जेरूसलाम, ३० असार ।
डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनेका होइनन्। कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्छन् कि विश्वास गर्न गाह्रो हुन्छ।
यस्तै एउटा घटना इजरायलमा देखिएको छ, जहाँ डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्।
द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको शिकार भएका थिए। जसमा बालकको टाउको घाँटीबाट अलग भएको थियो । मोटरसाइकलमा सवार बालकलाई कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो, जसमा उनी गम्भीर घाइते भएका थिए ।
बालकको अवस्था नाजुक देखेर उनलाई हेलिकप्टरबाट हदासाह मेडिकल सेन्टरमा लगिएको थियो, जहाँ उनलाई आकस्मिक शल्यक्रियाका लागि पठाइएको थियो।
डाक्टरका अनुसार उनको टाउको घाँटीको फेदबाट लगभग पूरै काटिएको थियो। बच्चाको शल्यक्रिया टोलीमा रहेका अर्थोपेडिक सर्जन डा. ओहाद इनभले टाइम्स अफ इजरायललाई भने कि यो एकदमै जटिल शल्यक्रिया थियो। यसमा हामी सफल हुन सक्छौं कि सक्दैनौं भन्ने हामीलाई पूर्णतया कल्पनासमेत थिएन। तर हामीले हार मानेनौं, यो जटिल शल्यक्रिया गर्नका लागि धेरै घण्टा लाग्यो। तर अहिले नतिजा देखेपछि पुरै टिम निकै खुसी छ ।
रिपोर्टका अनुसार यो घटना गत महिना अर्थात जुनमा भएको थियो तर डाक्टरहरूले जुलाईसम्म यो घटना सार्वजनिक गरेका थिएनन् ।
शल्य चिकित्सकहरूले पनि केटाको बाँच्ने सम्भावना कम भएकाले उनको निको हुनु कुनै चमत्कार भन्दा कम नभएको विश्वास गर्छन्। प्रतिवेदन अनुसार दुर्घटनामा परेका बालक अहिले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, अस्पतालले बच्चाको निको हुनेबारे अनुगमन जारी भने राखिरहेका छन् ।
रूपन्देही, ३० असार ।
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ ।
शनिबार दिउँसो १ बजे बस्नेगरी सो बैठक आह्वान प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।
गत असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचना अनुसार लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको उन्नाइसौं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको हो ।

प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ।
काठमाडौं, ३० असार । आज पनि बैंक तथा बित्तिय संस्थाहरू पनि खुल्ला हुने भएका छन् ।
चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको बिषयलाई ध्यानमा दिदै शनिवार पनि बैंक तथा बित्तिय संस्था खुल्ला नै रहन लागेका हुन् ।
सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज शनिवार बैंक तथा बित्तिय संस्थाहरु खुल्ला भएका हुन ।
जसअनुसार चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
इन्दीप कोइराला,बारा, २९ असार ।
निजगढ नगरपालिका- २ सिंगौलमा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् ।प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ नगरपालिका-२ सिंगौलका मनोज राईलाई पक्राउ गरेको हो ।
गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुर्व्ययहार गरेको आरोप छ । उनले सोमबार पसलमा रहेकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो । घटनामाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयले बताएको छ ।
काठमाडौं, २९ असार ।
काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका-१४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्कीसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरु मिटरब्याजपीडितको पक्षमा रहेको बताएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याजपीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताए ।
उनले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गरे ।
कसको कारण र किन उक्त विधेयक नल्याएको भन्दै प्रश्न गरेका उनले तत्काल उक्त विधेयक संसदमा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरे ।
सिरहा, २९ असार। सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षासम्बन्धी गरिएको तालिममा व्यापक अनियमितता गरेकोे खुलेको छ ।
नगरपालिकाले नायव सुब्बा र खरिदार पदका लागि लोकसेवा तयारी कक्षासम्बन्धी चलाइएको तालिमको नाममा कर्मचारीहरुले व्यापक अनियमितता गरिएको खुलेको हो।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुकै मिलोमतोमा लोकसेवा तयारी कक्षा सञ्चालन लगायतका अन्य कार्यक्रमहरुमा पनि अनियमितता भएको आशंका गरिएको छ । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङसँग नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि भ्याटबाहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजारमा सम्झौता गरेको छ।
सम्झौताबमोजिम खरिदारमा ६६ र नायवसुब्बामा ६५ जनासहित १३१ जना विद्यार्थी सहभागी रहेको नगरपालिकाको अभिलेखमा उल्लेख भएको छ । तर, विद्यार्थीको सहभागिता भने ५० भन्दा कम रहने गरेका सहभागी प्रशिक्षार्र्थीहरुले सुनाए। दुईवटा विषयका लागि छुट्टा छुट्टै सम्झौता भए पनि उपस्थित सबै प्रशिक्षार्थीलाई एउटै कक्षामा पढाएर अनियमिता गरेको स्थानीय योगेश सिंहले बताए ।
‘नायवसुब्बा र खरिदारको लागि छुट्टाछुट्टै सम्झौता र बजेटिङ्ग गरेको छ । एउटै कक्षा कोठामा एकै समयमा राखेर पढाउनुले पनि कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा अनियमितता भएको छर्लङ्गै देखिन्छ,’ उनले थपे, ‘सबै ठाउँमा अनियमितता भएको भन्ने हल्ला भयो । हामीले नगरपालिकामा आएर सूचना माग ग¥यौँ । तर, धेरै प्रयासपछि सूचना त पायौँ । तर, त्यो पनि अपूरो पायौँ ।’
सबै विवरण नभएको र सेवा प्रदायकसंस्थासँग माँग गरेकाले आएपछि उपलब्ध गराउने पत्र आफूहरुलाई दिएको भन्दै उनले भने, ‘यो कस्तो नगरपालिका हो ? जसले बिल भरपाईबिना नै भुक्तानी दियो । यसले पनि अभियमितता भएको प्रस्ट हुन्छ ।’
प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले पनि एकै समयमा एउटै कोठामा राखेर पढाएको स्वीकार गरेका छन् । ‘दुवै विषय करिब करिब मिल्ने भएकाले र सबै विद्यार्थी नियमित उपस्थित नहुँदा खरिदार र नायवसुब्बाको कक्षा एकैपटक एउटै कोठामा चलाएको हो। सेवा प्रदायक संस्थाले एकैपटक चलाउँदा पनि हुन्छ भनेकाले हामीले स्वीकृत दिएका हौँ,’ उनले भने ।
दुईवटा विषय, फरक फरक सम्झौता गरेर एकैठाउँ एकैपटक कक्षासञ्चालन गर्ने, तर भुक्तानी भने दुवैको गर्दा अनियमितता भएन र ? भन्ने प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत बगालेले यसबारे प्रतिकृया दिन नै चाहेनन् ।
तालिमका सहभागी मिथुन कुमार रामले आफूले पुस्तक, ह्याण्डस्आउट र भेष्ट जस्ता केही सामाग्री नपाएको बताए । उनले कक्षा संचालन भएको तीदिनपछि मात्र गएका भए पनि उपस्थित नभएका दिनहरुको पनि हस्ताक्षर गरेको बताए । उनले भने, ‘म अन्य काममा रहेकाले नियमित कक्षामा जान नसके पनि सबै दिनको हस्ताक्षर गर्न लगाए । यहाँबाट कुनै किसिमको सामाग्री पाएको छैन ।’
अमितकुमार मण्डलले १० दिन जति कक्षामा सहभागी बताए । ‘कार्यक्रममा सहभागी त भएँ । तर, मैले पनि कुनै सामग्री पाइँन । उनले भने, ‘तालिममा करिब १३ दिन सहभागी भए पनि उपस्थितिमा एक महिनाकै हस्ताक्षर गर्न लगाए ।’
हलभाडा ९० हजार देखाए पनि २० हजारमात्र तिरेको छ । बुद्ध महिला सहकारी संस्थाको सभाहलमा प्रशिक्षण चलाएको थियो । सहकारीलाई २० हजारमात्र भाडा बुझाएको स्रोतको दावी छ।संस्थाले प्रशिक्षकहरुको पारिश्रमिक र यातायात खर्च, प्रशासनिक खर्च जसमा किताब, टिसर्ट, कपी कलम, ह्यान्डस आउट, तालिम संयोजक, सहसंयोजकको पारिश्रमिक, सहाभागीहरुको चिया विस्कुट विविध खर्च, मल्टिमिडिया, व्यानर, सरसफाइ, उद्घाटन÷समापन, प्रदिवेदन, सञ्चार, कार्यालय व्यवस्थापन खर्च, हलभाडा, अनुागमन तथा अन्य सम्झौता बमोजिमको रकम गत ११ वैशाखमा भुक्तानीको लागि नियमानुसार सम्झौता र कार्यादेश बमोजिम कार्यक्रम सम्पन्न प्रतिवेदन तथा अन्य आवश्यक कागजात पेस गरेपछि गत २० वैशाखमा भुक्तानी गरियो भन्ने उल्लेख गरेको छ।
युवाहरुले पटक पटक भुक्तानीको प्रक्रिया र भुक्तानी प्रक्रियामा पेस गरेका कागजातहरु माग गर्दा प्रमुख प्रशासकीय अधिकृत बगालेले लोकसेवा आयोगको खरिदार र नासुस्तरको तयारी कक्षाको क्रियाकलाप गत खर्चको विवरण परामर्शदातासँग यस कार्यलयले क्रियातग खर्च विवरण पेस गर्न लेखि पठाइएको हुँदा उक्त संस्थाबाट प्राप्त भएपछि उपलब्ध गराउने भनी पत्रद्वारा नै जानकारी गराएको छ । यसले पनि यो कार्यक्रममा व्यापक अनियमितता भएको पुष्टि हुन्छ ।
यो कार्यक्रम विशेष गरे लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसादको सेटिङमा भएको आरोप लगाइएको छ । कार्यक्रमको बीच उनको सक्रियताले पनि यसप्रति संकेत गरेको युवाहरुको भनाइ छ। स्थानीय युवाहरुले अन्य कार्यक्रम सकिएको महिनौंसम्म चेक नकाट्ने लेखाअधिकृतले यस कार्यक्रम सकेको हप्तादिन नबित्दै भुक्तानी दिनुले पनि सेटिङको आशंका उब्जिएको हो ।
आक्रोशित युवाहरुले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत बगाले र लेखा अधिकृत पुरुषोत्तमसँग कार्यालयमै गएर जानकारी मागेका थिए । उनीहरुले माग गरेको कागजात नदिएसम्म कार्यालयबाहिर जान नदिनेभन्दै युवाहरुले दुवै अधिकारीहरुलाई कार्यकक्षामै राखेर धर्ना दिए ।
नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा लोकसेवा तयारी कक्षा संचालन गर्न नगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो । सेवाप्रदायक संस्थाले ३१ लख २४ हजार ७०४ रुपैयाँ भुक्तानी पाएको छ । कार्यक्रमका लागि पाँचवटा संस्थासँगको प्रतिस्पर्धामा सबैभन्दा कममा यो संस्थाले कार्यक्रम स्वीकार गरेको भने पनि अन्य संस्थाले पेस गरेको प्रस्तावित योजना विवरण भने कार्यालयले देखाउन चाहेन ।
काठमाडौं, २९ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी स्व सीता दाहालको तस्बिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले श्रद्धान्जली अर्पण गरेका छन्।
शुक्रबारमात्रै नेपाल आएका विदेशमन्त्री लू प्रधानमन्त्री दाहालसँग भेटघाटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
उनले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु अगाडि स्व दाहालको तस्बिरमा श्रद्धान्जली अर्पण गरेका हुन्।
जनकपुरधाम, २९ असार ।
सप्तरीमा नेकपा एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते भएका हुन् ।
प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्य किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि राजविराज लगिएको छ ।
एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरू राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ ।
विराटनगर, २९ असार ।
सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृत विद पद्मराज जोशी ‘प्रभात’ दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मानित भएका छन्।
लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट आज सम्मान गरिएको हो।
कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोहबीच नगद, दोसल्ला र सम्मान पत्रद्वारा जोशीलाई सम्मान गरेका हुन्। प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।