आरके श्रीवास्तव,गरूडा,०३ गते जेठ ।
रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष पत्रकार संजय सहनीका ६५ वर्षीय पिता रामनारायण सहनीको निधन भएको छ । मस्तिष्क घातको कारण विगत चार दिनदेखि वीरगंजस्थित एक अस्पतालमा उपचाररत सहनीको आज विहान निधन भएको हो ।
शोकाकुल अवस्थामा रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाले एक विज्ञप्ती जारी गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै ईश्वरले शोक सहने शक्ति प्रदान गरुन् भन्ने कामना पनि गरेको छ ।
महासंघका सचिव गौतम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा सहनी परिवारको अपूरणीय क्षतिमा पुरै पत्रकारिता क्षेत्र मर्माहत भएको उल्लेख गरिएको छ ।
यता लाेकतान्त्रिक पत्रकार संघ राैतहटका अध्यक्ष एवम् बजिकान्चल मिडिया प्रा.लि.का अध्यक्ष राजु कुमार श्रीवास्तवले सामाजिक संजाल मार्फत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले लेखेका छन्- “नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष सहनीकाे पिताजी रामनारायण सहनीको उपचारका क्रममा आज बिहान निधन भएको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौं ।
स्व. रामनारायण सहनीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौं । यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं । भगवान पशुपतिनाथले उहाँहरूलाई यो अपूरणीय क्षति सहने धैर्य र शक्ति प्रदान गरून । “
आरके श्रीवास्तव,राैतहट,०३ गते जेठ ।
रौतहट । नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला समिति अधिवेशन रौतहटमा भव्य रूपमा सम्पन्न भएको छ । यमुनामाई गाउँपालिकाकाे मावि झुनखुनवामा भएको अधिवेशनबाट मावि जमुनियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहा सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन हुनुभएको छ ।

संगठनभित्र लामो समयदेखि सक्रिय योगदान दिँदै आउनुभएका कुशवाहाको नेतृत्वमा संगठनले अझ सशक्त भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । अधिवेशनमा जिल्लाभरिका शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने विभिन्न प्रस्ताव र भावी कार्यदिशा पनि तय गरिएको थियो ।

नव-निर्वाचित अध्यक्ष कुशवाहालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहभागीहरूले उहाँको नेतृत्वमा संगठन अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन् ।
कामरेन्द्र वर्मा,काठमाडौं,०२ गते जेठ ।
काठमाडौँ । भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव तीन दिने औपचारिक नेपाल भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ । १५ देखि १७ मे २०२५ सम्मको यस भ्रमणको प्रमुख उद्देश्य नेपाल सरकारद्वारा आयोजना गरिएको “सगरमाथा संवाद” को पहिलो संस्करणमा सहभागी हुनु थियो । संवादको केन्द्रीय विषय “जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य” रहेको थियो ।

१६ मे मा आयोजित उद्घाटन समारोहमा मन्त्री यादवले भारत सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै, जलवायु परिवर्तन र वातावरणीय संरक्षणमा भारतको प्रतिबद्धता र क्षेत्रीय सहकार्यको आवश्यकता स्पष्ट पार्नुभएकाे छ ।

उक्त अवसरमा उहाँले नेपालका वन तथा वातावरण मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । दुवै पक्षबीच वातावरणीय संरक्षण, जलवायु कार्य, र हरित प्रविधिमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

त्यसै दिन मन्त्री यादवले नेपालका परराष्ट्र मन्त्री डा. अर्जुना राणा देउवा र प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । भेटमा भारत-नेपाल सम्बन्धलाई थप सुदृढ बनाउने, विशेषगरी वातावरणीय तथा सांस्कृतिक सहकार्यलाई प्रोत्साहन गर्ने विषयमा सकारात्मक विचारविमर्श भएको जनाइएको छ ।
भ्रमणको क्रममा मन्त्री यादवले पाटन दरबार स्क्वायरस्थित अदालत भवन र श्री ज्येष्ठ वर्ण महाविहारको पनि अवलोकन गर्नुभयो । यी स्थलहरू २०१५ को भूकम्पपछि भारत सरकारको सहयोगमा पुनर्निर्माण गरिएका परियोजनाहरू अन्तर्गत पर्दछन् ।

यादवको भ्रमणले भारत-नेपालबीचको उच्चस्तरीय सम्पर्कलाई थप बलियो बनाउनुका साथै दुवै देशको साझा वातावरणीय हितका क्षेत्रमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
कामरेन्द्र वर्मा,काठमाडौं,०१ गते जेठ ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष राकेशप्रसाद महतो तथा उपाध्यक्ष रंजित क्षेत्रीबीच बिहीबार मन्त्रालयमा भेटघाट तथा छलफल भएको छ।
भेटका क्रममा अध्यक्ष महतोले मलेसियामा रहेका नेपाली श्रमिकहरूले भोगिरहेको समस्या र उनीहरूको अधिकारका विषयमा मन्त्री भण्डारीलाई विस्तृत जानकारी गराएका थिए। उनले नेपाली कामदारहरूको हितमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै मलेसियामा रोजगारीको नाममा हुने सिण्डिकेटलाई कुनै हालतमा कार्यान्वयन गर्न नदिन अनुरोध गरे।

महतोले श्रमिकहरूले सामना गरिरहेका समस्याहरूको तत्काल समाधान सुनिश्चित गर्न सरकारलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। मन्त्री भण्डारीले उठाइएका सरोकारहरूलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै श्रमिक हितमा आवश्यक कदम चाल्ने आश्वासन दिएका छन्।
भेटमा मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाका लागि दीर्घकालीन समाधान र सरकारी संयन्त्रबीच समन्वयात्मक प्रयास आवश्यक रहेकोमा समेत छलफल भएको थियो।
आरके श्रीवास्तव,राैतहट,०२ गते जेठ ।
रौतहटको गरुडा नगरपालिका ४ स्थित वंशीराम जयसवाल अनाथालयका संस्थापक तथा रौतहटका वरिष्ठ समाजसेवी वंशीराम जयसवालको देहावसान भएको छ । जिल्लाको सबैभन्दा निःस्वार्थ समाजसेवीको रुपमा परिचित वंशीराम जयसवालको गरुडास्थित अनामिका अस्पतालमा उपचारको क्रममा देहावसान भएको हो ।
२०५२ सालमा आफ्नै जमिनमा अनाथालय स्थापना गरी अनाथहरुसितै बस्दै आउनु भएका समाजसेवी जययवालको ९३ वर्षको उमेरमा देहावसान भएको भतिज पंकज जयसवालले जानकारी गराएका छन् । जयसवालको शवलाई अन्तिम श्रद्धाञ्जलिको लागि ११ बजेसम्म अनाथालय परिसरमा राखिने र वैदिक विधिअनुसार अन्तिम संस्कार पनि अनाथालय परिसरमै गरिने उनले जानकारी गराएका छन् ।

सम्पूर्ण घरपरिवारलाई त्याग गरी अनाथहरुसित अनाथजस्तै जीवन व्यतीत गरेका समाजसेवी जयसवालमा मानवता तथा उच्च धार्मिक आस्था रहेको थियो । सम्पूर्णरुपले निस्वार्थ समाजसेवामा जीवन अर्पण गरेका जयसवाल सयौँ अनाथ तथा विपन्नका धर्मपिता तथा अभिभावक भएर जीवन सुधारेको गरुडा नगरपालिका ४ का वडाध्यक्ष सुनिलकुमार जयसवालले जानकारी गराएका छन् ।
विभिन्न उमेरजन्य समस्याहरुसित संघर्ष गर्दै समाजसेवी जयसवालले ९३ वर्षको उमेरसम्म निःस्वार्थ रुपमा अनाथ तथा विपन्नको सहारा बनेर सेवा गरेको महान व्यक्तिले आजबाट विश्राम लिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा उद्योगपति धर्मनाथ जयसवालले बताएका छन् ।

समाजसेवा र मानवीय सेवामा समर्पित जीवन बिताउने परम आदरणीय एवं अति विशिष्ट व्यक्तित्व वंशीराम जयसवालप्रति साहित्यकार संजय साह ‘मित्र’ले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
साहित्यकार साहले सामाजिक संजाल मार्फत श्रद्धाञ्जलि सन्देशमा उल्लेख गरेका छन्, “वंशीराम जयसवाल ज्यू समाजसेवा, सद्भावना र मानव कल्याणका प्रतीक थिए । उहाँको निधनले समाजले एक असल अभिभावक गुमाएको छ।”
उहाँको योगदान सदैव प्रेरणाका स्रोत बनेर रहने विश्वास पनि साहले व्यक्त गरेका छन् ।
समाजसेवी जयसवालले अनाथालयसँगै आफ्नो निजी जमिन निशुल्क दान दिएर विद्यालयको स्थापना पनि गरेका छन् । जयसवालले स्थापना गरेको अनाथालय प्राथमिक विद्यालयमा करिब दुई सय बालबालिका अध्ययनरत छन् ।
समाजसेवी जयसवालले आफ्नै जमिन दिएर गायत्री शक्ति पीठको निर्माण पनि गराएका छन् । शक्ति पीठ गरुडाको एउटा धार्मिकस्थलको रुपमा परिचित बनेको छ ।
अनाथालयमा रहेका बालबालिकाको उपचारको लागि समाजसेवी जयसवालले कम्तीमा एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्न खोजेका थिए । विभिन्न समाजसेवी तथा पालिकालाई अनाथालयको तर्फबाट बारम्बार अक्षयकोष स्थापनाको लागि पहल गरेका समाजसेवी जयसवालको चाहना थियो – अनाथालयमा बस्ने बालबालिकालाई कुनै रोगले सताउँदा उपचारमा समस्या नहोओस् । हरेक महिना अनाथ बालबालिकाको उपचारमा घटीमा तीस हजार रुपैया खर्च हुँदै आएको देखिएको छ । समाजसेवी जयसवालको चाहनाअनुसार अक्षयकोषको स्थापना भएको भए पनि एक करोड रुपैया भने पुग्न सकेको छैन ।
काठमाडौं,०१ गते जेठ ।
लोकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै काठमाडौँका चार वटा सर्जिकल फर्महरूलाई लगाएको चर्काे जरिवानाको कडा विरोध गरेको छ । संघले विज्ञप्ति जारी गर्दै विभागले ‘अनुगमन’ को नाममा तथ्य र मापदण्डविहीन रूपमा जरिवाना लगाएको आरोप लगाएको हो ।

संघका अनुसार साहिल सर्जिकल, भण्डारी सर्जिकल हाउस, विकास सर्जिकल र साई बाबा सर्जिकललाई जनही २ लाख १ हजार रुपैयाँ जरिवाना तिराइएको छ, जुन ‘अत्यधिक र अनुचित’ रहेको बताइएको छ । “कोभिडकालदेखि नै आयातित सामग्रीहरू भण्डारणमा छन् र ती सामग्रीहरू बिक्री वितरण भइरहेका छन् । तर सरकारी निकायले कुनै पूर्व सूचना, छलफल वा स्पष्ट मापदण्ड बिना जरिवाना लगाउनु अस्वीकृत छ,” विज्ञप्तिमा उल्लेख छ।

संघका अध्यक्ष रामहरि तिवारीले सरकारी निकाय र कर्मचारीहरू व्यापार धरासायी पार्ने नियतले डर र आतंक सिर्जना गरिरहेको आरोप लगाए । “लेबल कसरी राख्ने भन्ने न प्रशिक्षण दिइएको छ, न त मापदण्ड तोकिएको छ । एमआरपि निर्धारणसम्बन्धी समस्या अझै समाधान हुन सकेको छैन,” तिवारीले भने।
संघले अस्पतालको आईसियू,एनआईसियू जस्ता संवेदनशील स्थानमा प्रयोग हुने सामग्रीहरू रिप्याक गर्दा उत्पन्न हुन सक्ने जोखिमको विषयमा पनि चिन्ता व्यक्त गरेको छ ।
संघले समस्या तत्काल समाधान नभए देशभरका स्वास्थ्य व्यवसायी आन्दोलनमा उत्रिने, सटर बन्द गर्ने र त्यसबाट उत्पन्न सबै क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत दिएको छ ।
शैलेश गुप्ता,पर्सा,०१ गते जेठ ।
पाेखरिया– पोखरिया नगरपालिकाको वडा नम्बर ४ स्थित पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी, बाल रोग, डेन्टल लगायतका विशेषज्ञ सेवाहरू सुरु भएका छन् ।
अस्पतालको सभा हलमा आयोजित कार्यक्रममा डा. अरविन्द साह (हाडजोर्नी), डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिङ अधिकृत सवेनाज बेगम र अहेव मधु यादवलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर तथा अस्पताल विकास समिति अध्यक्ष प्रदुमन प्रसाद चौहानले अब स्थानीयवासीले महंगो शुल्क तिरेर बाहिरी अस्पताल जानुपर्ने आवश्यकता नपर्ने बताएका छन् ।
कार्यक्रम डा. आनन्द रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मेयर चौहानसहित स्वास्थ्य शाखा सहायक शिव पटेल, डा. सुरेश यादव, सञ्चारकर्मी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘सगरमाथा सम्वाद’ कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठाएका छन् । कुनै पनि देशको राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित भएको सगरमाथा सम्वाद कार्यक्रमको गरिमामा नै प्रश्न उठेको उनले बताए ।

प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा उनले भोलीदेखी सुरु हुने सगरमाथ सम्वाद कार्यक्रम सुरु नहुदै त्यसको प्रभावकारितामाथि प्रश्न उठन थालेको बताए । विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिए पनि हाम्रै छिमेकी भारत र चीनबाट समेत उच्चस्तरको सहभागिता नहुने देखिएको बताउदै उनले त्यसलाई छोट्याउन सरकारको ध्यानाकर्षण गराए ।
‘सम्मानिय सभामुख महोदय, भोलिदेखी सगरमाथा सम्वाद सुरु हुँदैछ, तर सम्वाद सुरु नहुँदै त्यस कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । विश्वस्तरबाट उच्चस्तरीय सहभागिता हुने भनिएको यस कार्यक्रममा अहिलेसम्म कुनै देशको राष्ट्रप्रमुख वा सरकारप्रमुख वा विदेशमन्त्री कुनै पनि देशको उच्चस्तरीय सहभागिता देखिएको छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘यो कार्यक्रम मानव जातिको भविष्य सुनिश्चितता, यो पृथ्वीको भविष्य सुनिश्चत्ताको लागि र जलवायु परिवर्तनबाट हुने जोखिमबाट न्यूनीकरण गर्नका लागि एउटा महान उद्देश्यबाट यदि गरिएको हो भने ती सम्बन्धित सरोकारवाला देशलाई पनि यो विषयमा बुझाउन सक्नुपर्दथ्यो, तर आज हामी हेरिरहेका छौं ती देशबाट सहभागिताको सुनिश्चतताको कुरा छैन । समुन्द्रपारिको त कुरा छोडिदिनुहोस, हाम्रो छिमेकी देशको पनि उच्चस्तरको सहभागिता छैन् । न त भारतको उच्चस्तरको सहभागिता देखिन्छ, न त चीनकै देखिन्छ । यतिसम्म कि संयुक्त राष्ट्रसंघका महासचिवको समेत उपस्थिति नहुने भएको छ ।’
सगरमाथा सम्वाद कार्यक्रममा तीन सय जना सहभागिता हुने भनिएकोमा अहिले झण्डै एक सय ५० जना सहभागिता हुने भन्ने सुनिएको उनले बताए । त्यसमा पनि काठमाडौंस्थित् नियोगका प्रमुख र दाता निकायका प्रमुहरुको सहभागीहरुको संख्या जोडेर भनिएकोले यो कार्यक्रमको औचित्यमाथि गम्भीर प्रश्न उठेको साहले बताए ।
आजपा अध्यक्ष साहले सगरमाथा सम्वाद कार्यक्रमको लागि कार्यक्रममात्रै हो कि परीणामको लागि कार्यक्रम भनेर सरकारसंग प्रश्न गरेका छन् । सगरमाथा सम्वाद कुनै हतारमा तयार गरिएको कार्यक्रम नभएर विगत ६ वर्षदेखि गम्भीरताका साथ तयार गरिएको कार्यक्रम भएको साहले स्मरण गराए ।
‘यदि हामीले महान लक्ष्यका साथ कार्यक्रम गर्न लागेका थियौं भने अरु देशका नेतृत्वलाई किन कन्भिन्स गर्न सकिएन ? यो सगरमाथा सम्वादमा हुने सहभागीहरुको उपस्थितिले हाम्रो देशको गौरवमाथि प्रश्न उठेको छ । हाम्रो विश्वसनीयतामाथि प्रश्न उठेको छ । यदि ती देशहरु यो मुद्दामा गम्भीर छैनन भनेपनि त्यो गम्भीर विषय हो, यदि हाम्रो नेतृत्वलाई ती देशले पत्याएनन भनेपनि यो पनि अर्को गम्भीर प्रश्न हो । यसले हाम्रो कुटनीतिक क्षेत्रलाई पनि अभिव्यक्त गर्दछ । हाम्रो कुटनीति कति फितलो रहेछ भनेर देखियो । यो त ठूलो अवसर थियो कि देशको कुटनीतिको पनि स्तर उठाउने, तर आज नेतृत्वको भूमिका र अविश्वसनीयताको कारणले आज यो सगरमाथा कार्यक्रम प्रभावहीन भयो । म आग्रह गर्न चाहन्छु–यो सगरमाथा कार्यक्रम छोट्याउनुहोस, पैसा खर्च गर्न, देशको हुर्मत लिन कसैलाई छुट छैन्’ आजपा अध्यक्ष साहले भने ।
यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको टकरावले गैरआवसीय नेपालीहरुको साझा संस्था एनआरएनए विभाजित गरिएको भन्दै आलोचना गरे ।
‘एनआरएनएको एउटा समूहलाई प्रधानमन्त्रीले च्यापेर हिँडिरहनुभएको छ, अर्को समूहलाई परराष्ट्रमन्त्रीले च्यापेर हिँड्नुभएको छ । तपाईंहरु कुर्सीमा बस्दा मिलेर बस्ने, मिलेर देशलाई लिड गर्नुभएको छ कि लुट्नुभएको छ, त्यो गर्ने ? तर एनआरएनएलाई तपाईंहरुले दुई चिरा बनाईदिनुभयो,’ आजपा अध्यक्ष साहले भने, ‘विदेशमा भएका नेपालीहरुलाई विभाजित गरिदिने र उनीहरुलाई दुःखी बनाउने, अनि तपाईंहरु मजाले कुर्सीमा बसेर मजाले एकताबद्ध छौं भनेर देखाईरहने ? यदि तपाईहरुमा मेल छैन भने दुनियाँलाई बताउनुहोस, यदि मेल छ भने एनआरएनए किन फुटाउनुभयो भनेर प्रश्न गर्न चाहन्छु । तपाईंहरुको अभिभावकीय भूमिका हुनुपर्दैन ? तपाईंहरुले जोड्ने हो कि फोड्ने ?’
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेतृत्वको क्षमतामाथि नै प्रश्न उठाउदै उनले देशको हुर्मत लिने काम कोहीकसैले नपाउने बताए । साथै उनले नेतृत्वको कुशलता देखाउन बताए ।
आरके श्रीवास्तव,राैतहट,०१ गते जेठ ।
माओवादी केन्द्र रौतहटका पूर्वमन्त्री सत्यनारायण भगत बिनले नेपाल सरकारको राज्यमन्त्रीको हैसियतमा उल्लेख गरिएको लेटरप्याड प्रयोग गर्दै आएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । उनी हाल राज्यमन्त्री पदमा नरहे पनि सो पद उल्लेख गरिएको सरकारी शैलीको लेटरप्याडबाट आर्थिक योजना समावेश गर्न माग गर्दै अर्थमन्त्री, मधेस प्रदेश सरकारको नाममा पत्र लेखिएको देखिएको छ ।

सामाजिक सञ्जालमा उक्त लेटरप्याडको फोटो सार्वजनिक भएसँगै आम नागरिक र राजनीतिक विश्लेषकहरूले यसलाई “लेटरप्याडको गैरकानुनी दुरुपयोग” भन्दै सम्बन्धित निकायलाई कारबाहीको माग गरेका छन् । कानुन विपरीत सरकारी पदको भ्रम सिर्जना गर्दै पत्राचार गर्नु आपराधिक कार्यको श्रेणीमा पर्ने हुँदा दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवाज चुलिएको छ ।
यता, भगत बिनले भने आफूबाट त्रुटिपूर्ण काम नभएको र यसमा सचिवालयको लापरबाही भएको बताएका छन् । उनले एक सामाजिक मार्फत भनेका छन्, “मेरो सचिवालयको कमजोरीका कारण लेटरप्याडमा केही त्रुटि भएको हो । तपाईंहरू आम सञ्चार जगतलाई यसबारे हार्दिकतापूर्वक जानकारी गराउँदैछु र यसलाई अन्यथा नलिनुहुन अनुरोध गर्दछु।”

तर राजनीतिक विश्लेषकहरू भन्छन्, सरकारी हैसियत नहुँदाहुँदै आफूलाई राज्यमन्त्री देखाउने शैलीमा पत्राचार गर्नु गम्भीर विषय हो । सत्यनारायण भगत बिनले प्रष्टिकरण दिए पनि कानुनी प्रक्रिया अवलम्बन गरी सत्यतथ्य छानबिन हुनुपर्ने माग बढ्दो छ ।

यस घटनाले राजनीतिक आचरण र पद प्रयोग सम्बन्धी प्रश्न उठाएको छ । अब सम्बन्धित निकायहरूले यस विषयमा के कदम चाल्छन् भन्ने आम जनताको चासोको विषय बनेको छ ।
कामरेन्द्र वर्मा,काठमाडौं, जेठ ०१ गते ।
काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज लोसपा केन्द्रीय कार्यालय बबरमहलमा सम्पन्न भएको छ । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले चारवटा महत्वपूर्ण निर्णयहरू गर्दै सरकारसँग विभिन्न मागहरू अघि सारेको छ ।
बैठकले पहिलो बुँदामा जनसंख्या र मानव विकास सूचकांकलाई आधार मानेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएको छ । विशेष गरी मधेश/तराई लगायत सबै क्षेत्रहरूमा न्यायोचित बजेट वितरण हुनुपर्ने मोर्चाको स्पष्ट माग छ ।

दोस्रो बुँदामा, मधेश जनविद्रोह, किरात लिम्बुवान आन्दोलन लगायतका विभिन्न राजनीतिक आन्दोलनहरूका क्रममा झुठा मुद्दामा परेका राजनीतिक बन्दीहरूलाई विना सर्त रिहाइ गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
तेस्रो निर्णयमा संसदमा प्रस्तुत भईरहेको भूमिसम्बन्धी विधेयकप्रति मोर्चाले साझा धारणा बनाएर त्यसअनुसार प्रस्तुत हुने जनाएको छ ।
चौथो र अन्तिम निर्णयमा, संविधान संशोधन सम्बन्धी अवधारणापत्र तयार पार्न सचिवालयलाई निर्देशन दिइएको छ ।
बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायत लोकतान्त्रिक मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
निष्कर्षमा मोर्चाले सरकारलाई न्याय, समावेशिता र राजनीतिक समाधानतर्फ गम्भीर हुन आग्रह गरेको छ ।