२०८३ बैशाख २३
२०८३ बैशाख २३

काठमाडौं, १६ माघ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ ।

गृह मन्त्रालयले सिडिओ पाण्डेलाई र मन्त्रालयकै निर्देशनअनुुसार एसपी लिम्बूलाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरिनुको कारण भने खुलाइएको छैन । न्युजकारखाना

काठमाडौँ। माघ २२ गते

प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।

 

मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे छलफल गरेका हुन् ।

अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् ।

“अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ। सरकारले पनि “बिजनेश” दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्,” मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भने, “संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ। मुख्यसचिवले फलोअप गर्नुहोला। मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला। यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ। त्यो गुनासो नआउने गरी काम गर्नुहोला।”

 

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरे ।

 

बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही “बिलहरू” पेश गर्न सकिने गरी तयारी गरिएको बताए ।

सचिव सापकोटाले केही विधेयकहरू संसद अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका द्रूततापूर्वक काम गरिने जानकारी दिए ।न्युजकारखाना

 

काठमाडौं, १६ माघ ।

नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।

 

मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो ।

सार्वजनिक तथ्यांकअनुसार २०२३ मा १०० मा ३५ अंक ल्याएर नेपाल १०८औँ स्थानमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा एक अंक थप्दै नेपाल दुई स्थानमाथि उक्लिएको छ ।

 

अघिल्लो वर्ष नेपालले ३४ अंक पाएर ११०औँ स्थान थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो प्रगति हासिल गरेको हो । न्युजकारखाना

काठमाडौं, १६ माघ ।

संसदीय समितिले पश्चिम नवलपरासीको रामग्राम क्षेत्रको उत्खनन गर्ने निर्णयको कागजात मगाउँदै जवाफ मागेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पश्चिम नवलपरासीको रामग्राम क्षेत्रको उत्खनन गर्ने निर्णयको कागजातसहित सात दिनभित्र जवाफ दिन बारे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको छ ।

‘लुम्बिनी विकास कोषले सर्वसाधारणको ११६ बिघा जमिन अधिग्रहण गर्ने गरी गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तुप निर्माण तथा भाडामा (९९ वर्ष सम्म) दिने गरी बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको भन्ने समाचारप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । तपसिलका विषयमा के कसो भएको हो सोको जानकारी समितिलाई ७ दिनभित्र उपलब्ध गराउनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु,’ समितिका सचिव एकराम गिरीले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

रामग्राम क्षेत्र विकासको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीलाई दिन लुम्बिनी विकास कोष सहमत भएपछि संसदीय समितिले चासो राखेको हो । प्रधानमन्त्री प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी ’प्रमिस्ड ल्यान्ड’ लाई रामग्राम क्षेत्रको जग्गा अधिग्रहण, गुरूयोजना तयारी र सोही अनुसार निर्माण गर्न दिन कोषले सैद्धान्तिक सहमति प्रदान गरेको हो।

 

सोही विषयमा लेखा समितिले सरकारलाई पत्र लेखेर सम्झौताबारे अहिलेसम्म भएका सबै निर्णय उपलब्ध गराउन पनि निर्देशन दिएको छ।न्युजकारखाना

बारा, १६ माघ ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले निजगढको रतनपुरी क्षेत्रमा उपद्रोह मच्याउदैआएको बाघ नियन्त्रणमा लिएर स्थानीयबासिन्दाको जिउधनको सुरक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।  स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग सोमबार वीरगञ्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमपछि नगर प्रमुख सुरथ पुरीले प्रधानमन्त्री  प्रचण्डलाई बुझाएको १० बुँदे ध्यानाकर्षणपत्र मार्फत् माग गरेका हुन ।

 

निजगढ नगरपालिका वडा नम्बर ११, १३, १२ र १० मा पर्सा राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो बस्तिमा पस्ने बाघ, हात्ती जस्ता वन्यजन्तुले स्थानीय किसानको पशु चौपाय मार्ने तथा बाली नोक्सान पुर्‍याउने गरेको र मानवीय क्षतिसमेत हुनसक्ने डरले स्थानीयबासिन्दा आतङ्कित बनिरहेको अवस्थामा त्यस्ता वन्यजन्तुको यथाशीघ्र नियन्त्रण र पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाइनुपर्र्ने पत्रमा उल्लेख छ ।

 

निजगढ नगरपालिकालाई स्मार्टसिटीको सूचीबाट हटाइएको बारेमा पनि प्रमुख पुरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन । पत्रमा ‘संघीय सरकारले २०७३/०७४ निजगढसहित देशका ३ प्रमुख क्षेत्रलाई स्मार्ट सिटी अवधारणा अनुसार विकास गर्न ‘निजगढ स्मार्ट सिटी’ कार्यक्रम लागू गरिएकोमा हाल सो कार्यक्रम हटाइएकोले सो कार्यक्रम पुनः समावेश गरी सुचारु गरिनुपर्छ भनिएको छ ।

 

निजगढ नगरपालिकाको उत्तरतर्फको सीमा क्षेत्रमा विद्यमान अन्यौल स्पष्ट पार्न पनि नगर प्रमुख पुरीले प्रधानमन्त्रीसँग माग राख्नुभएको छ । ‘नेपाल सरकारले २०३५।१०।०१ मा जारी गरेको राजपत्रअनुसार हाल बाराको निजगढ र जीतपुरसिमराको उत्तरतर्फको सीमा चुरे पहाडको ‘पानीढलो’ बाट दक्षिणतर्फ कायम भएको र कार्यान्वयन हुन भने नसकेकोले सोको लागि संघीय सरकारबाट आवश्यक जहजीकरणको लागि उनले अनुरोध गरेका छन ।

 

त्यसैगरी भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरुको लागि जग्गा उपलब्ध गराउन भनेर निर्माण भएको कार्यविधि २०७८, लगत संकलन कार्यविधि ०७८ र वन ऐन २०७६ का केही दफाहरु बाँझिएको र लक्षित समुदायमा जग्गा वितरण गर्ने कार्यमा असहजता उत्पन्न भएकोले बाँझिएका कानुनहरु शंसोधन गरिनुपर्ने पनि उनले माग गरेका छन् ।

 

ज्ञापनपत्रमा नगर क्षेत्रको अधिकांश नम्बरी जमिनको नापीको नक्सा र भोगचल फरक परेकोले विशेष नापी टोली गठन गरी निजगढमा पुनः नापनक्साको प्रवन्ध गर्न पनि प्रधानमन्त्री प्रचण्डलाई भनिएको छ ।

 

त्यसैगरी पत्रमार्फत निर्माणाधिन तराई मधेस द्रुतमार्गको प्रवेश द्वार र प्रस्तावित दोस्रो अन्तर्राष्टिय विमानस्थल, पूर्वपश्चिम रेल र रक्सौल काठमाण्डौं रेल मार्गको समेत संगम स्थलको रुपमा रहेको निजगढ आगामी दिनमा देशको मुख्य केन्द्रको रुपमा विकास हुने स्पष्ट छ । दु्रतमार्ग निर्माण भइसकेपछि काठमाण्डौंसंग निजगढको दुरी ७०.९ किमि मात्रै हुने र यहाँ ढुवानी व्यवसाय, व्यापार, उद्योग र आवासिय क्षेत्रको विकास तीव्र हुने देखिन्छ । तसर्थ, निजगढलाई अहिले नै दीर्घकालिन योजनासहित व्यवस्थित शहरको रुपमा विकास गर्न संघीय सरकारले विशेष योजना तयार पारेर कार्यान्वयन गर्न जरुरी छ । साथै, काठमाण्डौं र ललितपुर महानगरपालिकामा अव्यवस्थित शहरीकरणका कारण उत्पन्न समस्याहरुको हल गर्न हाल उपत्यकामा संचालन भइरहेका केही अस्पताल, उद्योग, विद्यालय तथा विश्वविद्यालयहरु, सरकारी कार्यालय, तालिम केन्द्र, रंगशाला तथा प्रतिष्ठानहरुलाई सारेर त्यहाँको समस्या न्यूनीकरण गर्न सकिने भएकोले मेयर पुरीले यसतर्फ पनि संघीय सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

त्यस्तै निर्माणाधिन तराई मधेस दु्रतमार्ग परियोजनाले संचालन गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमबाट निजगढमा सिँचाई, नदी नियन्त्रण, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा लगानी गर्न पनि मेयर पुरीको माग छ ।

ध्यानाकर्षण पत्रमा निजगढमा इलाका प्रशासन कार्यालय, नापी र मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिनुपर्ने माग गरिएको छ ।

 

निजगढ नगरपालिका वडा नम्बर २ को वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापासहित स्थानीय अगुवाहरुमाथि वन कार्यालय बाराले लगाएको मुद्दा खारेज गर्न पनि नगर प्रमुख पुरीले पत्रमार्फत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन । उनले १० वर्षे सशस्त्र संघर्षको क्रममा निजगढ नगरपालिका वडा नम्बर २ को वन क्षेत्रभित्रको खाली जमिन स्थानीय अगुवाहरुको पहलमा गाउँको शैक्षिक र धार्मिक संघ-संस्थाहरुको नाममा भोगचल गर्ने गरी छुट्याइएको र हाल वन क्षेत्रको जमिन अतिक्रमण गरिएको भन्ने झुटा आरोपमा डिभिजन वन कार्यालय बाराले वनदेवी सामुदायिक वन समूहका अध्यक्ष सिद्धबहादुर थापासहित स्थानीय २६ जनाहरुविरुद्ध चलाएको वन अतिक्रमण मुद्दा फिर्ता गरिनुपर्ने बताईएको छ ।

 

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले आयोजनाको २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन वीरगञ्ज आएका प्रधानमन्त्री प्रचण्डले सोही क्रममा बारा र पर्साका स्थानीय तहका प्रमुखहरुसँग अन्तरक्रिया गरेका थिए । न्युजकारखाना

 

काठमाडौं, १६ माघ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र नाजुक अवस्थामा रहेका बेला चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको छ ।  गएका पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

 

अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न सकिरहेको छैन । राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कही आएको छ । उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो । सीजीले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको ग्रुपले जनाएको छ ।

 

देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको वरुण चौधरीको भनाइ छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा सन्तोष लागेको उनले बताए ।

 

नेपालमा द्रूत गतिमा लगानी विस्तार गरिरहेको बताउँदै उनले त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सीजी ग्रुपले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजश्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा जोड दिएको छ ।
सीजी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको जनाएको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोबाइल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्ममा तीव्र गतिमा लगानी विस्तार गरिरहेको ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।

 

‘नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्‍याउन चाहन्छौँ’, उनले भने, ‘हाम्रो ग्रुप एक सय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ र हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्ने विश्वास छ ।’

 

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।

 

करदाताको रुपमा व्यवसायमार्फत भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको ग्रुपको भनाइ छ ।

 

यो दुविधालाई अन्त्य गर्न र आपूmले राजश्वमा गरेको योगदानलाई आम जनमानसका बीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपको सामाजिक उत्तरदायित्वका हिसाबले चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ’, ग्रुपले भनेको छ ।

 

साथै, व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पु¥याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यावसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि ग्रुपले सरकारको ध्यानाकर्षण गराएको छ ।

 

यसैबीच विनोद चौधरीका विषयमा बाह्यजगत्मा यसरी चर्चा हुँदै आएको छ :

– विनोद चौधरी सीजी कर्प ग्लोबलका अध्यक्ष र नेपालका एक मात्र डलर अर्बपति हुन् ।
– उनको सबैभन्दा ठूलो आम्दानीको स्रोत नेपालको नबिल बैंक, होटल र सीजी फुडअन्तर्गतको लोकप्रिय चाउचाउ वाइवाइ हो ।
– वाइवाइको कारखाना भारत, सर्विया र बंगलादेशमा पनि छ । इजिप्टमा निर्माणाधीन छ ।

– उनको सीजी होटलले भारतको चर्चित ब्रान्ड ताजको चेनका साथै विश्वभरका १४३ विलासी होटलको नेतृत्व र व्यवस्थापन सम्हाल्छ ।

– उनका छोरा निर्वाण नेपालबाट व्यवसाय सम्हाल्छन् । राहुल र वरुण नेपाल बाहिरबाट विनोदलाई सघाउँछन् ।

विश्वविख्यात अमेरिकी म्यागेजिन फोब्र्सले सन् २०२३ को संस्करणमा विनोद चौधरीबारे लेखेको ‘इन्ट्रो’ हो यो ।

बुबाले शुरु गरेको व्यवसायलाई विस्तार गरेर विश्वका धनाढ्यको सूचीमा पर्ने चौधरी एक्ला नेपाली हुन् । उद्योग व्यवसायबाट आफ्नो नाम उचाइमा पु¥याउने पनि सम्भवतः चौधरी पहिलो नेपाली हुन् । उनको चर्चित वाइवाइदेखि सेवामूलक उद्योगका साथै सयौँ उद्योग व्यवसायमा लगानी छ, जसले उनलाई अर्बपति बनाएको छ । केही उद्योगमा भने सीजी ग्रुपले अझै मिहिनेत गर्नुपर्ने खाँचो देखिएको छ ।

२०७८ साल जेठमा सेवा सुुरु गरिएको सीजी नेटको विस्तार अन्य कम्पनीसँग प्रतिस्पर्धा चलिरहेको छ । ठूलो व्यावसायिक घरानाले चलाउँदासमेत साढे दुई वर्षमा सीजी नेट काठमाडौँ उपत्यका र बाहिरका सीमित शहरबाट टाढा पुग्न सकेको छैन । सीजी नेट काठमाडौँ उपत्यकाका तीनसहित देशभरका १९ वटा शहरमा मात्रै हाल उपलब्ध छ । आम उपभोक्ताको विश्वास जितेको सीजी नेटको माग देशैभरिबाट भइरहेको छ ।

यस्तै, पाल्पा र नवलपरासीमा सीजी सिमेन्टका उद्योग छन् । पाल्पाको चाहिँ नेपालको ठूलो सिमेन्ट उद्योगमध्ये एक हो । यसको वार्षिक उत्पादन क्षमता १५ लाख टन छ । उद्योगले वर्षमा १३ लाख टन कंक्रिट उत्पादन गर्न सक्छ ।

सीजी सिमेन्टले श्रीलंकामा उद्योग खोल्ने तयारीसमेत गरेको छ । दुई ठाउँ उद्योग र नेपालको नम्बर एक व्यावसायिक घराना भए पनि सीजी सिमेन्टको बजार भने एक नम्बरमा छैन । गतवर्ष भदौदेखि सीजी सिमेन्ट भारतीय बजारमा निर्यात हुन थालेको छ । यद्यपि सीजीले भारतको चर्चित अदानी ग्रुपसँग सिमेन्ट व्यापारका लागि रणनीतिक साझेदारी गरेको छ । यसले नेपालका साथै भारतीय बजारमा सीजी सिमेन्टको उपस्थिति बढाउने अपेक्षा गरिएको छ ।

यस्तै, २०७५ पुस १३ गते १ करोड चुक्ता पुँजीसहित नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रूपमा सीजी पेले अनुमति पाएको थियो । त्यसको एक वर्षअघि मात्रै खुलेका आईएमई पे, ई–सेवाजस्ता भुक्तानी प्रदायकको दबदबालाई सीजी पे–ले चुनौती दिँदै गएको छ ।

सीजी ग्रुपका थुप्रै कम्पनीले विश्वबजार तताएका छन् । सीजी कर्प ग्लोबलअन्तर्गत २०२ कम्पनीका २६१ भन्दा बढी ब्रान्ड बजारमा छन् । सीजी कर्प ग्लोबलका कार्यालय नेपालका साथै विश्व अर्थतन्त्रका बलिया देश भारत, चीन, अमेरिका, सिंगापुर, यूएईजस्ता देशमा फैलिएका छन् । चौधरीको अध्यक्षतामा चलेको सीजी फुड्स विश्वभर पुगेको छ । वाइवाइ नेपालको नम्बर १ नुडल्स ब्रान्ड हो । भारतमा तेस्रो धेरै बिक्री हुने नुडल्समा वाइवाई पर्छ । ४० भन्दा बढी देशमा वाइवाई वार्षिक दुई अर्ब ८० करोडभन्दा बढी प्याकेट बिक्री हुन्छ । सीजी फुड्सले भारतका सात स्थानबाट उत्पादन तथा बिक्री–वितरण गर्छ । सीजी फुड्सको सर्बिया, काजकिस्तान, बंगलादेश, इजिप्टलगायत देशमा प्लान्ट नै छन् । सीजी फुड्समार्फत वाइवाई मात्रै २० भन्दा बढी स्वादमा उत्पादन भइरहेको छ ।

सीजी वेभरेजका विभिन्न उत्पादन पनि नेपाली बजारमा लोकप्रिय छन् । सीजी ब्रुअरीका नेपाल आइस, मुस्ताङजस्ता बियर नेपाली बजारमा निकै रुचाइएका छन् । सीजी हस्पिटालिटीले विश्वभर १४० ‘लक्जरी’ होटलको नेतृत्व र व्यवस्थापन गर्छ ।

वित्त कम्पनीतर्फ सीजीको मुख्य लगानी रहेको नबिल बैंक नेपालमा सबै सूचकांकका हिसाबले अब्बल मानिन्छ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड पनि वित्तीय सूचकमा बलियो छ । नबिल बैंकको ‘सब्सिडरी’ कम्पनीका रूपमा भर्खरै नबिल सेक्युरिटिजले काम शुरु गरेको छ ।

सीजी इन्फ्रा, सीजी डेभलपर्स, सीजी प्याकेजिङअन्तर्गतका विभिन्न उत्पादन चलेका छन् । सीजी इलेक्ट्रोनिक्स मातहतका एलजी, सीजी, बेको, सनसाइ, गोदरेज एप्लाइन्सेस, टीसीएललगायत सामग्री नेपालमा रुचाइएका ब्रान्ड हुन् । सीजी एजुकेसनअन्तर्गतका निनोस प्रि स्कुल, चाँदबाग स्कुल, दिल्ली पब्लिक स्कुल र क्याम्पियन स्कुल तथा कलेज नेपालका अब्बल शिक्षण संस्थामा पर्छन् ।

हाउजिङमा समेत सीजी ब्रान्ड लोकप्रिय छ । पछिल्लो समय छोटो समयमै सीजी मोटर्सले बिक्री गर्दै आइरहेको नेटा विद्युतीय गाडीले पनि नेपालमा राम्रो बजार लिएको छ ।

सीजी ग्रुपले गरेको चौतर्फी लगानीबाट स्वदेशी सामान ढुक्कसँग प्रयोग गर्न पाएकोमा उपभोक्ताहरु ढुक्क छन् । उनीहरुले सीजी ग्रुपले आगामी दिनमा आफ्ना उत्पादनहरुलाई झनै बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन्न्युजकारखाना

काठमाडौ‌, १६ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।

 

शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”

शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन  ।  उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको  स्मरण र सम्मान ब्यक्त गरेका छन ।

 

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भने, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।न्युजकारखाना

मुम्बइ, १६ माघ ।

बलिउड वा कुनै पनि फिल्म उद्योगमा रिमेकहरू बन्नु सामान्य कुरा हो तर यो सधैं आवश्यक छैन कि रिमेकले यसको मूल संस्करणको रूपमा कमाउने गर्दछ।

 

तर, निर्देशक सिद्दिकीको तीन फिल्मले यस विषयमा अर्को उदाहरण खडा गरेको छ । निर्देशक सिद्दिकीले तीनवटा फरक-फरक मसला थपेर एउटै कथा दर्शक सामु प्रस्तुत गरेर सफलता हासिल गरेका थिए ।

 

चाखलाग्दो कुरा के छ भने दर्शकले उनको एउटा कथामा बनाइएको तीन अलग अलग फिल्मलाई अत्याधिक मन पराईदिए । एउटै कथामा तीनवटा फिल्म बनेका थिए र तीनवटै सुपर डुपर हिट भएका थिए ।

 

सिद्दिकीले सन् २०१० मा ‘बडीगार्ड’ नामको फिल्म बनाएका थिए । मलयालममा बनेको यो फिल्ममा अभिनेत्री नयनतारा मलयालम सुपरस्टार दिलीपसँग देखिएकी थिइन् । यो फिल्मबाट नयनतारा मलयालम सिनेमामा कमब्याकसमेत गरिन । यो फिल्मले पचास करोडको व्यापार गरेको थियो । जुन मलयालम सिनेमाका लागि निकै  ठूलो रकम हो।

त्यसको एक वर्षपछि अर्थात् २०११ मा सिद्दिकीले त्यही फिल्म तमिल भााषामा बनाए । यस पटक कलाकार थिए थलपति विजय र असिन । यो तमिल भाषामा बनेको दोस्रो फिल्मले त्याे बेला नै सय करोड कमाएको थियो ।

तेस्रो पटक उही कथामा बलिउडमाम सलमान खान र करिना कपुरलाई लिएर यो फिल्म बनाइयो ।  तेस्रो पटक हिन्दीमा बनेको फिल्मले बम्पर कमाई गर्दै २५३ करोड कमाउन सपल भयो ।

यी निकै सफल चलचित्र बाहेक सिद्दिकीले ‘भास्कर द रास्कल’ जस्ता हिट चलचित्र पनि बनाए । सन् २०२० मा उनले ‘बिग ब्रदर’ नामको फिल्म बनाए । यो उनको जीवनको सबैभन्दा ठूलो फ्लप फिल्म थियो। मोहन लाल र अरबाज खानजस्ता स्टार भए पनि यो फिल्मले ६ करोड मात्रै कमाउन सक्यो ।

 

यो फिल्म सिद्दिकीको जीवनको अन्तिम फिल्म पनि साबित भयो। कोविड अवधिमा कलेजो सम्बन्धित समस्यासँग संघर्ष जारी राख्दै ७ अगस्ट २०२३ को दिन उनको जीवनको अन्तिम दिन साबित भयो।न्युजकारखाना

मुम्बई, १६ माघ ।

तेजा सज्जा अभिनित तेलुगु सुपरहिरो फिल्म  ‘हनुमान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

 

यो फिल्म धेरै अन्य फिल्महरु संगै जनवरी १२ मा थिएटरहरुमा रिलिज भएको थियो तर यो फिल्मले सबै पछिल्ला रिलिजहरु भएका फिल्महरुलाई पछाडि छाडेर बक्स अफिसमा तहल्का मच्चायो ।

 

सानो बजेटकोा यो फिल्म अकल्पनिय रुपमा रकम संकलन गर्नसमेत सफल भयो । ‘हनुमान’को सफलता र लोकप्रियताका कारण दर्शकहरू जो सिनेमा हलमा हेर्न भ्याएननन, अब यसलाई उनीहरु ओटीटी प्लेटफर्ममा हेर्न निकै उत्साहित छन् र जसका कारण ओटीटी रिलिजको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्।

 

यसैबिच, भारतीय समाचार माध्यमका अनुसार  ‘हनुमान’का निर्माताले आफ्नो ओटीटी पार्टनर तय गरेका छन् र फिल्मको रिलिज डेट पनि आइसकेको छ ।

 

सानो बजेटको फिल्म  ‘हनुमान’ले दर्शकलाई निकै प्रभावित बनाएको छ । अब यो फिल्मको ओटीटी रिलिजको विवरण पनि सार्वजनिक भएको छ । यदि मिडिया रिपोर्टहरू विश्वास गर्ने हो भने ‘हनुमान’ आगामी मार्च २ बाट अग्रणी ओटिटी प्लेटफर्म जी ५ मा स्ट्रिम हुनेछ।

वास्तवमा, फिल्मको निर्माताले सिनेमाघरमा रिलिज भएको तीन हप्तापछि डिजिटल रूपमा रिलिज गर्ने योजना बनाएका थिए तर फिल्मको भव्य सफलतालाई ध्यानमा राख्दै यसलाई सात हप्तापछि ओटीटीमा स्ट्रिम गर्ने निर्णय गरेका हुन् ।

‘हनुमान’को कमाई

‘हनुमान’ ले बक्स अफिसमा हलचल मचाउदै गर्दा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । समीक्षकहरूले पनि फिल्मको भिएफएक्सको प्रशंसा गरेका छन् । यो फिल्म रिलिजको तेस्रो हप्तामा छ र अझै पनि दर्शकको ठुलो घुइँचो सिनेमा हलमा देखिएको छ र राम्रो व्यापार पनि गरिरहेको छ । ‘हनुमान’ को कमाईको कुरा गर्दा यो फिल्मले घरेलु बजारमा रिलिज भएको १८ दिनमा कुल १७४.४५ करोडको व्यापार गरेको छ । विश्वभर यो फिल्मले रिलिजको १७ दिनमा करिब २ सय ७० करोडको कलेक्सन गरि ३ सय करोडको आँकडा छुन तर्फ अघि बढिरहेको छ ।

 

बक्स अफिसमाम हिट भएको  ‘हनुमान’को कथा काल्पनिक गाउँ अञ्जनदरीमा घटेको घटनामा आधारित छ, जो हनुमानको महाशक्ति प्राप्त गर्ने एक युवकको हनुमानको वरिपरि घुम्छन ।

 

फिल्मको स्टार कास्टको कुरा गर्दा ‘हनु मान’ मा तेजा सज्जाका अलावा विनय राई, अमृता अय्यर र वरलक्ष्मी सरथकुमारको पनि महत्वपूर्ण भूमिका छ । हालै यो फिल्मका निर्माताले  ‘हनुमान’ को सिक्वेलको पनि घोषणा गरेका छन् ।न्युजकारखाना.

 

मुम्बई, १६ माघ ।

ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको बहु प्रतिक्षित फिल्म फाइटर गत २५ जनवरीमा हलमा रिलिज भएको थियो ।

 

जसलाई पठान निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्म पठान जस्तो नभए पनि फ्यानबाट धेरै माया पक्कै पाइरहेको छ, जसका कारण फाइटरले दिनहुँ कीर्तिमानी कमाई गरिरहेको छ ।

 

भारतमा पनि यो फिल्म १०० करोड पार गर्न केही कदम मात्र टाढा छ । यो खुसीको खबर सुनेर फिल्मका कलाकार र क्रु मात्र नभई फ्यानहरु पनि खुसी हुनेछन् ।

 

बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार फाइटरले तेस्रो दिन २८ करोड कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १०० करोड नाघेको छ । विश्वव्यापी सङ्कलन १२५ करोड नाघेको छ।

 

दुई दिनको कमाईलाई हेर्ने हो भने भारतमा पहिलो दिन २२.५ करोडको ओपनिङ गरेको थियो । जहाँ विश्वभर यो संख्या ३६.०४ करोड पुगेको छ । दोस्रो दिन फिल्मले भारतमा ३९ करोड कमाएपछि विश्वभर यो अंक ९६ करोड पुगेको छ ।

 

उल्लेखनीय छ कि फाइटर बाहेक साउथको ‘मलाइको टाई भलिवान’ र ‘सिङ्गापुर सलुन’ पनि बक्स अफिसमा रिलिज भएका थिए । तर, दुवै फिल्म फाइटरभन्दा निकै पछाडि छन् । तर यसले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ । यसका  साथै सालार, डंकी, गुंटुर करम, हनु मान, क्याप्टेन मिलर जस्ता फिल्मले पनि राम्रो कमाई गरेको देखिन्छ ।

न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।