विराटनगर, २९ असार ।
सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृत विद पद्मराज जोशी ‘प्रभात’ दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मानित भएका छन्।
लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट आज सम्मान गरिएको हो।
कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोहबीच नगद, दोसल्ला र सम्मान पत्रद्वारा जोशीलाई सम्मान गरेका हुन्। प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
काठमाडौं, २९ असार ।
जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको आज बसेको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो।
बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।
केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन्। यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए।
उनका अनुसार बैठकले पार्टी प्रवक्ताको डा. शरदसिंह यादवलाई दिएको छ।
पाको विधानअनुसार ३५१ सदस्यीय बनाउनुपर्ने केन्द्रीय समिति तत्काललाई २१६ सदस्यीय बनाइएको छ।
काठमाडौं, २९ असार ।
मेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चर्चा गरेका छन्।
परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे गर्नु गरेका हुन्।
भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे।
सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।
भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे। दुई देशको बीचको लामो मित्रवत् सम्बन्धको परिप्रक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो।
काठमाडौं, २९ असार ।
नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।
महासचिव शंकर पोखरेलको नेतृत्वमाआज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ ।
यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्डाका रूपमा रहेका छन्।
एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।
रूपन्देही, २९ असार ।
लुम्बिनी प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजे बस्नेगरी आह्वान गरिएको छ। असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको हो।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको उन्नाइसौं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको जनाएका छन्।
प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले बताए।
लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ।
काठमाडौं, २९ असार ।
सत्तारूढ सात दलका विद्यार्थी संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दु:ख व्यक्त गर्दै संयुक्त शोक वक्तव्य जारी गरेका छन्।
माओवादी केन्द्र सल्लाहकार परिषद्का सदस्य हालको निधनप्रति सत्तारूढ सात दलका विद्यार्थी संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका हुन्।
दुजाङ् शेर्पा नेतृत्वको नेविसंघ, पञ्चासिंह नेतृत्वको अखिल क्रान्तिकारी, माधव पन्त नेतृत्वको अनेरास्ववियू, प्रकाश शाही नेतृ्त्वको अखिल क्रान्तिकारी, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन नेपाल, देवेन्द्र कुवर नेतृत्वको अखिल छैठौं, नेत्र चापागाई नेतृत्वको नेपाल समाजवादी विद्यार्थी युनियनले शुक्रबार संयुक्त शोक वक्तव्य निकाल्दै स्व दाहालको योगदान भावि पुस्ताको लागि अनुकरणीय सिकाई हुने बताएका छन्।
काठमाडौं, २९ असार ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागूऔषधसहित पक्राउ परेका हुन्।
पुनर्वास नगरपालिका- १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित असिम थापा पक्राउ परेका छन्। नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका- को ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए।
कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागूऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन्।
सुनसरी, २९ असार ।
सप्तकोशी नदीमा ट्रक खसेको छ । शुक्रबार बिहान बस ठोक्किँदा सप्तकोशीको पुलबाट मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो ।
ट्रक बेपत्ता भएको छ भने ट्रकमा सवार तीनजनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।
पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा ठोक्किएको थियो । पुलको बार भत्काएर ट्रक नदीमा खसेको हो ।
काठमाडौं, २९ असार ।
राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।
शुुक्ररबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेेेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।
काठमाडौं, २९ असार ।
दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ ।
नेपाल विद्युत प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ बाट सञ्चालनमा थियो । कोरियाली एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किटलाई हुने गरी प्रसारण लाइनका टावर संरचनाहरु बनाएको थियो ।तर, आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो । नेपाल सरकारको करिब ६० करोड रुपैयाँ लगानीमा दोस्रो सर्किट निर्माण गरी लाइन सञ्चालनमा ल्याइएको हो ।
त्यस क्षेत्रमा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चमेलिया जलविद्युत् आयोजनाले प्रसारण लाइन पूर्वाधार निर्माण गरिदिएपछि सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लास्थित खोलानालाहरुमा जलविद्युत आयोजना निर्माणका लागि ढोका खुलेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अब त्यस क्षेत्रमा उत्पादित २५० मेगावाटसम्म विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ, साथैै, त्यहाँ उत्पादित विद्युत् स्थानीय रुपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर पश्चिम क्षेत्रमा भोल्टेज सुधार हुने छ ।’
चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाहरुको करिब ११० मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रका आयोजनाहरुको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ ।
सुदूरपश्चिमका प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा १३२÷३३ केभी सबस्टेसन सञ्चालित छ । बलाँच सबस्टेसनबाट आएको विद्युत स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्जुला,डोटी, वैतडी र अछाममा आपूर्ति गरिएको छ । त्यस क्षेत्रमा करिब ६ मेगावाट विद्युत् खपत हुन्छ ।
स्याउले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । कोहलपुरबाट पश्चिम क्षेत्रको विद्युत् माग जाडो र गर्मीमा क्रमश ः करिब ८० र २०० मेगावाट हुन्छ ।
चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४÷७५बाट सुरु गरिएको थियो । कोभिड–१९ महामारी र विगतमा मुआब्जा तथा क्षतिपूर्ति लिइसकेका डडेलधुरा तथा दार्चुला जिल्लाका केही स्थानीयले दोस्रो सर्किटको तार तान्न अवरोध गर्दा काममा केही ढिलाइ भएको आयोजना प्रमुख अनिल अधिकारीले बताए ।