काठमाडौं, ८ माघ ।
विराटनगरका नक्कली डाक्टर काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-२ का ४० वर्षीय समृद्ध भट्टाचार्य रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार बसुन्धराबाट पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले नेपाल मेडिकल काउन्सिलको नक्कली सर्टिफिकेट देखाएर बिरामी जाँच गर्ने गरेका थिए।
यस्तै, उनले विदेश जानेहरूको मेडिकल रिपोर्ट बनाउने गरेका थिए।
रेग्मीका अनुसार उनी धौलागिरी पोलिक्लिनिक बसुन्धरा र वी केयर नक्सालमा काम गर्ने गरेका थिए। ‘बसुन्धरास्थित पोलिक्लिनिकमा काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो,’ रेग्मीले भने।
उनले आफूलाई त्रिवि शिक्षण अस्पतालको चिकित्सक समेत बनाउँदै आएका थिए।
‘चीनमा एमबिबिएस अध्ययन गरेको भन्दै ढाँटेर काम गर्ने गरेको पाइएको छ,’ रेग्मीले भने।
भट्टाचार्यलाई कार्यालयले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ।न्युजका्रखाना
काठमाडौं, ८ पुस ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको जनाएको छ । यही ११ माघमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनको निषेधअवधि सोमबार मध्यराति १२ बजेबाट सुरु हुनेछ ।
‘संवत् २०८०/१०/११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा ब्यवस्था सहितको तयारी कार्य पूरा भएको छ,’ उनले भने, ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्वत् २०८० माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य ब्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ ।’
साथै आयोगले ११ माघ मतदानको दिन ९ बजे देखि अपरान्ह ३ बजेसम्म सम्वन्धित् प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा मतदान गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
विज्ञप्ति :
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचार प्रसार निषेध अवधि सम्वन्धमा ।
संवत् २०८०/१०/११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा ब्यवस्था सहितको तयारी कार्य पुरा भएको छ । यस निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका /अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रुपमा उक्त दिन विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म सम्वन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा मतदान गर्ने ब्यवस्था मिलाइएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्वत् २०८० माघ ८ गते राती १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य ब्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ ।
यस निर्वाचनमा प्रदेश सभाका सदस्यहरुका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरुका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरुको ब्यवस्था गरिएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरु गोप्य मतदानव्दारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न स्वतन्त्र छन् । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को ब्यवस्था बमोजिम मतपत्रमा मत संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रर्दशन गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने विषयलाई मध्यनजर गरी सम्वन्धित मतदान केन्द्रहरुमा निर्वाचन आयोगले तोकेको कुनै एक परिचयपत्र साथ उपस्थित भई आफ्नो विवेकको गोप्य मताधिकारको प्रयोग गर्नुहुन र यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन सम्वन्धित सबैमा निर्वाचन आयोग अनुरोध गर्दछ ।न्युजका्रखाना
शालिग्राम शर्मा पौडेल
सह सचिव /प्रवक्ता
विराटनगर, ८ माघ ।
आसन्न राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका छन् । कोशी प्रदेशमा उनीहरुले तालमेल गरेका हुन् ।
सोमबार भएको छलफलमा दुई दलका नेताहरु राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमत भएका हुन् ।
एमालेका मतदाताले राप्रपाको उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ ।
यही ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । कोशी प्रदेशमा दुई सिटका लागि मतदान हुँदै छ ।न्युजका्रखाना
काठमाडौँ, ८ माघ ।
नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । पीएम कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।
पुलिस क्लबले दिएको १४६ रनको लक्ष्य पछाएको एपीएफले ३४ ओभरमा अलआउट हुदै ८७ रन मात्र बनाएको थियो । एपीएफको ब्याटिंग लाइनलाई ध्वस्त गर्न पुलिसका बलर ललित राजबंशीले ५ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको पुलिस क्लबले ४१ ओभरमा अलआउट हुदै १४५ रन बनाएको थियो ।
पुलिस क्लब जारी पीएम कपमा पराजित रहदै लगातार चार खेलमा जित हासिल गरेको छ र ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफले भने दोस्रो हार बेहोरेको छ । चार खेलमा ४ अंकसहित एपीएफ छैटौं स्थानमा रहेको छ ।
अब एपीएफले अर्को खेल मंगलबार त्रिभुवन आर्मीसँग खेल्ने छ भने पुलिस क्लबले बुधबार मुलपानीमा मधेश प्रदेशविरुद्ध खेल्ने छ ।न्युजका्रखाना
काठमाडौँ, ८ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरि नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

आयोजनाको भर्चुअल अनुगमन गर्दै प्रधानमन्त्रीले भने, ‘वार्षिक बजेटको ठीक ढंगले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य महत्वपूर्ण आयोजनाहरू नराम्रोसँग प्रभावित हुने गरेका छन्। पर्याप्त बजेटको व्यवस्था नहुँदा एकातर्फ गुणस्तरीय काम नहुने र अर्कोतर्फ भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ। यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ। यसपटक यो बेथितिको अन्त्य गर्नैपर्छ।’

अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै फिल्डमा परिणाममुखी काम गर्न आयोजना प्रमुखहरूलाई निर्देशित गरे । प्रधानमन्त्रीले भने, ‘नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौँ। फिल्डमा तपाईहरू काम गर्नुस्। पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस्। यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला।’

अनुगमनका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएका कारण निर्माण व्यवसायीहरूको भुक्तानीमा सहजता आएको बताउँदै अब आयोजनाहरूको भौतिक एवं वित्तीय प्रगतिले गति लिने बताए ।

एक्सन रूमको अनुगमनमा प्रधानमन्त्री र उर्जामन्त्रीसँगै नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, मन्त्रालयका जलस्रोत तथा सिचाइतर्फका सचिव सुशीलचन्द्र तिवारी, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल लगायतका आयोजना प्रमुखहरू उपस्थित थिए ।
स्रोतको अभाव नभए आयोजनाले गति लिन्छ
अनुगमनका क्रममा सिक्टा सिंचाइ आयोजनाका प्रमुख देवराज निरौलाले वित्तीय स्रोतको संकुचनका कारण आयोजनाको प्रगति उत्साहवद्र्धक नभएको बताउँदै स्रोतको अभाव नभए आयोजनाले गति लिने बताए ।

बाँके जिल्लाको सिंचाइलाई लक्षित गरी अगाडि सारिएको आयोजनाले ४२ हजार ७ सय ६६ हेक्टर जमिन सिंचाइ हुने बताउँदै आयोजना प्रमुख निरौलाले आयोजनाको वित्तीय प्रगति ४० प्रतिशत रहेको र मुआब्जाका निम्ति स्रोतको व्यवस्था आवश्यक रहेको बताए ।
निरौलाले सिक्टा सिंचाइ आयोजनामा पूर्वी र पश्चिमी नहरमा समानान्तर रूपमा काम भइरहेको, आयोजनाको अवधि लम्बिँदा वित्तीय दायित्व थपिँदै गएको बताउँदै निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्नेगरि आफूहरू क्यालेण्डर बनाएर काम गर्ने बताए ।
आयोजनाको उपलब्धीतर्फ पुलसहितको ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको, ४५.२५ किमी लामो पश्चिम मूल नहर सम्पन्न भएको, पूर्वी मूल नहरको चैनेज ३७.६७५ सम्म नहर निर्माण कार्य सम्पन्न भएको, पश्चिमतर्फका शाखाहरूको करिव ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताउँदै निरौलाले आगामी दिनमा आयोजना निर्माणको गति बढाइने बताए । न्युजका्रखाना
काठमाडौं, ८ माघ ।
देशका विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट १० ट्याब्लेट, स्पास्मो ३५ ट्याब्लेट, ट्रामा २ सय ट्याब्लेट र मोबाइल २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भई ललितपुर भैसेपाटी डेरा गरी बस्ने १९ वर्षीय सागर राई र ललितपुर भैसेपाटी बस्ने २८ वर्षीय अनिश मगर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुर्खेतकाे बीरेन्द्रनगर नगरपालिका-११ पदमपुर बस्ने २६ वर्षीय राजु विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कर्णाली प्रदेश सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-१४ साउनेपानी मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-८ बस्ने ३३ वर्षीय लक्ष्मण कुमार थापा र सोही नगरपालिका-१ बस्ने २४ वर्षीय प्रबिण तारामी रहेका छन् । अस्थायी प्रहरी पोष्ट गोठिकाडाबाट खटिएको प्रहरीले बा.प्र ०२-०१५ प ५८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी दुहवी नगरपालिका-८ सोनापुर बस्ने २४ वर्षीय मोम्हमद शहवाज र २४ वर्षीय सन्तोष सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । न्युजका्रखाना
काठमाडौँ, ८ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताएका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
अनुगमनपछि प्रधानमन्त्रीले भने, “हरेक आयोजनामा सुरूको लागत स्टिमेट जस्तो छ, त्यसरी नै काम सम्पन्न गर्ने सोच्नुपर्छ। समयमा काम नसक्ने, अनि पटकपटक समय र लागत बढाउने काम गर्नु हुँदैन। सुरूमै आयोजनाको लागत निकालेपछि पटकपटक समय र दायित्व थप्ने कुराले हाम्रो प्रशासनिक नियत र सामर्थ्यमा नै प्रश्न उठ्छ। त्यसले देशको अर्थतन्त्र र समृद्धिमा गम्भीर असर पार्छ।”
प्रधानमन्त्रीले आफ्नो कार्यशैली बदलेर विकास र जनसेवाका काममा केन्द्रित हुन आयोजना प्रमुखहरूलाई निर्देशितसमेत गरे ।
प्रधानमन्त्रीले भने, “हाम्रो कार्यशैली पनि बदल्नुपर्छ। जहाँ अप्ठ्याराहरू छन्, त्यसको समाधान पनि हामीले नै खोज्ने हो, त्यसको उत्तरदायित्व नै हामीले लिनुपर्छ। अग्रसरता लिएर समस्याको गाँठो फुकाउने गर्नुपर्छ। त्यसका लागि हाम्रो कार्यशैली बदलौँ, जवाफदेहिता बढाउँ।”
अनुगमनपछि मुख्यसचिव बैकुण्ठ अर्यालले आयोजनामा देखिएका नीतिगत समस्या समाधानमा सरकारले ध्यान दिने बताउँदै आयोजना निर्माणको क्रममा फिल्डमा देखिने समस्या आयोजना प्रमुखहरूले नै समाधान निकाल्नुपर्ने बताए ।
एक्सन रूपबाट अनुगमनका क्रममा महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) का आयोजना निर्देशक कुशाङ्ग शेर्पाले आयोजनाको अवस्था, प्रगति बिबरण र समस्याहरूबारे ब्रिफिङ गरेका थिए ।
सो क्रममा शेर्पाले आयोजनाको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै थप दायित्व नबढाई निर्धारित समयमै आयोजना सम्पन्न गर्न आफूहरू गम्भीर भएको बताए । उनले स्रोतको व्यवस्थापन र मुआब्जामा देखिएको वित्तीय चुनौती सम्बोधनका लागि सरकारसँग आग्रहसमेत गरे । न्युजका्रखाना
काठमाडौँ, ८ माघ ।
जारी पीएम कपमा सुदूरपश्चिम प्रदेशले पहिलो हार बेहोरेको छ ।
टियु मैदानमा सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको ३२० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले ४४.५ ओभरमा अल आउट हुदै २३९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नरेन भट्टले १२१ रनको शतकीय पारी खेलेपनि जित भने दिलाउन सकेनन ।
यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाउदै ३१९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ११५ रनको शतकीय पारी खेलेका थिए भने पवन सराफले ७० तथा अनिल शाहले ६९ रन बनाएका थिए ।
यो जितपछि मधेश प्रदेशले ६ खेलमा ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।न्युजका्रखाना
मकवानपुर, ८ माघ ।
थाहा नगरपालिका-८ दामगडेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो करिब ५० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रसुवा पार्वतीकुण्ड गाउँपालिका-५ घर भई मकवानपुर थाहा नगरपालिका-९ नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र मकवानपुर थाहा नगरपालिका-३ दमकी घर भई सोही नगरपालिका-६ बज्रबाराही बस्ने ३२ वर्षीय रण बहादुर थिङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले गल्छीबाट पालुङतर्फ जाँदै गरेको बा.१५ च ३९२९ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा फेला पारी चालक प्रभात र गाडीमा सवार रण बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । न्युजका्रखाना
बारा, ८ माघ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताएका छन् ।
सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेकाे सिम्राैनगढ छाेटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए ।
मन्त्री डा. महतले भने, ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ ।’
खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा. महतले बताए । उनले भने, ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ ।’
एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । उनले भने, ‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ ।’न्युजका्रखाना