२०८३ बैशाख २३
२०८३ बैशाख २३

सिरहा, १७ माघ।

सिरहामा सखुवाको चिरान काठ सहित काठ लोड गरिएको गाडी र चालकलाई सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ। सव डिभिजन कार्यालय बन्दीपुरले कर्जन्हा नगरपालिका १ बल्टियाबाट बुधबार बिहान एक सय क्यूविकफिट सखुवा प्रजातिको चिरान काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो।


सबडिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलीले कर्जन्हा नगरपालिका १ बल्टिबाट ज १ च १५७३ नम्वरको अशोका लेल्याण्ड पिकप लोडगरी बन्दिपुरतर्फ ल्याउँदै गरको सखुवा प्रजातिको चिरान फेन्टा काठसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लाहानले जनाएको छ ।

विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्वद आबिद हुसेन नेतृत्वका वन कर्मचारीले गाडी, चालक र काठ नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए। आवश्यक कागजात खोजतलाससहित यस सम्वन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

वन कार्यालयले काठ तस्करी नियन्त्रणका लागी प्रयास गरेपनि प्रहरी प्रशासनको मौन्ताले सिरहाको चुरेक्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको स्थानियहरु बताउँछन्। यस क्षेत्रबाट तस्करहरुले प्रहरी प्रशासनलाई नजराना तिरी रातीको समयमा काठ तस्करी गरी सहःमिलहरुमा पुर्याउने गरेको स्थानीयको भनाई छ।न्युजकारखाना

सर्लाही, १७ माघ ।

मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रूपैयाँ दरको २ वटा नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् ।

 

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा बाद-बिवाद भईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युजकारखाना

काठमाडौं, १७ माघ ।

अनलाइन गेम खेलाउनको लागि लिमिट लोड गरिदिएको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका-१० बोटटोल घर भएका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका-६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका-१ सहिदचोक घर भएका २४ वर्षीय आर्यन शाह, लहान नगरपालिका-७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिष कुमार रौनियार, लहान नगरपालिका-७ दुर्गामन्दिरचोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका-२ सुकिपुरघर भएका २४ वर्षीय शिवम कुमार यादव  र लहान नगरपालिका-७ चोक घर भएका २४ वर्षीय हरि शंकर चौधरी रहेका छन् ।

अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन खेल खेलाइरहेकाे र लिमिट लाेड  गराइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतको एरियाबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । न्युजकारखाना

सर्लाही, १७ माघ ।

सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ। बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो।

पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ।

प्रहरीले मृतक पूजादेवीकी सासु बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान थालेको छ। घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकव छ। पूजादेवी मङ्गलबार बेलुका नै मृत अवस्थामा फेला परेकी थिइन्। न्युजकारखाना

जनकपुरधाम, १७ माघ ।

जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो ।

रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । सिरहाका खेलाडीहरू ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ४७ रनको लक्ष्य महोत्तरी टिम समक्ष प्रस्तुत गरेका थिए ।

सिरहाका लागि रुपेश सिंह सार्वधिक ४५ बलमा ३४, अशोक यादव ३५ बलमा २१, ओपनर शैलेन्द्र साह २० बलमा १७ र रिसब कार्की १९ बलमा १७ रनको योगदान दिए । यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिरहाको पहिलो विकेट २३ रनमै पवलेलियन फर्किएका थिए ।

महोत्तरीका लागि बलिङ गरेका नितेश यादवले कशिलो बलिङ गरेका थिए । उनले आठ ओभरमा २८ रन खर्चेर चार विकेट लिए । महोत्तरीकै लागि विनोद सहनी तीन, अभिषेक तिवारी दुई र रमेश सहनीले एक विकेट लिएका थिए । मध्यम लक्ष्य पाएका महोत्तरी जवाफी ब्याटिङमा कमजोर देखिएका थिए ।

महोत्तरीका खेलाडीहरु २९ ओभर दुई बलमै सबै विकेट गुमाए । र, टिमको स्कोर पनि उच्च राख्न सकेनन् । ७८ रनमै सबै विकेट गुमाएका महोत्तरी प्रतियोगिताकै सबैभन्दा कम स्कोर बनाउने टिम छन् । महोत्तरीका लागि नविन यादवले ५५ बलमा २१ रन टिमको खातामा जोडे । महोत्तरीकै रवि कुमार सिहंले १९ बलमा १८ र श्याम मण्डलले ४३ बलमा १३ रन बनाए ।

सिरहाका लागि बलिङ गरेका पार्थिव यादवले तीन, तृपेश्वर मुखियाले तीन, प्रदिप पासवानले दुई र अफरुदिन राइनले एक विकेट लिए । यस खेलको म्यान अफ दी म्याच पार्थिव यादव घोषित भएका थिए । दोस्रो सेमिफाइल विहीबार धनुषा र बाराबीच हुने खेल तालिका छ । दोस्रो सेमिफाइनलको विजयी टिम फाइनलमा सिरहासंग प्रतिस्पर्धा गर्ने छन् ।न्युजकारखाना

बारा, १७ माघ ।

बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको स्वर्गीय नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारासहित रौतहट र सर्लाहीका गरी तीनजना कृयाशिल पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ।

बुधबार कृपा दैनिकको वीरगन्जस्थित कार्यालयमा बसेको पुरस्कार छनौट समितिको बैठकले ५० हजारको धनराशी रहेको नवजान स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका कृयाशिल पत्रकार फणी महत तथा सर्लाहीमा कृयाशिल पत्रकार ओमप्रकाश ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको हो।

महत र ठाकुरलाई सम्मान पत्र सहित २५/२५ हजारका दरले नगद रकम सहित पुरस्कृत गर्ने निर्णय गरेको कृपा दैनिकका कार्यकारी सम्पादक एवम् पुरस्कार छनौट समितिका संयोजक कृष्णउदास खनालले जानकारी दिए।

यसरी नै कार्यकारी सम्पादक खनालकै पिता चन्द्रप्रसाद खनालको नाउँमा बिगत १६ बर्ष अगाडि स्थापना गरिएको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारामा कृयाशिल पत्रकार महिला शारदा पोखरेललाई नगद १० हजार सहित सम्मान पत्रबाट पुरस्कृत गर्ने निर्णय भएको कृपा दैनिकका सम्पादक गोकुल घोरसाइनेले जानकारी दिए।

विगत दुई वर्ष कोरोना सहित कृपा दैनिकका प्रधानसम्पादक नवराज उपाध्यायको निधन भएकाले स्थगित भएको पुरस्कार बितरण कार्यक्रम अब भने कृपा दैनिकको बार्षिकोत्सवमा हरेक वर्ष वितरण गरिने कृपा दैनिक पत्रिकाका संस्थापक सम्पादक एवम् पुरस्कार छनौट समितिका संरक्षक कमलकुमार उपाध्यायले बताए। आगामी फागुन ५ गते बाराको निजगढमा आयोजना गरिने कृपा दैनिकको २० औं बार्षिकोत्सवका अवसरमा यी पुरस्कारहरु  बितरण गरिने पनि उपाध्यायले जानकारी दिए।

कृपा दैनिकले आफ्नो २० औं बार्षिकोत्सव यही फागुन ५ गते निजगढमा एक बिशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिरहेको छ। कृपा दैनिकले पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमा(जानकी) देवी उपाध्यायको नाउँमा २०७२ सालबाट यो पुरस्कार स्थापना गरी बितरण गर्दै आइरहेको छ भने स्वर्गीय प्रधानसम्पादक नवराज उपाध्यायको नाउँमा यस पटक पहिलो पुरस्कार प्रदान गर्न लागेको हो भने चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार भने २०६६ सालबाट स्थापना गरी निरन्तर बितरण गर्दै आइरहेको छ। न्युज कारखाना

 

काठमाडौं, १७ माघ ।

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।

जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालका बलर सुबास भण्डारीले बंगलादेशका पाँचै विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो ।

नेपालका लागि विशाल विक्रम केसीले सर्बाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए । त्यस्तै अर्जुन खनालले १४ रन बनाएका थिए । नेपालका लागि विपिन खनालले २, आकाश त्रिपाठीले ३, गुलशन झाले ३,  दिपक बोहोराले ३, दिपेश कँडेलले ३, सुबाश भण्डारीले १८ रन र दुर्गेश थापाले ९ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर रोहनत डोउलाह बोरसनले ४ विकेट लिए भने शेइख पाएभेज जिबोनले ३ विकेट लिएका थिए । त्यस्तै इकबाल होसैन एमोन, मारुफ मृधा र जिशान आलमले एक विकेट लिएका थिए ।

यो जितपछि बंगलादेश सेमिफाइनलको दौडमा कायम रहेको छ र बंगलादेशको ३ खेलमा ४ अंक भएको छ ।

नेपाल भने सेमिफाइनलको दौडबाट यस अघि नै बाहिर भएको छ । नेपालले अब अर्को खेल भारतसँग शुक्रबार खेल्ने छ ।न्युजकारखाना

रौतहट १७ माघ। 
लामो समयको विवादपछि रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यबाहक प्रमुख अम्बेया खातुन र असन्तुष्ट नेपाली कांग्रेसका वडा अध्यक्षहरु बीच सहमति भएलगत्तै नगरसभाको दिन निश्चित भएको छ।

 

नगरपालिकामा मेयर खातुनको अध्यक्षतामा बसेको कार्यपालिका बोर्डको बैठकबाट दुईपक्षीय लिखित सहमति भएको हो। मेयर खातुन पक्ष र नेपाली कांग्रेसका वडा अध्यक्ष राकेश यादव लगायत पदाधिकारीको सहमतिमा आउँदो फागुन को ३ गते नगरसभा हुने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन्।

 

गत असार १० गतेभित्र हुने नगरसभा हालसम्म नभएको कारण फतुवा विजयपुरका झण्डै ३५० जना शिक्षक कर्मचारीले हालसम्म तलब पाएका छैनन्। बैठकमा मेयर खातुनसँगै नेपाली कांग्रेसका असन्तुष्ट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन्।

फतुवा विजयपुरको मेयर गोपाल राय यादव नदीको टेन्डरको मुद्दामा अख्तियार द्वारा १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला गरेपछि उनी निलम्बित हुँदा उपमेयर खातुन कार्यवाहक बनेकी हुन्। उनी मेयरको जिम्मेवारि पाएपछि कांग्रेस निकट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबीच सहमति नभएको कारण हालसम्म नगरसभा हुनसकेको थिएन।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव सुरेन्द्र प्रधानलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि  जनप्रतिनिधिहरुनै विभाजित भएका थिए।  वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश राय यादवले उपसचिव प्रधान पहिलेनै कार्यरत रहि कोरोना कालमा अनियमितता गरेको आरोप लगाउँदै विरोध गर्दै आएका थिए।

फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकटबाट मेयर गोपाल राय यादव, उपमेयर अम्बेया खातुन ,७ जना वडा अध्यक्ष निर्वाचित भएका छन। पार्टीको बिना सहमति कार्यबाहक मेयर खातुनले एकोहोरो गरेको भन्दै कांग्रेसकै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बोर्डको बैठक बहिष्कार गर्दै आएको कारण हालसम्म नगरसभा हुन सकेको थिएन।न्युजकारखाना

सिन्धुपाल्चोक, १७ माघ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

 

बुधबार अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएकोे प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।

 

उनले पाँचपोखरी महादेवको समेत दर्शन गरेका थिए ।न्युजकारखाना

सिन्धुपाल्चोक, १७ माघ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।

 

सो दुर्घटनामा घाइते भएका पाँचजना मध्ये एकजना नेपाली कार चालक रहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

भुटानबाट नेपाल घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुइजर गाडी बुधबार बिहान ११ बजे सडकबाट ५० मिटर तल खस्दा एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

पाँचजना घाइतेमध्य चार पुरुष र एक महिला रहेका छन् । घाइते मध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी ३ जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।
न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।