गरेका छन्।

 

पोस्ट मेडिकल वर्षमा करियरको प्रारम्भिक चरणमा रहेका तथाकथित जुनियर डाक्टरहरूले बिहान ७ बजेदेखि हडताल सुरु गरेका हुन् । यी मध्ये धेरैले ३५ प्रतिशत तलब वृद्धिको लागि आफ्नो अडान लिन इङ्गल्याण्डका अस्पतालहरू बाहिर लाइन लगाएका छन ।

 

डाक्टर्स युनियन ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) ले मुद्रा स्फीतिलाई ध्यानमा राख्दै जुनियर डाक्टरहरूको तलब २००८ को स्तरमा फर्काउन ३५ प्रतिशत तलब वृद्धि गर्न आह्वान गरेको हो।

 

यसैबीच, कोरोना भाइरसको महामारीका कारण उपचारका लागि पर्खिरहेका बिरामीको संख्याले कीर्तिमान कायम गरेसँगै बेलायतमा ७५ हजारभन्दा बढी कनिष्ठ चिकित्सकको कामको बोझ बढेको छ । डा रोबर्ट लरेन्सन र डा विवेक त्रिवेदीले आज एनएचएसको इतिहासमा डाक्टरहरूको सबैभन्दा लामो वाकआउटको सुरुवात भएको बताए।

 

स्वास्थ्य मन्त्री स्टीव बार्कलेले जुनियर डाक्टरहरूले पाँच दिनको वार्क आउटले हजारौं बिरामीहरूलाई असर गर्ने, बिरामीको सुरक्षालाई खतरामा पार्ने र एनएचएसको प्रतीक्षा सूचीहरू घटाउने प्रयासहरूलाई बाधा पुऱ्याउने बताए। उनले ३५ प्रतिशत वा सोभन्दा बढीको तलब वृद्धिको माग अव्यावहारिक भएको र यसले मुद्रास्फीति बढाउने जोखिम रहेको र सबैलाई गरिब बनाउने बताएका छन्  ।

 

काठमाडौ, २९ असार । 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (शुक्रबार) ठुलो नेपाली गोलभेडा, भटमासकोशा र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा २२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ, रातो मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ ।

 

उता,  सुकेको प्याज ५० रुपैयाँ, लोकल गाजर, स्थानीय काउली, भटमासकोशा, पालूगो साग, न्यूरो, ब्रोकाउली, लोकल काक्रो प्रतिकेजी ८५ रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, स्थानीय ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मूला ४५ रुपैयाँ, लोकल सेतो मूला १४ रुपैयाँ, भन्टा लाम्चो ८६ रुपैयाँ, डल्लो भन्टा ११६ रुपैयाँ ६७ पैसामा काराेबार भइरहेकाे छ ।

 

तने बोडी ७६ रुपैयाँ, मकै बोडी, हाइब्रीड घिउ सिमी, भारतीय मेवा ९६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १३५ रुपैयाँ, लौका र घिरौला प्रतिकेजी ६५ रुपैयाँ तोकिदा परवर प्रतिकेजी ३८ रुपैयाँ, चिचिण्डो ४६ रुपैयाँ ६७ पैसा, झिगूनी ६६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, भिण्डी ८६ रुपैयाँ, पिंडालू, स्कूस, हरियो प्याज, रातो बन्दा र जिरीको साग प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, रायोको साग ९६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री भएकाे छ ।

 

उता, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ४५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, इमली १३६ रुपैयाँ ६७ पैसा, तामा १३० रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १३२ रुपैयाँ पर्नेछ ।

 

यसैगरी, अनार ४२५ रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, दसहरी आँप १२६ रुपैयाँ ६७ पैसा, चोसा १३५ रुपैयाँ, कलकत्ते आँप ६६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर ४७५ रुपैयाँ, कालो अंगुर ५६५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २८८ रुपैयाँ पर्नेछ ।

 

यसैगरी अकबरे खुर्सानी प्रतिकेजी ४५० रुपैयाँ, भेडे खुर्सानी ७६ रुपैयाँ, हरियो लसुन २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २५५ रुपैयाँ, सुकेको नेपाली लसुन २०६ रुपैयाँ ६७ पैसा, सुकेको छ्यापी १४० रुपैयाँ, रहु माछा १४० रुपैयाँ, रहु ताजा माछा ३२० रुपैयाँ, बुचवा माछा २५० रुपैयाँ र मुंगरी र छडी माछा ३३० रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।

 

बेइजिङ, २९ असार ।

विगत केही वर्षमा चीनले अन्तरिक्ष क्षेत्रमा निकै प्रगति गरेको छ र सफलता हासिल गरिरहेको छ।

 

अहिले विश्वले चीनको अन्तरिक्ष योजनालाई अझ गम्भीरताका साथ लिइरहेका छन। जबदेखि अमेरिकाको आर्टेमिस मिसन सुरु भएको छ, चन्द्रमाको बारेमा अभियानहरूमा थोरै चर्चाले हलचल सिर्जना गर्दै आएको छ ।

 

हालै विश्वको नजर भारतको चन्द्रयान–३ मिसनमा छ, जुन आज प्रक्षेपण हुन लागेको छ । तर यसैबीच, चन्द्रमामा चीनको मानव योजना फेरि चर्चामा आएको छ। चिनियाँ रकेटसहितको यो अभियान परम्परागत अन्तरिक्ष अभियानभन्दा धेरै फरक हुने बताइएको छ ।

 

चीनले सन् २०३० सम्ममा चिनियाँ यात्रुहरूलाई चन्द्रमामा लैजाने लक्ष्य राखे पनि यी योजनाबारे नयाँ जानकारीले फेरि एकपटक चिनियाँ अभियानको चर्चा सुरु भएको हो । चीनको नयाँ योजनाले यो देखाउँछ कि चीनले आफ्नो यात्रु अभियानका लागि दुईवटा रकेट प्रक्षेपण गर्नेछ, जसमध्ये एउटा चिनियाँ यात्रुहरू हुनेछन्।

 

यस योजनाको विशेष कुरा यो छ कि चीनको यो अभियान अमेरिका र रुसको परम्परागत अभियानभन्दा फरक हुनेछ, जसमा दुईवटा रकेटमध्ये एउटामा यात्रु र एउटा अन्तरिक्ष यान चन्द्रमाको कक्षमा जडान गरिने छ। यससँगै सन् २०३० सम्ममा चन्द्रमामा यात्रु पठाउने चीनको लक्ष्यमा कुनै परिवर्तन देखिएको छैन।

 

चीनले यो दुई रकेट योजनाले हेवी ड्युटी शक्तिशाली रकेट उत्पादनमा चीनको लामो समयदेखि रहेका अवरोधहरू हटाउन मद्दत गर्ने आशा गरेको छ। चीनले अहिलेसम्म अन्तरिक्ष यात्रीहरूसँग चन्द्रमामा ल्यान्डर प्रोब पठाउन सक्षम हुने शक्तिशाली रकेट विकास गर्ने प्रयास गरिरहेको छ।

 

मुम्बइ, २९ असार ।

बलिउडका ए लिस्ट सेलिब्रेटीहरू शाहरुख खान, सलमान खान, अमिताभ बच्चन, अक्षय कुमार, अनुष्का शर्मा र दीपिका पादुकोणले आफ्नो ठूलो फ्यान फलोइङको कारण बाहिर निस्कँदा थप सावधानी अपनाउनुपर्छ।

यी स्टारहरु प्रायः तिनीहरूका अंगरक्षकहरूले चौबिसै घन्टा सुरक्षा गरिरहेका हुन्छन ।  कहिलेकाहीँ तिनीहरूले आफ्नै सुरक्षा बढाउँछन् र यसको लागि राम्रो भुक्तानी गरिरहेका हुन्छन । आज हामी सबैभन्दा धेरै तलब पाउने सेलिब्रेटी अंगरक्षक र तिनीहरूको तलबका बारेमा जानकारी दिनेछौं ।

शाहरुख खानका बडीगार्ड रवि सिंह सबैभन्दा धेरै पारिश्रमिक लिने सेलिब्रेटी बडीगार्ड रहेको बताइएको छ ।रिपोर्टका अनुसार शाहरुखका बडीगार्डले वार्षिक २.७ करोड अर्थात् प्रति महिना करिब १७ लाख भारु लिन्छन ।

 

सलमान खानका अंगरक्षक शेरा कुनै सेलिब्रेटीभन्दा कम छैनन् र करिब २९ वर्षदेखि अभिनेतासँग छन् । शेराले एक महिनामा करिब १५ लाख अर्थात् वार्षिक २ करोड भारतीय रुपैयाँ कमाउँछन् ।

 

अक्षय कुमारका अंगरक्षक श्रेयसे थाले अभिनेतालाई सधैं साथ दिन्छन् र सबै सार्वजनिक कार्यक्रमहरूमा कुनै पनि खतराबाट बचाउँछन्। श्रेयसे ठेलेले चर्चित अभिनेताका छोरा आरवको पनि सुरक्षा गर्छन् । मिडिया रिपोर्टका अनुसार अक्षय कुमारले आफ्नो अंगरक्षकलाई वार्षिक १.२ करोड भारु पारिश्रमिक दिने गरेका छन् ।

 

अमिताभ बच्चनका अंगरक्षक जितेन्द्र शिन्दे जसले अभिनेताको लागि अगस्त २०२१ सम्म काम गरे। उनलाई अभिनेताले वार्षिक १.५ करोड भारु पारिश्रमिक दिने गरेको बताइएको छ ।

 

आमिर खानको साथमा उनका विश्वासपात्र अंगरक्षक युवराज घोरपडे सधैं हुन्छन् । रिपोर्टका अनुसार उनको वार्षिक तलब २ करोड भारतीय रुपैयाँ रहेको छ ।

 

दीपिका पादुकोण सधैं आफ्नो व्यक्तिगत अंगरक्षक जलालसँग देखिन्छन्, जो धेरै वर्षदेखि उनीसँग छन्। जलालको वार्षिक तलब १.२ करोड वार्षिक रहेको बताइएको छ ।

 

अनुष्का शर्माका अंगरक्षक प्रकाश सिंह उर्फ ​​सोनु अभिनेत्रीको सुरक्षा मात्र गर्दैनन्, विराट कोहली र उनकी छोरी वामिकाको सुरक्षाको पनि जिम्मेवारीमा छन् । रिपोर्ट अनुसार, सोनूले वार्षिक १.२ करोड भारु कमाउँछन्।

 

राम सिंह टलिउड सर्किटमा परिचित छन् र वर्षौंदेखि अभिनेता प्रोसेनजीत चटर्जीको सुरक्षाको जिम्मेवारीमा छन्। रिपोर्टका अनुसार राम सिंहले वार्षिक ८० लाख रुपैयाँ कमाउँछन्।

 

काठमाडौं, २९ असार ।

सञ्चार क्षेत्रमा लामो इतिहास बोकेको साँघु राष्ट्रिय साप्ताहिकले आधुनिक प्रविधिसँग एकाकार हुँदै साँघु टेलिभिजन सुरु गरेको छ ।

 

साँघु टेलिभिजन आज २०८० असार २९ गते भानु जयन्तीको दिनबाट परीक्षण प्रशारणमार्फत दर्शकमाझ प्रस्तुत हुँदैछ । पञ्चायतकालदेखि अभिव्यक्ति स्वतन्त्रता र सुशासनको पक्षमा खरो उभिँदै आएको साँघु साप्ताहिकले अनलाइन संस्करणसँगै आजबाट टेलिभिजनमा फड्को मारेको हो ।

समाजका विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध तिखो कलम चलाउँदै आएको साँघु साप्ताहिक झैं टेलिभिजन पनि सुशासनको पक्षमा खरो रुपमा उत्रिने सम्पादकीय टीमले बताएको छ । स्याटलाइट टेलिभिजनबाट दर्शकमाझ पुग्ने साँघु टेलिभिजनले आफूलाई परक रुपमा प्रस्तुत गर्ने प्रयास गर्ने सम्पादकीय टीमको भनाइ छ ।

 

टेलिभिजनको भीडमा जनजीवनसँग सरोकार रहने विषय बस्तु, नेपाली माटो, हावापानी, मौलिकता, संस्कार, संस्कृति सुशासनको पक्षमा खरो उत्रिएर नै फरक पहिचान बनाउने सम्पादकीय टीमले दाबी गरेको छ ।

झन्डै ४५ वर्ष लामो पत्रकारितामा लागेका वरिष्ठ पत्रकार गोपाल बुढाथोकी सञ्चालक रहेका छन् । उनी साँघु साप्ताहिकका संस्थापकसमेत हुन् । बुढाथोकीलाई सरकारले २०६९ मा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेको थियो । नेपाल पत्रकार महासंघको जिल्लाको नेतृत्व देखि केन्द्रीय उपसभापतिका साथै प्रेस काउन्सिल नेपालको बोर्ड दुईपटक काम गरेका बुढाथोकीले कार्यबाहक अध्यक्षको रुपमा पनि लामो समय काम गरेको अनुभव छ ।

 

सञ्चार क्षेत्रमा भएको आधुनिक प्रविधिको विकास र विस्तारलाई आत्मसात गरेर डिजिटल दुनियाँमा प्रवेश गरेको बुढाथोकीले बताएका छन् । पत्रकारकै लगानि र नेतृत्वमा टेलिभिजन सञ्चालनमा आएको पनि पहिलो अनुभव हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।