२०८३ बैशाख १३
२०८३ बैशाख १३

बज्जिकाञ्चल संवाददाता,काठमाडौं, १३ गते वैशाख ।

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएका हो ।

छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि फेरि बस्ने सम्बाद गर्ने निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन ।’

वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठाेस सहमति हुन नसकेको एक शिक्षक नेताले बताए । मन्त्री पन्तले शिक्षकहरुले उठाएकाे माग सुनिसकेपछि आफूले सबै मागहरु पूरा गर्न सक्दाे  काेशिस गर्ने बताए ।

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भन्सारको नाममा मधेसमा सरकारले लुट मचाएको बताएका छन् ।

बाराको सिम्रौनगढमा आज (शुक्रबार) सिम्रौनगढ भन्सार नाकालाई सुचारु एवं स्तरबृद्धिका लागि आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दुनियामाथि शासन गरेको र ऐतिहासिक राजनीतिक विरासत भएको सिम्रौनगढ आज सरकारको विभेदका कारण ओझेलमा परेको बताए ।

भन्सार कानूनमा रहेको ४५ प्रतिशत कमिशनको व्यवस्था रहदासम्म मधेसमा भईरहेको सरकारी लुटपाट (छिनछोर) नरोकिने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसंग अध्यक्ष साहले भन्सारको नाममा मधेसमा भईरहेको सरकारी लुट कहिले रोकिने भन्दै प्रश्न समेत गरेका छन् ।

‘प्रधानमन्त्रीजी, भन्सारको नाममा भईरहेको सरकारी लुटपाट कहिले रोक्नुहुन्छ ? सम्पतीको हक संवैधानिक हक हो तर तपाईहरुले त यहाँ लुट मचाउनुभएको छ । यही देशमा हत्याराको सम्पती नखोस्ने, बलात्कारीको सम्पती नखोस्ने । तर भन्सार नबुझाएकै कारण कसैको बुवा, बाजेको सम्पती पनि खोस्ने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीसंग प्रश्न गरे ।

देशमा लुट मचाएका लुटेराको सम्पती सरकारले नखोस्ने, आयकर, मुल्यअभिबृद्धि कर छल्ने, नबुझाउनेको सम्पती सरकारले नखोस्ने तर सीमामा बस्ने सोझासाझा नेपाली जनताको निजि सम्पती सरकारले लुटिरहेको उनले बताए ।

‘तपाई हेरिराख्नु भएको छ ठुलाबडाले सम्पती कर लुकाउछन् । आयकर बुझाउदैनन, मुल्यअभिबृद्धि कर समेत छली गर्छन । त्यहाँ सरकारले तिनिहरुको सम्पती जफत गर्दैन । तर दुई किलो नुन, एक बोरा खाद्य ल्याउनेहरुको साईकल, मोटरसाईकल समेत खोसिन्छ । यो अत्याचार होइन भने के हो ? सम्पतीको हक संवैधानिक हक हो । के यो मधेसमा लागु हुदैन् ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे ।

सरकारको विभेदकै कारण ऐतिहासिक सिम्रौनगढ आझेलमा परेको उनले बताए । ऐतिहासिक, धार्मिक, पर्यटकीय एवं सांस्कृतिक क्षेत्र सिम्रौनगढको विकासका लागि सरकारले काम नगरेको भन्दै उनले आक्रोश पोखेका छन् ।

‘तराईका सबै जिल्लाहरुमा भन्सार कार्यालय छ । तर बारा जिल्ला जहाँ सिम्रौनगढ जस्तो राजनीतिक बिरासत, औधोगिक र व्यापारको प्रचुर सम्भावना छ त्यहाँ भन्सार कार्यालय छैन् । कुनै बेला दुनियामाथि शासन गरेको बारा जहाँ औधोगिक हबछ, त्यहाँ एउटा पनि भन्सार नाका नहुनु दुर्भाग्य छ । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु तपाईले बारामा भन्सार कार्यालय कहिले खोल्ने हो ? सिम्रौनगढसंग विभेद किन गरेको ?’ आजपा अध्यक्ष साहले भने ।

वर्तमान सरकारले मुलुकमा समृद्धि ल्याउछौ भन्दै जनतालाई भ्रमित बनाइरहेको टिप्पणी समेत उनले गरे । प्रधानमन्त्री ओली र एमालेले आफ्नै मतदातासंग न्याय नगरेको उनले बताए । एमालेलाई मतदान गर्नेहरु आज पछुतो मानिरहेको उनले बताए ।

‘तपाईहरु हेर्दैहुनुहुन्छ आज एमालेलाई मतदान गर्नेहरु पछुतो मानिरहेका छन् । मधेसको लाईफलाईन रहेको हुलाकी राजमार्ग ६ लेनको हुनुपर्ने हो । तर यो सरकारले बनाउदैन् । किन भने अहिलेको सरकारले समृद्ध मधेस बनेको हेर्नै चाहदैन्,’ आजपा अध्यक्ष साहले भने, ‘कलैयाको त्यो ३ किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकारले समृद्ध नेपाल बनाउँछौ भन्दा हामीले पच्याइदिनुपर्ने । मतदाताले त वडा सदस्य, मेयर, उपमेयर, बिधायक, सांसद सबै एमालेकै जिताए । संघीय सरकारमा प्रधानमन्त्री, भौतिक मन्त्री एमालेकै छ । प्रदेशमा पनि एमालेकै सरकार छ, पालिकामा पनि एमालेकै सरकार छ तर तीन किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकार भएर वा नभएर के हुन्छ ? उनीहरुलाई मतदान गर्नेहरु अहिले पछुताइरहेका छन् ।’
युवा नेता नविन साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु मा. समिना हुसेन, अशोक लामा, उमेश कुशवाहा लगायतका नेता एवं उद्योग बाणिज्य संघको अध्यक्ष लालबाबू कुशवाहाको विशेष सहभागिता रहेको थियो ।

राैतहट, १२ बैशाख।
महालेखा परीक्षकको कार्यालय काठमाडौंका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहटको स्थानियतहको बेरुजु ११ अरब नाघेको बताएका छन्।
रौतहटको मध्यभाग गरुडा स्थित पत्रकारहरुको साझा एव लोकप्रिय सस्था तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गरेको एक कार्यक्रमका प्रमुख अतिथिको रूपमा सहभागि भएका महालेखा परीक्षक सचिव पौडेलले जिल्लाको १८ स्थानियतहको बेरुजु ११ अरब ४३ करोड पुगेको बताएका छन्।

स्थानिय निकायमा आउने बिभिन्न शीर्षकको अनुदान बजेटबाट विकास निर्माण, शान्ति सुरक्षा, शिक्षा, स्वास्थ लगायतको व्यवस्थापन गर्नु पर्ने हुन्छ , तर पालिका प्रमुखहरू मनपरी शीर्षक राखेर रकम खर्चिने चलनको कारण दिनानुदिन बेरुजु बढ्दै गएको उनले गुनासो गरेका थिए।
मधेश प्रदेशको कैयौँ पालिकामा प्रमुख प्रशासकीय अधिकृत लाई कामै गर्न नदिने , एउटै व्यक्तिलाई पटक पटक अनुदान , र विधीको कानुन कार्यान्वयन नगर्ने परमपरा बढ्दै गएको उनको भनाई रहेको छ।
मधेश प्रदेश शिक्षा क्षेत्रमा पछाडि रहेपनि कैयौं क्षेत्रमा अगाडी रहेको बताउँदै सचिव पौडेलले स्थानिय निकायमा अनावश्यक खर्च बढिरहेको प्रती सहभागी जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा बिशिष्ट अतिथि अख्तियार दूरुपयोग अनुसन्धान कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्यले अख्तियारमा उजुरी पर्दैमा आत्तिनु नपर्ने बताएका छन्।

उनले कुनै पनि विकास निर्माण लगाएत कामबारे अख्तियारमा उजुरी पर्दैमा कोही दोषी नहुने बताएका हुन् ।
उजुरी परेपछि अनुसन्धानका लागि उजुरी संग सम्बन्धित व्यक्तिलाई बोलाएर ब्यान लिने र सबैको ब्यान सकेपछि तथ्यगत प्रमाणको आधारमा मात्र विशेष अदालतमा मुद्दा दायर गर्ने गरिएको आचार्यले बताएका छन्। गरुडा स्थित सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक आयोजित एकदिने कार्यक्रममा प्रमुख आचार्यले आफूहरुका लागि उजुरी सूचनाको रूपमा मात्र रहनेगरेकोले यसलाई मुद्दाको रूपमा नलिन आग्रह गरेका छन्।

अख्तियारले अनुसन्धानको क्रममा उजुरी संग सम्बन्धित कागजातहरू माग्दा धेरै स्थानीय तह र अन्य सरकारी कार्यालयहरुले ढिलासुस्ती गर्नेगरेको बताउँदै उनले अख्तियारले कागजात माग्ने बित्तिकै तुरुन्त उपलब्ध गराउने तिर ध्यान दिनुपर्ने बताएका थिए।
अख्तियारले नियतबस जानी जानी दुःख दियो भनी धेरैले भन्ने गरेको भन्दै उनले अख्तियारले नियतबस बिना गल्तीको कसैलाई दुःख दिने काम नगरेको समेत उनले प्रष्ट्याएका थिए।
अनुसन्धान पछि अख्तियारले एकलैले चाहेमा मुद्दा नचल्ने बताउँदै उनले कुनै विषयमा मुद्दा दायर गर्नुभन्दा अघि सरकारी वकिल लगाएत अन्य सरोकारवालाहरु संग राय सल्लाह लिने गरिएको र मुद्दा चलाउन उनीहरु सहमत भएपछि मात्र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको उनले सुनाएका थिए।
जनप्रतिनिधी र कर्मचारीहरु आ-आफ्नो कार्य प्रति पूर्ण वफादार, उत्तरदायी एवं जिम्मेवार भई इमान्दारीका साथ पारदर्शी ढंगले काम गर्यो भने भ्रष्टाचार आफैं समाप्त भएर जाने तथा सुशासन कायम हुने उनले बताएका थिए।रौतहटका सिडियो विनोद कुमार खड्काले जिल्लामा सुशासन प्रर्वद्धनको लागि सरोकारवालाहरुसँग समय समयमा छलफल तथा सर्वपक्षीय वैठक सञ्‍चालन हुँदै आइरहेको बताएका थिए। उनले भ्रष्‍टाचार नियन्त्रणको कार्यमा आफूहरुले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जनताको भावनाको सम्मान नभएको कारण अख्तियारमा उजुरी पर्नु स्वभाविक रहेकाले जनताको चाहना र आकांक्षा अनुसारको काम गर्न सिडियो खड्काले जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए।
गरुडा नगरपालिका कार्यालयकाे सहकार्य, जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजन र तराई विकास तथा सञ्चार नेपाल काठमाण्डौको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐतिहासिक पृष्‍ठभूमी, संवैधानिक, कानुनी तथा संरचनागत व्यवस्था, संस्थागत रणनीति, भ्रष्‍टाचारजन्य कसुरहरुको बारेमा जानकारी, आयोगको छानवीन तथा अनुसन्धान प्रकृयाहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गतिविधिहरु, नेपालमा भ्रष्‍टाचारको वर्तमान अवस्था, अनुसन्धान तथा छानवीनका क्रममा आइपर्ने समस्याहरु तथा चुनौतीहरु जस्ता विषयवस्तुहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा महालेखाका सचिव पदमराज पौडेल र विशिष्ट अतिथि अख्तियार हेटौडाका प्रमुख उमाकान्त आचार्य, सार्वजनिक खरिद कार्यालयका धर्मेन्द्र कुमार झा, सिडियो खड्का , गरुडाका मेयर कन्थमणि जैसवाल, गौरका मेयर शम्भु साह, बौधिमाईका मेयर प्रदीप यादव लगायतले सम्बोधन गरेका थिए। उक्त अवसरमा देवाही गोनाहिका मेयर प्रेमलाल साह, राजदेवीका मेयर भिखारी यादव,नेपाली सेनाका कर्णेल किशोर अधिकारी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपि सन्तोष कुमार बस्नेत, अनुसन्धानका एसपी अभिनय कुमार सिंह, लगायत जिल्लाका अधिकांश पालिका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, संगै कार्यालय प्रमुखहरूको झन्डै दुई सय जनाको सहभागिता रहेको थियो।

आरके श्रीवास्तव,गरुडा,१२ गते वैशाख ।
रौतहटको वृन्दावन नगरपालिकामा खानेपानी आयोजना बनिरहेको छ । सो नगरपालिकाको वडा नम्बर ८ र ९ को बिचमा ४ करोड ७८ लाख ७ सय ७७ रुपैयाँको लागतमा खानेपानी ट्यांकी निर्माण हुन लागेको नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बताएका छन् ।
शुद्ध खानेपानीको अभावलाई पुर्ती गर्ने अपेक्षा सहित खानीपानी निर्माण प्रक्रिया अघि बढाइएको उनले बताएका छन् । गाउँमा पर्याप्त र सुरक्षित खानेपानी पु¥याउनका लागि ५ लाख लिटर क्षमता भएको ओभरहेड पानी ट्यांकी निर्माण भइरहेको मेयर कुर्मीको भनाइ छ ।

संघीय विशेष अनुदानको बजेट बाट खानेपानी आयोजना निर्माण गर्न लागिएको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर भुजेलले बताएका छन् । ‘खानेपानी निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ,’ हाकिम भुजेलले भने, ‘ गत वर्ष हामीले इ—विडिङ्ग मार्फत ठेक्का लगाएका थियौं । सर्लाही तिरुपती बालाजी भन्ने निर्माण कम्पनीले खानेपानी आयोजना निर्माण गरिरहेको छ ।
उनले भने—गत वर्ष ७१ लख रुपैयाँ बजेट आएको थियो भने यस चालु आर्थिक वर्ष ९० लाख रुपैयाँ आएको त्यसैबाट खानेपानी निर्माणको काम भइरहेको छ । २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्षय रहेकोले आगामी बर्षको बजेट काम सकिने उनले बताए ।
निर्माण कार्यको क्रममा अहिले दोस्रो चरणको फाउन्डेसन ढलान कार्य र पिलर उठाउने काम भइरहेको उनले बताएका छन् ।
वृन्दावनमा यो आयोजना सञ्चालनमा आएपछि करिब ७ हजार मानिसहरु लाभान्वित हुने कार्यपालिका सदस्य राजेश पासवानको भनाइ छ । यसबाट बहुअरी,आकडपाथड,बरगजवा र भुसहा टोलका नागरिकहरु स्वच्छ पानी पिउने छन् ।
अहिले हाते कलको पानी भरमा सो वडाका आम नागरिक बाचिरहेका छन् ।
आयोजनाले ‘एक घर, एक धारा’ अवधारणा अनुसार पानी वितरण गर्ने मेयर कुर्मीकोभ भनाइ छ । आयोजना शुरु भएको २ वर्षभित्र सम्पन्न हुने उनले जानकारी दिएका हुन् । यो आयोजनाले वृन्दावन नगरपालिकाको समग्र विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,१२ गते वैशाख । 

लोकतान्त्रिक पत्रकार संघको सर्लाही जिल्ला संयोजकमा राजीव कुमार साह कानु लाई मनोनयन गरिएको छ । संघको केन्द्रीय कार्य समितिले विधानअनुसार पत्रकार साहलाई सर्लाही संयोजकमा मनोनयन गरेको हो ।

‘मेरो सान’ टिभीमा हर्ताकर्ताको रुपमा कार्यरत साह विभिन्न मिडियामा पनि आबद्ध छन् । लामो समयदेखि पत्रकारिता पेसामा रहेका साह एफएम रेडियो, अनलाइन तथा छापा पत्रकारिता गरी पत्रकारिताका सबै क्षेत्रमा क्रियाशील छन् ।

सर्लाहीमा उनकाे आफ्नो छुट्टै नाम पहिचान बनाइसकेका छन् ।

चन्द्रनगर गाउँपालिका–१, लघुवा निवासी साह हाल मलंगवा निवासी साहकाे नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघ सर्लाहीले अलग्गै पहिचान बनाउने विश्वास गरिएको छ ।

संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले शुक्रबार साहलाई जिल्ला संयोजकमा मनोनयन गरिएको जानकारी गराएका छन् । देश, मधेश, पत्रकार र पार्टीको हितमा साहको कार्यकाल उल्लेखनीय रहने विश्वास पनि संघले लिएको अध्यक्ष वर्माद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

आरके श्रीवास्तव,गरुडा,११ गते वैशाख ।
रौतहटको दुइ वटा नापी कार्यालयमा ‘मेरो कित्ता’ प्रणाली अझैं लागू हुन सकेको छैन् । जिल्लाको चार ठाउँ गौर,गरुडा,मौलापुर र चन्द्रपुरमा नापी कार्यालयको सेवा केन्द्र रहेको छ । जसमध्ये दुइ ठाउँ चन्द्रपुर र मौलापुरमा मात्रै ‘मेरो कित्ता’ लागू छ ।
सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था शुरु गरेको थियो । घरमा नै बसेर आफ्नो जग्गाको नक्सा हेर्न, फिल्डबुक र प्लट रजिष्टर प्रिन्ट गर्न सकिने मेरो कित्ताको शुभारम्भ गरिएको थियो । डिजिटल नेपालको अवधारणालाई मुर्तरुप दिन नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता नामको अनलाइन प्रणालीको लागू गरिएको थियो ।

नेलिस नापनक्सा कार्यबाट संकलित विवरण (डेटा) को प्रयोगबाट जग्गा दर्ता तथा नक्सा अद्यावधिक गर्ने प्रणाली हो भने मेरो कित्ता अनलाइनमार्फत घरमै बसेर नक्सा, फिल्डबुक र प्लटरजिष्टर प्रिन्ट गर्ने सक्ने प्रणाली हो ।
यस विषयमा नापी कार्यालय गरुडाका प्रमुख इ.यशवन्त सिंहले भन—‘यो प्रणाली लागू गर्ने सरकारको हातमा हुन्छ । सरकारको निती अनुसार नेलिस प्रणाली लागू भएपछि मात्रै मेरो कित्ता सुचारु हुने हो । ’ उनले भने—यस वर्ष यो प्रणाली लागू गराउन पहल गर्दैछौं । सम्भवतः यसवर्ष देखि गरुडामा लागू हुनेछ ।
उता नापी कार्यालय गौरका प्रमुख मोहन महासेठले भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले हरेक वर्ष नेलीस सिस्टम लागू गर्न बजेट छुट्टयाउने गरेको बताए । मन्त्रालयले नै कुन नापी कार्यालयमा यो प्रणली लागू गर्ने निर्धारण गर्ने गर्दछ । यो हाम्रो हातमा हुँदैन् । यसका लागि हामी पहल गर्दैछौं ।

नापी विभागको वेबसाइट वा गुगलमा मेरो कित्तामा गएर लगइन गरी नक्सा निकाल्न सक्ने छिटो, छरितो प्रविधि हो । यो लागू भयो भने सेवाहग्राही धेरै लाभान्वीत हुने छन् ।
तर दुर्भाग्यवश गरुडा र गौर क्षेत्रका जनप्रतिनीधी र नेताहरुको ध्यान नै छैन् । नापी कार्यालय स्थापनाको वर्षौ बितिसक्दा पनि यो प्रणाली लागू गराउन कसैले पहल नै नगरेको देखिदैन् । बजेट चलाउनमा मस्त जनप्रतिनीधीको ध्यान कहिले जाला ? यसलाइ चाँडो भन्दा चाँडो लागु गर्न स्थानियहरुले माग गरेका छन् ।

काठमाडौँ। सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

काठमाडौंमा विगत२३ दिन देखि शिक्षकहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । सभार न्यूज अफ नेपाल

चन्दन यादव,रौतहट, ११ गते वैशाख ।

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेशको कार्यालय जनकपुरधाममा आगामी बैशाख १४ गते उद्धघाटन हुने भएको छ । लोसपा नेपाल मधेशका अध्यक्ष जितेन्द्र सोनलले एक निमन्त्रणा पत्र जारी गर्दै सो जानकारी गराएका हुन् ।

आइतवार हुने उद्धघाटन कार्यक्रममा पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताम हार्दिक अनुरोध गरिएको छ । उक्त उद्धघाटन कार्यक्रममा लोसपा नेपालका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरको प्रमुख अतिथ्यता रहने जनाइएको हो ।

साथै पार्टीका वरिष्ठ नेता श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको पनि विशेष उपस्थिति रहने अध्यक्ष सोनल द्धारा हस्ताक्षरित निमन्त्रणा पत्रमा उल्लेख रहेको छ ।

मधेस प्रदेश अन्तर्गतका सम्पूर्ण केन्द्रिय पदाधिकारीगण, मधेश प्रदेश समितिका पदाधिकारी एवं सदस्यगण, सम्पूर्ण जिल्ला अध्यक्षगण लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताको गरिमामय उपस्थितिको लागि लासेपा नेपाल मधेश प्रदेश अध्यक्ष सोनलले हार्दिक अनुरोध गरेका हुन् ।

२०८२ वैशाख १४ गते आइतबारको दिन सो कार्यक्रम हुने समेत निमन्त्रणा पत्रमा उल्लेख रहेको छ । कार्यक्रम हुने स्थान जनकपुरधाम ८, रामानन्द चौक जानकी आँखा अस्पताल देखी दक्षिण रहेको छ भने समय बिहान ११ः३० बजे निर्धारण गरिएको अध्यक्ष सोनलले जानकारी गराएका हुन् ।

बज्जिकाञ्चल संवाददाता, वालिङ,वैशाख ११ गते ।

स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिईएको हो ।

वालिङ नगरपालिका वडा नं. २ मा भएको तालिमकोे समापन गर्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,“महिलालाई आर्थिक रुपमा सवल बनाउन माटो सुहाँउदो खेती आवश्यक छ ।” सकारात्मक सोचका साथ काम गर्ने हो भने सफलता सहजै प्राप्त हुने उहाँको भनाई छ । व्यवहार परिवर्तन,मेलमिलाप,सहकार्य अहिलेको आवश्यक्ता भएको उहाँले बताउनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले विकास निर्माण र सामाजिक कार्यमा महिलाहरुको सहभागिता बढ्दो रहेको बताउनु भयो । व्यवहार परिवर्तन र जिम्मेवारी बोधका कारण महिलाहरुको सहभागिता बढेको उहाँको भनाई छ ।

दीगो उत्पादन तथा यसको बजारीकरणका लागि पालिकाले काम गरिरहेको अधिकृत सुवेदीले बताउनु भयो ।
महिलाहरुको सक्रियता समाज परिवर्तनका लागि महत्वपूर्ण रहने वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनु भयो । महिलाको पहुँच बृद्धि र व्यवहारपरिवर्तनका लागि आधारशिला तालिम प्रभावकारी हुनेमा जोड दिनुभयो ।

चक्रदेवी स्वावलम्वी सुन्तला उत्पादक महिला कृषक समूहका ३२ जना सदस्यहरुका लागि तीन दिने आधारशिला तालिम प्रदान गरिएको परियोजनाका सामुदायिक सहजकर्ता सुस्मिता पौड्यालले जानकारी दिनुभयो ।

तालिममा पौड्याल सहित विष्णु न्यौपाने र बुद्धिप्रसाद सिग्देलले सहजिकरण गर्नु भएको थियो ।
वालिङ नगरपालिकाका वडा नं. १ देखि ७ सम्म सञ्चालन भईरहेको परियोजनामा एक हजार ६ सय महिला आवद्ध रहेका छन् । जसमा ५६ वटा समूह गठन भएको परियोजनाले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।